लोभीको देशमा ठग

कार्यालयको कामले पटना गएको थिएँ । हामी बसेको होटलमा पच्चीस प्रतिशत ब्याज दिन्छौं, हाम्रो संस्थामा पैसा राख्नोस् भनेर मानिस आएका थिए । नेपालबाट नै पैसा पठाउन सकिने, नेपालमा एजेन्ट रहने, व्याज नेपालमा नै पुर्‍याइदिने प्रस्ताव थिए । हामी मन्त्रमुग्ध भएर उसका कुरा सुनिरहेका थियौं । मैले बीचैमा भनें, ‘पच्चीस प्रतिशत ब्याज दिने त भन्नु भयो तर कसरी ?’ मेरो प्रश्नपछि उनीहरु मुखामुख गर्न थाले । कसैले संकलन गरिएको पैसा औषधि उत्पादनमा लगाउने भने भने कसैले जडीबूटी प्रशोधनमा । यसरी कुरा बढ्दै गएपछि उनीहरु भोलि कुरा गर्ने भनेर फर्केर गए, तर त्यो भोलि फर्केर आएन । 

उनीहरुसंग कारोबार नगरिए पनि उनीहरुलाई र्‍याखर्‍याखी पार्न प्रयोग गरेको ‘तर कसरी?’ भन्ने प्रश्न भने मैले आफ्नो थेगो जस्तै बनाएं । एमबे कम्पनीको सदस्य बन्न प्रस्नाव लिएर आउने सहयोगी भाइलाई, युनिटीको सदस्य बन्न जोड गर्ने कलेज पढ्दाको साथीलाई अनि ड्युसफ्टमा लैजान खोज्ने सहकर्मीलाई मैले यही ‘तर कसरी ?‘ ले परास्त गरेंँ । हर्बोको सदस्य बनाउन खोज्ने भाउजुलाई भने उच्च आदरका कारण अलि घुमाएर नाई भन्नुपर्‍यो । गोल्डक्वेस्ट मेरो हैसियतभन्दा माथि थियो, मैले केही भन्नै परेन । यी चार कम्पनी डुबे तर मैले दु:ख गरेर कमाएको पैसामा घुनपुतली लागेन । ‘गांठ भी गुमाना, बेबकुफ भी बनना’ बाट म बचें । 

संसारमा हरेक पल सैकडो व्यापारिक कारोबार भइरहेका हुन्छन् । व्यापारिक कारोबारमा दुबै पक्षलाई लाभ हु्न्छ भन्ने धारणा राखिन्छ । एक कप चिया खांदा हाम्रो धित मर्छ भने पसलेले पैसा पाउंछ । तर ठगी यस्तो कारोबार हो जसमा ठग्नेले मात्र फाइदा पाउंछ । आज सबै क्षेत्रको विकास भइरहेकोले ठगीको पनि विकास भइरहेको छ । यसबाट बच्न गाह्रो होला तर केही सामान्य कुरामा ध्यान दियौं भने जोखिम कम हुन सक्छ ।

पहिलो कुरा हो, अति लोभको त्याग । उखानै छ, लोभीको देशमा ठग भोको पर्दैन भन्ने । लोभले जाँगर लागाउँछ अति लोभले विनाश । पचपन्न हजार रुपैंया तोला सुनको भाउ पुगेको बेला ‘अभर पर्‍यो हजुर, दशहजार तोलाको दरले बेच्छु भन्दै’ आउने मान्छेबाट सुन किन्यौं भने त्यो पुनिउको डाठ हुनु स्वभाविक हो । एक लाख दिनुस्, दुई लाख लिनुस् भन्नेले पनि यसै गरी ठगिरहेका छन् । मनसुलीभन्दा सस्तो भाउमा बासमती चामल खान खोज्ने काठमाडौ बासीको पैसा पचासको दशकमा निकै डुबेको थियो ।

दोश्रो कुरा हो, संसार स्वार्थी भन्ने सत्यको बोध । जब म अरुलाई फाइदा हुने पस्ताव लिएर कतै जान सकेको छैन भने अरु किन लाखौं फाइदा हुने प्रस्ताव लिएर मकहाँ आउँछ ?’ आफन्तसँग पाकेट खर्च माग्न त पापड बेल्नुपर्ने संसारमा तपाईंलाई करोडपति बनाउन कोही जन्मेको छैन । हो आफू करोडपति बन्ने क्रममा तपाईंलाई मुर्गा बनाउन भने ऊ आएको हुनसक्छ ।

तेश्रो कुरा हो, भाग्यप्रति अन्धविश्वासको परित्याग । म त भाग्मानी मानिस हुँ, तर केले केले घुमाएर दु:ख पाएको छु , कुनै बेला मेरो भाग्य चम्किनेछ र म अर्कै हुनेछु भन्ने भावनाले धेरै मानिसलाई ग्रस्त पारेको हु्न्छ । अनि मानिसले आफ्नो भाग्यको ढोका हर्बोको चियामा वा एमबेको टुथपेष्टमा खोजिरहन्छन् । एमबेका भाइले भनेका थिए, ‘सर, यो कम्पनी भनेको पाँच वर्षमा मानिसलाई साइकलबाट कारमा पुर्‍याउने कम्पनी हो ।’ मैले उत्तर दिएको थिएँ, ‘साइकल नै ठीक छ अहिले । मलाई दु:ख गरेर खानु भनेर भावीले लेखेको छ । सजिलो पैसा मेरो भाग्यमा छैन ।’ तपाईंले यसो भन्न सक्नुभयो भने ठगाइबाट केही हदसम्म बच्न सकिन्छ । यसो भन्न नसक्नेहरुमध्ये कतिपय अफ्रिका वा दक्षिण अमेरिकामा परेको आपुताली हत्याउन लुकीचोरी डलर साटेर पठाइरहेका छन् र ठगिइरहेका छन् ।

मैले देखेको अर्को कारण हो, व्यवसायिक प्रक्रियाको बारेमा जानकारीमा राख्नु । कुनै सामान किन्दा वा कतै सदस्य भएबापत ठूलो रकम आउँछ भन्ने कुरामा सुरुमा सबैलाई विश्वास नहुनसक्छ । उनीहरुले भन्छन्, ‘हामीलाई यत्रो पैसा वा सामान कस्ले दिन्छ ?’ अक्सर उत्तरमा आउँछ, कम्पनीले । मानिसको विचार हुन्छ, व्यक्ति पो आफ्नो स्वार्थमा लिप्त हुन्छ, कम्पनीलाई त के मतलब र, देला पनि । तर कम्पनी भनेको आफ्नो अनुहार साइनबोर्डले छोपेर मानिसहरुले व्यसाय गर्ने एउटा तरिकामात्र हो । कम्पनीले पनि मूलभूत रुपमा मालिकको स्वार्थ रक्षा नै गरिरहेको हुन्छ, समाज सेवा गर्दैन ।

यसो भन्दैमा संसारमा ठूला आर्थिक क्रान्ति वा रुपान्तरण नहुने होइन । झुसिलकीरा पुतली भए जस्तै सामान्य आर्थिक अवस्था भएका मानिसहरु उचित सुझबुझका साथ काम गरेमा धनी मानिसमा रुपान्तरण हुनसक्छन् । उपेन्द्र महतोको जीवनीबाट पनि हामी यही सिक्छौ । तर यी ठूला आर्थिक परिवर्तनमा पनि एउटा तर्कपूर्ण सिलसिला हुन्छ, आर्थिक मामलामा चमत्कारको गुन्जायस कम हुन्छ । खाली बाकसबाट तीनवटी युवती निकाल्ने जादूगरले पनि पैसाका लागि आफ्नो प्रदर्शनको टिकट बेच्नुपर्छ अनि देउतासँग सोझै गफ गर्ने महात्माले पनि भण्डारा, फलफूल र भेटीका लागि दाता र भक्त कै भर पर्नुपर्छ । त्यसैले छिटै धनी बन्ने सपना सुन्दै विश्वास नगर्नुस् । त्यो सपना बेच्नेलाई सोध्नोस्, त्यो कसरी सम्भव हुन्छ । उत्तर विश्वसनीय भएमा मात्र कारोबार गर्नुस् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *