अब म भेट्दिन

जिन्दगीको फेदतिर भावनाको मुहान फुट्दा

अनि त्यही मौकामा हामी आपसमा भेट हुँदा

हरेक कल्पना पवित्र लाग्थे

हरेक सपना सुन्दर हुन्थे

कामना नै सही

वासना नै सही

स्वार्थ नै सही

प्रेममा मुछिएका ती भावना

कति निर्मल लाग्थे !

कति कोमल लाग्थे !

कति पवित्र लाग्थे !

समयको हावाले उडाएको तिम्रो ओज

सांसारिक बाध्यताले घटाएको तिम्रो तेज

अहँ, मलाई कुनै हालतमा स्वीकार छैन

समयको चक्रले यतिका चक्कर काटिसकेपछि

मलाई मेरो भाग्यले यति धेरै ढाँटिसकेपछि

रहलपहल जिन्दगीको यो ढल्दो साँझमा

अब मलाई फेरि कहिले तिमी भेट्नु छैन ।

मेरो नाक बिमार भए पनि

अझै महसुस गरिरहन्छ त्यो सुवास

मेरो आँखा मलिन भए पनि

अझै हुन्छ मलाई त्यो ज्योतिको आभास

मलाई मेरो घाम उस्तै चम्किलो मन पर्छ

मलाई मेरो जून उस्तै पूर्ण मन पर्छ ।

जम्काभेटबाट जोगिनु तिमी पनि

मेरो हृदयको तस्बिर मलाई किमार्थ बदल्नु छैन

मलाई तिमी गलेको हेर्नु छैन

मलाई तिमी ढलेको हेर्नु छैन ।

तिमी गल्दै गए पनि मलाई शक्ति दिइरहनू

तिमी दोधारमा रहे पनि मलाई बाटो देखाइरहनू

तिमी बाँच्नू प्रकाशमा र मलाई पनि बाँडिरहनू

सुख निस्संकोच भोग गर्नु र उदासीमा सम्झिरहनू

दुःखमा साथ दिने मेरो बाचा यसैगरी पूरा गर्नू ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *