म तिमीलाई सुन्न चाहन्थे
म तिमीलाई सुनाउन चाहन्थे
म तिमीलाई भेट्न चाहन्थे
म तिमीलाई हेर्न चाहन्थे
मलाई पछि थाहा भो
म तिमीलाई मन पराउँथे ।
तिमी तर्किन खोज्यौ
तिमी छलिन खोज्यौ
तिमी अलमलिन खोज्यौ
मैले तिम्रो बाध्यता ठानें
पछि मात्र मलाई थाहा भो
तिमी मलाई मन पराउन्नथ्यौ ।
हर बिम्बलाई आँखीझ्याल ठान्ने यस उमेरमा
कहिले पर क्षितिजमा आफैं अस्ताइरहेको देख्छु
कहिले पर क्षितिजमा आफैं उदाइरहेको सोच्छु
बादलका टुक्राहरूमा म कतै कपाल देख्छु, कतै आँखा देख्छु
त्यतै अलिकति ठाउँ निधारका लागि छुट्याउँछु र गालाको खोजी गर्छु ।
तिमीलाई पनि थाहा नदिइकन
म तिमीलाई नै सम्झिइरहन्छु ।
कसैलाई कत्ति पनि चोट नपुर्याइकन
म आफ्नो दिमागको दुरूपयोग गर्छु ।
मलाई अझै सम्झिरहेछ भनेर दुःख पनि नमान्नू
मलाई अझै सम्झिरहेछ भनेर हर्ष पनि नमान्नू
सिर्जनाका अनन्त विकल्पमा खेलिरहेको प्रकृतिले
सायद हामी अलग्गिनु नै उचित ठान्यो
तिमीले मेरो लागि एक कप चिया बनाउनुभन्दा
मैले तिम्रो सम्झनामा एउटा कविता लेख्नु राम्रो मान्यो ।