जगरेटार स्कूलः मेरो पहिलो पाठशाला

जगरेटार मेरो घरबाट करीव दस मिनटको दूरीमा रहेको साह्रै नजिकको टोल भए पनि यो टोल मलाई अत्यन्त रहस्यमय लाग्छ । मेरो बूढो मावली टोल भएकाले दसैंको टीका थाप्न वर्षमा एक दिन त अवश्य जगरेटार गइन्थ्यो तर अरु बेला पटक्कै आउजाउ नहुने । दसैंमा गएको बेला पनि त्यहाँको बाक्ला घर, थुप्रा केटाकेटी र फरक बनोटको सम्म परेको बारी मलाई अचम्मका लाग्थे । अरु तिरका भन्दा अग्ला र राम्रा घर त्यस टोलमा थिए । शायद क्यारेम बोर्ड मैले त्यहीँ देखेको थिएँ । यही अचम्मको भावनाले मनमा अत्यास ल्याएर होला त्यस टोलको पुछारमा रहेको जगरेटार  प्राथमिक विद्यालयमा एक कक्षामा भर्ना हुँदा म हरेक दिन रुन्थेँ रे । केही दिन जगरेटार स्कूल गएपछि पनि रुने बानीमा सुधार नआएपछि म उदयपुर गढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा एक कक्षामा पढ्न गएँ । तर जगरेटारको प्राथमिक विद्यालयसँगको निकटता मेरो भाग्यमा बाँकी नै रहेछ । एसएलसी पास गरेपछि म पढ्न क्याम्पस गइन । मेरो थप अध्ययन बारेमा घरमा कुरा नै भएन । राजविराजको क्याम्पसमा गएर पढाउने खर्च घरले धान्न नसक्ने कुरामा म ढुक्क थिएँ । मैले बुवालाई म पढ्न जान्छु भन्नसम्म पनि सकिन । घरमा रुपियाँपैसा राख्ने ट्याङ्काको साँचो मैले पनि चलाउन थालिसकेको थिएँ र त्यसमा के कति छ भन्ने मलाई थाहा थियो । बुवा बिरामी पर्न थाल्नु भएको थियो