बेइजिङमा अलमलिँदा

२०७४ सालको हिउँद सुरू हुन लागिसकेको थियो । अफिसबाट दक्षिण कोरियामा हुने तालिमका लागि मेरो मनोनयन भएको रहेछ । मनोनयन भएका अरू सहकर्मीहरूसँग तालिम सकिएपछि नेपाल फर्कने क्रममा बेइजिङ र साङ्घाईको एक नजर लगाउने सल्लाह भयो । यसरी तालिमको मनोनयनमा थप ठाउँ घुम्दा बिदा र लाग्ने खर्च त आफ्नो हुन्थ्यो नै, हवाइजहाजको भाडा सोझै काठमाडौं फर्कंदा लाग्नेभन्दा बढी लाग्ने भएमा त्यो थप भाडा पनि तिर्नुपथ्र्याे । तैपनि, तालिमको लागि गएको बेला बाटोमा पर्ने ठाउँहरू घुम्नु फाइदाजनक नै हुन्थ्यो ।
अघिल्लो दिन बेइजिङको तियानमेन स्क्वाएर, पुरानो दरबार इलाका र ग्रेटवाल घुमेर भोलिपल्ट साङ्घाई जाने तयारीमा थियांै हामी तीन जना, तेज बहादुर राना, धन बहादुर श्रेष्ठ र म । निकै बिहान (सायद ६ बजे) को रेल भएकाले हामी सबेरै होटलबाट निस्केका थियौं । बाहिर चिसो सिरेटो चलिरहेको थियो, मन रेलको यात्रा र साङ्घाईको कल्पनाले रोमाञ्चित भइरहेको थियो । हाम्रा ड्राइभरले हामीलाई रेल स्टेसनको मुख्य द्वारमा उतारे अनि हाम्रो बाटोतर्फ संकेत गरे । उनको काम सकिएको थियो । अब साङ्घाईसम्मको यात्राको चाँजोपाँजो हामी आफैंले पथप्रदर्शक विना नै मिलाउनु पर्ने थियो ।
आफ्नो देशमा रेल, मेट्रो जस्ता पूर्वधार नभएको हुनाले यिनको कार्यप्रणाली अक्सर नेपालीलाई जानकारी हुँदैन । त्यसै हुनाले विदेशमा जाँदा पनि त्यहाँ उपलब्ध त्यस्ता सुविधाको भरपुर सदुपयोग गर्न सकिंदैन । हामीलाई बेइजिङको रेल स्टेसनको काउन्टरमा आफ्नो रिजर्भेसनको कागज देखाएर रेलको टिकट लिई सही प्लेटफर्मबाट साङ्घाई जाने रेल चढ्नु थियो । एकातर्फ केही समयपछि नै बेइजिङबाट साङ्घाई जाने ४०० किलोमिटर प्रतिघण्टा दौडिने द्रुतगतिको (सुपरफास्ट) रेल चढ्ने हाम्रो चाहाना पूरा हुँदै थियो भने अर्कोतर्फ केही कुरामा गल्ती गरियो भने दुःख पाइने चिन्ता पनि थियो ।
म टिकट लिन काउन्टरमा गएँ । मेरो हातमा काठमाडौंको ट्राभल एजेन्सीले पठाएको रिजर्भेसनको कागज थियो । मैले काउन्टरमा त्यो देखाएँ । काउन्टरमा रहेकी कर्मचारीले पा.. पो.. भनिन् । मैले कुरो बुझें । उनले हाम्रो पासपोर्ट मागेकी थिइन् । उनको यो भनाइले मलाई झस्कायो ।
रिजर्भेसनको कागजमा मेरो पासपोर्ट नम्बर गलत लेखिएको थियो । यो कुरा मैले कोरियामा रहेको समयमा प्राप्त भएको इमेल हेरेर नै थाहा पाइसकेको थिएँ । तर मसँग पासपोर्ट, टिकट र भिसा ठिकठाक रहेको हुनाले घुम्नका लागि गरिएको रिजर्भेसनको कागजमा पासपोर्ट नम्बर गलत भएर के फरक पर्ला र भनेर त्यसलाई त्यति वास्ता गरेको थिइन । अब टिकट जारी गर्नका लागि काउन्टरकी कर्मचारीले पासपोर्ट खोजेपछि मेरो मन अमिलिनु स्वभाविकै थियो ।
जे भए पनि मैले पासपोर्ट लिएर उनीकहाँ जानु त थियो नै । साथीहरूसँग पासपोर्ट मागें, आफ्नो पनि त्यहीं राखे र तीनवटा पासपोर्ट र रिजर्भेसनको कागज उनलाई दिएँ । उनले फटाफट दुइटा टिकट प्रिन्ट गरिन् र ती टिकटलाई सम्बन्धित पासपोर्टमा राखिन् । उनले मेरो पासपोर्टको नम्बर, रिजर्भेसनको कागजको नम्बर र कम्युटर स्क्रिन मलाई देखाएर भनिन् – नट यु । अर्थात्, यो तिमी हैनौ । अर्थात्, अब म म थिइनँ । उनले मेरो टिकट जारी गर्न मानिनन् । मैले साथीहरूलाई स्थिति बताएँ र बस्दै गर्न अनुरोध गरी त्यो समस्याको समाधान गर्नतिर लागें । झोलाहरू भएको ठाउँमा कोही नबसी सबैजना टिकट सम्बन्धी समस्या समाधान गर्न कुद्नु पनि त ठिक थिएन ।
अब के गर्ने ? सोच्ने फुर्सद पनि थिएन । हामीसँग चीनमा चल्ने मोबाइलको सिम पनि थिएन । अलिकति चाहिँदैन होला भन्ने सोच र अलिकति त्यसमा पैसा खर्च किन गर्ने भन्ने लोभले सोलबाट आउँदा बेइजिङ विमानस्थलको आगमन कक्षमा सिम बेच्न राखेको देखिए पनि किनिएको थिएन । रेल स्टेसनमा त सिम बेच्न राखेको पनि देखिन । सिम नभएको हुनाले मैले बेइजिङको सम्पर्क व्यक्ति (मैल सम्झेसम्म तिनको अंग्रेजी नाम न्यान्सी थियो । विदेशी पर्यटकलाई सम्झन र बोलाउन सजिलो होस् भनेर पर्यटन क्षेत्रसँग सम्बन्धित चिनियाँले आफ्नो अंग्रेजी नाम पनि राख्दा रहेछन् ।) सँग कुरा गर्न पनि सकिन । रेल कर्मचारीले टिकट दिन अस्वीकार गरे पनि मलाई कसैगरी साङ्घाई त जानै थियो । काठमाडौं फर्कने हवाइजहाज मैले साङ्घाईबाट नै चढ्नुपथ्र्याे । साथीहरूसँग साङ्घाई जाने टिकट थियो एक्सप्रेस ट्रेनको, मेरो थिएन ।
चीनमा कुरो बुझ्नु र बुझाउनु नै ठुलो समस्याको रूपमा रहेको देखें मैले । चीनमा अंग्रेजी भाषा जान्ने मान्छे हत्तपत्त भेटिदैन रहेछ । होटलको रिसेप्सनमा विदेशीसँग अनुवाद उपकरण (ट्रान्सलेसन सफ्टवेयर) को मद्दतले कुरा गरेको देखें । विदेशी पाहुनालाई कुनै जानकारी दिनु छ भने अनुवाद उपकरणमा चिनियाँ भाषामा टाइप ग¥यो, अनि त्यहाँबाट निस्कने अंग्रेजी रूप पाहुनालाई देखायो, काम चलायो । यस्तो अवस्थामा मैले मेरो समस्या सुनाउने र सहयोग गर्नसक्ने अंग्रेजी जान्ने मान्छे कहाँ पाउनु ?
मेरो चालामाला मभन्दा केही पछि लाइनमा रहेका एउटा युवाले देखेका रहेछन् । उनले मसँग अंग्रेजीमा कुरा गरे । मैले लामो सास तानें । दुनियाँमा कोही त छ भन्ने भावना आयो । फेरि यही मेसोमा ठगिने र लुटिने हुँ कि भन्ने डर पनि मनमा पलायो । तर मैले उनको कुरो सुन्नुको विकल्प थिएन । उनको सल्लाहमा उनीसँगै अर्को काउन्टरमा गएँ र रिजर्भेसन क्यान्सिल गराएँ, केही रकम कट्टा गरी बाँकी रकम फिर्ता पाएँ । अनि पहिला टिकट जारी गर्न नमानेको काउन्टरमा त्यही रेलको अर्को टिकट जारी गर्न अनुरोध गरें । उनले भनिन्– अब टिकट छैन, सबै टिकट बिकिसक्यो ।
मैले सङ्घाई जाने अर्को रेलको टिकट दिन भने । उनले दिइन् । एक्सप्रेसभन्दा यो करिब दुई घन्टा ढिलो छुट्थ्यो, ढिलो गतिमा जान्थ्यो । अग्रिम भुक्तानी गरेर रोकिएको टिकट क्यान्सिल गरेर मैले पैसा फिर्ता पाउन सकें भने त्यही रिजर्भेसनको आधारमा टिकट पनि पाउन सक्थें होला । तर त्यसको मेसो मिलाउन सकिन । म टिकट लिएर लुरुलुरु साथीहरू बसेको ठाउँतिर आएँ ।
उहाँहरू अघिल्लो रेलमा जाने र म पछिल्लोमा जाने टुङ्गो नै भयो । भारतमा जस्तो उभिएर यात्रा गर्ने कुरा पनि थिएन । भारतमा नै पनि अब त्यो इतिहास भइसक्यो होला । झन् यहाँ त ठाउँठाउँमा राखिएका इलेक्ट्रोनिक सेन्सरलगाइएका ढोकाहरूबाट त्यही टिकट छुवाएर पार हुनुपथ्र्याे । हामी कुनै जोखिम लिन सक्ने अवस्थामा थिएनौ । हामीले अब छुट्टिने तयारी ग¥यौं । यात्राको भ्रमणसम्बन्धी कागजात मसँग थियो । हामी तीनै जानाले मोबाइलमा त्यसको फोटो खिच्यौं । यसैको आधारमा हामी साङ्घाईमा भेट्न सक्थ्यौ, घुम्न सक्थ्यौं । मैले साङ्घाईको रेल स्टेसनको बाहिर निस्कने ढोका नजिकै पर्खन साथीहरूलाई अनुरोध गरें । यसपछि मैले साथीहरूलाई बिदा गरें र एक्लै आफ्नो रेल पर्खेर बसें । सबै कुरा ठिकठाक रहे आठ घण्टा जतिमा हामी फेरि भेटिन्थ्यौं ।
मैले बिहान खाजापछि औषधि खानु थियो । चिया किने र आफुसँग भएको बिस्कुट चियासँग खाएँ । एक बोतल पानी किने । उच्च रक्तचापको औषधि खाएँ । सधैं लिनुपर्ने इन्हेलर लिएँ । अनि अलि सुरक्षित महसुस गरें । एक्लै भएको बेला बिरामी परे के गर्ने होला भन्ने पिर पनि लाग्यो ।
म छुटेको कुरा न्यान्सीलाई जानकारी दिनु थियो, आफूसँग फोन थिएन । एक जना भद्र देखिने मानिससँग आफ्नो हाल अंग्रेजीमा बताएँ । उनलाई सम्पर्क व्यक्तिलाई मेसेज पठाउनु थियो भनें । मैले बोल्दा भाषा, भावभङ्गिमा र इसारा सबै प्रयोग गरेको थिएँ । उनले कुरो बुझेछन्, मेसेज एप्लिकेसन खोलेर अंग्रेजी फन्ट समेत निकाली मलाई मोबाइल दिए । मैले आफू अर्को रेलबाट जाने, साथीहरू गइसकेको र साङ्घाईमा हामीलाई लिन आउने व्यक्तिले पर्खनुपर्ने लेखें । मैले रेलको नम्बर पनि बताएँ । फोनवाला मानिसको अनुमति लिई मैले न्यान्सीसँग छोटो कुरा पनि गरें ।
टिकट र सूचनापाटीमा प्लेटफार्म नम्बर र समय भने अंग्रेजीमा पनि लेखिने भएकाले मलाई प्लेटफार्म पत्ता लगाउन गाह्रो भएन । म आफ्नो डिब्बा र सिट खोजेर बसें । सिटमाथि फइबरको सानो ¥याक थियो । यस ¥याकले त थेग्दैन होला भनेर सुटकेस सिटमुनि राखेको थिएँ । रेलका कर्मचारीले माथि नै राख्न संकेत गरेपछि सुटकेस माथि नै राखें । रेलमा यात्रुहरू भरिंदै गए । छेउछाउमा बस्न आउनेलाई टाउको झुकाएर अभिवादन पनि गरें । एक्लो थिएँ, के थाहा एकछिनपछि कोसँग के सहयोग माग्नुपर्छ !
मलाई भोक लाग्यो । रेलमा खानेकुरा ट्रलीमा राखेर बेच्न ल्याउँदा रहेछन् । भात त रहेछ तर शाकाहारी तरकारी रहेनछ । म शाकाहारी त होइन तर यात्राको समयमा शाकाहारी खाना नै मन पराउँछु । सुँगुरको मासु र माछामा एउटा रोज्नुपर्ने भयो । मैले माछा रोजें । माछा भात खाएँ । भोक ट¥यो ।
यो सुविधासम्पन रेल थियो । करिबकरिब हवाइजहाज चढेको अनुभूति पो भइरहेको थियो । सिट नरम र सफा थिए । अरू सरसफाइ पनि राम्रो थियो । भिडभाड पनि थिएन, सिट अनुसार नै मानिस थिए । त्यो सुपरफास्ट रेल चैं थिएन, अपेक्षाकृत ढिलो गतिको रेल थियो । विभिन्न स्टेशनमा रोकिन्थ्यो । यात्रु झर्थे, चढ्थे । एक किसिमले लोकल किसिमको रेल थियो त्यो । म नजिक बस्ने मानिस तीनचार पटक बदलिए होलान् । म कसैसँग बोल्न खोजे पनि उनीहरू मुसक्क हाँसेर टार्थे । म पनि मुस्कुराएर उनीहरूको भावनाको कदर गर्थें । स्पष्ट थियो, उनीहरूलाई अंग्रेजी बोल्न आउँदैनथ्यो, मलाई चिनियाँ ।
रेल बिस्तारै आफ्नो गन्तव्यमा पुग्दै थियो । मेरो मनमा छटपटी बढ्दै थियो । रेलमा रहुन्जेल म सुरक्षित थिएँ । मेरो बस्ने ठाउँ थियो, तोकिएको गन्तव्य थियो । रेल अगाडि बढिरहेको थियो, यात्राको अवधि छोटिंदै थियो । यो यात्रा सकिने बित्तिकै तनाव सुरू हुनेवाला थियो । साथीहरूलाई भेट्नु पर्ने मेरो चुनौती नजिकिंदै थियो । अढाइ करोड चानचुन जनसंख्या पुग्न लागेको साङ्घाईको रेल स्टेसनमा मान्छे खोज्ने काम थियो मेरो । हो, उहाँहरूसँग प्लेटफार्ममा नै पर्खने सल्लाह त भएको थियो । तर सङ्घाईको त्यो रेल स्टेसनमा कतिवटा प्लेटफार्म होलान् ? उहाँहरू कुन कुनामा बस्नुभएको होला ? के म उहाँहरूलाई भेट्न सक्छु होला त ? छाडिदै गएका खेतबारी र सासाना सहरका रेल स्टेसनहरूले मलाई त्यही चुनौतीपूर्ण समयतिर हुत्याइरहेका थिए । अब साङ्घाई आइपुग्न धेरै समय थिएन पनि ।
साङ्घाई स्टेसनमा मैले उहाँहरूलाई भेट्नु थियो । आगामी यात्रा सहज बनाउने त्यही मेरो लागि एक मात्र उपाय थियो । साथीहरूसँग भेट भएपछि नै सबै समस्याको समाधान हुन्छ । तर, स्टेसनमा मैले साथीहरूलाई भेटिन भने म के गर्छु ? मैले आफैलाई सोधें । मसँग त्यो वेलासम्म दोस्रो विकल्प थिएन । मैले सोचें –एउटा ट्याक्सी लिएर होटलमा जान्छु । भोलि अर्को ट्याक्सी लिएर एयरपोर्ट । साङ्घाई घुम्ने कार्यक्रम फासफुस भए होस् । सुरक्षित घर त पुग्छु ।
तर मसँग भएको यात्रा सम्बन्धी कागजमा केवल अंग्रेजीमा मात्र बुक गरिएको होटल र यात्राको विवरण लेखिएको थियो । त्यसलाई ट्याक्सी ड्राइभरले नबुझ्न पनि सक्थ्यो । कम्तीमा बुक गरिएको होटलको नाम र ठेगाना चिनियाँ भाषामा उल्था गराउन पाए केही फाइदा हुन्थ्यो भन्ने मनमा सोचिरहेको बेला एक आधुनिक जोडी रेलमा चढे । पुरूष अर्कोपट्टिको सिटमा बसे, महिला म नजिकको सिटमा बसिन् । यिनलाई अंग्रेजी आउँछ कि भनेर मैले कुरा सुरू गरें । भाग्यवश उनी अंग्रेजी बोल्दिरहिछन् । मैले होटलको नाम र ठेगाना चिनियाँ भाषामा उल्था गरिदिन अनुरोध गरें । उनले कागज हेरिन् र चीनमा ठाउँको नाम भने स्थानीय शैलीमा राखिने र अन्य ठाउँको बासिन्दाले सही उल्था गर्न नसक्ने भन्दै उनले अनुवादको लागि असमर्थता व्यक्त गरिन् । मैले उनलाई बेइजिङमा रहेकी न्यान्सीलाई फोन गर्न दिन अनुरोध गरें । उनले न्यान्सीसँग फोन लगाइदिइन् । मैले आफ्नो कुरा राखे । मैले पुग्ने अन्दाजी समय बताएँ । मेरो दुई साथीले पनि साङ्घाई पुगेर उनीसँग सम्पर्क गरेर मलाई पर्खिरहेको जानकारी पाएँ । मेरो यात्रारूपी चङ्गाको धागो लट्टाइबाट चुँडिएको रहेनछ । अलिकति आश्वस्त भएँ । यसपटक मैले उनलाई फोनमा कुरा गरेको पैसा दिन खोजें, बेइजिङमा एक जनासँग यस्तै सुविधा लिएको थिएँ तर पैसा दिएको थिइँन । खासै धेरै पैसा खर्च हुँदैन भनेर उनले पैसा लिन मानिनन् ।
बाटोमा परेका अरू रेल प्लेटफार्ममा उति मानिस देखेको थिइन । यी साना रेल वे स्टेसन भएर मानिस नदेखिएका होलान्, साङ्घाईमा त भीड होला भन्ने मेरो अनुमान थियो । साङ्घाईमा रेलबाट ओर्लिंदा मैले सोचेजति भीड पाइन । रेलको लिक कतै जमिनमाथि, कतै जमिनमुनि हुने भएर त्यस्तो लाग्दो रहेछ । रेलबाट बाहिर निस्की स्केलेटरबाट ओर्लिएर तल आउँदा त मानिसको जनसागर नै देखें । यस्तोमा कसरी साथीहरू भेट्नु ?
उहाँहरू अर्कै रेलमा आउनु भएको थियो । अर्को ढोकाबाट बाहिर निस्केको हुन सक्नुहुन्थ्यो । अर्कै प्लेटफार्ममा बस्ने सम्भावना थियो । म साउथ गेटमा थिएँ, उहाँहरू कता ओर्लिनु भयो ? कहिले नपुगेको र नक्शामा पनि राम्ररी नहेरेको यो रेल स्टेसनमा मानिस भेट्ने प्रयास आफैंमा एउटा मूर्खतापूर्ण काम थियो । अनि, जति मूर्खतापूर्ण भए पनि मेरो तत्कालको एकमात्र काम त्यही थियो । म निश्चिन्त देखिन कोसिस गर्दै सुटकेस घिस्याएर आगमन कक्षमा दुई पटक ओहोरदोहोर गरें तर उहाँहरूलाई भेट्न सकिन । एकपटक पार्किङको छेउमा पुगेर फर्केको त थिएँ तर त्यता फेरि जान मन लाग्यो । त्यहाँको एउटा मोडमा मेरो दृष्टि पुगेको जस्तो लाग्यो । त्यहाँ पुगेर हेरें । सुखद आश्चर्य, तेज सर र धनजी बसिरहनु भएको थियो ।
तीन भाइ एकसाथ भएपछि हाम्रो निधारमा कोरिएका चिन्ताका धर्का उसै मेटिए । मलाई एक्लै छोडेर आउनुपर्दा उहाँहरूको जिउमा पनि घाम लागेको थिएन । ूतीनवटै टिकट क्यान्सिल गरेर सँगै आउनुपर्ने रहेछ । हतारमा सही निर्णय गर्न सकिएन । हिँडेदेखि नै थकथक लागिरह्यो ।ू तेज सरले भन्नुभयो । ूहामी त तपाईलाई नभेटिन्जेल यहीं बस्ने भनेर सल्लाह गरिरहेका थियौं ।ू धनजीले भन्नु भयो । हामी संयोगवश नै सही, भेटिएका थियौं । अहिलेसम्मका पिर सबै छुमन्तर भइसकेका थिए ।
अब हामीलाई एउटा यस्तो मानिस चाहिएको थयो जसले हामीलाई केही मिनटका लागि फोन उपलब्ध गराओस् र हामी न्यान्सीलाई फेरि फोन गर्न सकौं । कसैलाई फोन दिनु केही रकम खर्च गर्नु मात्र होइन, केही समय दिनु पनि हो । रेल स्टेसनको हतारोमा रहेका मान्छेसँग कसरी फोन माग्नु ! अर्काको फोन माग्नु शिष्टाचारको कुरो पनि होइन । तर, विवशताको अघि शिष्टाचारले घुँडा टेक्दो रहेछ । यसअघि नै दुई पटक घुँडा टेकिसकेको शिष्टाचारले यो पटक पनि घुँडा टेक्यो । मैले फोन मागें । विदेशी अनुहारले गरेको याचना उनले पनि अस्वीकार गरेनन् । यो पटक हामीसँग कुरा पनि धेरै थिएन । मैले न्यान्सीसँग हामी आपसमा भेट भएका र साउथ गेटमा लिन आउने मानिस पर्खिरहेको जानकारी दिएँ । उनले म रहेको रेलको आगमन समय हेरेर ड्राइभर पठाइसकेकी रहिछन् । फोन राख्दा नराख्दै हामीलाई लिन ड्राइभर आइपुगे । हामी उनको पछि लाग्यौं ।
मोटरमा ड्राइभरका साथमा अर्का व्यक्ति पनि थिए । ती हामीलाई भोलिपल्ट घुमाउने पथप्रदर्शक रहेछन् । अलिअलि गफिंदै आयौं । होटमा झोला राखेर हामी यसो बाहिर निस्कियौं । नजिकको बजार घुम्यौं । बिहानको रेलबाट सँगै आउन पाएको भए अलि ठुलो चक्कर लगाउन सकिने रहेछ । साँझ पर्दै थियो, भोक पनि लागेको थियो । हामी खाना खाएर होटल फक्र्यौं ।
एक किसिमले हेर्दा यो घटना खासै उल्लेखनीय भए झैं लाग्दैन । यात्रामा केही समय छुट्टिए पनि हामी अन्तिममा भेटियौं । हाम्रो यात्रा योजनामा केही फरक परेन । त्यो दिनका लागि स्टेसनबाट होटल पु¥याउने सुविधा मात्र लिएका थियौं । टुर गाइड र मोटर त भोलिका लागि मात्र बुक भएका थिए । तर अर्को तरिकाले हेर्ने हो भने म ठुलो जोखिमबाट बचेको थिएँ । म देशविदेश घुमेर प्रशस्त यात्रा अनुभव बटुलेको मान्छे होइन । कार्यालयबाट मनोनयन भएको सहरमा गयो, आयोजकहरूले भनेको ठाउँमा उनीहरूको औंलो समाएर घुम्यो, फर्केर आयो । मोटामोटी यही हो मेरो अनुभव । भाषा पटक्के नबुझिने देशमा एक्लिनु पर्दा मनमा उठेका ज्वारभाटा म अझै महसुस गर्न सक्छु । सानो असावधानी वा गल्तीले मलाई भनिनसक्नु सङ्ककटमा हाल्न सक्थ्यो ।
आज पनि ती क्षणहरू सम्झँदा लामो सुस्केरा निस्कन्छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *