छुवाछुत: एउटा बाहुनको बकपत्र

यो मैले लेख्न हुँदैनथ्यो

जातीय आधारमा हुने छुवाछुत नेपाली समाजको पुरानो विकृति हो । छुवाछुतको प्रश्न २०६२/६३ को दोस्रो जनआन्दोलनपछि सघन रूपमा उठेको  थियो ।नेपालको संविधान, २०७२ मा यो विभेद हटाउने संवैधानिक प्रबन्ध भयो । हालै रूकुम पश्चिममा (२०७७ साल जेठ १० गते) नवराज वि. क. सहित ६ जना युवाको ज्यान गएपछि यो विषय फेरि मुखरित भएको छ । यसै मेसोमा मलाई छुवाछुतका विषयमा केही लेख्न मन लाग्यो ।

म इतिहास, संस्कृति, समाजविज्ञान, समाजशास्त्र, राजनीतिशास्त्र केही  विषयको जानकार होइन । यी विषयमा लेखिएका लेख कुनै पत्रिकामा पढियो होला, औपचारिक शिक्षामा पनि यी विषय मिसिएर आए होलान् । तर म यी विषयमा भिजेको छैन । फेरि, म बाहुन भएको हुनाले कथित उच्च जातको परें । युगौदेखि अरू जातजातिमाथि थिचोमिचो गरेको आरोप मेरो थाप्लामाथि छ । अहिले पनि म उसै धनी मानिन्छु, म त्यसै ज्ञानी ठानिन्छु, राजनीतिमा मेरै हैकम छ भन्ने सोचिएको छ र यो शक्तिको आधारमा मैले अरूलाई शोषण गरेको छु भन्ने संकथन समाजको केही हिस्सामा व्याप्त छ । छुवाछुतको समर्थन म गर्न सक्दिन तर छुवाछुत हटाउने अभियन्ताहरूले उठाएका सबै तर्कसँग म सहमत छैन । मैले छुवाछुतको बारेमा लेख्नु अलि विवादास्पद हुनसक्छ। मैले जे देखें, जे भोगें, जे जाने, त्यही लेखें । यी तर्क र तथ्यमा कुनै कमजोरी देखिए म सच्चिन पूरै र सधैं तयार छु ।

हिन्दूधर्म र छुवाछुत

छुवाछुतको स्रोत वर्णाश्रम व्यवस्था हो । यसबाट जातिप्रथाको उत्पत्ति भयो । जातिप्रथापछि केही जाति अछुत मानिए, कोही उच्च ठानिए । यसैले जातिवादमा आधारित छुवाछुतलाई कतिले ऋग्वेदसँग जोडेका छन्, कतिले मनुस्मृतिबाट यसको उत्पत्ति भएको मान्छन् । हिन्दू धर्मको मूलस्वरूप छुवाछुत होइन भन्ने मत पनि छ । तर पनि छुवाछुत हिन्दू धर्मको उपज हो भन्ने मत नै दह्रो छ । हिन्दू धर्मग्रन्थको भाषा भएको हुनाले संस्कृतलाई नै घृणा गरिएको छ । हामीलाई कसैले अंग्रेजीमा गाली गर्‍यो भने हामीले अंग्रेजी भाषालाई होइन, गाली गर्नेलाई प्रतिक्रिया दिनुपर्ने हो। बरू सके अंग्रेजी भाषामा नै जवाफ दिनुपर्ने हो । तर हिन्दू धर्म र यसका ग्रन्थको संस्कृत भाषाले गाली खाइरहेको छ ।

आजको दिनमा ठोकेर के भन्न सकिन्छ भने मानिसको बीचमा विभेद ल्याउने कुरा जहाँ र जसले लेखे पनि अज्ञानवश लेखे । प्राचीन ग्रन्थले त्यो वेलाको ज्ञान र विज्ञानको प्रतिनिधित्व गर्छन् । ती कतिपय साँचा होलान् । कतिपय गलत होलान् । अरिष्टोटलले नै महिलाको दाँत पुरूषको भन्दा कम हुन्छ भनेर लेखेका थिए रे । त्यतिवेला सत्य देखिएका कुरा यो वेला गलत सावित भए होलान् । पुराना धर्मग्रन्थ पूरै वैज्ञानिक नहोलान् । ती विचार आध्यात्मिक चेतनाको विकासका सन्दर्भमा ठिक होलान् तर समाज विज्ञानको हकमा ठिक रहेनन् । हामीले अब नीरक्षीर विवेकको प्रयोग गर्नुपर्छ र त्यसमा भएको नराम्रा र अवैज्ञानिक कुरालाई विनम्रता र दृढताका साथ अस्वीकार गर्नुपर्छ । छुवाछुत अबको धर्मले बोक्न सक्दैन, बोक्न हुँदैन ।

हिन्दू धर्ममा मात्र होइन अरू धर्म र सम्प्रदायमा पनि छुवाछुत रहेछ । अमीर खानले चलाएको सत्यमेव जयतेको एउटा श्रृंखलामा यो कुरा स्पष्ट रूपमा बताएका छन् । हामीले समस्याको कारकलाई स्पष्ट रूपमा बुझ्न सकेनौ भने समाधान गर्न पनि नसकौंला ।

छुवाछुत वर्ण व्यवस्थाको उपज हो । सामन्तवादी शासनमा यसको संरक्षण र प्रवर्द्धन भयो । श्रम विभाजन (कसले के गर्ने भन्ने सुरूमा टुंगो लगाएर उत्पादन बढाउने तरिका) को रूपमा यो सुरू भयो । औपचारिक शिक्षाको व्यवस्था नभएको अवस्थामा जीविकाका लागि आवश्यक व्यवसायिक ज्ञान पैतृक रूपमा पुस्तान्तरण हुँदै जाँदा ज्ञान तिखारिँदै जाने वातावरण बन्यो । उत्पादन बढाउन यसले कुनै कालखण्डमा सहयोग गर्‍यो होला । यसले पछि जातपात र छुवाछुतको अवस्था ल्यायो । आज क्रान्तिकारी भएको प्रणाली भोलि प्रतिक्रियावादी हुन्छ । सबै प्रणालीमा  समयक्रममा समस्या आउँछन् । जातिप्रथा यसको अपवाद होइन । बरू जातिप्रथाबाट सिर्जित समस्याको हल गर्न चाहिँ निकै ढिलो भएको हो ।

षडयन्त्र सिद्धान्त र छुवाछुत

छुवाछुत शोषणका लागि सिर्जना गरिएको संयन्त्र हो भन्ने कथन छ । मलाई भने यस्तो लाग्दैन । शोषणका लागि संयन्त्र सिर्जना गर्नु र सिर्जित संयन्त्रलाई षडयन्त्रका लागि प्रयोग गर्नु फरक कुरा हो । भुँइचालोमा केहीले कमाए, अहिले कोरोना संक्रमणको समयमा पनि केहीले कमाइरहेका होलान् । यसो भन्दैमा भुइँचालो र कोरोना कमाउनका लागि तिनैले ल्याएका थिए भन्न त मिलेन नि ! छुवाछुत सुरु भएको थियो श्रम विशिष्टीकरणका लागि । श्रम विशिष्टीकरणले जातिको सिर्जना गर्‍यो र छुवाछुत पछि सुरू भयो । यसलाई केहीले शोषणको माध्यम पनि बनाए । शोषण र दमनको मनोवृत्ति हुने मानिस कुनै पनि परिस्थितिलाई आफ्नो पक्षमा पार्न र फाइदा लिन खप्पिस हुन्छन् ।

हिन्दू धार्मिक ग्रन्थमा नै छुवाछुतको व्यवस्था भएको र यसले बाहुन लगाएताका उच्च जातलाई षडयन्त्रपूर्वक फाइदा पुर्‍याएको आरोप छ । मेरो विचारमा ती शास्त्रमा आफूले सोचेको र जानेको कुरालाई अलि बढाइचढाइ लेख्ने काम मात्र भएको छ । शोषण गर्नका लागि चार वेद, अठार पुराण र अनेक उपनिषद् चाहिन्न । संसारभर शोषण छ तर यति गतिला ग्रन्थ अन्यत्र छैनन् ।

बाहुनले षडयन्त्र गरेका थिए भने उनीहरूले आफूलाई किन प्रवञ्चनामा राख्थे होलान् र ? कुखुरा त परै छोडौं लसुन, प्याज र गोलभेंडा समेत खान नहुने नियम किन लगाए आफैंलाई ? षडयन्त्र नै गर्नु थियो भने कहिलेकाहीं एक दुई प्याक लगाउँदा पनि हुने व्यवस्था गर्थे होलान् नि ! जाडो याममा समेत खोलामा गएर सधैं नुहाउनु पर्ने कष्टकर नियम किन पालना गर्नु ? घरमा कमाराकमारी र नोकरचाकर हुँदा पनि पानी बोक्ने र भात पकाउने काम उनीहरूलाई लगाउन नपाउने नियम किन बनाउँथें होलान् र ! आफूलाई मन परेकी अर्को जातको केटा वा केटी बिहे गर्दा जात जाने प्रावधान किन राख्थे ? बाहुन/ बाहुनीसँग जसले बिहे गरे पनि ऊ स्वतः बाहुन हुने नियम बनाएको भए के बिग्रन्थ्यो ? कृषि प्रधान अर्थव्यवस्थामा हलो जोत्न नहुने नियम किन बनाउनु ? यसका कारण अरूलाई हली राख्न नसक्ने साना किसान बाहुन नै ‍पीडित भएका थिए । उनीहरूले आफूले जोत्न नपाउने, जोते जजमानी गर्न नपाउने मात्र होइन भातपानी समेत नचल्ने नियम तोड्न हलो जोत्ने आन्दोलन चलाउनु परेको थियो । अरूले दान र भिक्षामा, जति दियो उतिमा चित्त बुझाउनु पर्ने मगन्तेस्तर किन कायम गर्थे ? उनीहरूले यही ठिक देखे, यही लेखे, यस्तै व्यवस्था चलाए । शोषणको संयन्त्रको रूपमा  निर्माण गर्न खोजेको भए जातिप्रथाको रूप अर्कै हुन्थ्यो । बाहुनमा कुनै बन्धन हुने थिएन ।

अहिले छुवाछुत

हामी इतिहास त सच्याउन सक्दैनौ । तर वर्तमान र भविष्य हाम्रो हातमा छ । ती ग्रन्थमा जे लेखिए पनि हामी समाजको पुनर्संरचना अहिले गर्न सक्छौ । उन्नाइस सालको मुलुकी ऐनले छुवाछुत उन्मूलन लेख्यो । तर समाजमा यो चलिरह्यो । शासकहरूले आफ्नो कानुन उल्लंघन भएको हेरिरहे । नयाँ संविधानमा केही लेख्यौं । कानुनमा केही लेख्यौं । अब जातीय विभेद कानूनी रूपमा अपराध हो । अब व्यवहारमा पनि लेख्दै जाउँला, देख्दै जाउँला । जातिप्रथा र त्यसका आधारमा हुने छुवाछुत एक दिन मासिनेछ । व्यस्थित रूपमा अघि बढे यो केही वर्षको कुरा हो ।

नेपालको छुवाछुत संविधानले अपरेसन गरेर फाल्यो, कानुनले त्यसमा टाँका लगायो । अब त्यो घाउको दाग बाँकी छ । व्यवहारमा सुधार गर्नु पर्नेछ । अहिले मानिसको थरको रूपमा झुण्याएको पुच्छर जातपातको पहिचान देखिएको छ । अब त्यो केवल टाइटल हो । त्यसको अभिधा, लक्षणा र व्यञ्जना अर्थ केही छैन । यस्तो थर वा ‘सरनेम’को चलन सबैजसो समुदायमा छ र पारिवारिक पहिचानका लागि आवश्यक पनि छ । यसलाई बदल्न सकिन्छ । इन्दिरा गान्धीले जसरी, सुष्मा स्वराजले जसरी । अब सबैको हैसियत बराबर छ । त्यतिमात्र होइन कसैको हैसियत पहिला कम थियो भने अहिले थपनी हैसियत समेत प्राप्त भएको छ ।

निरपेक्ष छुवाछुत अहिले बिस्तारै क्यालकुलेटिभ छुवाछुत (लेखाजोखा गरी व्यवहार गरिने) मा परिवर्तन हुँदैछ । छुवाछुत मान्दा फाइदा हुन्छ भने छुवाछुत छ । फाइदा हुँदैन भने छुवाछुत छैन । राजनीति र सरकारी सेवामा अवसर प्रदान गर्ने समानुपातिक व्यवस्थामा छुवाछुत छ । तर स्कुल, कलेज, होटल, रेस्टुराँ, सार्वजनिक समारोह, मन्दिर, बजार कतै छुवाछुत छैन । केटो मन परेको र गतिलो छ भने अभिभावकको सहमतिमै बाहुनीले दलित बिहे गरेका छन्, केटी मन परेकी र गतिली छ भने बाहुनले दलित बिहे गरेका छन् । दलित बाहेक अरू अन्तरजातीय बिहे सहरमा त सामान्य भइसक्यो । गाउँमा सामान्य हुने तरखरमा छ । कसैमा घर परिवारबाट दबाब भए पनि हिसाबकिताब गरेर झेलेका छन् । अबको नेपालमा जातपात छ तर निरपेक्ष बन्धनको रूपमा छैन । अन्तर्जातीय प्रेम विवाह भइरहेका छन् । गाउँमा पनि, सहरमा पनि । हिसाबकिताब गरेर जातपातको व्यवहार गरिएको छ ।

सातपत्रे थियो छुवाछुत

छुवाछुतको आधार जातिवाद हो तर कुरो त्यत्तिमै सकिन्न । बिहे व्रतबन्ध गरेका बाहुन बाहुनीले आफ्ना बिहेब्रतबन्ध नगरेका छोराछोरीले छोएको खाँदैनथे । नछुने बार्ने प्रचलन थियो र छ पनि । आशौच बारेकालाई तेह्र दिनसम्म कसैले छुन हुँदैन । जेठाजुले बुहारी छुन हुँदैन । वैष्णवहरू अवैष्णवले छोएको हम्मेसि खान मान्दैनन् । आफू बाहेक अरूले पकाएको नखाने स्वयंपाक्य पनि छन् । पूर्वेली र पश्चिमा बाहुन, उपाध्याय र जैसी । विभेदका अनेक श्रृंखला छन् । स्वास्थ्य र सुरक्षाको रूपमा तर्क गर्न सकिने ठाउँ पनि होला । तर्कहीन विभेद पनि छन् ।

व्यक्तिगत रूपमा कसैको घरमा कसैले प्रवेश पाउनु वा नपाउनु गोपनीयता, स्वास्थ्य र सुरक्षा सम्बन्धी सरोकारको कुरा हो । लहरै पाँचवटा रेस्टुराँ छन् भने खाना पनि आफूलाई मनपर्ने ठाउँमा खान्छौं, कहिले सस्तोमा, कहिले सफामा, कहिले सजिएकोमा, कहिले आत्मीयता पाइनेमा । यसमा छुवाछुत लागु हुन्न । दलित मानिने विभिन्न जातमा पनि छोइछिटो कामय छ भन्ने पनि सुन्छु ।

डिफेन्स मेकानिज्म र छुवाछुत

साइकोलोजीको एउटा पदावली हो डिफेन्स मेकानिज्म । यसले असफलता छोप्न मानिसले अवलम्बन गर्ने उपायहरूको बारेमा चर्चा गर्छ । हामी सबै सफल बन्न चाहन्छौं, धनी बन्न चाहन्छौं, इज्जतदार बन्न चाहन्छौं, सुखी बन्न चाहन्छौं । तर सबैलाई त्यो अवसर जुर्दैन । हाम्रो सामाजिक- आर्थिक संरचना नै धेरैले हार्ने, केहीले जित्ने किसिमको छ । यति धनी धरतीमा जन्मेर हामी भोकै, नाङ्गै, रोगी र अतृप्त भएर बाँच्न बाध्य छौं । यो बाध्यताले सिर्जना गर्ने स्वभाविक असफलताको लागि हामी कुनै अरू बाहिरी तत्वलाई जिम्मेबार बनाएर आफू पानी माथिको ओभानो बन्न चाहन्छौं । यसै मेसोमा परिवार, इष्टमित्र, नातेदार, छिमेकी, गरिबी संस्कार, देउता, भाग्य आदि अनेक चीजलाई आफ्नो असफलताको कारण बनाएर आफूले आफूलाई सान्त्वना दिने गरिरहेका छौं । यसले हाम्रो अहमको रक्षा गर्छ, हाम्रो मनलाई क्षणिक शान्ति दिन्छ । तर हामीलाई सत्य बोध गर्न र निरन्तर संघर्ष गरी सफलतको शिखरमा पुग्न भने बाधा गरिरहन्छ ।

हरेक परिवारको आफ्नो सामाजिक आर्थिक सांस्कृतिक पृष्ठभूमि हुन्छ । यो पृष्ठभूमि कतिपय सन्दर्भमा सकारात्मक हुन्छ र कतिपय सन्दर्भमा नकारात्मक । छुवाछुतले नकारात्मक प्रभाव पार्छ भन्नेमा शंका छैन तर यसको खराब असर अब घटिसकेको छ । यो जमानामा कुनै जातको पगरीले खान दिंदैन, कुनै जात नहुँदैमा हात बाँधिन्न । उपाय र आशा हरेक समय र ठाउँमा हुन्छ । आफ्नो असफलतामा जातीय पृष्ठभूमिमा जोड्नु डिफेन्स मेकानिज्म हो । यो उचित होइन ।अहिले मलाई छुवाछुत डिफेन्स मेकानिज्म होला कि भन्ने डर लागिरहेको छ । छुवाछुत  असफलतालाई ढाकछोप गर्ने मनोवैज्ञानिक मोहनी भयो भने यसले धेरै नोक्सान पार्छ ।

म पनि मान्छु छुवाछुत

छुवाछुत मानिने जातिकहाँ मैले खाएको छु । अब पनि खान्छु । आफ्नो घरमा पनि स्वागत गरेको छु । फेरि पनि गर्छु । यो चेतन मनको कुरा हो । अवचेतन मनले मलाई हरपल सोधिरहेको हुन्छ, के ठिकै त हुँदैछ भनेर । म उसलाई पटकपटक आश्वस्त पारिरहन्छु, ठिकै छ भनेर । मेरो अवचेतन मनलाई पढाइएको छ छुवाछुत । यसले तोते बोल्दै र ताते गर्दै यो सिकेको छ । यसलाई सजिलै निकाल्न सकिन्न । चेतनाको वशमा राख्न सकिन्छ, राख्नुपर्छ । मैले पनि राखेको छु । अवचेतनको यो विशेषताले बताउँछ म पनि छुवाछुत मान्छु । मेरो मनको एउटा कुनामा जाताभात छ र त्यो कुनाले सधैं आफ्नो कुरा नसुनेको गुनासो मसँग गरिरहन्छ ।

हामी हटाउँछौं छुवाछुत

छुवाछुत हाम्रो समाजको एउटा घाउ हो । समाजको एउटा तप्कालाई यसले मनोवैज्ञानिक पीडा दिइरहेको छ । यसबाट फाइदा लिने त अब कति होलान् र !  अधिकांश बाहुनलाई नै नोक्सान छ । एकातिर बाहुनको टाउकोमा करिब ५,००० वर्षदेखि अरु जातिलाई शोषण गरेको आरोप छ । अर्कोतिर अधिकांश बाहुनलाई  हलो, कोदालो त छँदैछ, अनेक किसिमका व्यापार-व्यवसाय र पेशा नअपनाई खान पुग्दैन  । यो जातपात र छुवाछुत अब सबैका लागि घाटाको सौदा हो । पहिला पनि मुठ्ठीभर बाहेक अरूलाई घाटा नै थियो । हिसाबकिताब गरेर जातपातको व्यवहार गरिएको छ । हिसाबकिताब गरेर जातपातको व्यवहार गरिएको छ । मुठ्ठीभर त सबै जातजातिकाले सबै खाले शासन व्यवस्थाबाट फाइदा उठाएकै होलान् नि !

बाहुन हुँ भन्ने अभिमान राख्ने र जातमा आधारित पेशा व्यवसाय चलाउने बाहुनले यो छुवाछुत हटाउन चाहन्न्न् । जातिवादी आन्दोलनबाट धन, पहिचान र प्रतिष्ठा कमाउने अनि समानुपातिक प्रणालीबाट फाइदा उठाउने र त्यो सुविधा छोरानातिका लागि पनि कायम राख्न चाहनेहरूबाट पनि जातिप्रथा र छुवाछुत मेटिंदैन । कथित दलित समुदायका भुइँमान्छे र बाहुन हुनुमा हीनताबोध र गौरव दुवै नगर्नेले छुवाछुतको अन्त्यको अभियान चलाउने हो, सबैको सहभागितामा ।छुवाछुतले यी दुवैलाई नोक्सान मात्र दिएको छ । आफ्नै वर्ग समूहमा तल परेकाले समावेशी व्यवस्थाबाट पनि ती निमुखाले केही फाइदा लिन सकेका  छैनन् । हामीले पनि बाहुन भएर कुनै बाजी मारेनौ, अब मार्नु पनि छैन । उसो त, सबै बाहुनलाई यसरी बाजी मार्ने अवसर पहिला पनि थिएन, अहिले पनि छैन ।

छुवाछुत हटाउन अब धेरै काम बाँकी छैन । गोरा र अश्वेत जातिलाई सार्वजनिक स्थलमा अलग्याउने अमेरिकामा पहिला भएको जस्तो ‘जिम क्रो ल’ नेपालमा छैन । सन् १९९४ मा उन्मुलन भएको दक्षिण अफ्रिकाको जस्तो अपार्थेइड यहाँ छैन । भाषा, भेष, धर्म, संस्कृति, शारीरिक बनोट सबै एकै किसिमको भएकाले कथित दलित र गैरदलितबीचको अन्तरघुलन कठिन छैन । सबै खाले कामले उत्तिकै सम्मान र स्वागत पाएका छन् । विभिन्न विधामा विभिन्न जातजाति र समुदायका मानिसको योगदान बढिरहेको छ । हामीले छोराछोरी छुवाछुत नसिकाई हुर्काइरहेका छौं ।

भेरीको किनारमा एकछिन

जेठ १० गते नवराज वि. क.  कथित उच्च जातकी प्रेमिकालाई  (उनको कथन र उमेर मलाई हालसम्म थाहा हुन सकेको छैन ।)  प्रेम विवाह गरी ल्याउन  १८ जना साथीहरू (९ जना दलित ९ जना गैर दलित) सहित केटीको घर गए । कुरो नमिलेर फर्केने क्रममा स्थानीयको भीषण आक्रमणमा परे र भाग्दै जाँदा भेरी नदीमा डुबेर ६ जनाले मृत्युवरण गर्नुपर्‍यो । यी छ जनामा केही दलित र केही गैर दलित थिए ।

यस घटनालाई दलितमाथिको दमनको रूपमा व्याख्या गरिएको छ । अन्तर्जातीय विवाहका लागि गएका कथित अछुत केटा पक्षलाई आक्रमण भएकाले यसमा जातिवादको रङ आउनु स्वभाविक हो । केटा कथित उपल्लो जातिका भए कुरो फरक पर्थ्यो कि ?  माथिल्ला जातिकाले आफ्नी छोरीसँग प्रेमविवाह गर्न चाहने केटाको प्रयासलाई आफ्नो अहम माथिको हमला माने होलान् नै । (केही समयअघि केटी केटाको घरमा गएर बसेको कुरा आएको भए पनि केटीको उमेर र विवाहको स्वीकृतिको बारेको ताजा वर्णन नपाएको हुनाले यसलाई विवाहको प्रयासको रूपमा कानुनी आधारमा व्याख्या गर्न मैले चाहिँ सकेको छैन ।)

नवराज वि.क. को टोलीको यात्राको ध्येय जे जस्तो भए पनि निशस्त्र  टोलीमाथि गाउँलेको सांघातिक आक्रमणलाई उचित प्रमाणित गर्ने कुनै तर्क र आधार छैन । यसलाई ती केटीको सुरक्षाको रूपमा चालिएको कदमको रूपमा व्याख्या गर्न सकिन्न । यसमा घटनाको जरोमा जातीय दम्भ रहे पनि छ जना युवाको ज्यान गएकोले योअब यो घटना जातीय विभेद र छुवाछुतको सीमाभन्दा बाहिर निस्किसकेको छ । यो दलितमाथिको भेदभाव मात्र पनि होइन । मैले बुझेको कानुन अनुसार अस्वीकृति, तिरस्कार र अपहेलना मात्र जातीय भेदभावको सीमामा आउँछ । मनसायले जुनसुकै होस्, जिउज्यानमाथिको आघातका लागि त कानुनका अरू नै प्रावधान आकर्षित हुन्छन् ।

सामूहिक हत्याको जघन्य अपराधलाई केवल जातीय भेदभावको रूपमा मात्र व्याख्या गरिनु उपयुक्त होइन । यसले गर्दा मानिस घटनाको पूरापूर विश्लेषणमा दिंदैनन्, सबै आफ्नो जातीय भावना अनुसार धारणा बनाउनतिर लाग्छन् । यसबाट घटनाको अनुसन्धान नै पनि प्रभावित होला । हरेक घटनामा जातीय रङ दिएर मेटिदैं गएको जातीय विभेदको खाडललाई गहिरो पार्नु र अमुक जातिलाई अपराधीका रूपमा चित्रण गर्नु उचित पनि होइन। यसले सो घटनाका पीडित उपल्लो जातका मानिसमा आघात पर्छ । अझ त्यो घटनामा पीडितको पक्षपोषण गर्ने जमात सानो हुनसक्छ । छुवाछुत नबुझी हुर्किरहेका युवाहरूलाई छुवाछुत त ठुलो कुरो रहेछ भन्ने भ्रम पर्नसक्छ ।

जिल्लास्थित प्रहरी र सरकारी वकिलको कार्यालयबाट यस्तो अपराधको अनुसन्धान र अभियोजन हुनसक्ने कानुनी व्यवस्था हुँदाहुँदै यो घटनाको गम्भीरताको आकलन गरी गृह मन्त्रालयले एक अनुसन्धान समिति गठन गरेको छ भने संसदले पनि संसदीय छानबिन समिति गठन गरेको छ । यी समितिहरूले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउलान् र कानुन अनुसार न्याय निरूपण पनि होला । अपराधलाई जातीय रङ दिएर अपराधी जोगाउने, निरपराध फसाउने वा पीडितको आवाज निस्तेज पार्ने काम गर्नु गराउनु हुँदैन । यस्ता घटनामा ‘जुन औंलामा विष लाग्छ, त्यही औंलो झर्छ’ भन्ने सोचाइले काम गर्नुपर्छ । कथित उपल्लो जातका सबै यस अपराधका मतियार होइनन् । पीडित पनि सबै कथित तल्लो जातका छैनन् । जो अपराधी छ, उसले दण्ड पाउनै पर्छ । न्याय कुनै अवस्थामा पनि मर्नु हुन्न ।

https://nagariknews.nagariknetwork.com/opinion/236781-1591756307.html?click_from=category
https://nandalalpokharel.blogspot.com/2020/06/blog-post_8.html?m=0&fbclid=IwAR3mDLoaQMY_Gwl7U6shi-zqwfTnbxLDjx8tjtfDX_9cXDRORk8yHoI63Ok
0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *