बाको उमेरमा पुगेर हेर्दा

अहिले म बाको उमेरमा हिँड्दैछु । समयक्रममा बाको उमेर रोकियो, मेरो हिँड्दैछ । रोकिएको उमेरलाई हिँडिरहेको उमेरले भेट्दो रहेछ । यो वर्ष भेट्यो । म र हाम्रो बा अब दौतरी भएका छौं । मैले बाको सोच र भावना अलिअलि बुझ्न थालेको छु । बाका सीमा र सम्भावनाहरू खोज्दैछु । बाका भनाइका अर्थ र औचित्य भरखर खुल्दैछन् । बाका कर्मको महत्त्व अब स्पष्ट हुँदैछन् । मैले त्यतिबेला बाका कतिपय कुरा नबुझेकोमा पनि कुनै पछुतो छैन । बाको कुरा बुझ्न यति समय लाग्दो रहेछ, त्यतिबेला कसरी बुझ्नु ? अब पनि बाका सबै कुरा त कहाँ बुझ्न सकिएला र ? सम्झनाहरू पनि अब त धेरै धूमिल भइसके । स्मरण, सन्दर्भ र घटनामध्ये कुन मैले प्रत्यक्ष देखेको हो, कुन सुनेको हो र कुन केवल मेरो कल्पना मात्र हो भन्ने कुराको सीमा पनि अब त मेटिन लागिसक्यो । म झिना सन्दर्भ र घटनाका माध्यमबाट बाका इच्छा, चाहना र सोचको कल्पना गर्न खोज्दैछु । १. पढाइ बाले मलाई सुरूमा नेपालटारमा रहेको जगरेटार प्रा. वि. मा भर्ना गरिदिनुभएको थियो । औलो उन्मूलन भइसकेको हुनाले हामी उदयपुरगढीबाट नेपालटारमा बसोबास गर्न थालेका थियौँ । उदयपुरगढीको घर रुङ्न फुपू मात्र बस्नुहुन्थ्यो । धान रोपपछि मात्र हामी उदयपुर जान्थ्यौं र धानकाट्ने बेला भएपछि नेपालटार आउँथ्यौं । अब हामीलाई उदयपुरगढीभन्दा नेपालटार नै