वैकल्पिक राजनीतिक शक्तिका चुनौती

विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको २०७८ साल जेठ १८ गते निधन भयो । उनले नेपालको राजनीति, समाज, अर्थव्यवस्था, सार्वजनिक प्रशासन, स्वास्थ्य सेवामा देखिएका विकृतिहरूमा खबरदारी र विरोधको रचनात्मक शैली सुरूवात गरेका थिए । नेपाल बन्दको विरोधमा ‘नेपाल खुला छ’ र संविधान बन्न ढिलाइ भएको सन्दर्भमा ‘ज्याला पूरा लियौं, अब संविधान देऊ’ उनका केही रचनात्मक अभियान हुन् । उनले नेपालका मूलधारका राजनैतिक दलको विकल्पको खोजी गरे र विवेकशील नेपाली नामको राजनीतिक दल खोले । त्यो दल र नेपाल साझा पार्टीबीच एकीकरण भयो, बीचमा दुई दल फुट्यो र अहिले एकीकृत भएरै कार्यरत छ । उनले युवा पिंढीलाई आफ्नो दलको नेतृत्व सहज हस्तान्तरण गरेका थिए ।
मूलधारमा रहेका राजनीतिक दलमा रहेको किचलोले नेपालको राजनीतिलाई दुर्घटनातर्फ डोहोर्‍याइरहेको समयमा भएको थापाको दुःखद निधनले नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता सम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको ठानेको छु । नयाँ दलको रूपमा नेकपा (माओवादी) निर्वाचनबाट सत्तामा पुग्न सक्यो । तर अरू नयाँ दलले नेपालमा उति स्थान बनाउन सकेका छैनन् । डा. बाबुराम भट्टराइको नयाँ शक्ति पार्टी अहिले अस्तित्वमा छैन । नेकपा (एमाले) र नेपाली काँग्रेस विभाजन भएर बनेका नयाँ राजनीतिक दलले पनि जनताको मन जित्‍न सकेनन् । विवेकशील साझा पार्टीले समेत २०७४ सालको स्थानीय निकाय र संसदीय निर्वाचनमा जीत हासिल गर्न सकेनन् । तर यसमा युवाको आकर्षण रहेको लख भने रञ्जु दर्शनाले ल्याएको मतबाट गर्न सकिन्थ्यो ।
भारतमा विकास, सुशासन र सार्वजनिक सेवाको सहज र सरल प्रवाह जस्ता मानिसका दैनिक जीवनमा सरोकार राख्ने विषय उठाएर आम आदमी पार्टी नामको नयाँ राजनीतिक दलका नेता अरविन्द केजरीवाल दुई कार्यकाल दिल्लीका मुख्यमन्त्री भएका छन् । सुशासन, विद्युत आपूर्ति, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा उनले पहिलो कार्यकालमा नै देखिने सुधार गरेका थिए । अहिले कोरोना संक्रमण नियन्त्रण, स्वास्थ्य सेवा प्रवाह र राहत वितरणमा उनले स्तुत्य काम गरेका छन् । नेपालमा भने वैकल्पिक राजनैतिक शक्तिले जरा गाड्न सकेका छैनन् । मैले यसका कारणहरू यस्ता हुनसक्ने लख काटेको छु ।
१. अतिराजनीतिकरणः २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि नेपाली समाजको अति राजनीतिकरण गरिएको छ । राजनीतिक नेताहरूको मात्र होइन गाउँका सर्वसाधारण मतदातालाई पनि पार्टीको आधारमा पहिचान दिने र व्यवहार गर्ने परम्परा बसाइएको छ । मलामी र जन्ती पनि पार्टीको आधारमा खोज्न थालिएको छ । बाबुआमा र छोराछोरी, दाजुभाइ दिदीबहिनी, छिमेकीसँग पनि पार्टीको आधारमा सम्बन्धको विकास हुन थालेको छ । राजनीतिक दलका भातृ संगठनको रूपमा रहेका विद्यार्थी संगठन स्कुलमा समेत कार्यरत छन् । कलेजमा यस्ता विद्यार्थी संगठनका सांगठिन गतिविधि तीव्र हुन्छन् । यही समयमा मानिसमा फलानो पार्टीको भन्ने लेबल लाग्छ र त्यसले जीवनभर पछ्याउँछ । मानिसलाई आफ्नो पहिचानको माया लाग्छ र ऊ जीवनभर एकै दलमा आबद्ध हुन्छ । उसले नजानिदो गरी वैकल्पिक राजनीतिक दलका बारेमा निष्पक्ष भएर सोच्ने मानसिक सामर्थ्य गुमाइसकेको हुन्छ ।
२. चेतनाकोकमीः नेपालमा शिक्षाको निकै विकास भएको छ तर स्तरीय र उचित शिक्षाको अझै अभाव नै छ । वस्तुतथ्यलाई जस्ताको तस्तै ग्रहण गर्ने, त्यसको विश्लेषण गर्ने, त्यसका आधारमा निष्कर्ष निकाल्ने र त्यो निष्कर्षलाई व्यवहारमा उतार्न निश्चित बौद्धिक क्षमता आवश्यक पर्छ । यो क्षमताले परिस्थितिअनुसार आफ्नो निर्णय बदल्दै जाने सामर्थ्य प्रदान गर्छ । नेपालमा यस्तो क्षमता भएका जमातको कमी नै छ । अधिकांश मानिस कि त ‘ब्रान्ड लोयल’ भएर आफनै पार्टीमा मत हाल्छन् कि त लहर कता छ त्यो हेर्छन् । स्वतन्त्ररूपले भोट हाल्न खोज्दैनन् । स्वतन्त्ररूपले विश्लेषण गर्न सक्नेले वैकल्पिक राजनीतिक शक्तिलाई नै रोज्छ भन्ने कुरा त होइन तर यसरी विश्लेषण गर्न नसक्नेले समयोचित निर्णय लिन सक्दैन । नेताहरू चुनावको समयमा धुरन्धर विरोध गरेको व्यक्ति र दलसँग मिलेर सत्ताको स्वाद चाखिरहँदा हामी जनता भने ‘तँ यो पार्टी र म यो पार्टी’ भनेर झगडा गरिरहँदा रहेछौं । नयाँ ढङ्गले सोच्ने क्षमताको विकास हुन नसकेको अवस्थामा चलिरहेको व्यवसाय, पार्टी, परम्पराले निरन्तरता पाउन सजिलो हुन्छ । नयाँ सोचको विकास नभई विकल्पको बोध हुन सक्दैन, अनि वैकल्पिक राजनीति पछि पर्नु स्वभाविकै भइहाल्यो ।
३. मध्यमवर्गको विकास नहुनुः मध्यमवर्ग समाजको प्रगतिको कडी हो । आजसम्म संसारमा भएका सबै परिवर्तनको कारक मध्यमवर्गलाई मानिन्छ । मार्क्सले समाजवाद र साम्यवाद सर्वहारा वर्गको नेतृत्वमा आउने कल्पना गरेको थिए । अहिलेसम्म मध्यमवर्गले नै क्रान्ति गरेको र भविष्यमा पनि मध्यमवर्गले मात्र क्रान्ति गर्न सक्छ भनी मार्क्सको त्यो स्थापनाको आलोचना गरिन्छ । नेपालमा मध्यमवर्गको आयतन उति बढ्न सकेको छैन । सहरी मध्यमवर्गको बलमा २०४६ र २०६२ सालमा आन्दोलन त भयो तर देशभर उनीहरूको संख्या र प्रभाव बढ्न सकेको छैन । तीव्र औद्योगिकरण र आर्थिक विकासले मध्यमवर्गको विकास गर्ने हो, नेपालमा त्यो अपेक्षित गतिमा हुन सकेको छैन । मध्यमवर्गको संख्या ठुलो नहुनाले वैकल्पिक राजनीतिक दलका यथार्थपरक विकास, सुशासन र सार्वजनिक सेवाको पहुँचका बाचामा ध्यान दिने मानिस कम छन् । उपल्लो वर्गलाई यथास्थिति नै ठिक छ । तल्लो वर्गलाई देश स्विट्जरल्यान्ड र सिंगापुर बनाइदिने अफिमको लत लगाइएको छ । राष्ट्रिय अर्थतन्त्रको दिगो विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, बिजुली, टेलिफोनमा सबैको पहुँच जस्ता विषयभन्दा भ्यु टावर, रेल, पानीजहाज, धरहरा, रानीपोखरीमा मानिसको ध्यान बढी जान्छ । अनि वैकल्पिक पार्टीले धक्का खान्छ ।
४. भ्रष्टाचारले भिजेको समाजः हाम्रो समाजमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टचारले हाम्रो मनमष्तिष्क नै गाँजेको छ । संघीय सरकारले जारी गरेका अन्तर्राष्ट्रिय बोलपत्रदेखि उपभोक्ता समितिका विकास निर्माणका काममा भएका अनियमितताका खबरले पत्रिकाका पृष्ठ भरिएका हुन्छन् । हामी पनि राजनीतिमा लागेका र तिनका छेउछाउ घुमेका व्यक्तिको आर्थिक हैसियतमा छोटो समयमा नै आएको परिवर्तन देखेर ती खबर पत्याउन बाध्य छौं । नेपाली समाजको ठुलो हिस्सा यो भ्रष्टाचार हटाउने होइन, यसको मूलधार समाएर फाइदा लिने दाउमा छ । भ्रष्टाचार हटाउँछु भन्नेहरू नै सत्तामा पुगेपछि आफ्ना नातागोता र कार्यकर्तालाई कमाउने अड्डामा सरूवा गराउँछन् । सार्वजनिक नियुक्तिको श्रृङ्खला पनि यो प्रवृत्तिबाट अछुतो छैन । मूलधारका पार्टी अहिलेसम्म पालैपालो सत्तामा छन् । उनीहरू यो अवधिमा कति मानिसको धन र मानको कारक भएका छन् । कमाएको धन र पाएको नियुक्तिको सोझो गर्नका लागि ती मानिसले मूलधारका पार्टी छोड्न सक्ने कुरै भएन । त्यही बाटोबाट उँभोलाग्ने उद्देश्य लिएका अरू मानिस पनि मूलधारको पार्टी समाइरहेका छन् । सुशासनको नारा लगाउने वैकल्पिक राजनीतिक शक्तिको स्वर भ्रष्टाचारको आँधीले उडाएर लगेको छ । सबैले सुशासनको नारा लगाउने भएकाले ‘यी पनि उही हुन्’ भन्नेलाई जवाफ दिने मौका पनि नयाँ दलले पाएका छैनन् ।
५. निर्वाचन प्रणालीः नेपालको निर्वाचन निकै महँगो छ । यसमा सरकारको ढुकुटी त पर्याप्त खर्च हुन्छ नै चुनावमा भाग लिने दल र उम्मेदवारको समेत धेरै धन खर्च हुन्छ । यसबाट सामान्यतयाः पैतृक सम्पत्ति प्रशस्त भएका, अवैध तरिकाले पर्याप्त सम्पत्ति कमाएका (नेपालको सन्दर्भमा वैध कमाइले नभ्याउला) र सत्ताको दुरूपयोगबाट सम्पत्ति जोडेका पार्टी र व्यक्तिले मात्र चुनावमा जाने हिम्मत गर्छन् । सरकारमा बसेकाले सरकारी बजेटबाट बनेको बाटो, पुल र नहर पनि हाम्रा पार्टीले बनाएको भनेर मतदाता अलमल्याइरहेका हुन्छन् । नयाँ दलको लागि लोभ देखाउने कुरै हुँदैन । विकृत भइसकेको महँगो चुनावी अभियानमा लाग्नका लागि सत्ताको स्वाद नचाखेका दललाई गाह्रो हुन्छ ।
चुनाव चिन्हरूपी ट्रेडमार्क पनि दलको नीति र कार्यक्रममा जति परिवर्तन भए पनि एउटै हुन्छ । संवैधानिक राजतन्त्र मान्ने नीति लिएका पार्टीको चुनाव चिन्ह ती पार्टीले गणतन्त्र ल्याउँदा पनि छोड्न सकेनन् । अझ मतपत्रमा ती चुनाव चिन्ह सँधै एकै ठाउँमा रहन्छन् । सामान्य चेतनास्तर भएका मतदातालाई मतदान गर्न सजिलो हुने ठाउँमा सधैं ठुला दलको चिनो किन हुन्छ ? हरेक चुनावमा मतपत्रको कुन स्थानमा कुन चिनो राख्ने भनेर किन चिठ्ठा हालिंदैन ? अझ हरेक चुनावमा कुन पार्टीलाई कुन चिनो भनेर किन चिठ्ठा हुँदैन ? मैले बुझ्न सकेको छैन । हरेक चुनावमा चुनाव चिन्ह र मतपत्रमा त्यो चिनो रहने ठाउँ गोलाप्रथाबाट छानिने नियम बने मात्र समान आधारमा चुनाव भएको मान्न सकिन्छ ।
मतपत्ररूपी मूल सडकको सटर मूलधारका दलले नछोडेकाले नयाँ पार्टीलाई आफ्नो विचार बेच्न गाह्रो परेको छ । यो निर्वाचनको नितान्त प्राविधिक पक्ष हो तर मेरो विचारमा यो महत्त्वपूर्ण छ ।
६. वैकल्पिक शक्तिका कमजोरीः वैकल्पिक राजनीतिक दलका पनि केही कमजोरीहरू छन् । डा. बाबुराम भट्टराईले प्रतिकूल परिस्थिति र निकै हतारोमा नयाँ शक्ति पार्टी खोले । त्यसै कारण उनलाई नयाँ पार्टीको औचित्यपुष्टि गर्न धौधौ पर्‍यो । विवेकशील नेपाली र नेपाल साझा पार्टी खुले, मिले, फुटे । अहिले फेरि मिलेर चलिरहेका छन् । यसबाट गुट र टुटफुटको नियतिबाट यी पनि अलग छैनन् भन्ने भान जनतामा पर्नु अस्वभाविक होइन । यस्ता वैकल्पिक शक्ति भनेर दर्ता हुने पार्टी पनि धेरै भए । व्यापक छलफल र जनसहभागिताका आधारमा ठुलो पार्टी निर्माणमा कसैको ध्यान गएको छैन । अरूले गर्न सकेनन्, म गर्छु भन्ने सोच्नु राम्रो हो तर अरूले गर्न सकेनन् हामी गर्छौं भनेर सबैलाई समेट्नु झन् राम्रो हो । अहिले वैकल्पिक शक्तिका रूपमा धेरै पार्टी गठन भएका छन् । ती छिन्नभिन्न भएकाले पर्याप्त शक्ति सञ्चय गर्न सकेका छैनन जसबाट मूलधारका दललाई नै सहयोग पुगेको छ ।
७. मतदाताको ब्रान्ड लोयल्टीः अझै पनि कतिपयमा मूलधारका पार्टीमा अहिले देखा परेको समस्या अल्पकालीक हो ।यिनै दलले नै नेपाल र नेपालीको भविष्य सुन्दर बनाउँछन् । यति लामो इतिहास भएको पुरानो दल र अनुभवी नेतालाई माया मारेर नयाँ दललाई सघाउनु पाङ्ग्राको आविष्कारमा समय लगाउनु जस्तै हो भन्ने मतदाताको पनि कमी छैन । आफ्ना दलमा रहेका केही इमानदार नेता र कार्यकर्ताको उदाहरण दिएर यिनीहरू आफ्नो मनलाई सान्त्वना दिन्छन् । यिनीहरू नयाँ राजनीतिक दलमा ठुलो जोखिम रहेको अनुमान गर्छन् र त्यता लाग्दैनन् । सम्पूर्ण जवानी मूलधारको दलमा अर्पित गरेका मानिसले बुढेसकालमा दल परिवर्तन गर्नु सजिलो पनि छैन ।
नेपाली काँग्रेसको गुटगत राजनीति र किंकर्तव्यविमुढता, नेकपा (एमाले) भित्रको किचलो र आसन्न विभाजन, नेकपा (माओवादी केन्द्र) को शक्तिक्षय र जनता समाजवादी पार्टीको अन्तरकलहले मूलधारका पार्टीहरू संकटग्रस्त देखिएका छन् । अब ‘हामी सुध्रिन्छौं, पुराना गल्ती दोहोर्‍याउँदैनौ’ भनी २०६२ सालताका नेपाली जनतालाई दिएको बाचा अहिले झुटो सावित भइसकेको छ । यी पार्टीको यही तालले जनताको स्वतन्त्रता र समृद्धिको अभिलाषा पूरा नहुने पक्का छ । कि यी पार्टी सुध्रिनु आवश्यक छ कि मतदाताले यी पार्टीप्रतिको दृष्टिकोणमा सुधार ल्याउनु आवश्यक छ । पार्टी र जनताले कडा निर्णय नगरे यथास्थितिमा नेपाल र नेपालीको भविष्य उज्ज्वल मात्र हैन सुरक्षित पनि छैन ।
यस अवस्थामा सबैभन्दा ठुलो चुनौती त हामी मूलधारका पार्टीमा भोट दिइआएका मतदाताका सामु छ । ती पार्टी सुध्रिए त केही छैन, तिनैमा भोट हालौंला । ती सुध्रिएनन् भने के गर्ने ? यो भद्रगोल कति सहने ? कुनै पार्टीको नाममा, कुनै चिनोमा भोट हाल्ने विषयलाई आफ्नो बानी, अभ्यास, पहिचान र शुभलाभको विषय ठान्ने कि विवेकको विषय वनाउने ? विवेकलाई स्वार्थको बन्धनमा राख्ने कि विवेकको रक्षा गर्ने ? ती पार्टीको इतिहास मात्र हेरेर मख्ख पर्ने कि आफ्ना सन्तानको भविष्य पनि हेर्ने ? फलानो पार्टीको मानिस भनेर कायम रहेको पहिचान विनाविमर्श कायम राख्ने कि एकपटक पुनरावलोकन गर्ने ?
विवेकशील साझा पार्टी अहिले शोकमा छ । मदन भण्डारीको मृत्युको शोकलाई शक्तिमा बदलेर एमाले यहाँ आइपुगेको हो । पार्टिभित्रका द्वन्द्व र विभाजनबाट निराश जनतालाई समेटेर नै माओवादीले जनयुद्ध अघि बढाएको हो । यस राजनीतिक अन्योललाई वैकल्पिक पार्टीहरूले अवसारको रूपमा लिनुपर्छ । अब वैकल्पिक राजनीतिक शक्तिहरूले पनि आफूहरूबीचमा एकीकरण र शक्तिसञ्चयको रणनीति अख्तियार गर्नुपर्छ । काठमाडौं केन्द्रित राजनीतिलाई छोडेर अब गाउँगाउँमा संगठन विस्तारतिर लाग्नु पर्छ । आगामी चुनावका लागि अब नै तयारी सुरू गर्नुपर्छ । विकास, सुशासन र स्तरीय सार्वजनिक सेवाको पहुँच चुनावी नारा होइन, नेपाली जनजीवनको यथार्थ बन्नुपर्छ र यसका लागि वैकल्पिक राजनीति पार्टीहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ । सके सत्तामा नभए पनि प्रतिपक्षमा बसेर नेपाली जनताको सशक्त प्रतिनिधित्व गर्नसक्ने बन्नुपर्छ । विवेकशील साझा पार्टी हामी जस्ता ‘ब्रान्ड लोयल’ मतदाताको मनमष्तिष्कलाई झक्झक्याउने गरी प्रस्तुत हुनुपर्छ ।
उज्ज्वल थापामा भावपूर्ण श्रद्धाञ्जली !!!
विवेकशील साझा पार्टी यो शोकलाई शक्तिमा बदल्न सक्षम होस् !!!!

0 Shares

3 thoughts on “वैकल्पिक राजनीतिक शक्तिका चुनौती

  1. sahi ,samaya sandarvik ra gahiro bislesan mukhi article , aaj ko aawasykta naya baikalpik party vayeko ra baikalpik party kasari agadi aaune voli ko din ma yo barema pani article aauos hai lekhak jyuee.

  2. भ्रष्टाचार को कुरा गर्दा देशमा फस्टाएको नै सबैभन्दा ठूलो भ्रष्टाचार दलाल बलात्कार तर खै कस्ले खबरदारी गर्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *