आत्महत्याः नयाँ परिभाषाको खोजीमा

मानिसको ज्यान जाने कारणहरूमध्ये आत्महत्या पनि एक हो । संसारभर वर्षमा करिब ८ लाखभन्दा बढीले आत्महत्या गर्दा रहेछन् । यसरी हेर्दा हरेक ४० सेकेन्डमा एउटा मानिसले आत्महत्या गर्दो रहेछ । महिलाभन्दा ३.५ गुना बढी पुरूषले आत्महत्या गर्दा रहेछन् । हत्या र युद्धभन्दा बढी  मान्छे आत्महत्याबाट मर्दा रहेछन् । नेपालमै पनि लकडाउनको अवधिमा १२०० भन्दा बढी मानिसले आत्महत्या गरेछन् ।  वर्षमा १-२ करोड मानिसले आत्महत्याको प्रयास गर्दा रहेछन् ।यही जेठ २६ गते अछामको बयलपाटा अस्पतालको रोजगारी छुट्ने भएपछि आत्महत्या गरेका सिद्धार्थ आउजीले हाम्रो दिमागमा झट्का लगाएका थिए । हिन्दी सिनेमाका उदीयमान कलाकारको आत्महत्याको कारण यो विषय पुनः चर्चाको विषय बनेको थियो ।

आत्महत्याको कारणः आर्थिकसमाजिक परिवेश

आत्महत्याको कारण खोज्दै जाँदा आर्थिक-समाजिक प्रतिकूलता मुख्य कारकको रूपमा देखिन्छ । अत्यन्त कमजोर आर्थिक अवस्था, रोजगारी गुम्नु, ठुलो आर्थिक क्षति, सामाजिक प्रतिष्ठामा आँच, प्रेम र विवाहको लागि अस्वीकृति, कलहपूर्ण वैवाहिक अवस्था, आत्मीय व्यक्तिको वियोग, आफ्ना मानिसको विश्वासघात, कानुनी वा प्रशासनिक झमेला, पक्षपात, एक्ल्याउने व्यवहार आदिका कारण मानिसले आत्महत्या गरेको देखिन्छ । साधन स्रोतको अभाव, सम्मानको समाप्ति अनि भावना र कल्पनामा आघातपछि मानिसलाई बाँच्न गाह्रो पर्छ नै ।

प्रतिकूल परिवेशमा पनि कतिपय मानिस आफूलाई सन्तुलन र अनुकूलनको प्रक्रियामा लैजान समर्थ हुन्छन् । तिनले विभिन्न विकल्पको खोजी गर्छन् । धैर्य र प्रतीक्षाको बाटो समात्छन् । बाधा अवरोधलाई हटाउन कानुनी र कहिलेकाहीं गैर कानुनी बाटो पनि अवलम्बन गर्छन् । तर तथ्याङ्कले भन्छ, कतिपयले त्यो बाटो लिँदैनन् र आत्महत्याको बाटो रोज्छन् ।

यस दृष्टिकोणबाट हेर्दा मनिसलाई अलिकति टेक्ने अखटो र समाउने हाँगो दिने हो भने आत्महत्या हटाउन नसके पनि धेरै हदसम्म घटाउन सक्ने देखिन्छ ।

आत्महत्याको अर्को कारणः मनोवैज्ञानिक अवस्था

सामाजिक-आर्थिक अवस्था त आत्महत्याका प्रेरक मात्र हुन् । यसको निर्धारक भने मानिसको मनोविज्ञान नै हो । बाह्य जगतले मानिसलाई पार्ने असरलाई उसको मनले कसरी व्यवस्थित गर्छ भन्ने कुराले मानसिक अवस्थाको निर्धारणमा ठुलो भूमिका खेल्दो रहेछ ।  मानिसले प्रतिकूल परिवेशमा पनि मनलाई सकारात्मक र आशावादी राख्न सक्यो भने सके परिस्थितिलाई, नसके आफैंलाई बदलेर जीवन अगाडि बढाउन खोज्दो रहेछ । असफलताहरूमा पनि मौका गयो, तर जिन्दगी बाँकी छ भनेर चित्त बुझाउँदो रहेछ । हरेक नयाँ भोलिमा नयाँ आशाको किरण खोज्दो रहेछ र जीवनलाई अगाडि बढाउँदो रहेछ ।तर, मन मस्तिष्क सकारात्मक र आशावादी भएन भने जीवनका हरेक खेललाई अन्तिम खेलको रूपमा लिँदो रहेछ । जिन्दगीमा कुनै दिन सफलता पाइएला भनेर आशाको उज्यालो खोज्ने र पर्खने औचित्य र धैर्य गुमाउँदो रहेछ । जीवन पूर्ण असफल र मूल्यहीन ठान्दो रहेछ अनि निराश बन्दो रहेछ । यसबाट विभिन्न मानसिक रोगको सिर्जना पनि हुँदा रहेछन् र आत्महत्याका लागि प्रेरित पार्दा रहेछन् । ८०-९० प्रतिशत आत्महत्या डिप्रेसनको कारण हुँदोरहेछ ।

मादक पदार्थ र नशालु पदार्थको सेवन जुवाको लत असाध्य र कष्टकर रोगको पहिचान मृत्युलाई रोमाञ्चक रूपमा लिने र देखासिकी गर्ने कार्यले आत्महत्या बढाउने देखिएको छ ।

यसरी प्रतिकूल मानसिक अवस्था र मानसिक रोगबाट आत्महत्या हुने भएको देखिंदा अधिकांश आत्महत्यालाई मानसिक रोगको उपचारको अभावको परिणाम मान्न सकिन्छ । यस्तो अवस्थाका मानिसमा पनि उचित परामर्श र औषधिबाट उपचार गरी सकारात्मक र जीवनवादी सोचको विकास गर्न सकिने र आत्महत्या कम गर्न सकिने वैज्ञनिक निष्कर्ष छ ।

मलाई त लापरवाही र हेलचक्र्याइँले हुने दुर्घटना, उचित आहारविहारमा देखाइने बेवास्ता र स्वास्थ्य सल्लाहको पालना नगर्ने प्रवृत्तिमा पनि यस्तै केही नकारात्मक मानसिकताको भूमिका हुन्छ कि जस्तो लाग्छ  ।

आत्महत्याः सामाजिक मूल्याङ्कन

यो हामीले पाएको एक बारको जुनी हाँसी खुशी बाँच्नु पर्नेमा अकालमा नै ज्यान फ्याल्नुलाई विवेकपूर्ण  निर्णय मान्ने कुरै आउँदैन । एक दिन मर्नु त उसै पनि छँदैछ नि । मानिसको जीवन सुख र दुःखको कोलाज हो । यो संसारमा सुख र शान्तिको उच्च आसनमा त को होला र ?  हरेक पल नयाँ समस्याको सामना गरेर नै जिन्दगी अगाडि बढाउन आजको मान्छे बाध्य छ । आधुनिक सभ्यताले जीवनको लागि बनाइदिएको भुलभुलैया यस्तै खालको छ । फेरि पनि, यो जीवन आज नभए भोलि, भोलि नभए पर्सि रमाइलो होला भन्ने आशा गरेर बस्नुको विकल्प छैन । आज हामीलाई दुःख दिने परिस्थिति एक दिन सकिएला भनी हामी आशावादी छौं । जीवन एउटा यस्तो सिक्का हो जो खर्च गरेपछि पुनः कमाउन सकिन्न । जुन कारणले आज कसैले आज आत्महत्या गर्छ, भोलि त्यो कारण समाप्त भए भने उसले जीवन फिर्ता पाउन सक्दैन । जीवनको मूल्य नै यही हो ।आत्महत्या गर्नेले जीवनको यही आशावादिता गुमाउँछ र जीवनबाट पलायन गर्छ ।

हरेक आत्महत्या गर्नेले सायद बाँच्नेलाई भनिरहेको छ – जीवन जति महत्वपूर्ण छैन, जति तिमी सोचिरहेछौ । उसले जीवनलाई अर्थहीन देखेको छ र हामीले जीवनमा खोजेका र जीवनलाई दिएका अनेक  गरिमाहरूलाई उसले तिरस्कार गरेको छ । उसले त हाम्रो जीवनदृष्टिमा चुनौती दिएको छ । यो समग्र सांसारिक प्रबन्ध र त्यो प्रबन्धमा हामीले दिएको स्वीकृतिमाथि उसले व्यङ्ग गरेको छ । आत्महत्या एउटा समग्र अस्वीकृति हो । यसरी सबैले स्वीकार मात्र होइन अत्यन्त माया समेत गरेको जीवन, अनेक दुःख हण्डर खाएर बचाइरहेको जीवन अनि अनेक आपत विपतमा पनि जोगाइरहेको जीवनलाई कसैले सचेत ढंगले टुंग्याउँछ भने ऊ कसरी हाम्रो सद्भाव र बन्दनाको पात्र होला र ?  आत्महत्या गर्नेले लिएको पलायन र अस्वीकृतिको बाटो जिउँदा मान्छेलाई मन नपर्नु स्वभाविकै हो । यहाँ खराबी छ्न् भने राम्रो पार्ने दायित्व उसको पनि हो । यसै गरी सबै जनाले पलायनको बाटोमा लागेको भए मानव सभ्यता यहाँ पुग्ने थिएन।

यसरी हुने मृत्युबाट परिवार, समाज र देशलाई हुने हानिको चिन्ता पनि आत्महत्याप्रति व्यक्त हुने क्षोभको अर्को कारण हो।त्यसैले आत्महत्या सबै समाजमा एउटा अस्वीकृत व्यवहारको रूपमा रहेको छ ।

आत्महत्याः आत्मगत चिन्तन

मान्छेको सोच परिस्थिति र मनस्थितिको सम्मिश्रण हो । विभिन्न घटनाहरूले परिस्थिति बदल्छन् अनि शरीरका विभिन्न ग्रन्थीबाट निस्कने रसायनले मनस्थिति । वैज्ञानिकहरू भन्छन् हामीलाई लागेको माया, उठेको रिस, जागेको करूणा र उब्जेको घृणा शरीरमा निःसृत केही रसायनहरूको प्रतिफल हो । हाम्रो चेतनामा परिस्थितिको राज छ । हामीले वातावरणबाट जे सिक्यौ त्यही हाम्रो ज्ञान हो । हाम्रो भावनामा रसायनहरूको कब्जा छ । मेरो व्यक्तित्व र भावना भन्नु मेरा केही शरीरमा भएका केही रसायनहरूको सम्मिश्रण मात्र रहेछ । म अर्थात मेरो अस्तित्व परिस्थिति र मनस्थितिका विभिन्न तत्त्वहरूको यौगिक मात्र हो । अनि परिस्थितिको प्रभाव मनस्थितिमा अनि मनस्थितिको प्रभाव परिस्थितिमा पनि परिरहँदो रहेछ । मनस्थिति र परिस्थितिका बीचमा हुने आपसी संघर्षले संसार चलाइरहेको छ, हामीलाई हिँडाइरहेको छ ।

मान्छेका ग्रन्थीले निकाल्ने रसायन मान्छेपिच्छे फरक हुने हुँदा मानिसका भावना, कल्पना, सोच र  ग्रहण शैली फरक पर्छ । एउटै प्रकारका घटनाले फरक मानिसमा एउटै प्रभाव पनि पार्दैन, एउटै मात्रामा पनि प्रभाव पार्दैन। कतिपय मानिसको हकमा परिस्थिति र मनस्थितिमा फरक पर्ने पनि देखाएको छ । दुनियाँले खुसी, सुखी र सफल ठानेका मानिसले पनि आत्महत्या गर्नुको कारण यतै खोजी गर्नुपर्ला । परिस्थिति र मनस्थितिबीचको यो अन्तर्संघर्षको निष्कर्ष सधैं अज्ञात हुन्छ । जीवनको क्रुरता पनि यही हो, सुन्दरता पनि यही हो । यस्तै अन्तर्संघर्षमा हारेको महसुस गर्नेमध्ये केहीले आत्महत्याको बाटो रोज्दा होलान् भनी अनुमान गर्न खोजिरहेको छु ।

मत्युः उस्तै त हो आखिर

वातावरणमा भएका भाइरस र ब्याक्टेरियाले मानव शरीरमा हमला गर्छन् । शरीरमा भएको प्रतिरक्षा प्रणालीले तिनबाट हामीलाई जोगाउन कोसिस गर्छन् । त्यो प्रतिरक्षा प्रणाली हारे मानिस मर्छ । त्यस्तै समाजिक आर्थिक परिस्थितिवश वा स्वतः मानिसको मनमा उत्पन्न हुने मनोविकारलाई शरीरको सकारात्मक चिन्तनको शक्तिले पराजित गर्न नसके मानिस हार्छ र आत्महत्याको लागि प्रयास गर्छ । स्वस्थ शरीरले स्वस्थ मन र स्वस्थ मनले स्वस्थ शरीरका लागि प्रेरणा दिन्छन् । क्यान्सर होस् वा कोरोना, यी रोगलाई जित्ने मानिसको मनोवलको चिकित्सकले प्रशंसा गरेका छन् र निको हुनुमा आत्मविश्वासको ठुलो भूमिका रहेको मानेका छन् । रूग्ण शरीर आफैं टिकिरहन सक्दैन र मृत्यु हुन्छ । रूग्ण मनले शरीरलाई टिकाइरहन चाहन्न र आत्महत्या हुन्छ । जिन्दगी शरीर र मनको सम्मिश्रण हो । शरीर नरहे मन कता ?  मन नभए शरीर किन ? शरीर र चेतनाको सम्बन्ध टुट्नु नै मृत्यु हो । यसको लागि कहिले शरीर जिम्मेवार हुन्छ, कहिले मन । कहिले मुटु, फोक्सो, कलेजो वा मिर्गौला असफल हुन्छन् र मृत्यु हुन्छ, कहिले मन असफल हुन्छ र आत्महत्या ।

सबै किसिमका मृत्युमा सामाजिक, आर्थिक र मनोवैज्ञानिक तत्त्वहरू समावेश हुन्छन् – कुपोषण, क्षयरोग वा आत्महत्या । दुवै किसिमका अस्वस्थताको निराकरणको लागि स्वास्थ्य सेवाको आवश्यकता र भूमिका  महत्वपूर्ण हुन्छ ।आत्महत्याबाट मात्र होइन हाम्रा वरिपरिका धेरै मृत्यु टार्न सकिने मृत्यु हुन् । कसैको शरीरलाई पोषण वा स्वास्थ्य सेवा पुगेन र शारीरिक कारणले बिते, कतिको मनलाई मानसिक उत्प्रेरणा र उपचार पुगेन र मानसिक कारणले बिते । टार्न सकिने मृत्यु भनी आत्महत्यालाई लाञ्छना लगाउनु हाम्रो आँखा अगाडिको विद्यमान सत्यको अर्को पाटोलाई अस्वीकार गर्नु हो ।

आत्महत्याः नयाँ परिभाषा दिऊँ

मान्छे मरणशील छ । जन्मेपछि मर्नु हरेक जीवको नियति हो । घटना, दुर्घटना, रोग, काल र आत्महत्या जसरी भए पनि हामी मर्छौं । तर, सबै मृत्युको एउटै मूल्य हुँदैन । देशको लागि मर्नेहरूले वीरगति पाउँछन्, क्रान्ति गर्ने शहीद हुन्छन्, रोग वा कालगतिले मर्नेले पनि सम्मान नै पाउँछन् । आत्महत्याबाट मर्नेका लागि समाज अलि कञ्जुस देखिन्छ । आत्महत्यालाई निन्दनीय मानिन्छ । सबैजसो धर्मले आत्महत्याले पाप घोषणा गरेका छन् । आत्महत्या मृत्युको कुरूप अवतार मानिएको छ। कायरताको, दुर्बलताको र पलायनको आरोप खप्नुपर्छ मृत देह र मुक्त आत्माले । आत्महत्या मृत्युको स्वभाविक कारण ठानिएको छैन । मरेर जानेले मरेर पनि ‘मुक्ति’ पाउन सकेका छैनन् ।

अहिले संसारको विशेषताको रूपमा रहेका आर्थिक विकासको अनुमान गर्न नसकिने चक्रहरू, तीव्र प्रतिस्पर्धा, समालिनसक्नु जोखिम, प्रगति र अवनतिका ठाडा भर्‍याङहरू र यिनले निम्त्याउने मानसिक विचलन आत्महत्याको कारण हो भन्ने देखिसकियो । कतिपय दार्शनिकहरूले आत्महत्यालाई मानिसको स्वतन्त्रताको रूपमा व्याख्या पनि गरेका छन् । असाध्य रोगीहरूकलाई इच्छामरणको अधिकार दिन थालिएको छ ।अब धेरै जसो मुलुकले आत्महत्या वा आत्महत्याको प्रयासलाई अपराधको सूचीबाट झिकेका छन् । बरू आत्महत्या र बाह्य प्रभावको सोझो सम्बन्धलाई कानुनी रूपमा समेत मान्यता दिई आत्महत्यामा दुरूत्साहनलाई भने अपराधको सूचीमा राखिएको छ ।

आत्महत्या सम्बन्धमा इतिहासको दृष्टिकोण सकारात्मक छैन । तर म आत्महत्या सम्बन्धी  माथिका आँकडा र कारणहरूको विश्लेषणबाट यसको पुनः परिभाषा गर्नुपर्ने देख्छु । अब आत्महत्यालाई पनि कालगतिले हुने अरू मृत्यु सरह समान्य जैविक प्रक्रियाको रूपमा स्वीकार गरिनुपर्छ । यी तथ्यहरूले आत्महत्यालाई एउटा स्वभाविक मानवीय कमजोरीको रूपमा स्वीकार गर्नुको विकल्प देखाएका छैनन् ।

समाजले सिंहावलोकन गर्नुपर्छ

आत्महत्या गरेको हरेक मानिसले यस समाज व्यवस्थाका विरूद्ध भोट हालेको छ । उसले समाजको परिस्थिति र आफ्नो मनस्थिति नमिलेको संकेत गरेको छ ।यसो भन्दैमा हामीलाई कसैको मृत्युमा निन्दा गर्ने हक छैन । बरू हामीले सिर्जना गरेका मूल्य व्यवस्थामा पुनरावलोकनको खाँचो महसुस गर्नु उपयुक्त हुन्छ । हामीलाई यति प्यारो लागेको ज्यान कसैले सित्तैमा फालेको छैन ।

हरेक मानिसको सामाजिक आर्थिक र मनोवैज्ञानिक आवश्यकताहरूको परिपूर्तिका लागि समाजले जिम्मेदार र प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्छ । शारीरिक र मानसिक स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ । कतिपय अवस्थामा त हामीले पनि घुटुक्क थुक निलेर स्वीकार गरेका गलत नियम, बन्धन, बाध्यता र प्रचलनलाई स्वीकार गर्न नचाहनेहरूले आत्महत्या गरेका छन् । यसमा पुनर्विचार गर्नुपर्छ । प्रतिस्पर्धामा अघि हुनेलाई विजयको माला लगाउन कुद्‍ने तर पछि पर्नेलाई साथ र सहानुभूति नदिने समाजिक संरचनाले आत्महत्याका लागि प्रेरित गरिरहेको छ । हरेक परिस्थिति र मनस्थितिका मानिसका लागि यो संसार उपयुक्त आश्रयस्थल बनाउनु पर्छ । समाजलाई थप मानवमैत्री बनाउनु पर्ने आवश्यकता आत्महत्याका तथ्याङ्कले देखाएका छन् ।

आत्महत्या जीवनको प्रेरणादायी परिणति होइन । तर यो निश्चय पनि सन्देशमूलक घटना हो । आमरण अनसन, आत्मदाह, आत्मघाती आक्रमण जस्ता राजनैतिक रङ दलेका आत्मघातले धेरैको ध्यान तान्न थालेको वर्तमान अवस्थामा चोखो आत्महत्यालाई धारे हात लगाउनु केवल एक आत्मरति मात्र हो । हरेक आत्महत्या सुधारको लागि एउटा प्रस्थानविन्दु हुन सक्छ – आर्थिक-सामाजिक सुधारका लागि  र मानसिक स्वास्थ्यको पहुँच, स्तरोन्नति एवं अनुसन्धानका लागि । तर त्यसका लागि हामीमा आत्मालोचनाको विवेक र संवेदनशील हृदय भने हुनुपर्छ ।

https://saralpatrika.com/content/32099/2020-06-16
https://time.com/5351106/media-suicide-coverage/
https://saptahik.com.np/health/2020/06/18/1592464437
0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *