यौन व्यवहार र नेपालको कानुन

अहिले यौन सम्बन्धी कसुर चर्चामा छ । अहिले पहिला एक जना कलाकार र हालै एक जना खेलाडीमाथि उमेर नपुगेकी बालिकासँग यौन सम्बन्ध कायम राखेको आरोप लागेको छ । नाबालिकासँगको यौन सम्बन्धको कुरा भएपछि यसमा कानुन अनुसार सहमति/असहमतिको कुनै प्रश्न नै उठ्दैन किनभने नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी किशोरीसँगको यौन सम्पर्कलाई जबर्जस्ती नै मानेको छ ।

नेपालको कानुनमा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ भनेर लेखिएको छ । यस व्यवस्थमा यौन महिला वा बालिकामाथि अरू कसैले गर्ने कार्यको रूपमा चित्रण गरिएको छ । यौनमा महिलाको भूमिका निष्क्रिय हुन्छ भन्ने कानुन निर्माताहरूको मान्यता रहेको देखिन्छ । शारीरिक रूपमा परिपक्व भएका तर कानुनी रूपमा उमेर नपुगेका किशोरीहरूको अग्रसरतामा यौन सम्बन्ध हुने सम्भावनालाई कानुनले अनदेखा गरको छ । किशोरीको अग्रसरतामा भएको यौन सम्पर्कलाई कानुनमा उल्लेख नगरिएको कारण त्यो कार्य फौजदारी अपराधको घेराबाट बाहिर पर्नसक्ने देखिन्छ तर यसलाई कसरी प्रमाणित गर्ने र अदालतको व्याख्या के हुने भन्ने टुङ्गो छैन । त्यति मात्र होइन, परिपक्व महिलाले कुनै शारीरिक रूपमा उमेर पुगेको तर कानुनी रूपमा नाबालक केटासँग यौन सम्बन्ध राखेमा के हुने भन्ने प्रश्नमा पनि कानुन मौन रहेकाे देख्छु । जबर्जस्ती करणी केबल महिलामाथि हुनसक्छ भन्ने मान्यता छ र कानुनी रूपमा नाबालक केटोसँग (शारीरिक रूपमा वयस्क) वयस्क महिलाले गर्ने यौन कार्यबाट त्यो नाबालक केटोलाई बचाउने कानुनी दफा मैले देखेको छैन ।

नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई यौन सम्बन्ध राख्ने हक प्रदान गरेको छैन । १८ वर्ष पुगेपछि भने आफ्नो पति बाहेक अरूसँग राजीखुशीमा यौन सम्बन्ध राख्ने हक भने नेपाली युवतीलाई छ । उनले १८ वर्षपछि सहमतिमा यौन सम्पर्क राख्न सक्छिन् तर बिहे गर्न भने अरू २ वर्ष पर्खनु पर्छ अर्थात् २० वर्ष पुग्नुपर्छ । बन्धक बन्नु, अपहरणमा पर्नु वा मानसिक समस्या रहनु, नाबालक हुनु लगायतका अन्य कुनै स्पष्ट र चित्त बुझ्ने कारण विना नै यौन अपराधका मुद्दा घटना भएको धेरैपछि दर्ता भएको पनि देखिन्छ । सहमतिमा नै शारीरिक सम्बन्ध राखिएको भए पनि पछि कुरा नमिलेर यस्ता मुद्दा परेका हुन् भन्ने पनि सुनिन्छ । बलात्कार र यौन सम्बन्धपछि उत्पन्न पश्चात्ताप फरक कुरा हुन् । बलात्कार र पश्चात्तापलाई कानुनले फरक ढङ्गले नै बुझ्नु पर्छ ।

समाजका शक्ति र सत्ता भएका मानिसको यौन शोषणबाट किशोरीहरूलाई बचाउन, किशोरीहरूको शिक्षामा पहुँच बढाउन, मातृशिशु स्वास्थ्यको प्रवर्द्धन गर्न अनि बिहेका बारेमा स्वतन्त्र र विवेकपूर्ण निर्णयको वातावरण बनाउन यौन सम्पर्क र बिहेबारीको समय पर सार्ने कानुन चाहिन्छ । त्यसैले १६ वर्षमा नागरिकता प्रमाणपत्र बनाउन र १८ वर्षमा भोट हाल्न पाइए पनि विवाह गर्न भने २० वर्ष पुग्नै पर्ने व्यवस्था छ । यति भएर पनि, खुला समाज र व्यक्तिगत स्वतन्त्रताप्रति असीम विश्वास अनि पोषण र स्वास्थ्य सुविधामाथि बढ्दो पहुँचको कारण कम उमेरमै शारीरिक र मानसिकरूपमा परिपक्व भएका किशोरीहरू (युवती ?) को यौन व्यवहारलाई सम्बोधन गर्न भने यो कानुन अलि अपर्याप्त भयो कि जस्तो लागिरहन्छ । कानुनमा अपूर्णताहरू छन् र दिनानुदिन समाजलाई भारी पर्नेहुन् कि भन्ने त्रास उत्पन्न भएकाे छ ।

कानुनको पनि के कुरा गर्नु ? बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन । राजनीतिक पार्टीहरू फलाना पार्टीको कारण हत्यारा पत्ता लगाउन नसकेको हो भनेर आफ्नो हुतिहारापन देखाइरहेका छन् । निहारिका राजपुत बलात्कारपछि जन्मिएको छोराको बाबुसँग नाता कायम गराउन अनसन बसिरहेकी छन् । दुई युवक अभियोगको जवर्जस्ती यौन सम्पर्क राखेको आरोप खेपिरहेका छन् । कानुन एउटै छ । कहिले को पीडित बनेका छन्, कहिले को ! यस्तो किन हुन्छ त ?

वास्तवमा भन्ने हो भने नेपाल दुइटा छ । यी दुईभित्र पनि अनेक भेद उपभेद होलान्, त्यसलाई म अस्वीकार गर्दिन ।

भोक, रोग, गरिबी, अभाव, चेतनाको अभाव, कुरीति र कुसंस्कृतिले गाँजेर वञ्चितीकरणमा बाँचिरहेको नेपाल ।

सम्पत्ति, सत्ता, शक्ति, शिक्षामा पहुँच भएका कारण खुला समाजमा निर्धक्क रमाइरहेको नेपाल ।

अनि ती दुवै नेपालका लागि कानुन एउटै छ । समावेशिता सम्बन्धी कानुन नै हेरौं न ! यो कानुनको समर्थन गरौं यसले तरमारा वर्गको उद्भव गराइरहेको छ । यसको विरोध गरौं, व्यवस्था वास्तवमै वञ्चितीकरणमा परेका वर्ग र समुदायलाई आवश्यक पनि छ । यौन सम्बन्धी कानुनले पनि दुइटा नेपाललाई सम्बोधन गर्न सकेको छैन । यसै कारण अनेकन घटना विभिन्न कोठा र कोठीहरूमा भइरहन्छन्, केही घटनाहरू सतहमा आइरहन्छन् ।

दुइटा नेपालको लागि बनेको एउटै कानुनबाट इन्साफ गर्नुपर्दा कानुनको व्याख्याले प्रभावकारी भूमिका खेल्दो हो । कानुनको व्याख्या गर्ने र दूधको दूध पानीको पानी छुट्याउने निकायको हालत के रहेछ भन्ने कुरा त सर्वोच्च अदालतको अध्ययन प्रतिवेदन, नेपाल बार एसोसियसनको प्रतिवेदन, संसदले प्रधान न्यायाधीशमाथि लगाएको महाभियोगको प्रस्ताव र अहिले तिनै निलम्बित प्रधान न्यायाधीशको बयानबाट अलिअलि थाहा हुँदैछ ।

कानुनमा भएका अपूर्णताबारे बुझेका बोल्न चाहँदैनन्, बोलेका सुधार्न चाहँदैनन् । आफ्नै विवेक र सामर्थ्यमाथि विश्वास नभएको अचम्मको कानुनी, शैक्षिक, आर्थिक, राजनैतिक नेतृत्वबाट यो समाज शासित छ ।

यौन व्यवहारलाई कानुनले व्यवस्थित गराउन खोज्नु आफैमा कठिन काम हो । पद, प्रतिष्ठा र धनसम्पत्तिको मोह जन्मेपछि उत्पत्ति भएको हो, यौन प्रतिको आकर्षण प्रकृतिले नै हालिदिएको मसला हो । यही मसलाको कारण संसार अलि रमाइलो छ । यही मसलाको कारण संसार अलि जटिल छ । यही मसलाको कारण संसार वास्तवमा असार छ । यो मानव होइन, प्राणी मात्रको शक्ति र कमजोरी दुवैको कारण हो । संसारकै साहित्य प्रेमको व्याख्या, वर्णन र विश्लेषणका लागि प्रतिबद्ध छ । ५५ वर्षको बुढो भएर सोच्दा लाग्छ, प्रेम यौनकै सफ्टवेयर पनि त हो ।

आफ्नो छोरा राजा हुने सर्तमा सन्तनुसँग बिहे गरेकी सत्यवती छोराहरू चित्राङ्गद र विचित्रवीर्यको असामयिक निधन भएपछि हतप्रभ भइन् । आफ्नो छोराहरूको राज्यारोहणमा कुनै अवरोध नआवस् भनेर आजीवन ब्रह्मचर्यमा रहने प्रतिज्ञा गरेका सौतेला छोरा भीष्मलाई उनले बोलाइन् र बिहे गरी सन्तान उत्पन्न गर्न आग्रह गरिन् । सत्यवतीका दुवै छोराहरूको मृत्यु भइसकेपछि आजीवन ब्रह्मचर्यमा रहने भीष्म प्रतिज्ञाको कुनै प्रयोजन बाँकी रहेको थिएन । तर भीष्मले मानेनन् । चित्राङ्गद र विचित्रवीर्यका दुई विधवा रानी र एक दासीले वेदव्यास मार्फत तीन छोरा जन्माए- धृतराष्ट्र, पाण्डु र विदुर । भीष्मको कथा भन्छ यौन एउटा स्वेच्छाको विषय हो, त्याग गर्न मन लागे त्याग्न सकिन्छ, स्वीकार्न मन लागे स्वीकार गर्न सकिन्छ ।

प्रणयमा लीन भएका ऋषि र उनकी पत्नी (कतै मृगको जोडी भन्ने पनि भेटें) लाई अनजानमा पाण्डुले वाण हान्छन् र तिनको मृत्यु हुन्छ । मर्ने बेलामा तिनले पाण्डुलाई प्रणयमा लीन भएमा सोही समयमा मृत्यु हुने श्राप दिन्छन् । यही श्राप बोकेका पाण्डु यौन कार्यबाट बच्दै बाँचिरहेका हुन्छन् । कुन्ती र माद्रीबाट छोराहरू पनि अन्य व्यक्तिहरू मार्फत जन्मिन्छन् । एक दिन पाण्डु र माद्री वनमा घुमिरहेका हुन्छन्, वसन्तको मादक हावा चलिरहेको हुन्छ । त्यो हावाले युवती माद्रीको पछ्यौरालाई हल्लाउँछ र माद्रीको हल्लिएको पछ्यौराले पाण्डुको मन । पाण्डु श्राप बिर्सन्छन्, माद्रीको प्रतिरोधलाई टार्छन् र संसर्गमा लीन हुन्छन् । भनिरहनु परेन होला, त्यो नै पाण्डुको जीवनको अन्तिम क्षण बन्छ । पाण्डुको कथा भन्छ यौन त्यो आवेग हो जसलाई मृत्युको भयले पनि परास्त गर्न सक्दैन ।

भीष्मको अति संयम अर्थहीन छ र पाण्डुको अति लिप्सा घातक छ । यी दुवैको बीचमा कतै सम्यक यौन जीवन छ । त्यस रहस्यको खोजीमा नै सुखद सांसारिक जीवनको यात्रा अनवरत चलिरहेको छ ।

सबै उमेर र लिङ्गका व्यक्तिहरूको अस्मिताको प्रत्याभूति अनि शारीरिक र मानसिक रूपमा वयस्क युवायुवतीहरूको यौन चाहना अझ यौन अधिकारको रक्षा आजको समाजले मागिरहेको विषय हो । नेपाली समाज दुई धारमा विभक्त भएको र असमानताको खाडल बढिरहेको, पुरातनवादी सोचबाट खुला समाजमा पदार्पण हुँदै गरेको अनि कानुन निर्माणमा लिइएको यौन मनोविज्ञान र वयस्कताको मानकको बदलिंदै गएको कारण नेपाली समाजमा विद्यमान कानुनी व्यवस्था र यौन सम्बन्धी विचार तथा व्यवहार जटिल छ । आखिर यो जटिल विषय नै हो पनि । यस जटिलताको जालोबाट नेपाली समाजलाई फुत्काउन सबैतर्फबाट पहल आवश्यक छ ।

(यो कठिन विषयमा लेखिएको विवादास्पाद ब्लग हो भन्ने मलाई थाहा छ । यसमा व्यक्त हुने विमतिप्रति मेरो सम्मान छ । म आफै‌ पनि यसमा व्यक्त भएका स्थापनाहरू गलत भएको देखिएमा सच्चिन पाउने पहिलो मौका नगुमाउने प्रतिबद्धता व्यक्त गर्दछु ।)

0 Shares

1 thought on “यौन व्यवहार र नेपालको कानुन

  1. धार्मिक, एेतिहासिक तथ्यहरु सहित बर्तमान परिवेश र याैनिक चाहनाका ब्यवहारिक तथा कानुनी पक्षलाई समेटेर मिठास शब्दमा प्रस्तुत याे लेख पढ्दा यथार्थता सहित अानन्दकाे अनुभुति भयाे ।मित्र केदार जी काे अध्ययन, विश्लेषण,प्रस्तुति र ५५ बर्षिय जाेश जागर का लागि नमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *