सामुदायिक स्कुलः पुगेको छ त ध्यान ?

कोरोना संक्रमणको प्रभाव सर्वव्यापी छ । यसै क्रममा शिक्षा क्षेत्रमा कोरोनाको प्रभावको बारेमा समेत चर्चा भइरहेको सुन्छु । संक्रमणको त्रासका कारण सबै शिक्षण संस्था बन्द रहेका छन् । शैक्षिक गतिविधि ठप्प प्रायः छ । रेडियो, टेलिभिजन र अनलाइन शिक्षाको नाममा शैक्षिक गतिविधिमा कृत्रिम स्वासप्रश्वास गराइएको छ । परीक्षाहरू स्थगित भएका छन् । ऐतिहासिक महत्व भएको र जनमानसमा ठुलो प्रभाव जमाएको एसईई परीक्षा समेत यसपालि हुन सकेन । लाखौं विद्यार्थी अहिले घरमा बन्दी झैं बसेका छन् । स्कुल, कलेज कहिले खुल्लान् र कसरी खुल्लान् भन्ने खुलदुली कायम छ ।

शिक्षा सम्बन्धी चर्चा चलिरहँदा मेरो मन भने मैले माध्यमिक शिक्षा लिएको विद्यालयमा पुग्छ । सदरमुकाम गाइघाटमा स्थानान्तरण भएपछि एउटा हुलाक र स्वास्थ्य चौकीलाई छिमेकी बनाएर उदयपुरगढीमा रहेको पञ्चावती माध्यमिक विद्यालयमा मैले माध्यमिक शिक्षा पूरा गरेको थिएँ । मैले दुई प्राथमिक र एक निम्नमाध्यमिक विद्यालयका अतिरिक्त आफूले पढेको यही विद्यालयमा पनि करिब ८-९ महिना पढाउने मौका पनि पाएको थिएँ । लामो समयपछि पोहोर त्यहाँ जाँदा स्कुलको अवस्था अलि खस्केको जस्तो महसुस भयो । यसपालिको बजेटमा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूवार्धार सामग्री सहित विद्यालयको शैक्षिकस्तर सुधारको जिम्मेवारी लिनपर्ने व्यवस्था भएको सन्दर्भमा सामुदायिक स्कुलको अवस्था अलि बिग्रेको नै छ कि जस्तो लागिरहेको छ।

एउटा स्कुलले अनेक मानिसको जीवनमा अनन्त सम्भावनाको ढोका खोल्छ र अकल्पनीय परिवर्तन ल्याउन सक्छ । शिक्षाको ज्योतिबाट मानिसले प्रगतिको सम्भावना देख्छ, त्यसको लागि बाटो खोज्छ, असफलतामा धैर्य कायम राख्छ, सफलताबाट देश र दुनियाँलाई नै योगदान दिन्छ । एउटा स्कुल बन्द हुनु सयौं बालबालिकाको उज्यालो भविष्यको ढोका बन्द हुनु हो । एउटा स्कुल कमजोर हुनु सयौं मानिस कमजोर हुनु हो । शिक्षा सबै क्षेत्रका विकासको पहिलो सर्त हो । शिक्षा विना नयाँ नेपालको निर्माण होइन, सानो सकारात्मक परिवर्तन पनि सम्भव छैन । स्तरीय शिक्षा नपाउनु कहिलेकाहीं शिक्षा नपाउनुभन्दा खराब पनि हुनसक्छ ।

मैले स्कुलमा पढेको समय (२०३१-२०३९ साल) भन्दा अहिले सामुदायिक विद्यालयको वातावरणमा केही परिवर्तन आएको छ । मैले पढ्दा स्कुल आर्थिक रूपमा कमजोर थियो । गतिलो विद्यालय भवन थिएन । स्कुलको खरको छाना जनश्रमदानबाट छाइन्थ्यो । स्कुल घरलाई डडेलोबाट बचाउन हामी नै स्याउला बोकेर आगो निभाउन जान्थ्यौ । स्कुलमा सरकारी अनुदान सीमित थियो । विद्यार्थीले तिरेको शुल्कबाट शिक्षकको तलब व्यहोरिन्थ्यो । हिउँदको छुट्टीमा आर्थिक सहयोग संकलनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्थ्यो । शिक्षकको तलबको टुंगो थिएन । सेवाका सर्त र सुविधा पनि राम्रा थिएनन् । त्यस्तो अवस्था धेरै स्कुलमा पनि थियो होला । आज स्कुल पूर्ण सरकारी छन् । स्कुलको पूर्वाधार विकास, शैक्षिक समाग्री र शिक्षकको तलब सरकारी खर्चबाट व्यहोरिन्छ । स्कुल पहिले समुदायको सम्पत्ति थियो । समुदायले सहयोग गरेर बचाएको थियो । स्कुलको सञ्चालक समिति पहिले सधैं तनावमा हुन्थ्यो, स्रोत व्यवस्थापनका लागि । अब स्कुल पहिलाभन्दा साधनस्रोत सम्पन्न भएका छन् । अहिले त्यही स्रोतमा आँखा लगाउने प्रवृत्ति झ्याँगिदै गएको समाचारले बताइरहेका छन् । स्कुल पहिला स्नेहका केन्द्र थिए, अहिले दोहनका माध्यम भएका छन् । स्कुलप्रतिको समुदायको धारणा नै फेरिइसकेको छ ।

हामी स्कुल पढ्दा शिक्षकका भाइबहिनी र छोराछोरीसँग पढ्थ्यौं । उहाँहरूको अध्यापन कार्यप्रतिको प्रतिबद्धतामा कुनै कमी थिएन । हरेकले जानोस् र बुझोस् भन्ने उहाँहरूको मनमा थियो । उहाँहरूको घर समेत हाम्रा लागि सधैं खुला थियो । बिहानबेलुका पढ्न जान सक्थ्यौं । शिक्षक र विद्यार्थीको बीचमा भावनात्मक सम्बन्ध थियो । अहिले  निजी लगानीमा बोर्डिङ स्कुल खुलेकाले सरकारी स्कुलको विकल्प व्यापक भएको छ । गाउँका सक्ने जति सबैले आफ्ना छोराछोरीलाई बोर्डिङतिर पठाएका छन् । गाउँमा सरकारी स्कुल भए पनि बोर्डिङमा छोराछोरी पढाउन सहर पस्ने चलन पनि चलेको छ । यसैले छोराछोरी बोर्डिङ पठाएका बाठाटाठा अभिभावकहरू सरकारी स्कुलमा खोजखबर लिन आउनु परेन । निमुखाले स्कुलको हालखबर लिने आँट गरेनन्, मेसो पाएनन् । स्कुल सार्वजनिक चासो र उत्तरदायित्वबाट विमुख भए । शिक्षा निःशुल्क भएकाले सित्तै पाएको कुरामा के गुणस्तर खोज्नु भन्ने पनि लाग्यो होला ।

सामुदायिक स्कुलमा पढेको विद्यार्थी र त्यस्ता स्कुलमा केही समय पढाएको छोटो अनुभव भएको कारण सामुदायिक विद्यालयको मलाई निकै माया लाग्छ । निजी क्षेत्रमा खुलेका संस्थागत विद्यालको शुल्क महँगो भएको पृष्ठभूमिमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुन नसकेमा धेरै सर्वसाधारणका छोराछोरी स्तरीय शिक्षाबाट वञ्चित हुनेछन् । समाजवाद उन्मुख राज्यसंयन्त्रबाट स्तरीय सरकारी शिक्षाको माग गरिन्छ पनि । यसै सन्दर्भमा विद्यालयका चार सरोकारवाला (व्यवस्थापक-स्थानीय तह र विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावक) मध्ये व्यवस्थापक र शिक्षकबाट अपेक्षित भूमिकाको बारेमा केही चर्चा गर्न खोज्दैछु ।

