मलाई नेपालटार जाने अवसर त्यति मिल्दैन । आफ्नो जन्मभूमिमा पाइला राख्न पनि मलाई साइत जुर्नु पर्छ । काठमाडौंको छक्क र दिक्कलाग्दो बेफुर्सदीले गर्दा त्यहाँ जान दसैँ वा त्यस्तै कुनै लामो विदा पर्खनु पर्छ, कि कुनै जरुरी काम पर्नुपर्छ । जरुरी काम परे जान्छु भन्ने मेरो धारणा मात्र हो, म त्यसरी गएको छैन । जरुरी कामका लागि काठमाडौं बसेको मानिसको नेपालटारमा के महत्व ? जरुरी कामका लागि त नजिकमा रहेका मानिस नै महत्वपूर्ण हुन्छन् । ‘टाढाको देउता र नजिकको भूत’ भन्ने उखान त्यसै चलेको हो र ? फेरि, जरुरी कामले त गाउँबाट मानिस काठमाडौं पो आउने हो त ! ठुला ठुला अड्डा अदालत यहीँ छन्, अस्पताल यहीँ छन् । जरुरी परेर नै भनौँ, आमा बिरामी पर्नुहुँदा भने म एक पटक नेपालटार पुगेको थिएँ । म पुग्दा उहाँ सञ्चो भइसक्नु भएको थियो । त्यसैले आमालाई पनि बिरामी परेको बेला मलाई बोलाउनु भन्दा आफैँ म बसेको ठाउँमा आउनु जाती भनी अर्ती दिएर फर्कें । हो बिरामी भएर मलाई खबर गरेपछि उहाँ मलाई कुरेर बस्न सक्नुहुन्छ तर रोगमा त्यति धैर्य नहुन पनि सक्छ । आखिर औषधि गर्न सहर आइहाल्नु पर्छ । गाउँको स्वास्थ्य चौकीमा गए पनि मसँग भएको यही हो भनी १,२ चक्की औषधि दिएर सहरको बाटो नै देखाइदिने हुन् । यसरी आफ्नो बाध्यताले विभिन्न तर्क खोजेर आमालाई म बसेको स्थानमा आउन अर्ती दिए पनि मलाई नेपालटार जान मन लागिरहन्छ । आफ्नो जन्मभूमिप्रतिको माया न समय बितेर पातलिँदो रहेछ न टाढा रहेर भुलिँदो रहेछ ।
आमाले पकाएको खाना, टुकुटुकु हिँडेको गाउँ, किशोर वयका साथी र कुरकुरे बैंसमा लगाएको माया मानिसले जिन्दगीभर बिर्सन सक्दैन रे । जीवनको पहिलो गाँस मुखमा हालिदिएर खानेकुराको स्वादको बारेमा आमाले नै पहिलो जानकारी दिएकी हुन्छिन् । जिब्रोले स्वादको बारेमा आमाबाट नै शिक्षा लिएकोे हुन्छ । यस अर्थमा आमाको भान्छा जिब्रोका पाठशाला हो । यहाँ जे सिक्यो, जस्तो जान्यो, जिब्राले जिन्दगीभर त्यही घोकिरहन्छ । आमाले मिठो छ खाऊ भनेको मिठो, त्यो त मिठो हुँदैन भनेको नमिठो । आमाले खान नसिकाएको वस्तु त करिब करिब अखाद्यकै दर्जामा आउँदो रहेछ । त्यही कारण होला, संसारमा त्यही वस्तु कतै मिठो मानेर खाइन्छ, त्यही वस्तु कतै अखाद्यको सूचीमा आउँछ । त्यसैगरी आफ्नो गाउँको सौन्दर्यले पनि मानिसलाई मोहनी लगाउँदो हो । आफूले आँखा खोलेर हेरेको संसारको तस्बिर आँखामा आदर्श बिम्बको रुपमा रहन्छ होला अनि पछि देखेका दृश्यलाई जिन्दगीभर सायद त्यसैसँग तुलना गरेर मूल्याङ्कन गर्छ होला । आँखामा रहेका त्यो प्रथम र प्रारम्भिक बिम्ब संसारको स्वरुपको मानक बन्छ होला । कृष्ण र सुदामाको कथा किशोर वयका साथी बीचको सम्बन्धको मानक कथा हो । युवा र प्रौढावस्थामा आउन सक्ने स्वार्थका धमिला ढल नमिसिँदै मानवमानवबीच उत्पन्न हुने सहृदयताको उत्कृष्ट नमूना हो त्यो । यसैगरी, विश्वका अमर प्रेम कथा कुरकुरे बैंसमा लगाएको मायाका बारेमा नै लेखिएका छन्, साहित्यको त्यो अजस्र स्रोत आज पनि उत्तिकै शक्तिशाली छ । एक हजार आठ केटीहरुसँग बिहे गरेका कृष्णको नाम आज पनि हामी गोकुलमै विछोडिएकी राधासँग जोड्छौँ, सायद कृष्ण त्यसैमा मख्ख पर्छन् भनेर होला ।
काम, माम र दामको खोजीमा सहर पस्ने म जस्ता बबुराले भने यी सबै प्रिय अनुभूतिलाई गुमाउने सम्भावना प्रबल रहन्छ । तर पनि सहर पसेको शरीर फुर्सद पाउना साथै आफ्नो आत्माको खोजीमा गाउँ जान्छ । आमाले पकाएको खान्छ, लगौटियासँग भेट्छ अनि आफ्नो गाउँ र रनवन घुम्छ । गाउँमा जन्मेर सहर पस्नेको आत्मा यदि जिउँदो छ भने त्यसको ठेगाना गाउँ नै हुन्छ । कडा सजाय पाएर भागेको अभियुक्त पनि समयको अन्तरालमा आफ्नै गाउँमा पक्राउ खान आइपुग्छ रे । सबै सजायभन्दा आफ्नो जन्मथलो छोड्न बाध्य हुनु कडा सजाय हो । आफ्नो थातथलो छोड्नु साह्रै अप्रीतिकर कुरा भएकाले त संसार गाउँ बनेको र बसाइसराइ तीव्र बनेको यस युगमा पनि बसाइँ शब्दले एक दुःखद भावनाको प्रतिनिधित्व गर्छ । त्यसैले होला सबै जसो संविधानमा देशनिकाला विरुद्धको हक मौलिक हकमा उल्लेख हुने गर्दछ । तर विडम्बना हामी कतिपय भने काम, माम र दामको खोजीमा स्वनिर्वासनमा छौँ ।
स्वनिर्वासनमा परेको मेरो आत्मा पनि समयसमयमा गाउँ पुग्छ । बाटाको दूरी र बसको समय तालिकाका कारण म अक्सर साँझमा घर पुग्छु र आमाले पकाएको भात खान्छु । मन्सुली चामलको भातमा पनि त्यहाँ बासना आउँछ र तरकारीमा हालेको मसलाको सुवास त्यहीँ तिख्खर सुघिन्छ । फिलुङ्गेको छोप हालेका गोलभेँडको अचारले आफ्नो नैसर्गिक स्वाद त्यहीँ पस्कन्छ । बारीमा रहेका कटमेरो, हर्चुल र काभ्राका रुखसँग पनि आत्मिक मिलन हुन्छ । घरमा सुतेर छानातिर हेर्छु । तेलतेलेको वनबाट काटेर ल्याएका खाँबा र बला, मौवासी छेउबाट ल्याएका कडी र टिनको छानो । बारीको पुछारमा रहेको बाँस झ्यागबाट काटेर ल्याएका बाँसबाट बनाएको घेराबेरा । यो टिनको छानो मात्र नयाँ हो, यसका ठाउँमा अमिल्टारबाट ल्याएको थाकल वा उदयपुर गढीको आफ्नै बारीबाट ल्याएको खर हुन्थ्यो । कहाँका रुख काटेर घर बनाउने काठ ल्याइयो भन्ने पनि मलाई थहा छ । एसएलसी दिएर घरै बस्दा बनाएको घर भएका कारणले । मानिस मात्र होइन घरका खाँबा, बला, छाना र भित्ता यसरी परिचित हुन्छन् गाउँमा । अनि रुख बिरुवासँग पनि साइनो गासिन्छ गाउँमा ।
गाउँ गएको समयमा बिहान उठ्नै बित्तिकै आफुले गाई चराउन जाने गरेको र थाङ्नाको भकुन्डो खेल्ने गरेको चौर भएतिर आँखा पुग्छ । मलाई दश वर्षदेखि थाहा छ, अब त्यहाँ चौरी छैन । त्यहाँ बस्ती बसेको छ, बजार बनेको छ र बाँकी चौरी आवाद गरी बाली लगाइएको छ । तर मेरो आँखा हरेक पल्ट त्यहाँ बयरको झ्याङ खोजिरहन्छ, एैँसेलुको बोट खोजिरहन्छ । कबड्डी खेल्दा लडेर घुँडामा लागेको चोटको खत अझै म बोकिरहेको छु तर कपर्दी खेलेको चौरी छैन । टोपी लुकाइ खेल्दा झ्याली ग¥यो भनेर झगडा गरेका मोहनसँग फेरि बोलचाल गर्न हामीलाई बर्सौ लागेको थियो तर टोपी लुकाइ खेलेको चौरी मासिन केही बेर लागेन अघिल्लो दसैँमा थियो, अर्को दसैँमा थिएन । आमा भन्नुहुन्थयो, यो बजार त एक रातमा बनेको हो, आजको भोलि । गाउँमा गएको समयमा मेरो मनमा जिउँदै रहेका यस्तै सम्पदाको कुरा गर्छु आमासँग, सिमलचौरको सिमलको रुख, उदयपुरगढीको ऐँसेलु घारी, बिरौटाको बेलको रुख । उत्तर उही हुन्छ, गाउँमा बाटो पुगेपछि र ट्याक्टर चलेपछि केही बाँकी रहेन । ती सम्पदा अब मेरा मनमा मात्र जीवित छन्, अमर रहनेछन् । गाउँको तस्बिर बदलिएको छ तर मेरा आँखामा बसेको गाउँको छायाँ भने बदलिन सकेको छैन र गाउँप्रतिको मेरो माया पनि बदलिन सकेको छैन । मैले नेपालटार सम्झँदा मेरो मनमा आफ्नो जमानाको पुरानो नेपालटारको बिम्ब झ्वाम्म आउँछ, अनि मष्तिष्कको अर्को कुनाबाट नयाँ जानकारीहरु बिस्तारै सर्दै आउँछन् । ती नयाँ जानकारीले नेपालटारमा रहेको सार्वजनिक चौरी आवाद गर्छन्, ठुला रुखहरुलाई काट्छन्, खोलामा पुल हाल्छन्, बसपार्क बनाउँछन्, बजार बढाउँछन् अनि नेपालटार बारेको मेरो बिम्बलाई अद्यावधिक गराउँछन् । मष्तिष्को कुनामा रहेका यी नयाँ जानकारीले मेरो मनलाई सधैं चकित पार्छन् ।
काठमाडौमा जागिर भए पछि पनि मैले काठमाडौमा घडेरी खोजिन । मलाई घडेरी नखोज्नुको स्पष्ट कारण अहिले पनि थाहा छैन । कार्यालयबाट कर्मचारीहरुलाई विभिन्न शीर्षकमा सापटी दिने व्यवस्था थियो र साथीहरु यो सापटी लिएर जग्गा खोजिरहेका थिए । उनीहरु मलाई पनि सँगै पैसा हाल्न उक्साइरहेका थिए । म भने त्यसै अलमल गरिरहेको थिएँ, दब्बु बनेर । यसका अनगिन्ती कारण हुन सक्छन् । आफूसँग भएको पैसाले जग्गा आउँछ भन्ने एकिन नहुनु र तत्काल भरपर्दो आफन्तको साथ नमिल्नु पनि यसको कारण हुन सक्ला । तर अहिले एकमनले सोच्छु, सहरमा बस्नुपर्छ, त्यही सुख र सुविधा हुन्छ भन्ने चेत नै मेरो मनमा आएको थिएन । जागिरबाट अवकाश पाएपछि पनि नेपालटारमा नै गएर बस्ने कल्पना मेरो मनमा थियो । गाउँप्रतिको मेरो प्रेमले मलाई यथार्थको धरातलमा उभिने चेतनाबाट रोकिराखेको थियो । पछि सहरमा घर घडेरीको व्यवस्था त गरेँ तर समयको भूत भागिसेकेको थियो त्यसैले त्यसको लगौंटी मात्र मेरो हातमा पर्यो ।
अहिले पनि गाउँको आफैँ पढेको विद्यालयले एसएलसीमा राम्रो परिणाम नल्याउँदा र त्यस विद्यालयका विद्यार्थीले प्रगति गरेका सुन्न नपाउँदा मेरो मनमा एउटा जोश आउँछ र म भन्छु, “जागिरपछि म गाउँ फर्किन्छु र स्वयंसेवी शिक्षक हुन्छु ।” अघाउन्जेल शिक्षक हुन नपाएको कुण्ठा मेरो मनमा आखिर बाँकी नै त छ । खानेपानी, सरसफाइ र शिक्षाका क्षेत्रमा आएको पैसा नक्कली प्रतिवेदन बनाएर गैरसरकारी संस्थाहरुले झ्वाम पारेको सुनेपछि म बर्बराउँछु, “अब म समाजसेवामा लाग्छु र सकेको सेवा गर्छु । रिटायर भएपछि के काम छ र मेरो ।” गाउँमा आएको बजेटमा भ्रष्टाचार भएको खबर सुनेपछि म भुतभुताउँछु, “जागिरबाट अवकाश पाएपछि म गाउँ जान्छु र राजनीति गर्छु ।” दसैँ जस्ता चाडहरु त केवल गाउँमा मात्र आउँछन् जस्तो लाग्छ मलाई आज पनि । यसरी हरेक घटना र सन्दर्भहरुमा मेरो मन गाउँ पुग्छ र एउटा सम्बन्ध कायम गर्न खोज्छ ।
मेरा यी भनाइहरु सुनेपछि मेरी पत्नी मुस्कुराउँछिन् । जागिर छोडेपछिका मेरा यस्ता अनेकौँ कल्पना, योजना र प्रतिबद्धता उनले सुनेकी छन् । मेरा यी योजनाहरु उनका नजरमा केवल दिवास्वप्नहरु हुन् । दिवास्वप्नका लागि कुनै आधार आवश्यक हुँदैन । निद्रा पनि पो चाहिन्न दिवास्वप्नका लागि । उनको त्यो मुस्कुराहटमा सहानुभूति, अस्वीकृति र अविश्वास मिसिएका छन् । उनको यो हाँसोपछि म पनि झस्किन्छु । सरकारी र सामुदायिक सम्पत्तिको अनुचित दोहनबाट परिपुष्ट भइरहेका विभिन्न शक्तिहरुसँग जुझ्न सक्छु भन्नेमा म आफैंलाई शंका हुन्छ । अवसर र स्रोतरुपी माछालाई पासोमा पार्नका लागि केही बल्छी लिएर उभिएका छन्, कोही ढडिया बुन्दैछन्, कोही दुवाली थुन्दैछन् । कतिपय बकुल्लाहरु तपस्याको भेषमा एक खुट्टा गाउँमा टेकेर बसेका छन्, उनीहरुको अर्को लुप्त खुट्टा काठमाडौमा हुन्छ । यस्ता खेलाडीको बीचमा म के गरौँला ? यस्ता चक्रब्युहमा पसेर को निस्क्यो त ? सत्य र निष्ठाको लडाइमा होमिएका स्वघोषित अभिमन्यु त निस्कन सकेनन् । अहिले गाउँमा नाङ्गो आँखाले यो चक्रब्युह देख्न सकिन्न । सबै ठिकठाक चलिरहेको देखिन्छ, सबैले राम्रै गरेको सुनिन्छ । जब घटनाको विश्लेषण सहित कारणको खोजीमा लागिन्छ, अनि जालो र जालीको पत्ता पाइन्छ । यो जालोलाई जागिरेले के तोड्न सक्ला ? बर्सौं बैंकको कुर्सीमा बसेर खिइएको ढाडले के त्यो जिम्मेबारीको बोझ थाम्न सक्ला ? मेरी पत्नीको हाँसोले यही सोध्छ । मलाई कसले पत्याउला ? मलाई किन पत्याउला ?
अरुले नपत्याए पनि म आफूलाई पत्याउँछु । यही आत्मविश्वासका कारण मलाई गाउँका मनिसहरुसँग गफ गर्न मन लाग्छ । गाउँका तन्नेरीलाई भेट्दा म आफैँ तन्नेरी बनेको जस्तो लाग्छ । जुँगाको रेखी बसेका बेला म पनि यिनीहरु जस्तै यही रनवन घुमिरहेको थिएँ । कसरी अलमलिएको थिएँ म त्यस बेला ? मेरा अग्रजहरुले कसरी बाटो देखाएका थिए ? यसरी पढ, यसरी बढ, यसरी सोच, यसरी बाँच । एउटा पूर्ण मान्छे बन्ने प्रक्रियामा रहेको मान्छेका लागि महत्वपूर्ण समय हो त्यो । गुड्न लागेका मोटर जस्तो बेला, उड्न लागेको जहाज जस्तो बेला । दिशा र गतिका बारेमा अलिकति गलत सोच बन्यो कि जीवन बरबाद भयो । यस्तै वयका युावाहरु छन् मेरा गाउँमा पनि । गाउँमा पनि असल युवाहरु छन् । गाउँमा अहिले जे सकारात्मक परिवर्तन भइरहेको छ, त्यसमा तिनीहरुकै त अहम् योगदान छ । गाउँमा जाँदा मलाई अझै ती दिन धेरै टाढा गइसकेको महसुस हुँदैन ।
तीन वर्ष अघि म दसैँमा घर जाने क्रममा गाइघाटमा नेपालटार जाने बस कुरिरहेको थिएँ । एक जना भाइले सोधे, “अंकल कहाँ जाने ?” मैले उत्तर दिएँ, “नेपालटार ।” “नेपालटार ?” उनको आँखामा आश्चर्य थियो । मैले “हो त, दसैँमा घर जान लागेका नेपालटार” भने । उनको आश्चर्य अलि फरक तरिकाले प्रकट भयो, “न जिस्किनु न अंकल । मेरो घर नेपालटार हो, म नेपालटारका सबैलाई चिन्छु । तपाईंको घर नेपालटार हो जस्तो मलाई लाग्दैन ।” मैले उनको बाबुको नाम सोधें । ती भाइ बलबहादुर दाइका छोरा रहेछन् । हामीभन्दा जेठा भए पनि बलबहादुर दाइ हामीलाई साथीभाइकै व्यवहार गर्थे । तिनै फरासिला बाउका छोरा रहेछन् उनी । “भरे बुवालाई फलानो अंकल र मसँगै बसमा आएको भन्नु, उहाँले राम्ररी चिन्नु हुन्छ” मैले सुझाव दिएँ । उनले नेपालटारबासीको रुपमा मलाई नचिनेको मात्र होइन अस्वीकार पनि गर्न खोजेको देखेर म झस्केँ । यो भनाइ मलाई अज्ञानता मात्र होइन, उपेक्षा र अस्वीकृति जस्तो लाग्यो । मेरा अहम् चोइटिएको पनि हुनसक्छ, स्नेह र आदरको खोजीमा गाउँ पसेको मन सशंकित बनेको पनि हुनसक्छ । आफ्नै गाउँ भनेर त भन्दोरहेछु म तर आफ्नै गाउँका मानिस पनि अब अपरिचित भइसकेछन् । पुरानाले सम्झन छोडिसके, नयाँले चिन्दैनन् । यो सत्य म पत्याउन चाहन्न तर पत्याउनै पर्छ ।
सहरी सभ्यताको विकास र आधुनिकीकरणसँगै सयौं र हजारौ मनिस गाउँबाट सहरमा ओइरिइरहेका छन् । उनीहरुका सहरमा ठाटसँग गाउँका नामबाट आफ्नो परिचय दिइरहेका छन् । गाउँको बिम्ब उनीहरुको मष्तिष्कमा सँधै ताजा र सफा रहन्छ । सहरको जञ्जालबाट मुक्त भएर बर्सौ गाउँ जान नसके पनि गाउँको आधारमा बनेको उनीहरुको परिचय फेरिन्न । जिल्लाको नामसँग सम्बन्धित विशेषण उनीहरुको परिचय बन्छ । तर गाउँले उनीहरुलाई बिस्तारै भुल्दै जाँदो रहेछ । आखिर गाउँको पनि त एउटा गति हुन्छ । पुराना मासिइरहन्छन् । नयाँ सिर्जिरहन्छन् । बालक युवा हुन्छन् र युवा बुढा भइरहन्छन् । कुनै जमानाको आफ्नो तस्बिर आँखामा बोकेर गाउँका कुनै युवा सहर भासिएको छ भनेर आफ्नो त्यही रुप कायम राख्न गाउँ सक्दैन । सहर भासिएको युवा पनि त गाउँबाट भासिएकै अवस्थामा कहाँ रहिरहेको हुन्छ र ? गाउँप्रतिको उसको माया ओठे भक्तिमा सीमित हुने गरेका कैयौँ उदाहरणहरु सहेर गाउँ बाँचिरहेको छ, बुढा आमाबाबुको सास बनेर, शिरको सिन्दूरको आश बनेर । सहर पस्ने निर्मोहीको चोटबाट ग्रस्त बनेको ऊ हरेक सहरीलाई शंकाको नजरले हेर्छ, उपेक्षाको नजरले हेर्छ र हेर्छ शायद इष्र्याको नजरले पनि ।
गाउँप्रतिको आफ्नो माया अगाध भएको अभिमानले एकोहोरिएको आफ्नो मन र गाउँलाई छोडेर गएकोले गाउँको मायाँ मारेको ठान्ने गाउँको भ्रमका बीचमा मेल नहुनु अस्वभाविक होइन । सहरमा बसेर गाउँको सम्झना गरेको कसले देख्ला र ? गाउँमा बसेर बाँच्दाको जन्ती र मर्दाको मलामी हुन नसकेको क्षतिपूर्ति ती सम्झनाले के गराउँदो हो र ! बलबर्गत, सीप र जाँगर सहरमा खर्चेर फुर्सदमा गफको बाली लगाउन गाउँ आउनेलाई गाउँले पनि सोही अनुरुप व्यवहार गर्नु के बेमनासिब भयो र ? तर आफू बामेसरेको माटोले आफूलाई माया खन्याओस् भन्ने मनको आवाज पनि प्रकृतिकै गर्भबाट नै त पलाएको हो । यी अहम् र बाध्यताका कथाहरुका नयाँ रुप र प्रवृत्ति देखेर म आफ्नो चित्त आफैं बुझाउन बाध्य भएको छु ।
कसैप्रति माया भएको मुटु एउटा महँगो वस्तु हो र त्यो महँगो वस्तु आफूसँग हुनु गौरवको कुरा हो । मेरो मनमा पनि आफ्नो गाउँप्रतिका माया छ र यसमा मलाई गौरव छ । एउटा बासनादार फूल जो मेरो मुटुमा फुल्छ, त्यसको जरा मेरो गाउँमा छ । सहरका शुष्कता म यही फूलको सौरभले मेटाउँछु । जीवनका हरेक अक्कर र ठक्करमा म आफ्नै गाउँ सम्झन्छु, आफ्नै साथीभाइ सम्झन्छु । यही फूललाई माया गरेर आफ्नो जीवनमा सुगन्धको जोगाड गर्न खोजेको छु, आफ्नो गाउँको सुवासको जोगाड । तर जब म गाउँ जान्छु, म मात्र गाउँ छोडेर कतै गएको होइन, गाउँ नै मलाई छोडेर कतै गएको जस्तो अनुभूति हुन्छ । सायद, मेरो गाउँमा गाडिएको जरा मक्काइसकेको छ ।
(मिर्मिरे ३३९ अङ्कमा प्रकाशित)
