म त्यो वेला विराटनगर बस्थें । कहिलेकाहीं कार्यालयको काममा काठमाडौं आउनुपर्थ्यो, आउन पाउँथें भनौं । काठमाडौंमा आएर गर्नुपर्ने केही व्यक्तिगत काम पनि हुन्थे, आफन्त र नातेदारहरूसँग भेटघाटको मौका पनि मिल्थ्यो, आवश्यक परे स्वास्थ्य जाँच पनि गराउँथे । संघीयता लागु भएको ८ वर्षपछि त काठमाडौंको महत्त्व कम भएको छैन, त्यतिवेला त काठमाडौं नआई नहुने काम कति थिए कति ! कार्यालयको काममा काठमाडौं आउँदा बाटो खर्च र भत्ता आउँथ्यो, त्यही वेला विदा थपेर व्यक्तिगत काम पनि मिलाउँथें ।
काठमाडौं आउने मौका मिलेपछि म काठमाडौं यात्राको दैनिक कार्ययोजना तयार पार्थें । बिहान फलानोको घरमा चिया, फलानो कहाँ खाना, दिउँसो त कार्यालयको काम भइहाल्यो, बेलुका त्यहाँ बास (कमलपोखरीको गेस्ट हाउसमा नबसेको अवस्थामा) । भरसक सबैलाई भेट्न चाहन्थें, बढी काम भ्याइयोस् भनेर विराटनगरबाट पहिलो जहाजमा आउँथे र काठमाडौंबाट अन्तिम वा सोभन्दा अघिल्लो जहाजमा फर्किन्थें । काठमाडौंबाट फर्किने दिन बिहान भरसक पशुपतिनाथ मन्दिर जान्थें ।
म कमलपोखरीको कार्यालयकै गेस्ट हाउसमा बसेको थिएँ । सायद विराटनगर फर्किने दिन थियो । म पशुपति जान निस्कें । बाटो काटें र बस चढें । बसको दुई सिट हुने पाटोमा एउटा सिट खाली नै रहेछ, बसें । अर्को सिटमा तराई मूलका जस्ता देखिने मानिस थिए ।
“यो बस पशुपति जान्छ ?” उनले मलाई हिन्दीमा सोधे ।
“जान्छ ।” मैले हिन्दीमा नै फर्काएँ । एसएलसी दिएपछि न जागिर, न पढाइको अवस्थामा घरमै रहँदा मेरो काम गाई हेर्ने हुन्थ्यो । गाई हेर्न जाँदा जाँदा बोधकुमार घिमिरेजीले उपलब्ध गराउनु हुने सरिता, मुक्ता र कादम्बिनी पढ्थे । त्यसैगरी मैले अलिअलि हिन्दी सिकेको थिएँ । अहिले त मोटु-पतलु हेरेर नेपालमा जन्मने कतिपय बालबालिकाको बोली पनि हिन्दीमै फुट्छ भन्ने सुनेको छु । त्यो जमानामा ती पत्रिका नेपालटारमा पढ्न पाउनु पनि अचम्मै लाग्छ अहिले । त्यो वेला सिकेको हिन्दी अहिले पनि काम लागिरहन्छ ।
“मलाई पशुपति आएपछि ओर्लन भनिदिनु है । नयाँ मान्छे हुँ, भारतबाट आएको ।” उनले आग्रह गरे ।
“म पनि त पशुपति नै हिँडेको । सँगै झरौंला न !” मैले उनलाई आश्वस्त पारें । भारतबाट आएको भएपछि मेरो मनमा अलिअलि ‘अतिथि देवो भवः’ वाला भाव पनि आयो होला ।
अघिल्लो दिन बेलुका भैरहवा हुँदै बसबाट काठमाडौं आइपुगेका रहेछन् । होटलवालाहरूले झोला नै तानेर लगी आफ्नो होटलमा बास बसाएछन् । होटल पनि ठिकै हो तर त्यसरी झोला नै तान्नु त राम्रो भएन भनेर गुनासो गरे । अरू गन्थन पनि हुँदै थियो, गौशाला आइपुगिहालियो ।
हामी ओर्लयौं ।
मैले अवैतनिक पथप्रदर्शको भूमिका निर्वाह गर्दै गएँ । वरिपरिका ठाउँ र मन्दिरहरूको बारेमा जानकारी दिएँ । भारतबाट थुप्रै तीर्थयात्री आउने जानकारी पनि उनैलाई दिएँ । उनी कम बोल्ने र बढी सुन्ने गर्थे । बिच बिचमा ‘हाँ हाँ’ भनेर मलाई बोल्न हौस्याइरहन्थे ।
त्यति वेला जुत्ताचप्पल राख्ने अहिलेको जस्तो व्यवस्थित कक्ष बनिसकेको थिएन । जुत्ताचप्पल कि त फूलप्रसाद बेच्ने व्यापारीकहाँ राख्नुपर्थ्यो कि पशुपतिनाथकै जिम्मामा गेटबाहिर छोड्नुपर्थ्यो । फूलप्रसाद निकिनी पसलेकोमा जुत्ताचप्पल छोड्नु उचित नहुने, फेरि गेटबाहिर जुत्ताचप्पल छोड्दा मन्दिर घुमुन्जेल ध्यान जुत्ता चप्पलमा हुने । गेटबाहिर जुत्ताचप्पल छोडेको अवस्थामा मुखले ‘शिवाय नमः, पशुपतये नमः’ भनिरहँदा मनले भने ‘जुत्ताय नमः, चप्पलाय नमः’ भनिरहन्छ, हराउँछ कि भन्ने डरले । उनलाई फूलप्रसाद किन्न लगाउन पाए त जुत्ता त्यहीं राखे भइगयो । म त फूलप्रसाद किनेर चढाउने हैन, उतै भेटे लगाउने ताकमा मात्र हुन्थें । चन्दन फाउमै पाइन्थ्यो पनि ।
फूलप्रसाद किनाउन उनलाई धेरै जबर्जस्ती गर्ने कुरा पनि थिएन । होटलवालाले झोला तान्यो भनेर गुनासो गरिरहेका थिए । पशुपति घुमाउनेले फूलप्रसाद किन्न कर गर्यो भनेर गुनासोमाथि गुनासो थप्ने कुरा पनि थिएन । प्रस्ताव त राख्न त पाइन्छ नि !
“मन्दिरमा चढाउन फूलप्रसाद किन्ने कि ?” मैले नरम प्रस्ताव राखें ।
“अँ, किन्ने नि !” उनी उत्साहित भए ।
फूल मात्र किन्दा सायद ५० रुपियाँ पर्थ्यो होला । फूलप्रसाद बेच्ने पसले बहिनीले यो पनि राखौं कि, त्यो पनि राखौं कि भन्दै गइन् । तिनले पनि ‘हाँ हाँ’ भन्दै गए । बिल रकम २५० रुपियाँ पुग्यो । हामीले जुत्ता त्यहीं खोल्यौं । पसलेले दर्शन गरेर आएपछि दिँदा पनि हुन्छ भन्दाभन्दै उनले फूलप्रसादको पैसा चुक्ता गरे । मैले फूलप्रसादको ढकी पसलेको हातबाट लिएर उनलाई दिन खोजें ।
“तपाईं नै लिइराख्नु न ।” उनले भने ।
उनको फूलप्रसाद म किन बोक्नु ? मेरो अहम् घाइते भयो । तर देउतालाई चढाउने प्रसाद हो, मन नदुखा मनुवा भनेर अर्को मनले भन्यो र ढकी बोकेर उनलाई बाटो देखाउँदै म अगाडि बढें ।
पशुपतिमा लाइन ठिकैको थियो । हामी लाइनमा बस्यौं ।दर्शनको पालो आयो । मैले उनलाई प्रसाद चढाउन भनें । उनले तपाईं चढाउनु न, म दर्शन गर्छु भने । उनले किनेको प्रसाद चढाउने अवसर भने मैले पाएँ । फूलप्रसादको साथमा पशुपतिको मन्दिर दर्शन नगरेको पनि धेरै समय बितिसकेको महसुस भयो । आफूलाई धन्य महसुस गरें । ढकी बोकेको मजा अहिले त आइहाल्यो नि ! फेरि यसो सोचें, पुण्य त उनैलाई भयो होला, मैले चढाए पनि प्रसाद कसले किनेको थियो भन्ने त देउतालाई थाहा भइहाल्छ होला नि !
हामी मन्दिरको पिँढीबाट तल झरिसकेका थियौं । मैले अब फूल टाउकोमा लगाउने, डोरो बाँध्ने र चिनीवाला मिठाइको दाना मुखमा राख्ने वेला भइसकको महसुस गरें र उनलाई प्रसाद लगाउन अनुरोध गरें ।
“बाहिर लगाउँदा हुँदैन ?” साह्रै निश्छल आवाजमा उनले सोधेका थिए ।
“किन नहुनु ? चन्दन पनि लिन्छु । सँगै लगाउँला ।” मैले भने । म आफैंलाई पनि मैले अलि हतार गरेको जस्तो महसुस भयो ।
अनि पशुपतिको प्राङ्गणमा सालको पातमा बाँडिने चन्दन समेत लिएर हामी बाहिर आयौं । ढकी बुझायौं, जुत्ता लगायौं ।
पशुपति दर्शन सम्पन्न भइसकेको थियो । मलाई अब खाना खान जाने हतार भइरहेको थियो । पसलेले ढकीबाट खन्याएर फूलप्रसाद झोलामा हालिदिएकी थिइन् । फूलप्रसादको झोला अझै मेरो हातमा थियो र त्यो उनलाई बुझाउनु थियो । उसो त, फर्कनका लागि सँगै बस चढ्न पनि सक्थ्यौं ।
मैले चन्दन लगाएँ, फूलको सानो पत्ता टाउकोमा राखें । उनलाई पनि चन्दन लगाइदिन खोजें ।
“म चन्दन लगाउँदिन ।” उनले भने ।
म आश्चर्यचकित भएँ । यति श्रद्धालु भक्तले चन्दन चाहिँ किन नलगाउने होला ?
“किन ?” मैले सोधें ।
“म इस्लाम धर्मावलम्बी हुँ । तर मलाई हिन्दू मन्दिरहरूमा रूचि छ । भारतका पनि अनेक मन्दिर र ज्योतिर्लिङ्गको दर्शन गरेको छु । पशुपतिको दर्शन गर्न पाएको थिइन । आज त्यो पनि पूरा भयो । म टीका पनि लगाउँदिन, प्रसाद पनि लिन्न । प्रसादको यो झोला तपाईं नै लिएर जानुहोला । घुमाइदिनु भएकोमा धन्यवाद् ।” उनमा अझै निश्छलता कायमै थियो ।
के यस्तो पनि हुन्छ ? म अवाक् भएँ । मैले यसपछि उनलाई के भनें थाहा छैन । हातमा प्लास्टिकको झोला झुन्ड्याएर म ट्वाल्ल परिरहेको थिएँ होला । त्यो असजिलो हटाउन मैले उनको आँखाबाट नजर हटाएर यसो वरिपरि हेरें । अलि पर एउटा सूचनापाटी झुन्डिरहेको थियो । परेवाको बिस्टाले सूचनापाटी अलि फोहोर त थियो तर “हिन्दूलाई मात्र प्रवेश” लेखिएको बुझ्न कुनै गाह्रो थिएन ।
अचानक बदलिएको परिस्थितिलाई मेरो चेतनाले सम्हाल्न सकिरहेको थिएन । मैले उनी मुसलमान होलान् भनेर सोच्नसक्नै कुरै थिएन । नियमको पालना नभएकोमा क्षमायाचना गर्ने हो कि उनी मुसलमान भएर पनि हिन्दू मन्दिरप्रति देखाएको सम्मानका लागि धन्यवाद दिने हो मलाई यकिन भएको थिएन । सायद यही अप्ठेरो परिस्थितिमा नै हामी छुट्टियौं ।
उनले मलाई धन्यवाद दिए ।
पशुपतिनाथले चाहिँ के भने होलान् ?
बेलुका घर पुगेपछि मुनालाई प्रसादीको झोला दिँदै मैले भने, “लेऊ प्रसादी !”
“ए, नरिवल पनि रहेछ ।” छोराहरू खुशी भए ।
“अँ, बाँड्न पनि पुग्ने रहेछ ।” मुनाको ध्यान चिनीवाला मिठाइको ठुलो प्याकेट र डोराको बन्डलमा थियो ।
म भने त्यो संयोगको विस्मयबाट निस्कन सकेको थिइनँ ।