त्यो दश वर्ष, त्यसपछिको शान्ति प्रक्रिया अनि संविधान लेखन र कार्यान्वयन । यस बीचमा धेरैको ध्यान अरू कुरातिर बढी केन्द्रित भएकाले सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान पुगेको थिएन । फेरि, शिक्षा निरन्तर विकास गरिरहनुपर्ने विषय पनि हो । अब शिक्षालाई प्रमुख प्राथमिकताको विषय बनाएर अघि बढ्नुपर्छ ।  विकासमा पछि परेको कारण हामीले अहिले विकास भनेको बाटो, पुल, रेल, भ्यु टावर भन्ने बुझेका छौं । त्यसैले विकासका नाममा धेरै पैसा त्यतै लगाएका छौं । यी काम देखिने र जस पाइने खालका छन् । यिनमा लगानी गर्नु आवश्यक पनि छ । तर शिक्षाको विकास नभई ती सम्पदाको विकास, सदुपयोग र दिगोपना कायम रहन सक्दैन । विकसित देशका भौतिक विकासलाई पछ्याएर मात्र पुग्दैन, उनीहरूको शिक्षा सम्बन्धी व्यवस्था पनि हेर्नुपर्छ । शिक्षालाई नपछ्याई अरू कुरामा पछ्याउन सकिन्न पनि। शिक्षामा गरिएको लगानीबाट ढिलो प्रतिफल आउने हुनाले लोकरिझ्याइँमा रमाउने प्रवृत्तिले शिक्षामा लगानी गर्न मन गर्दैन । यो जोखिमबाट शिक्षा क्षेत्रलाई बचाउनु पर्छ । भ्यु टावरमा चढेर हेर्दाभन्दा राम्रो स्कुलमा पढेर हेर्दा ‘टाढासम्म’ स्पष्ट देखिन्छ भन्ने कुरा सबैले मनन गर्नुपर्छ।

नेपालमा संघीयता लागु भएपछि आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा परेको छ । स्थानीय निकायले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक सामग्री र शिक्षक व्यवस्थापन सम्बन्धी कार्य गर्न सक्छन्। राम्रो शिक्षाको लागि पर्याप्त पूर्वाधारको आवश्यकता पर्छ नै । त्यो अब स्थानीय तहबाट नै पूरा हुने भयो । कक्षा कोठा, शौचालय, खानेपानी, पुस्तकालय. प्रयोगशाला. सूचना तथा सञ्चार प्रविधि, खेलमैदान जस्ता आधारभूत पूर्वाधारको लागि केन्द्र धाउनु नपर्ला अब ।

शिक्षाको विकास भनेको विद्यालय भवन, शैक्षिक सामाग्री, शिक्षाको प्रबन्ध र अन्य शैक्षिक पूर्वाधारको विकास हो, तर यति मात्र होइन । यी त साधनमात्र हुन् । शिक्षाको विकासको लागि शिक्षा प्रशासन, व्यवस्थापन, शिक्षक, विद्यार्थी र अभिभावकबीच उच्चस्तरको सुमधुर सम्बन्ध हुनुपर्छ । स्थानीय तहले यसमा भूमिका खेल्नुपर्छ ।शिक्षाले सरोकारवालाहरूको उच्चतम् प्रतिबद्धता माग गर्ने क्षेत्र हो । एउटा निर्दोष बालबालिकाको जीवनमा ज्ञान र चेतना भर्न सहयोग गर्ने हुटहुटी,  एउटा कोपिलाले पर्याप्त पोषण पाओस् र सुन्दर फूल बनोस् भन्ने दृढ कामना, भविष्यको यात्रामा लम्किएको कुनै पनि युवा ज्योति र गतिबाट बञ्चित नरहोस् भन्ने सद्‍विवेक । नीति बनाउने र कार्यान्वयन गर्ने व्यक्तिमा यी भावना हुनुपर्छ । विद्यार्थी कालमा एक पाइलापछि परको मानिस जिन्दगीको यात्रामा कोसौं पछि पर्न सक्छ । स्थानीय निकाय र विद्यालय व्यवस्थापन समितिमा यस विषयमा संवेदनशील हुनैपर्छ ।आज देखिएका सबै विकृतिको जड संवेदनहीनता नै हो ।

शिक्षाको गुणस्तर बढाउनु र बढाउँदै जानु सानो प्रयास र कसैको एकतर्फी प्रयासबाट साध्य हुने काम होइन । तर पनि शिक्षकको भूमिका सधैं अग्रणी नै हुन्छ । ‘शिक्षक दौडियो भने विद्यार्थी हिंड्छ, शिक्षक हिंड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ र शिक्षक सुत्यो भने विद्यार्थी मर्छ’ भन्ने भनाइ नै छ । हाम्रो संस्कृतिले शिक्षकलाई उच्चतम आदर दिएको छ । गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वरः, गुरुः साक्षात्परब्रह्मा तस्मै श्री गुरुवे नमः। हरेक स्कुले बालबालिकाको पहिलो रोलमोडल आफ्नो शिक्षक नै हो । शिक्षकले स्तरीय शिक्षाका लागि आवश्यक कतिपय तत्वहरुको कमीलाई धेर थोर पूरा गर्न सक्छ । असीमित ऊर्जाले सिंचित सक्रिय, सफल र सबल व्यक्तित्वको प्रक्षेपण शिक्षकले विद्यार्थीमा गर्नुपर्छ । आफ्नो प्रेम र रिस साधाना गर्न मानिसले अनेकन प्रयत्न गरे जस्तै विद्यार्थीलाई सिकाउन शिक्षकले अनेक उपाय लगाउनु पर्छ । गिजुभाई हाम्रा लागि नजिकका प्रेरणा हुनसक्छन् ।

अहिले व्यवसायिक र प्राविधिक शिक्षाको जमाना छ । सबै स्कुलमा त्यस्तो शिक्षाको लागि आवश्यक वातावरण र साधनस्रोत नहुन सक्छन् । मेरो विचारमा त हामीले परम्परागत रूपमा पढेका र अहिले पनि पढाइने गणित, विज्ञान, भूगोल, इतिहास, कानुन, अंग्रजी भाषा जस्ता विषय पनि कम महत्वपूर्ण छैनन् ।यस्ता विषयमा राम्रो सैद्धान्तिक ज्ञान दिन सके पछि प्राविधिक र व्यवसायिक शिक्षा लिन पनि सजिलो हुन्छ । कालोपाटी र व्याख्यानबाट नै सही; अंग्रजी, विज्ञान र गणितमा पोख्त बनाउन सक्यौ भने अरू शिक्षाको लागि राम्रो आधार तयार हुन्छ । साधनको अभावमा सिर्जना गर्न नसकिएला तर सिर्जनशीलता सिकाउन सकिन्छ, कल्पनाशीलता सिकाउन सकिन्छ, आशावादिता, जीवनवादिता र सकारात्मक चिन्तनशैली सिकाउन सकिन्छ । चन्द्रमामा पुर्‍याउन नसके पनि औंलाले चन्द्रमा देखाउन सकिन्छ ।आफूले जानेको सिकाऊँ, नजानेको कुरो सिक्ने बाटो देखाऊँ, विद्यार्थीलाई जिज्ञासु बनाऊँ । शिक्षक र विद्यार्थी भेला भएर यति त पक्कै गर्न सकिन्छ ।

नेपालको प्रशासन यन्त्रमा निष्पक्षता र पारदर्शिता कायम हुन सकेको छैन । शिक्षा क्षेत्र राजनैतिक हस्तक्षेपको शिकार भएको छ । लोभ र डरबाट प्रेरित भएर कतिपय शिक्षक नै राजनीतिमा संलग्न भइरहेका छन् । शिक्षक विभिन्न गलत परिस्थित र परिवेशको शिकार बन्नु परेको हुनसक्छ । शिक्षक पनि मानिस भएकाले उसका आफ्नो व्यक्तिगत, पारिवारिक, आर्थिक, समाजिक समस्या हुनसक्छन् । समस्यारहित मानिस त को होला र ?

स्थिति र अवस्था जे भए पनि शिक्षक अज्ञानता विरूद्धको लडाइँमा खटिएको एक सैनिक हो । त्यसैले आफ्नो व्यक्तिगत अवस्था जे जस्तो भए पनि शिक्षकले निराशा र पराजित मनोभावना कहिले पनि प्रकट गर्नु हुन्न । हारेको मनोविज्ञान बोकेर विद्यार्थीलाई विजयको लागि तयार पार्न सकिन्न । प्रशासन र राजनीतिसँग शिक्षकको कुरो नमिल्नु अनौठो होइन । आज मात्र होइन महाभारतकालमा द्रोण र द्रुपदको कुरो मिलेको थिएन, रामायणकालमा राम र परशुरामको पनि कुरो मिलेको थिएन । राजनीतिज्ञले आफ्नो राजनैतिक चालबाजी थोरैलाई बताउँछ, प्रशासकले आफूले पाएको अधिकारमध्ये अलिकति तल हस्तान्तरण गर्छ, पुँजीपतिले आयको सानो हिस्सा ज्यालाको रूपमा बाँड्छ तर शिक्षकले भने पाए जति र जाने जति सबै ज्ञान बाँढ्न चाहन्छ । शिक्षकको धर्म नै यही हो । आफ्ना विद्यार्थी र  समुदायबाट पाउने स्नेह र आदर नै शिक्षकको उद्देश्य हुनुपर्छ । यसमा भने शिक्षकको अपार अधिकार समेत छ । द्रोणाचार्यको परिचय हस्तिनापुरका शिक्षकको रूपमा हैन, अर्जुनका गुरुको रूपमा प्रख्यात छ र स्तुत्य पनि ।

विद्यालय व्यवस्थापन जिम्मेवार र शिक्षक लगनशील भए भने शिक्षामा धेरै सुधार गर्न सकिन्छ । यसमा अभिभावक र विद्यार्थीको सहयोग आवश्यक भने हुन्छ । त्यो ठुलो कुरा होइन जस्तो लाग्छ । अभिभावकमा सीमितता होलान् । गरिबी होला,  छोराछोरीलाई स्कुल पठाउने प्रतिबद्धतामा कमी होला, अज्ञानता होला । तर सामान्यतया सबै अभिभावकहरू आफ्नो सन्तानको भविष्यप्रति चिन्तित हुन्छन् नै । उनीहरूलाई छोराछोरीलाई स्कुल पठाउने र पढ्ने वातावरण मिलाइदिने कुरामा सहमत पार्न असजिलो छैन । उनीहरूको बाध्यतालाई रोजगारी,  स्वरोजगारीका लागि सीप र तालिमको अवसर जस्ता अन्य आर्थिक-सामाजिक उपायबाट पनि सम्बोधन गर्नुपर्ला । विद्यार्थी त काँचो माटो हुन् । उनीहरूलाई राम्रो बाटोमा लगाउनु र असल बनाउनु सबै वयस्कको कर्तव्य हो । शिक्षकको त मूल कर्तव्य नै विद्यार्थीको भविष्य रेखा कोर्नु हो ।गलत संगत र वातावरणले केही बालबालिकामा नराम्रो बानी र संस्कारको विकास भएको छ भने पनि उनीहरू असल बाटोमा आउन सक्छन् भन्ने आत्मविश्वास शिक्षकमा हुनैपर्छ ।

लकडाउनपछि सबै सामुदायिक विद्यालय नयाँ प्रेरणाका साथ खुलून । स्थानीय तह र विद्यालय व्यवस्थापन समितिले शैक्षिक वातावरण निर्माणमा ध्यान दिऊन् । शिक्षकहरू पठनपाठनमा अभिप्रेरित रहुन् । शिक्षक र विद्यार्थीको सुमधुर सम्बन्धले दुवैलाई उत्प्रेरित गरिरहुन् । हरेक नयाँ ब्याचले पुरानो ब्याचलाई पछाडि पारिरहोस् । अगाडि बढ्ने यसैगरी हो । यसमा सबै सरोकारवालाको उचित ध्यान पुग्नु आवश्यक छ । हरेक युवालाई स्तरीय शिक्षाको प्रकाश पुर्‍याउनु आजको नेपालको पहिलो प्राथमिकता हुनुपर्छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *