पञ्चावती सद्भाव समाजले लकडाउनको समयमा पनि केही सक्रियता देखायो । यो पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढीसँग जोडिएका व्यक्तिहरूको संस्था हो । लकडाउनका अवधिमा संस्थासँग आबद्ध केही व्यक्तिहरूले उदयपुरगढी गाउँपालिकाबाट काठमाडौं आएका व्यक्तिहरू लकडाउनका कारण संकटमा परेका छन् भने तिनलाई सहयोग गर्ने निर्णय गर्यौं । यो सल्लाह अनलाइन भिडियो च्याटबाट गरिएको थियो । फेसबुकमा सूचना राखियो । मेसेन्जरमा संस्था सम्बद्ध मानिसलाई सन्देश पठाएर कोही आपतमा भए खबर गर्न अनुरोध गरियो । केही सूचना आए, केहीलाई सहयोग गरियो । म आफैं फिल्डमा जान नसके पनि फिल्डमा जान सक्ने साथीको बैंक खातामा अनलाइनबाट पैसा ट्रान्सफर गरिदिएँ । आफ्नो क्षमता अनुसारको सहयोग गरियो । तर प्रश्न छ, हामीले फेसबुकमा राखेको सूचना सहयोग अति आवश्यक पर्ने वर्ग वा समुदायले पाउन सक्ने अवस्था थियो ? लकडाउनमा खान नपाउने समूहका मानिस हातमा स्मार्ट फोन लिएर, डाटा वा इन्टरनेट सेवा किनेर फेसबुक हेरेर बसेका थिए होलान् र !
भारतले गाउँबाट सहर आएका लकडाउनका समयमा गाउँ पर्कन चाहने व्यक्तिहरूका लाग अनलाइन रजिष्ट्रेसन पोर्टल बनायो र यसमा रजिस्ट्रेसन गरेको आधारमा यातायातको साधनको व्यवस्था गरी मानिस गाउँ फर्कायो । नेपालमा पनि केही समयअघि मानिसलाई उपत्यका बाहिर पठाउने क्रममा त्यसको नेतृत्व गर्ने पक्षले पनि फेसबुक, भाइबर, म्यासेन्जर जस्ता प्रविधिको प्रयोग गरे होलान्, सूचना प्रसारणका लागि । तर सयौं किलोमिटर पैदल नै गाउँमा फर्किरहेका असंगठित क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने ती निम्न वर्गीय मजदुरसँग रजिस्ट्रेसनका लागि स्मार्ट फोन र इन्टरनेटको सुविधा थियो होला ? भारतीय सञ्चार माध्यमले निम्न वर्गका व्यक्तिले त्यो सरकारी सेवा उपयोग गर्न नसकेको बताएका छन् ।
लकडाउनको समयमा अहिले अनलाइन कक्षाको लहर चलेको छ । नेपालमै पनि यो सुरू भइसकेको छ । ठुला सहरमा रहेका निजी क्षेत्रका धेरै स्कुल र क्याम्पसले यसको अभ्यास गरिरहेका छन् । तर यसका लागि पूर्वाधार तयार गर्न नसक्ने सरकारी विद्यालय र दुर्गम ग्रामीण क्षेत्रमा रहने एवं विपन्न विद्यार्थी यो अवसरबाट बञ्चित हुनुपर्ने टड्कारै देखिएको छ ।
हाम्रो समाजमा यस्ता डिजिटल प्रविधिको प्रयोग विस्तारै बढ्न थालेको छ । सरकारी निकायले आफ्नो सूचना वेबसाइटमा राखेका छन् । बैंकहरूले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, भुक्तानी कार्ड जस्ता उपकरण प्रयोगमा ल्याएका छन् । सरकारी कार्यालय, बैंक र सबैजसो कम्पनीको काम अब कम्प्युटर मार्फत हुन्छ । सूचना र तथ्याङ्क पनि कम्प्युटरमा नै राखिन्छ, त्यहींबाट हेरिन्छ । अदालत पनि डिजिटल प्रविधितिर जाँदैछ । सामान किन्ने ठाउँमा कार्डबाट पैसा तिर्न सकिन्छ । अझ, घरबाटै सामान अर्डर गरी अनलाइनबाटै रकम भुक्तानी पनि गर्न सकिन्छ । टेलिफोन, बिजुली, खानेपनी जस्ता सेवाको भुक्तानी डिजिटल उपकरणको सहयोगले घरैबाट हुन्छ । बस, प्लेनको टिकट यसैगरी किन्न सकिन्छ । दरबारमार्गको एउटा रेस्टुराँमा रोबोटले खाना पुर्याउँछ रे ।टेलिमेडिसिन त पहिलाबाट नै चलेको थियो । अहिले कोरोना भाइरसबाट संक्रमित बिरामीको स्याहरमा पनि रोबोटको प्रयोग गरिएको छ । यस्ता उदाहरण दिएर साध्य नै छैन । संसार डिजिटल युगमा छ, अझ डिजिटल युगमा भिज्दैछ, डुब्दैछ । नेपालले पनि पछ्याउने नीति लिएको छ । नपछ्याएर धर पनि छैन, फाइदा पनि छैन ।
सजिलो भाषामा भन्दा कम्प्युटर, स्मार्ट मोबाइल र इन्टरनेट जस्ता प्रविधि नै डिजिटल प्रविधि हुन् । यी प्रविधि इन्टरनेटको सूचना सञ्जालमा जोडिन सक्छन् र सूचना आदानप्रदान गर्न सक्छन् । यस्तो क्षमता अचेल अरू उपकरणमा पनि उपयोग गरिन सक्ने हुनाले डिजिटल प्रविधिको दायरा फराकिलो छ, झन् फराकिलो हुँदैछ । मानिसले हालसम्म पाएका ठुला उपलब्धिमा आणविक शक्तिको विकास, जैविक इन्जिनियरिङ र कृत्रिम बौद्धिकता हो । यो कृत्रिम बौद्धिकता भनेको करिब करिब मानिसले जस्तै गरी बुद्धि पुर्याउन सक्ने कम्प्युटर जडित मेसिनको विकास हो । अझ, तथ्याङ्कको भण्डारण, प्रशोधन र विश्लेषणको क्षेत्रमा त यसले मानिसलाई पनि माथ गर्न सक्ला । यो डिजिटल प्रविधिको उच्च रुप हो । डिजिटल प्रविधिले मानव समाजको हरेक क्षेत्रमा योगदान गरिरहेको छ ।
कोरोना भाइरसका कारण विश्वभर महामारी फैलिएको र शारीरिक दूरी कायम राख्नु नै यसबाट बच्ने मुख्य उपाय रहेको हुनाले आज डिजिटल प्रविधि झन् महत्वपूर्ण भएर आएको छ । यो प्रविधिको उपयोगबाट हामी आफैं उपस्थित नभई पनि धेरै काम गर्न सक्छौ । सूचना प्रविधिले एउटा अवास्तविक संसार (भर्चुअल वर्ल्ड)को सिर्जना नै गरेको छ । औषधिको आविष्कार, बिरामीको उपचार र स्याहार, रोग विरूद्धको जानकारी र सावधानीको सन्देश फैलाउन डिजिटल प्रविधिको प्रयोग भइरहेको थियो नै, कोरोना भाइरसले थर्कमान बनाएको विश्वमा आज थप धेरै मानवीय कार्य र गतिविधि डिजिटल उपकरणको भरमा सम्पन्न भइरहेका छन् । काम घरबाट गरिँदैछ, रोबोट र ड्रोनको प्रयोग बढेर गएको छ । पैसाबाट कोरोना सर्न सक्ने भएकाले डिजिटल भुक्तानीमा जोड दिइएको छ । मानिस जहाँ पुग्नुपर्ने हो त्यहाँ शारीरिक रूपमा आफैं होइन, डिजिटल उपकरणमार्फत पुग्नुपर्ने र पुग्न सकिने अवस्था सिर्जना भएको छ ।
यो अवस्थाले सिर्जना गर्ने समस्या हो, डिजिटल विभेद । जसको साथमा कम्प्युटर, ल्यापटप वा स्मार्ट मोबाइल छ उसले मात्र सूचना मात्र होइन, राज्य र समाजले दिने सेवा, सुविधामा सजिलै पहुँच राख्न सक्ने अवस्था सिर्जना हुँदैछ । हातमा स्मार्ट फोन र मोबाइल बैंकिङको सुविधा छ भने हामी बिजुलीको बिल घरमै बसेर एकै छिनमा तिर्न सक्छौं । तर यो सुविधा छैन भने यो काममा करिब एक दिन लगाउनु पर्छ । बिजुली अफिस जानुपर्यो, आउनु पर्यो, लाइनमा बस्नु पर्यो ।यस क्रममा एक दिनको कमाइ गुमाउनु पर्छ । अहिलेको सन्दर्भमा हेर्ने हो भने संक्रमणको जोखिम पनि लिनु पर्यो । बिजुलीको पैसा तिर्ने कुरामा त डिजिटल उपकरण हुने र नहुनेका बीच यति विभेद छ भने अरु कुरामा कति होला ? डिजिटल प्रविधिमा पहुँच नहुनेले सजिलो, सस्तो, राम्रो, सुरक्षित, असल वस्तु र सेवाबाट वञ्चित रहनुपर्ने हुनसक्छ ।झन् कतिपय सेवा डिजिटल प्रविधिमार्फत मात्र पनि उपलब्ध होलान् । राजनीति, पेशा, व्यवसाय, शिक्षा, स्वास्थ्य, समाजसेवा, रोजगारी हरेक क्षेत्रमा डिजिटल पकड र पहुँच हुनेले राम्रो अवसर र उपलब्धि हासिल गर्ने र डिजिटल पकड र पहुँच नहुनेले धेरै अवसर र उपलब्धिबाट वञ्चित हुनुपर्ने समय आउँदैछ भोलि । त्यसैले समाजमा आफ्नो उपस्थिति देखाउन चाहनेहरूले आजैबाट आफ्नो वेबसाइट, फेसबुक पेज, ट्विटर ह्यान्डिल, एप्लिकेसन आदिलाई तन्दुरुस्त राख्न हरसम्भव प्रयास गरिरहेका छन् ।
यो प्रविधि केही महँगो पनि छ । यस्ता उपकरणहरू आयातबाट नै आपूर्ति गरिन्छन् । यसमा प्रयोग हुने सफ्टवेयर पनि कतिपय विदेशी नै छन् । कपीराइट र ट्रेडमार्कको कारण पनि यी महँगा भएका हुन् । यी प्रविधिको प्रयोगमा एक हदसम्मको शैक्षिक स्तर पनि हासिल गर्नु पर्ने देखिन्छ । शिक्षाको विकासको स्तर पनि हाम्रोमा सन्तोषजनक छैन । मुलुकको अर्थव्यवस्था कमजोर छ ।करिब २० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि नै रहेका छन् । कोरोनाको कारण लगाइएको लकडाउनले मुलुकको अर्थव्यवस्था झन् कमजोर बनाउनेछ ।कैयौंले रोजगारी र आय गुमाउने छन् । यस्तो अवस्थामा नागरिकले डिजिटल प्रविधिमा पहुँच राख्न सजिलो छैन । यसै अवस्थामा डिजिटल प्रविधिको उच्च प्रयोगको वातावरण सिर्जना हुने भएकाले स्थिति झन् जटिल हुने देखिन्छ । डिजिटल प्रविधिमा सबै नागरिकको पहुँच पुर्याएर सुविधा र अवसरबाट कसैलाई पनि वञ्चित हुन नदिन निकै प्रयास गर्नु पर्ने देखिन्छ ।
डिजिटल प्रविधिमा पहुँचले मात्र पनि समस्याको समाधान गरिहाल्दैन । यसको सदुपयोग झन् चुनौतीपूर्ण देखिएको छ । सामाजिक सञ्जालको अनुचित प्रयोग, अश्लील समग्रीमा चासो, स्वास्थ्यलाई हानि पुर्याउने गरी उपयोग (पबजी आदि), साइबर क्राइम आदिमा डिजिटल प्रविधिको दुरूपयोग समेत भएको छ । इन्टरनेटमा सूचना र जानकारीको अथाह सागर छ तर त्यसको उपयोग हुन सकेको छैन । यो ज्ञान आदानप्रदानको मुख्य साधन हुनसक्छ तर हुन सकेको छैन । यो चैतन्यको मार्गमा हिंडाउने पथप्रदर्शक हुन सक्छ तर अहिले डिजिटल अम्मलको कारण भइरहेको छ । डिजिटल सागर मन्थनबाट कालकूट विष, वारुणी (मदिरा) र अमृत सबै प्राप्त भएको छ । कालकूटको विभिषिकाबाट कसरी बच्ने, वारुणीको मादकबाट कसरी मुक्ति पाउने र अमृतको प्यालामा कसरी पुग्ने भन्ने प्रश्न पनि अहम् बनेको छ ।
लिङ्गीय, वर्गीय, क्षेत्रीय, जातीय, भाषिक, धार्मिक आदि अनेको विभेद हाम्रो समाजमा कायम छ भन्ने मान्यता राखिएको छ । इतिहासको केवल अडकल मात्र गर्न सकिने कालदेखिका यी विभेदले हामीलाई भौतिक र मानसिक रूपमा पीडा दिइरहेको छ । अहिले हामी यिनै विभेदको निराकरण गर्न भिडिरहेका छौं । तर संसारले विभेद जन्माउन छोडेको छैन । डिजिटल विभेद हाम्रो समाजमा अब भोलि आउनेछ । यसका स्पष्ट संकेत देखिइसकेका छन् । डिजिटल प्रविधिको प्रयोग गरी सिंहदरबार पेपरलेसतिर गइसक्यो, प्रविधिमैत्री भइसक्यो । तर दुर्गम गाउँका साना नानीलाई अहिले पनि पेपर (किताबकापी) उपलब्ध गराउन सकिएको छैन । हामीलाई समस्यालाई बुझ्न र त्यसको निराकरण गर्न अलि बढी नै समय लाग्ने गरेको छ । यो समस्या ज्वलन्त हुन्जेलसम्म ठुलो जनसमूहले दुर्भाग्य झेलिरहेको हुनेछ । बोल्नेको पिठो बिक्ने यो दुनियाँ डिजिटल प्रविधिको कारण ‘भर्चुअल दुनियाँ’मा परिवर्तन भएपछि डिजिटल विभेदमा परेको समूहको आवाज उठाउने दरिलो मञ्च रहने छैन र सुन्ने पनि कोही हुने छैन ।
