मैले यो ब्लग लेख्दासम्म संसारका १८८ देशमा नोवेल कोरोना भाइरस फैलिइसकेको छ । तीन लाख जति मानिस संक्रमित भएका छन् । यसमध्ये १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरस फैलिएको जानकारी भएको पहिलो सहर चीनको बुहानले बरु यो भाइरसबाट मुक्ति पाउन लागेको छ । तर अब कोरोना इटालीलाई मुख्य केन्द्र बनाएर युरोपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीको रूपमा लिएको छ र अब यो भाइरस दक्षिणपूर्व एशियामा फैलिने चेतावनी दिएको छ । विभिन्न मुलुकले स्वास्थ्य संकटकाल लगाएका छन् ।
नेपालले पनि कोरोना भाइरस मुलुकमा पस्न नदिन विभिन्न निर्णय गरेको छ । स्कुल क्याम्पस बन्द भएका छन् । चैत ६ गतेबाट चल्ने भनिएको एसइइ पनि स्थगित भयो । विश्वविद्यालयका परीक्षा पनि रोकिएका छन् । मानिस भेला हुने क्लब, सिनेमाघर, खेलकुद बन्द हुने छन् । २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । धेरै देशबाट आउन रोक लगाइएको छ । अन अराइभल भिसा अलि पहिला नै बन्द गरिएको थियो । नेपालीहरुलाई पनि जोखिमयुक्त विदेश यात्रमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । लकडाउन गर्ने वा संकटकाल घोषणा गर्ने सोचाइ राखिएको समाचार प्रकाशित भएका छन् ।
२०७६ साल चैत ७ गते सम्माननीय प्रधानमन्त्रीबाट समेत यसै विषयमा सन्देश प्राप्त भएको छ । कोरोना संक्रमण रोक्न थप कदम चालिने जानकारी उहाँले दिनुभएको छ । अन्तर्राष्ट्रिय उडान र लामो दुरीको यातायात बन्द हुने भएको छ । आवश्यक बाहेक अरू सरकारी सेवा स्थगित गरिएको छ । अस्पताललाई यस महामारीको समाना गर्न सुविधा सम्पन्न बनाइँदैछ । क्वारेन्टाइनका लागि स्थान तयार गरिंदै छ । खाद्यपदार्थ औषधि र अन्य सामानको सहज आपुर्तिमा जोड दिइएको छ । खोप र उपचार पत्ता लागिनसकेको यस रोगबाट बच्ने उपाय नै यसको संसर्गमा नपर्नु भएकाले यसतर्फ सबैको ध्यान जानु आवश्यक छ । मिर्गाला प्रत्यारोपणपछि प्रधानमन्त्रीबाट दुई पटक सार्वजनिक सम्बोधन भएको छ: पहिलो पटक सार्कका राष्ट्र प्रमुख र सरकार प्रमुखसँगको भिडियो कन्फरेन्स, दोस्रो यही । दुवै पटक कोरोनाका विषयमा । यसैबाट यस महामारीको गाम्भीर्य बुझ्न सकिन्छ ।
यो भाइरसले रोगव्याधिका विरुद्धमा मानिसले आजसम्म हासिल गरेका उपलब्धिलाई ठुलो चुनौती दिएको छ । ज्यानलिने थुप्रै रोगमाथि मानिसले विजय हासिल गरेको छ, रोग निरोधक खोप वा उपचारको माध्यमबाट । तर आजसम्म पनि कोरोनाको खोप वा विश्वसनीय उपचार पत्ता लागेको छैन । अनेकन चुनौती पार गरेर अघि बढेको मानव सभ्यताको सामु चुनौती घटेका छैनन्,बरु बढेका छन् भन्ने संकेत यसले दिएको छ । बिग्रदो वातावरण र बदलिंदो जीवनशैलीका कारण मानिसले अझै असंख्य चुनौतीको पहाड छिचोल्नु पर्ने कुरा त यस अघि पनि महसुस भएकै थियो । त्यो अनुभूतिलाई कोरोनाले टडकारो बनाइदियो । पुरानो ज्ञानले नयाँ समस्याको समाधान गर्न नसक्ने तथ्य पुन: प्रमाणित भएको छ । राजनैतिक दर्शन, अर्थशास्त्र र अरु समाजिक विज्ञानका क्षेत्रमा पनि यो कुरा उत्तिकै लागु हुन्छ भन्ने कुरो बुझौं ।
हामी विश्वव्यापी दृष्टिकोणका कुरा गरिरहेका थियौ, छौं । उदारीकरण, खुला बजार र विश्वव्यापीरण हाम्रा मूल नारा थिए । एक जमानामा रगतले खिचिएका राज्यका सीमारेखाहरू विश्वव्यापीकरणको प्रकाशमा सिसाकलमले तानेका धर्का जस्ता देखिन थालेका थिए । युरोप युरोपियन युनियनको छातामुनि एक ढिक्का भएको थियो । यस्तै क्षेत्रीय संगठन पनि थिए । वस्तु र सेवाको खुला ओसारपसारको कुरा थियो । सेवा मूलतः मानिसले दिने विषय भएको हुनाले मानिसको निर्वाध आवागमन हुनुपर्ने आवाज पनि उठ्यो । नेपाली दाजुभाइ नै दिदीबहिनी नै विश्वका कुनाकुनामा पुगेर आफ्नो भाग्य अजमाइ रहेका छन् । यातायात र संचारको सुविधा एवं विश्व बन्धुत्व र भाइचारा जस्ता मानवीय सोचका कारण विश्वलाई एक गाउँको रूपमा पनि लिन लागिएको थियो । यस्तो पृष्ठभूमिमा पनि केही वर्षअघिबाट राष्ट्रवादी भावनाको स्वर मुखरित हुन थालेको आभास भएको थियो । विश्वमा विश्वबन्धुत्वको नाराको स्वर मसिनो हुँदै गएर राष्ट्रवादका आवाज चर्को हुँदै गएको बेला देखापरेको कोरोनालाई यही राष्ट्रवादी भावनामा मलजल गराउन प्रयोग गरिएको आरोप पनि लागेको छ । चीनमा प्रथमत देखिएको हुनाले चीनलाई विश्व बजारमा एक्ल्याउने माध्यमको रुपमा समेत कोरोनालाई लिइएको भनाइ समेत प्रकाशमा आएका छन् । विश्वले कोरोनालाई रोगको रुपमा मात्र लिन नसकेको चिनियाँ बुझाइ छ । कोरोना अब चीनको मात्र होइन विश्वकै समस्या बनिसकेको छ । बरु चीनले एक स्तरको विजय हासिल गरेको छ, कोरोनाका विरूद्ध । कोरोना भित्रिन नदिन सबै देशकले आफ्ना पर्खाल अग्ल्याएका छन् । रोगसँग लड्न अहिले यो आवश्यक छ तर यसले विश्वमा फेरि दोस्रो विश्वयुद्ध अघिको जस्तो राष्ट्रवाद हावी होला कि भन्ने डर उत्पन्न भएको छ । कोरोनाका कारण उभ्याइएको र अग्ल्याइएको राष्ट्रवादको पर्खाल कोरोनाको संकट समाधान पछि पनि नसम्याइएला कि भन्ने आशंका छ । कोरोनाको विश्वव्यापी असरलाई विश्वव्यापीकरणले ल्याएको संकटको रूपमा व्याख्या नहोला र राष्ट्रवादी सोच र व्यवहारले प्रभुत्व नजमाउला भन्न सकिन्न ।
विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा यो देखा पर्यो । अहिले धनी मुलुक इटालीलाई आक्रान्त पारेको छ । कोरिया र जापानमा देखा परेको थियो, अहिले नियन्त्रणमा छ । धनी देशमा भइरहेको कोरोनाको उपचार पद्धति टेलिभिजनमा हेर्दा आङ सिरिङ्ग हुन्छ । बिरामी र चिकित्सक तथा स्वास्थ्यकर्मी सबै अन्तरिक्ष यात्रीको जस्तो पोशाकमा देखिन्छन् । अस्पतालको सरसफाइ पनि अति सावधानीपूर्वक गरिएको सुनिन्छ । स्वास्थ्य सेवा चुस्त र उपकरण आधुनिक होलान् । विकासित देशको स्वास्थ्य सुविधा राम्रै होला पनि । वुहानमा लकडाउनमा परेका मानिसलाई सरकारले ६/७ हप्तादेखि घरमा रसद पानी पुर्याइरहेको छ । यसको उपचार र रोकथाममा पर्याप्त साधन स्रोत लाग्ने पनि देखिन्छ । भारतमा पनि बिरामी देखा परेका छन् र केहीको मृत्यु भइसकेको छ । गरिब एशियाली देशहरूमा कोरोना फैलिएमा यसको असर निकै भयावह देखिनेछ । अहिले चीनमा कोरोना संक्रमणबाट मृत्युदर २/३ प्रतिशत र इटालीमा ८ प्रतिशत जति देखिएको छ । यो स्वास्थ्य सेवाको पहुँच र स्तर निकै राम्रो भएको देशको अवस्था हो । हाम्रोमा निकै बढी हुनसक्छ । नेपालजस्ता कमजोर स्वास्थ्य पूर्वाधार भएका गरिब देश र जनताले कोरोनाबाट निकै मूल्य चुकाउन पर्नसक्ने देखिन्छ ।
नेपालमा स्वास्थ्य सेवाको अवस्था राम्रो नभएको कारण विदेश उपचार गराउन जाने प्रचलन थियो । सीमावर्ती क्षेत्रमा नजिकको भारतीय सहर जाने, अलि कमाइ हुनेहरू दिल्ली, चेन्नइ, कोलकाता र मुम्बइ जाने र साधनस्रोतमा पर्याप्त पहुँच हुने उच्चस्तरका व्यक्ति भने भारत लगायत तेस्रो मुलुक जाने देखिएको थियो । राज्यशक्तिमा पहुँच हुनेले राज्यको साधन स्रोतमा विदेश उपचार गर्ने गराउने प्रचलन समेत देखिएको थियो । आफ्ना लागि युरोप, अमेरिका, कोरिया, जापान आदि देशमा राम्रो अस्पताल छदैंछ भन्ने सोचेर होला आम जनताको पहुँच पुग्ने गरी नेपालमा राम्रो अस्पताल बनाउनका लागि माथिका मान्छे चुकेकै थिए । नेपालमा सरकारी स्तरमा राम्रो र ठुलो अस्पताल आवश्यकता अनुसार बन्न सकेन । सरकारी क्षेत्र स्वास्थ्य सेवा दिन असमर्थ भएकाले निजी क्षेत्रले स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसाय बनायो । यसबाट स्वास्थ्यमा आम मानिसको पहुँच पुगेन । नेपालमा उपचार नपाएपछि समान्य नागरिकले पनि घरखेत गररै भए पनि उपचारका लागि विदेश जानुको विकल्प पनि थिएन, कतिपय रोग र अवस्थामा ।
कोरोनाको यस संकटबाट संसारको पल्लो कुनाको अस्पतालबाट सेवा लिन नसकिने तथ्य स्पष्ट भयो । अरू मुलुकको सुविधा ती मुलुकको खटनमा मात्र पाइने रहेछ । दिगो सेवा पाउन त आफ्नै मुलुकमा सो सेवा उपलब्ध हुनुपर्ने रहेछ भन्ने हेक्का कोरोनाले गराएको हुनुपर्छ । आज धेरै देशहरू बाँकी दुनियाँका लागि आफ्नो ढोका बन्द गर्न बाध्य नै भएका छन् (हामीले पनि नाकामा निकै अवरोध राखेकै छौं) । आपतकालका लागि आफ्नो देश सहर वा गाउँमा राम्रो स्वास्थ्य सेवा उपलब्ध हुनु जरुरी रहेछ ।
कोरोनासँग जुध्नका लागि स्वास्थ्य पूर्वाधारको विकास अहिले भइरेको अहिले पत्रिकामा पढ्न पाइएको छ । संत्रासका बीच यो आशा र खुशीको कुरो हो । नेपालमा स्वास्थ्य पूर्वाधार अपुग थिए निजी क्षेत्रकले व्यवसायको माध्यम बनाएको हुनाले आम जनताको पहुँचमा पनि थिएनन् । अब यो संकटको प्रेरणाले नै किन नहोस् स्वास्थ्य पूर्वाधारको विकास भयो भने कोरोना संकटले नेपाल र नेपालीलाई दिएको एउटा उपहार नै हुनेछ । अब नेपालमा नै सबै जनताले आफ्नै गाउँमा नभए पनि आफ्नो पहुँच पुग्न ठाउँमा सरकारी अस्पतालबाट सुविधा लिन सक्ने अवस्था सिर्जना होस् भन्न कामना गरौं ।
कोरोनाको कारण आर्थिक क्षति सुरु भइसकेको छ र यो कहाँ पुगेर टुंगिन्छ अनुमान गर्न सकिएको छैन । विदेशमा कामदार जान बन्द भएको र गएका पनि फर्करेका कारण रेमिट्यान्स घट्नेछ । मानिसको आवतजावत नियन्त्रण गरिएको कारण पर्यटन व्यवसाय चौपट भएको छ । होटल बन्द हुँदैछन् । विकास निर्माणमा पनि असर परेको छ । स्वदेशी र विदेशी दुवै रोजगारीमा अब संकट आइसकेको छ । कोरोनाको प्रभाव कति लामो र कति प्रगाढ हुन्छ आर्थिक क्षति त्यसकै अनुपातमा बढ्नेछ । कोरोनाको आर्थि असर निकै लामो समयसम्म रहन सक्ने देखिन्छ । यसले अर्थतन्त्रका धेरै क्षेत्रमा गम्भीर असरको संकेत दिइसकेको छ । सरकारले यसका असरको अध्ययन गरी राहत दिने कुरा बताइसकेको छ । यो रोगको असर अर्थतन्त्रमा मात्र सीमित छैन । यसले मानसिक शान्ति पनि खल्बल्याएको छ । मानिसलाई सबैभन्दा बढी डर मृत्युको हुन्छ; आफ्नो मृत्युको र आफ्ना मानिसको मृत्युको । अनि कोरोनाले मृत्युको घण्टा बजाइरहेको छ । कोरोनाभन्दा बढी मृत्यको घण्टा सामाजिक सञ्जाल र सञ्चारमाध्यमले बजाइरहेका छन् । चुपचाप मृत्युको अवसर समेत कसैलाई छैन । यस्तो चिन्ताले अरू मनोवैज्ञानिक वा सामाजिक असर पर्ने सहजै अडकल गर्न सकिन्छ ।
काठमाडौंको अहिलेको जनजीवन सामान्य नै छ भन्न सकिन्छ । नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । बिरामी देखिएका एकादुई निको भएका छन् । आशंका गर्ने ५/६ सय मानिसमा रुघाखोकी मात्र रहेको देखिएको छ । लक डाउनको नै पनि भएको छैन । बजार चालू छ र सामान धेरथोर पाइएकै छ । सार्वजनिक यातायात कम छन् तर चलिरहेका छन् । तर मनमा भने यसको असर देखिएको छ । यो कोरोनाले के गर्छ र के गर्दैन भन्ने कुनै कल्पना गर्न सकिएको छैन । त्रासका कारण काठमाडौं छोड्नेको भने ताँती छ । धेरै मानिस बाहिर जानुबाट आपूर्ति अलि सहज हुने आशा गर्नसकिन्छ । स्थिति यो भन्दा खराब भएमा भने थप उपाय अवलम्बन गर्नुपर्छ ।
मेरो मनमा पनि ज्वारभाटा उठिरहेका छन् । दुई छोरा र पत्नीका साथ जडीबुटीमा बसिरहेको छु । अफिस गए पनि इमेल र फोन गर्ने, नजिक गएर भेटघाट नगर्ने प्रचलन सुरू भइसकेको छ । तातो पानी खान्छु । हेलमेल नगरौं भने पनि बजार जानुपर्छ, सामान किन्नुपर्छ, पैसा दिनु र फिर्ता लिनु पर्छ । सार्वजनिक यातायात भने चढ्न छोडें । श्वासप्रस्वासको रोग पहिलाबाट नै भएकोले मलाई थप जोखिम छ । गाउँ नै फर्कन भाइले फोन गरिरहेको छ । तर केही भयो भने (कोरोना बाहेक नै पनि) त्यहाँ कुनै स्वास्थ्य सुविधा छैन । फेरि कतिन्जेल ? आफू जोगिनु छ, आफ्नालाई जोगाउनु छ । त्यति मात्र होइन, अब त आफ्नाबाट पनि आफू जोगिनु छ । त्यसैल भेटघाट बन्द नै छ भन्दा हुन्छ । कतै जाँदा पनि कोरोना लिएर पुगिएला वा कोरोना लिएर आइएला भन्ने त्रास रहिरहन्छ ।
ब्लगमा केही नलेखेको पनि धेरै भइसकेको थियो । मन शान्त र विचार स्पष्ट भए पो लेख्नु पनि ! तर आज सोचें, उकुसमुकुस पनि लेख्ने विषय नै हो नि, अनि लेखें यो । आशा छ, तमाम सुर्ताका बीचमा पनि तपाईंले पढ्नु हुनेछ । कोरोनाको संक्रमणबाट हामी बच्न सकौं, संक्रमण भई हाले पनि त्यसको सामना गर्न सकौं ।
