‘मिस्टर आचार्य, आर यु रिटायर्ड ?’
अवकाश पाएर श्रीमतीसहित घुमफिरका लागि मलेसियाको क्वालालम्पुर पुगेको थिएँ । बटुकेभ लैजानका लागि हामीलाई लिन होटलको लबीमा आएकी पथप्रदर्शक तथा ड्राइभर मोनिकाले अलिपर राकेको गाडीमा नपुग्दै बाटैमा यो प्रश्न गरेकी थिई ।
राष्ट्र बैंकमा तीस वर्ष काम गरेको आधारमा मैले एकाउन्न वर्षमा अवकाश पाएको थिएँ । पातलो शरीर र उतिसारो नफुलेको कपालको कारण म त्यति बुढो जस्तो पनि देखिन्नथेँ (यो तथ्यचाहिँ विवादित पनि हुनसक्छ, आफूलाई लागेको भने त्यही हो) । काठमाडौंमा मैले अवकाश पाएको कुरा सुनाउँदा धेरै जना मेरो उमेर र अवस्थाको कारण पत्याउँदैनथे । मैले पत्यार पारेपछि ‘हेर, काम गर्ने उमेर हुँदाहुँदै रिटायर’ भनेर सहानुभूति दिन्थे । सहानुभूतिका यस्ता गुलिया कुरा सुन्न बानी परेका मेरा यी कानमा मोनिकाले सोझै ‘तपाईं रिटायर्ड हो नि !’ भनेर ठोकुवाको शैलीमा प्रश्न सोधेपछि म हतप्रभ भएको थिएँ । साँच्चै, त्यो प्रश्नले मलाई लल्याकलुलुक पार्यो ।
मैले उसलाई हेरेँ । ऊ निकै ढुक्क देखिन्थी । ऊ ओठमा स्मित मुस्कान छरेर दायाँ हातको चोर औंलाले कारको साँचो घुमाउँदै थिई । मानौ मनमनै भनिरहेकी थिई, ‘हामी एक नजरमा मान्छे चिन्छौं । मैले भनेको मिल्यो कि मिलेन त, मिस्टर आचार्य !’
‘हो, तर कसरी थाहा पाउनु भो !’ मैले आफूलाई सीआईडी (भारतीय सिरियल) को एसीपी प्रद्युम्नको अघि परेको अपराधी जस्तै महसुस गरिसकेको थिएँ । अब मलाई सत्य बकाउन थप केरकारको जरुरत थिएन ।
‘तपाईं नेपालबाट हैन ?’ उसको पूरक प्रश्न भने यस्तो थियो ।
‘हो ।’ मैले सहजतापूर्वक जवाफ दिएँ । यो प्रश्नबाट भने मैलाई गौरव पनि महसुस भयो । धेरै ठाउँमा भने हामीलाई पनि भारतीयको रुपमा चिनिन्छ । यहाँ भने मेरो साँचो परिचय कामय थियो ।
‘धेरै जसो नेपाली, भारतीय र श्रीलङ्कालीहरु रिटायर भएपछि मात्र घुम्न निस्कन्छन् । युरोपेली र अमेरिकी भने अध्ययन वा कामको बीचमा पनि समय मिलाएर घुमिहाल्छन् ।’ उसले निकै आत्मविश्वासका साथ आफ्नो ‘पहिचान सिद्धान्त’ को उद्घाटन गरी । हुन पनि श्रीलङ्काका अवकाशप्राप्त दुई जना बुढाबुढीलाई कारमा राखेर ऊ हामीलाई लिन आएकी रहिछ ।
उसँग त मान्छे रिटायर भए/नभएको अडकल काट्ने सैद्धान्तिक साँचो नै रहेछ । उसलाई बाबुआमा वा छोराछोरीको जिम्मेवारीबाट हत्तपत्त छुट्टी नपाउने नेपाली समाजशास्त्र थाहा रहेछ । विदेश घुम्नु धेरै कम मानिसले मात्र अवसर पाउने, जागिरेले कमाएको पैसाले सामान्यरुपमा जीवन यापन गर्न धौधौ पर्ने र घुमफिरका लागि अवकाशपछि पाइने पैसा पर्खनुपर्ने नेपाली अर्थशास्त्र थाहा रहेछ । आफूले कमाएको आफ्ना छोराछोरीका लागि सकेसम्म जम्मा गरिदिने र आफ्नो लागि सकेसम्म कम खर्च गर्ने नेपाली जीवनदर्शन पनि थाहा रहेछ। अझ धर्मकर्मका नाममा जतिसुकै खर्च र आडम्बर गरेपनि प्रश्न नउठ्ने तर अलिकति रमाइलो गर्यो कि ‘पैसा कमाएकै छ, उडाउँछ नि’ भनेर खिसी गर्ने नेपाली मनोविज्ञान पनि उसलाई थाहा थियो कि ? जे होस्, यति ज्ञान भएपछि उसलाई मेरो थप परिचय किन चाहियो र ? कति रिटायरलाई यसैगरी घुमाइसकेकी होली त्यसले । मचाहिँ कुन ड्याङको मुला थिएँ र ?
तिनको प्रश्नले मेरो मन रन्थनिएको थियो, उत्तरले त दिमाग नै हल्लायो । वास्तवमा हामी किन यस्तो, उनीहरु किन त्यस्तो ? मैले किन यति लामो समयसम्म घुमफिरको लागि समय र साधन जोहो गर्न सकिन हँ ? सोचिरहें, सोचिरहेकै छु ।
अफिसको कामले विदेश जाने अवसर मिल्दा म एकदुई दिन बिदा थपेर गन्तव्य र बाटोमा पर्ने ठाउँमा घुमेँ पनि । तर यस्तो यात्रामा श्रीमतीलाई साथ लैजाने अवसर मिलाउन सकेको थिइन । अफिसले उपलब्ध गराएको अनिवार्य भ्रमण विदाको पनि केही उपयोग गरियो र नेपालका केही ठाउँ त घुमियो । कार्यालयको कामले कतै जानुपर्दा श्रीमतीलाई लिएर जान मिल्ने नयाँ ठाउँमा दुवै जना गएका पनि थियौं । तर पनि त्यो वेलासम्म घुम्न हामी बुढाबुढी हातमा पासपोर्ट बोकेर निस्केका थिएनौ नै । त्यसैले त मोनिकाले लख काटेको ठ्याक्कै मिलेको थियो, हामी रिटायर भए पछि नै घुम्ने मात्र उद्देश्यले निस्केका थियौं ।
मोनिकाको प्रश्नले रन्थनिएपछि आफ्नो जीवनलाई एकसरो पछाडि फर्केर हेरेँ । एसएलसी र नागरिकताको प्रमाणपत्र हातमा लिएर गरीखाने जमर्को गरेको थिएँ । एसएलसीपछि चारवटा विद्यालयमा अस्थायी र ज्यालादरी प्राथमिक शिक्षक हुनपुगें, एक छुटेपछि अर्को खोजें, त्यो छुटेपछि अर्को । त्यसपछि निजामती सेवामा प्रवेश गरें, सहलेखपालको रुपमा । डेढ वर्ष त्यसमा रहेपछि ‘जुनी बिताउने’ जागिर राष्ट्र बैंकमा पाएँ । प्राइभेट परीक्षार्थीको रूपमा आइ.ए. पास गरेर बैंकको जागिरमा पसेको थिएँ । अरु थप पढ्न बाँकी नै थियो । बी.ए. पढ्न मन थियो, एम.ए. गर्न रहर थियो । पढाइ निष्कर्षतिर पुगेपछि पारिवारिक जीवनको सुरुआत भयो । त्यसपछि सन्तानको जिम्मेवारी । चराले गुँड बनाएर चल्ला कोरल्छन् । हाम्रा चल्ला थिए, गुँड थिएन । अनि काखमा छोरा लिएर घर बनाउन थालियो । उनीहरुको लागि भनेर केही जोहो गरिरहँदा पैसाको अर्को उपयोग हुन्छ जस्तो पनि लागेन । उनीहरुलाई हुर्काइरहँदा फुर्सदिलो अवसर पनि भएन । उनीहरु हुर्केको हेरिरहँदा त्यहाँभन्दा सुन्दर अरु केही दृष्य हुन्छ जस्तो पनि लागेन ।
जीवनकै यस्ता रन्थमोलबीच राष्ट्र बैंकको जागिरमा तीस वर्ष बिताउँदा हप्ता दश दिनको छुट्टी मिलाउन पनि सकेनछु, केही हजार पैसा खर्च गर्ने हैसियत पनि बनाइँनछु । भैपरी आउने विदा यसो व्यवहार मिलाउँदै सकिन्थ्यो । घर बिदा र बिरामी बिदाको पैसा पाइन्थो, ती बिदा लिने आँट नै आएन । दसैं-तिहारको बिदामा पनि जागिरेहरु खूब घुम्न हिँडेको देख्छु । तर मलाई दसैं-तिहारको विदा देसबाहिर घुमेर बिताउन मन लागेन । म उति धर्मभीरु मानिस त होइन तर दसैं र तिहारको टीका छोड्न सकिन । यी अवसरमा टीका लगाउन भाग्यमा भए मात्र पाइन्छ जस्तो लाग्छ । दसैंको बिदामा त आमा बस्नुहुने मेरो मातृभूमि नेपालटार टेक्न चाहन्छु । पैसा पनि त सधैं पुगेस-पुगेस् नै त थियो । जागिरको भरमा परिवार चलाउनु पर्ने दायित्व हुनेलाई फुर्मास गर्ने पैसा कहाँ होस् । सामाजिक सुरक्षाको कुनै व्यवस्था नभएको, शिक्षा र स्वास्थ्य सेवा निकै महँगो रहेको आर्थिक-सामाजिक संरचनामा अलिकति पैसा भए पनि खर्च गर्ने आँट कसरी आओस् । त्यसैले त अलि व्यवहार मिलाऊँ, अलि सजिलो अवस्थामा आऊँ भन्दाभन्दै घुमघामको योजनाले अवकाशको समय नै पर्ख्यो ।
अहिले सोच्दा त्यो जीवनशैली अलि रक्षात्मक थियो कि जस्तो पनि लाग्छ । तर त्यो मेरो मात्र चाहाना थिएन, समयको माग थियो । अनेक जिम्मेवारी काँधमा बोकेर हिँडेको मान्छे स्वभाविक रुपमा रक्षात्मक हुन्छ नै । आक्रामक हुनका लागि मसँग कुनै हतियार थिएनन् । हरेक समयमा र हरेक आर्थिक निर्णयमा फुकेर पाइला चालिरहेको थिएँ । सर्कसमा डोरीमा सन्तुलन मिलाएर हिँडिरहेको मानिस देख्दा त्यो आफ्नै आर्थिक रणनीतिको शारीरिक प्रस्तुति जस्तो मात्र लाग्थ्यो । त्यो समय त्यसैगरी बित्यो ।
अहिले समय अलि बदलिएको जस्तो लागेको छ । पश्चिमा जीवनशैलीले नेपाली समाजलाई प्रभावित पार्दै जाँदा घुम्नेफिर्ने/मनोरञ्जन गर्ने प्रवृत्ति बढेको देखेको छु । आयस्तरमा पनि केही बढोत्तरी भएकै होला । रोजीरोटीका लागि विदेश जाने प्रवृत्तिको कारणले पनि होला विदेश अब परदेश जस्तो पनि लाग्न छोडेको छ । आफू नपुगे पनि नाम सुनिरहेका देशहरु नजिकका जस्ता लाग्दा रहेछन् । कतिपय देशमा घुम्दा त नेपालीहरु भेट भइरहँदा रहेछन् । आज अक्सर दुःखको कारण नेपालीहरु विश्वको कुनाकुना कुनामा पुगेका छन्, उन्नत भविष्यको खोजीमा । भोलि यो देशको आर्थिक विकास भएपछि नेपालीहरु खर्चिला पर्यटकको रुपमा पनि त विश्वका कुनाकुनामा पुग्लान् । देशमा आएको नयाँ राजनैतिक वातावरणले यस्तो सम्भावनाको ढोका खोल्ला । अबको पुस्ताले आफ्नो जीवन अलि व्यवस्थित बनाउन पनि जान्लान् । नयाँ पुस्ता काम, विदा, मनोरञ्जन, कमाइ र खर्चका बीचमा राम्रो सन्तुलन मिलाएर अघि बढ्न सक्ला । अब शायद कोही घुम्न विदेश गएको देख्दैमा मोनिकाहरुले ‘रिटायर भएर त आएका हौला नि’ भनेर लख काट्ने वातावरण रहँदैन होला !
