प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव संघारमा छ । स्थापित दलका अनुभवी शीर्ष नेताहरू पूरा समय काम गर्न नपाएको र आफू अनुभवी एवं योग्य समेत भएको हुनाले पुनः मौका पाउनु पर्ने दाबीका साथ मैदानमा छन् भने कतिपय उम्मेदवार आफू नयाँ र युवा भएको हुनाले मौका पाउनु पर्ने दाबा गरिरहेका छन् ।
पटक पटक चुनिएर शासनको मौका पाएका पुराना शीर्ष नेतालाई किन फेरि शासनको मौका दिन उपयुक्त छैन र नयाँ अनुहार किन चाहिन्छ भनेर यस टिपोटमा विश्लेषण गर्ने कोशिस गरेको छु ।
- संविधानको अङ्गीकार र पूर्ण परिपालना
नेपालको संविधान विशिष्ट किसिमको छ । तर विभिन्न दलहरूले यसलाई सम्झौताको दस्तावेजको रूपमा लिएका छन् र आफ्ना राजनीतिक अडानलाई पूर्ववत् राखेका छन् ।
यो संविधानको मूलमर्मलाई शीर्ष नेताहरूले आत्मसात गर्न सकेका छैनन् । संविधान विरोधी गतिविधि गरिरहेका छन् । सहमतिमा बनेको यस संविधान संशोधनका अनेक पुलिन्दा घोषणापत्रमा पस्किरहेका छन् ।
उनीहरूले भन्दै आएको कुरा संविधानमा लेखिन नसके पनि उनीहरूको मनबाट हट्न सकेको छैन । यसबाट संविधानको पालना, प्रभावकारी कार्यान्वयन र उपयुक्त आधारमा संशोधन हुन पनि सम्भव छैन । यस संविधानको दीर्घ जीवनको लागि यो संविधान बमोजिम आफ्ना गतिविधिलाई मोडेका वा मोड्न सक्ने युवा वा नयाँ अनुहारको खाँचो छ ।
- सन्तुलित परराष्ट्र नीतिको अवलम्बन
पुराना पुस्ताका नेताहरू कुनै देश विशेषको विश्वासपात्रका रूपमा चिनिएका वा चिनाइएका छन् । केही नेताले सबैको आफ्नो हुने प्रयासमा सबैबाट विश्वसनीयता गुमाइसकेका छन् ।
यी नेताबाट हाम्रो असंलग्न र पञ्चशीलमा आधारित विदेश नीति सञ्चालन हुन सक्दैन । नयाँ पुस्ताबाट मात्र यो हुनसक्छ ।
- तिक्ततापूर्ण विगतको विस्मृति
विगतमा यी शीर्ष नेताहरू एकअर्काका कट्टर विरोधी थिए । तिक्ततापूर्ण विगतले पुराना नेताको मनमा घर नै बनाएर बसेको छ । अहिले एउटै मञ्चमा मुस्कुराइरहेको देखिए पनि यी शीर्ष नेताहरू तिक्ततापूर्ण सम्बन्धका साझेदार हुन् । सत्ता स्वार्थका कारण मात्र यी मिल्दैआएका छन् । स्वार्थ मिल्दा यी दलहरूबिचको तिक्तता मेटिएको हो कि जस्तो देखिन्छ । तर स्वार्थ बाझिने बित्तिकै यी तल्लोस्तरको गालीगलौज सुरू गरिहाल्छन् ।
दलहरूका बिच वास्तविक धरातलमा स्वस्थ सम्बन्ध निर्माण गर्नका लागि नयाँ र युवा नेतृत्त्व आवश्यक छ ।
- सुशासन
नेपालमा बहुदलीय व्यवस्थाको पुनर्वहाली भएसँगै सुशासनको पक्ष कमजोर देखिएको छ । राजनीतिमा आउँदा कमजोर आर्थिक अवस्था भएका नेताहरूको यो समृद्धिको यात्रा दलालपथ हुँदै अघि बढेको अडकल काट्नु अन्यथा देखिंदैन । प्रजातन्त्रकाल र गणतन्त्रकालमा अनेको आर्थिक घोटाला भइसकेका छन् । सुशासनका लागि प्रतिबद्ध संवैधानिक निकायहरू किंकर्तव्यविमुढ देखिएका छन् । बेरूजु कहालीलाग्दो अङ्कले बढेको छ । सानालाई ऐन र ठुलालाई चैन चरितार्थ भएको छ ।
शीर्ष नेतालाई नियन्त्रण गर्ने कुनै संयन्त्र मुलुकमा भेटिएको छैन । प्रमुख कार्यकारी पदहरूमा युवा र नयाँ अनुहार ल्याउन पाए तिनलाई पार्टीका ठुला नेताले नियन्त्रण गर्थे र अलि सुशासन कायम हुन्थ्यो कि भन्ने आश छ ।
- समृद्धि
जनतालाई स्वतस्फूर्त रूपमा आफ्नो हित हुने गरी आर्थिक कारोबार गर्न सक्ने आधार र उत्प्रेरणा दिनु सरकारको काम हो ।
सुशासनमा चुकेको नेतृत्वले आर्थिक विकासमा आवश्यक पूर्वाधारको विकास गर्न चुकेको छ । राज्यको आर्थिक साधन दोहन गर्ने अभिप्रायले अनावश्यक परियोजना बनाउने, बढी खर्च गराउने उद्देश्यले अनन्तकालसम्म लम्ब्याउने, गुणस्तरहीन निर्माण गर्ने र कमिसन खाने प्रवृत्ति आमरूपमा देखिएको छ । अनि आर्थिक नीति बनाउँदा (बजेट बनाउँदा) पनि समग्र जनता र अर्थतन्त्रलाई हैन, निश्चित व्यापारिक घरनालाई हेरेर बनाउने गरेको पनि देख्दै भोग्दै आएका छौं ।
जनमुखी आर्थिक पूर्वाधारको निर्माण र समग्र जनताको आर्थिक हितको लागि उत्प्रेरणा दिने नीति यो नेतृत्वबाट सम्भव देखिएन । नयाँ नेतृत्वबाट आशा गर्नुको विकल्प छैन ।
- स्वभाविक नेतृत्व हस्तान्तरण
परिवर्तन संसारको नियम हो । एउटाभन्दा अर्को झन् असल हुनसक्छ र परिवर्तनशील संसारमा नेतृत्व परिवर्तन स्वभाविक प्रक्रियाबाट हुनुपर्छ भन्ने मान्यता प्रजातन्त्रले राखेको हुन्छ । हामीले देखेका पुराना शीर्ष नेताहरू असल छन् भन्नेमा शंका नगर्दा पनि तीभन्दा झन् असल अरू हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
- द्वन्द्वकालीन घटनाको निरूपण
- सत्य निसत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पनि गठन भएको छ । तर यी दुवै आयोगले तोकिएको समयमा काम सक्नु त कता हो कता, सन्तोषजनकरूपले काम पनि गर्न सकेका छैनन् । किन यी आयोगहरूले काम गर्न सकेनन् ? किनभने सरकार र संसदको प्रमुख पदहरूमा यिनै द्वन्द्वका नाइकेहरू बसेका छन् । आफ्नो गल्ती पत्ता लाग्ने र आफू दण्डित हुनु पर्ने निष्कर्ष आउने छानबिन उनीहरू अघि बढाउन चाहन्नन् । यो अभिभार पूरा गर्न पनि राज्यका महत्त्वपूर्ण निकायहरूमा द्वन्द्वसँग व्यक्तिगत सम्बन्ध नभएका नयाँ व्यक्ति आउनुपर्ने आवश्यकता छ ।
- बरू नयाँले मुख फेरुन्
- संसद वा सरकारमा गएपछि राज्यबाट नियमतिरूपमा सेवा सुविधा पाइन्छ । यसका अतिरिक्त विभिन्न नेताहरूले विभिन्न गैरकानुनी किसिमका आयआर्जन गरेको अडकल काटिएकै छ । त्यसरी खाने नै हो भने पनि पालैपालो खाउन् भन्ने सोच राख्नु स्वभाविकै हो । अब पुराना अघाए होलान्, नयाँले खाउन् ।
- असफलता किन दोहोर्याउने
विभिन्न देशमा बुढा नेता छन्, कतिपय त पटक पटक दोहोरिएका पनि छन् । तर ती कुनै न कुनै आधारमा सफल भएकाले नै दोहोरिएका हुन् । हामी असफल भयौं भन्ने देखिएको छ ।
सफलता दोहोर्याउने हो, असफल भए पछि अर्को विकल्प छान्ने हो ।
यति लेखिसकेपछि पाठकहरूले दुइटा प्रश्न सोध्न सक्नुहुन्छ- पहिलो, के नयाँ र युवाले देश चलाउन सक्छन् ? मेरो उत्तर छ- युवाले सक्दैनन् भनेर पुराना नेता सधैँ हामीसँग हुँदैनन् । आज नभए भोलि तिनले नै हाँक्नु छ । दोस्रो, के तिनले जित्छन् त ? मेरो उत्तर छ- म ज्योतिषी होइन र यकिनसाथ केही भन्न सक्दिन । तिनले हार्न पनि सक्छन् । इतिहास साक्षी छ, सबै देश र जनताको भविष्य उज्ज्वल नै हुन्छ भन्ने पनि त छैन ।
यति पढेसकेपछि यस विषयमा थप चासो भए तलको लिङ्कमा क्लिक गरी विस्तृतरूपमा पढ्नु होला ।