आइफोन कोसेली

“यी लेऊ, तिमीलाई कोसेली।” खेमराजले हात अगाडि बढाउँदा उसको हातमा आइफोन-१६ को नयाँ बट्टा जगमगाइरहेको थियो ।

“आब्बुइ, आइफोन !” सीताले सुखद् आश्चर्यका साथ हातमा आइफोन लिइन् र ओल्टाइपल्टाइ गर्न थालिन् । “मलाई त यस्तो कोसेली आउला भन्ने आशै थिएन ।”

“ल, के कुरा गरेकी तिमीले ? विदेश जाँदा कहिले तिमीलाई रित्तो हात राखेको छु र ?”

“त्यो त हो । तर यति महँगो गिफ्ट !”

सालीको लागि ल्याइने गिफ्टको पनि कतै मोल हेरिन्छ त !” अलिकति जिस्किने मुडमा आयो खेमराज । साली भेनाको उमेर जति भए पनि नाता भने युवा नै हुन्छ ।

“यो विदेश भ्रमण त चिठ्ठा परेको हो, मलाई । चिठ्ठा परेको पैसाको के लोभ गर्नु ?” खेमराजले गफ दियो।  वास्तवमा यो मौका त संयोगले मात्र आएको थियो । पुरानो सरकार रहेको भए ऊ टोलीमा पर्ने नै थिएन । अर्कै पार्टीको कर्मचारी जान्थ्यो भत्ता खान । नेपालमा अहिले सत्ता परिवर्तनको असर खरिदारको कुर्सीसम्म आइपुग्छ । अवसर कुन कर्मचारीले पाउने भन्ने कुराको निर्क्यौल ऊसको पार्टीसँग सम्बन्धित छ । फेरि अनेक तिकडम र जालझेल । भन्नु उसो हैन, किनमेल पनि  चल्छ  । जागिर वास्तवमा ठेक्कापट्टा भएको छ अहिले ।

खेमराजले गफ हाँके पनि यो महँगै कोसेली थियो । खेमराज विदेश जाँदा सबै भत्ता र सुविधाको रकमको डलर साटेर जान्थ्यो र उतै बसकेका छोराछोरीलाई दिएर आउँथ्यो ।यसरी जाँदा कोसेली त ल्याइदिन्थ्यो तर दश बिस डलर जाने सजावटका सामग्री वा सौन्दर्य प्रसाधन मात्र । यो पटक त उल्कै गरेको थियो ।

“त्यो त हो भिनाजु । तर मैले दिदीसँग कुरा गर्दा भिनाजुलाई किनमेल गर्ने फुर्सद नै हुँदैन भन्नुहुन्थ्यो । त्यसैले मात्र ।” सीतालाई भिनाजुको चित्त दुखेको जस्तो लाग्यो ।

“त्यो त हो नि ! ठुलाबडाहरूसँग हुने भ्रमणमा त्यति फुर्सद नै हुँदैन । विदेशमा उनीहरूलाई एक्लै पारेर कतै जान मिल्दैन । कति वेला कुन जरूरी काम पर्छ थाहा हुँदैन । कार्यक्रमहरू पनि व्यस्त नै राखेर बनाइएको हुन्छ । उनीहरूको आसेपासे किनमेल र घुमघामका लागि बरालिँदा आफूभने उनीहरूको वरिपरि घुमिरहनुपर्छ ।” सरोजले सही थाप्यो ।

“तिमीले समाचारमा पनि सुन्यौ होला त ! विदेशमा रहेका नेपालीले त्यहाँ हुने एउटा कार्यक्रममा विरोध प्रदर्शन गर्ने हल्ला चल्यो । यसै कारण कार्यक्रम रद्द भयो । अचानक यसरी कार्यक्रम रद्द हुँदा उहाँहरूलाई पनि फुर्सद भयो । हामीले पनि केही समय फुर्सद पायौं, किनमेल गर्न पनि पाइयो । तिमीलाई आइफोन त्यसरी जुरेको हो ।”  सरोजले विदेश भ्रमणको एक टुक्रो कथा सुनायो ।

खेमराजले सालीसँग यो बेलीबिस्तार लगाए पनि कुरो अलि फरक थियो । नेताहरू विदेशमा रहँदा उनीहरूसँग भेट्न उद्योगपति र व्यापारीका प्रतिनिधिहरू सल्बलाइरहेका हुन्छन् । यो पटक पनि सिङ्गापुरबाट एकजनाले खेमराजलाई तारन्तार फोन गरेर समय मिलाइदिन भनेका थिए । कार्यक्रम रद्द भएको कारण केही समय खाली रहेको जानकारी तिनलाई खेमराजले नै गराएका थिए र भेटघाटको तारतम्य पनि मिलाइदिएका थिए । त्यसै वापत ती प्रतिनिधिले खेमराजलाई यो आइफोन दिएका थिए । घरमा सबैले पहिलादेखि नै आइफोन चलाइरहेका हुनाले यो चैं उसकी साली सीताको हातमा पुगेको थियो ।

तर यो कुरा त किन कसैलाई भनिरहनु पर्‍यो र ?

“आइफोन राम्रो भए पनि यसको कथा त झुर रहेछ त, भिनाजु ! देशकै बेइज्जत भएछ ।”

“पहिले अवसरको खोजीमा विदेश पुगेका र विदेशमा धेरै प्रगति गरेका नेपालीहरू धेरै थिए । अचेल नेपालमा दुःख पाएर विदेश गएका र उता पनि हन्डर पाएका नेपालीहरूको संख्या बढिरहेको छ । देशको चाल पनि त ठिक छैन नि !  दुःख पाउनेले आक्रोश पोख्छ नै । यो त्यही भएको हो । तिमी धेरै भावुक नबन । मोबाइल चलाऊ, टिकटक बनाऊ । यस्ता घटनाबाट जसको निधार खुम्चनु पर्ने हो, उनीहरूको निधार खुम्चिँदैन । हामी साना मान्छे गम्भीर भएर के गर्नु ? नेपाल बगिरहेको गङ्गा हो, सबैले हात चोबलेर पाप पखालिरहेका छन् । तिमी पनि टाउको नदुखाऊ ।”

“थ्याङ्क्यु भिनाजु ।”

(साहित्यपोस्ट अनलाइनमा प्रकाशित)

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *