नेपाल राष्ट्र बैंकको जागिर सकिनुअघि मैले अवकाशको समयमा पर्नसक्ने समस्याको बारेमा केही पूर्वानुमान गरेको थिएँ । आम्दानी खर्चको तालमेल मिलाउनु पर्ने बारेमा म सचेत थिएँ । खाली समयको व्यवस्थापनको समस्यालाई पनि सम्बोधन गर्नुपर्थ्यो । साथीहरुको एउटा समूहबाट छुटेर अलग्गै जीवन चलाउनु थियो । समय र खर्चको व्यवस्थापनका लागि मिले काम गर्ने सोचमा त थिएँ तर त्यसलाई उति प्राथमिकता दिएको थिइन । काम पाए ठिकै, नपाए पनि ठिकै भन्ने मानसिकतामा थिएँ । आफ्ना यस्तै भावनाहरुलाई अवकाशप्राप्त जीवनको घोषणापत्रमा लेखेको पनि थिएँ ।
अवकाशपछिको समय व्यवस्थापन र आयआर्जनका लागि आफ्नै व्यवसाय सुरु गर्न मलाई मन छैन । त्यो मेरो योग्यता र क्षमताको विषय नै होइन । मैले आजसम्म नसोचेको कुरा म भोलि सुरु गर्न सक्दिन । मेरो विचारमा अर्को पुस्तामा हस्तान्तरण हुन नसक्ने व्यवसाय अब सुरु गरेर काम पनि छैन । व्यवसाय अर्को र झन् बलियो बन्धन हो । जागिरको बन्धन छुटेपछि अर्को झन् बलियो बन्धनको आरधना किन गर्नु ? अब त बन्धनहरुबाट विस्तारै फुत्कँदै जानुपर्छ होला ।
उमेर बढेसँगै केही अनुभव हासिल गरियो, केही योग्यता हासिल गरियो । तर मलाई लाग्छ केही ‘अयोग्यता’ पनि हासिल गरियो । अब जागिरको नाममा जहाँ पायो त्यहीँ पाइलो राख्न मन छैन । दुःखका अँध्यारा दिन त जसोतसो कटाइयो, अब धेरै कुरामा सम्झौता गर्न सकिन्छ जस्तो लाग्दैन । अब जहाँ गए पनि नेपाल राष्ट्र बैंकमा 30 वर्ष काम गरेको पूर्व कर्मचारीको रूपमा आफूलाई उभ्याउन सक्नुपर्छ जस्तो लाग्छ । नियमकानूनको पालनामा उही प्रतिबद्धता, उही पारदर्शिता, उही इमानदारिता । आफैंसँग पनि र बाँकी संसारसँग पनि समान व्यवहार कायम गर्न मन छ । यो मेरो ‘बृद्धहठ’ पनि हुनसक्छ । तर यही भावनाले पनि मलाई केही ठाउँमा उपयुक्त हुनबाट रोकेको हुन सक्छ ।
म अलि अन्तर्मुखी मानिस हुँ । मलाई अरूसमक्ष आफ्नो कुरा राख्न अलि गाह्रो लाग्छ । अरूले के सोच्दा हुन् भनेर अरूले सोच्ने कुरा पनि आफैंले सोचिदिने हुनाले म आफ्नो बजारीकरण गर्न सक्दिन । आफ्ना योग्यता होइन कमजोरी खोजेर झोक्राउने बानी पनि ममा धेरथोर छदैंछ । त्यसैले आफ्नो योग्यताको पुल बाँध्नुपर्ने अनि भनसुन र नेटवर्क बढाएर खोज्नुपर्ने यो अवकाशपछिको दोस्रो जागिरका लागि मैले आफैंलाई उति सुहाँउदिलो मानिस पाउन सकिन ।
र, जागिर खोज्नका लागि रोक्ने अर्को मुख्य समस्या छ, पेन्सन । लाउन खानका लागि गरिने संघर्षको रुपमा जागिरलाई मैले लिएको थिएँ । अब जागिर सकिए पनि पेन्सनले लाउनेखाने समस्याको समाधान गरिरहेको छ । ‘पेन्सन छँदैछ, केलाई टाउको दुखाउनु’ भन्ने कुरा मेरो जीवनको दूरदृष्टि भएको छ अहिले । माथि लेखे झैं ‘पाए ठिक छ, नपाए पनि ठिकै छ’ को मनोविज्ञानमा म छु । यसरी आधा मनले जागिर खोजेजस्तो गर्नेलाई कसले जागिर दिने? अनि मैले कस्तो जागिर खाने ?
एस.एल.सी. पछिबाट नै जागिरलाई पहिलो प्राथमिकता दिनुपरेकोले शिक्षामा उति समय दिन सकिएन । त्यसैले पनि होला मैले प्राविधिक वा विशेष किसिमको शिक्षा लिन सकिन । बजारले मागेको राम्रा भनिएका विषयको डिग्री मसँग छैन । अहिले बजारमा उपलब्ध जनशक्तिको शिक्षाको स्तर निश्चय नै मेरो शिक्षाभन्दा अब्बल नै हुनुपर्छ । यस्ता अब्बल जनशक्तिसमेत बेरोजगार रहेको बजारमा म पनि जागिर खोज्नेतिर लाग्नु उति फलदायक नहोला भन्ने मेरो आफ्नै ठहर छ ।
आफ्नै योग्यता, क्षमता र भावनाको यही घेराभित्र रहेर अवकाश जीवन बिताइरहेको छु । यसैबीच एउटा निकायमा स्वयमसेवकको रुपमा काम गर्ने मौका पनि मैले पाएँ । यस्तो काम विना पनि दिन बितिरहेकै थिए । घामलाई दिनैपिच्छे उदाउनु र अस्ताउनु छ । उसको यही बाध्यताबीच मेरा दिनहरु पनि बितिरहेका छन् ।
यसरी अवकाशप्राप्त जीवनको व्यवस्थापनको लागि मनोवैज्ञानिक रुपमा तयार भए पनि कतै कसैसँग भेट हुँदा सोधिने ‘के गर्दै हुनुहुन्छ, केदारजी’ भन्ने प्रश्नले भने मलाई अल्मल्याएको छ । म काम नखोजेर केही गलत त गर्दै छैन ? मैले यसरी ढुक्क भएर आफैंलाई त धोका दिएको छैन ? भन्नेजस्ता नानाभाँती विचार मनमा आउँदा रहेछन् । अनि आरामले बितिरहेको अवकाशप्राप्त जीवनमा के नपुगेजस्तो के नपुगेजस्तो हुनथाल्दो रहेछ । अब नेता कहाँ कुद्ने कि, चिनजान कहाँ धाउने कि, पुराना साथी खोज्ने कि, नयाँ चिनजान पछ्याउने कि भन्ने विचार/कुविचार मनमा आउँदा रहेछन् । शान्त पोखरीमा तलाउमा ढुंगा हान्ने काम यस प्रश्नले गर्दोरहेछ ।
मलाई मात्र होइन, अरु साथीहरुलाई पनि यस प्रश्नले बेचैन बनाएको रहेछ । एकदिन एकजना साथीकी छोरीको विवाहमा भेट भएका बेहालवालाहरूको (हाल जागिरमा हुने हालवाला, जागिर छोडेका बेहालवाला !) भेलामा पनि यस विषयमा निकै चर्चा भयो । एक जना साथीले यस्तै प्रश्नबाट आजित भएर चिनेका मानिस भेटिने ठाउँतिर डुल्नै छोडेको पनि बताउनु भयो । हो पनि, अब यसो गर्छु भनेर राजीनामा दिनेलाई पो के गर्दै हुनुहुन्छ भनेर सोध्नु ! अनिवार्य अवकाश पाउनेलाई के सोधिरहनु !
अवकाश आफैंमा एउटा उपलब्धि हो र गर्व गर्नुपर्ने विषय हो । तर अवकाश पछिको अर्को जागिर वा व्यवसायको अपेक्षाले यस गर्वको चमकलाई फेरि धमिलो बनाउन खोज्दैछ । अवकाशको गर्वको चमकलाई यथावत् राखौं। केही काम गर्नु राम्रो हो । पैसा आउने काम गर्नु झन् राम्रो हो । विशेष किसिमका जिम्मेवारी पाउनु त झन् गौरवको कुरा भइहाल्यो । सक्रियता आवश्यक छ तर पैसा आउने काम खोज्न दौडधूप गर्ने कुरामा चाहिँ म सहमत हुन सकेको छैन । अवकाश हुँदा आएको पैसा ‘चुहिएर’ सकिएपछि चाहिँ सहमत हुन्छु होला ! अब चाहिँ काम रोजाइको विषय हुनुपर्छ ।
अर्थोपार्जनको काम नगरे पनि अवकाशको जीवन सक्रिय त रहनुपर्छ । यो सक्रियता शारीरिक र मानसिक दुवै पक्षमा आवश्यक हुन्छ । शरीरलाई दुरुस्त राख्न शारीरिक अभ्यास आवश्यक हुन्छ, मनलाई दुरुस्त राख्न अध्ययन, मनन र चिन्तन । यस कामबाट चाहिँ अवकाश लिनुहुन्न । शारीरिक र मानसिक कसरतका अनेक रुप र आयाम छन् । आआफ्नो इच्छा र चाहना अनुसार केही न केही गर्नै पर्छ । अरु केही नसके पनि हिँड्ने र पढ्ने त नियमित गर्नै पर्छ । अरु भनेको मौका, समय र परिस्थितिको हातमा छोडौं । समयले दर्शक दीर्घामा ल्याइपुर्याएको छ । अब रमित हेरेर आनन्द लिऔं ।
कतिपय साथीहरुले बोल्ने बाटोको रूपमा पनि ‘के काम गर्दै हुनुहुन्छ ? कता काम गर्दै हुनुहुन्छ’ भन्नु भएको होला । उहाँहरूले यसरी देखाउनु भएको अपनत्वको लागि भने म सधैं आभारी छु ।

हो पनि, अब यसो गर्छु भनेर राजीनामा दिनेलाई पो के गर्दै हुनुहुन्छ भनेर सोध्नु ! अनिवार्य अवकाश पाउनेलाई के सोधिरहनु !
नमन ।
हजुरको प्रस्तुति मन पर्ने पाठकमा मलाई पनि दरिन मन छ ।
हजुरको सिभि धेरै संग मेल खाने कुरामा दुई मतै छैन तर यथार्थ लेख्न सक्ने र देखेको बोल्न सक्ने कमै अादरणीयहरू दखेको र भोगेको छु ।
नमन ।