अवकाशप्राप्त जीवनको घोषणापत्र

सोह्र वर्षको उमेरबाट सुरु भएको मेरो जागिर–यात्रा २०७४ को चैतबाट पूर्ण भएको छ । मैले नेपाल राष्ट्र बैंकको सेवाबाट अनिवार्य अवकाश पाएको छु । नेपाल राष्ट्र बैंकमा २०४४ सालको चैतमा प्रवेश गरेको थिएँ र ३० वर्से सेवा अवधि पूरा गरी अवकाश पाएँ । राष्ट्र बैंकमा प्रवेश गर्नुअघि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सहलेखापाल थिएँ । त्योभन्दा अघि विभिन्न आफ्नै गाउँ वरिपरिका तीन र रसुवाको एक गरी चारवटा विद्यालयमा थोरैथोरै समय पढाएको थिएँ ।


मैले अवकाशको लागि आफूलाई केही समयअघिबाट नै तयार गरिरहेको थिएँ । तर जागिरको अन्त्यमा तीस वर्षे सेवा अवधिको आधारमा हुने अनिवार्य अवकाशको प्रावधान खारेज हुने हल्ला व्यापक भयो । तीस वर्षे सेवा अवधि हट्ने हल्ला चले पनि नेपालको तरल राजनैतिक अवस्था र प्रशासनिक संयन्त्रले यति विवादास्पद विषयमा तात्विक निर्णय गर्न सक्ला जस्तो मलाई लागेको थिएन । फेरि, जागिरको समय बढ्नु मेरो लागि चाहिँ कति राम्रो हो भन्ने पनि दोधार नै थियो । मैले अफिसबाट पाउने सुविधा यही समयमा अवकाश लिँदा पनि पाउँथे । अब थप अवधि जागिर खाएर पाउने बढुवा पनि अवकाशको सुविधामा नै पाउँथे । जागिरमा रहँदा थप लाभ त हुन्थ्यो, विदेश जान पाउँथे, तलब भत्ता नै पनि पेन्सनभन्दा त बढी हुन्थ्यो । तर जागिर खानु जति राम्रो कुरा हो, उपयुक्त अवसरमा अवकाश लिनु पनि उत्तिनै महत्वपूर्ण कुरा हो । त्यसैले मैले अवकाशलाई स्वभाविक परिणतिका रुपमा स्वीकार गरिसकेको थिएँ ।
अवकाशका केही समयअघिबाट नै मैले कार्यालयमा आफूले सम्पादन गर्ने काम विस्तारै साथीहरुलाई जिम्मा लगाउँदै गएँ । मेरा जिम्मेवारी खासै महत्वपूर्ण त थिएनन् तर पछि म नहुँदा अड्किने काम र नभेटिने फाइल नरहुन् भन्नेमा म सजग थिएँ । पछि गर्नुपर्ने कामका बारेमा कुनै प्रतिबद्धता जनाउँदा सहकर्मीको सहमति र जानकारीमा गराउँथे । कम्प्युटरमा रहेका फाइलहरु पनि सहकर्मी साथीको कम्प्युटरमा सारिदिएको थिएँ ।
मैले जागिरबाट अवकाश पाउन लाग्दैदेखि साथीभाइ, शुभचिन्तक, इष्टमित्र, नातेदार र मान्यजनबाट मेरो अवकाशका बारेमा चासो र चिन्ता व्यक्त हुन थाल्यो । ‘ए तिमी त रिटायर पो हुन लागेछौ, उमेर त धेरै खाएका छैनौ, अब के गर्छौ’ भनी सोधीखोजी भयो । अवकाश सामान्य प्रक्रिया भए पनि शुभचिन्तकबाट भने अलि बढी नै चासो व्यक्त भइरहेको थियो । हो पनि, अवकाशपछिको जीवनमा केही अप्ठ्यारा छन् नै । जागिरेको आयस्रोत भन्नु नै जागिरबाट आउने तलब र अरु सुविधा । अवकाशपछि पनि उपदान, पेन्सन जस्ता सामाजिक सुरक्षाको व्यवस्था त गरिएको हुन्छ तर त्यो पर्याप्त हुँदैन । जागिरमा रहँदा जस्तो भत्ता, काज, बोनस वा अन्य अतिरिक्त आयको अवसर अवकाशपछि हुँदैन । बुढौली उमेरमा खर्चका शीर्षक र अंक बढ्दै गएको हुन्छन्, आम्दानीमा भने सीमितता हुन्छ । त्यसैल अवकाश नेपाली जनजीवनमा त्यति प्रीतिकर शब्द होइन । विदेशतिर भने सन्तानप्रतिको दायित्व कम हुने, अवकाश पाएका वृद्ध नागरिकलाई सरकारले ध्यान दिने र सामाजिक सुरक्षा पर्याप्त हुने भएकाले अवकाशलाई राम्रै मानिन्छ रे । नेपालमा जागिरलाई आय मात्र होइन, सामाजिक प्रतिष्ठाको समेत मानक मानिन्छ । अनि जागिर गयो कि के के न भयो जस्तो भइहाल्छ ।
हुन पनि, जागिर जाँदा कतिपय कुरा त जाँदोरहेछ पनि । जागिरेका लागि जागिर जीवनशैली बनिसकेको हुन्छ । साठी वर्षसम्म जागिर खान मिल्ने भए म पनि जागिरमा हुन्थें भन्नेमा मलाई कुनै शंका छैन । कुनै वेला जागिर मेरो जीवनको एक मात्र ध्येय थियो । यसका लागि मैले अनेक दुःख झेलेको छु । जागिरका रुपमा जे पाएँ त्यसैमा अल्झदैं र झुुण्डिदै आएको छु । मलाई यसैले पालिरहेको छ, सपरिवार । जागिर नै मेरो परिचय र प्रतिष्ठाको कुरा भएको छ । यो मेरो दैनिकी र जीवन पद्धति पनि हो । मेरो सोचाइले जागिरेको सोचाइको परिधि नाघ्न सक्दैन । मेरो रगतमा तलब बगिरहेको छ । दिमागमा दशपाँच घुमिरहेको छ । मनमा अफिस छ । अवकाश भए पनि मेरा कतिपय सोचाइ र व्यवहार मेरो अतीतबाट नै प्रभावित छन् । आज म जे छु जागिरको हिस्सा छुट्याएर आफ्नो स्वतन्त्र मूल्याङ्कन गर्न नसकिने अवस्थामा नै छु । म र जागिर बन्दाकोपीको पत्रहरु जस्तो गुजुल्टिएर एक भएका थियौ । यस्तोमा जागिरको समाप्ति कठिन कुरा हो पनि ।
अवकाश जति कठिन कुरा भए पनि यसबाट जागिरे अछुतो रहन सक्दैन । सबैले जागिरबाट अवकाश लिनैपर्छ र मैले पनि । यसमा सबैले झै मैले पनि चित्त बुझाउनै पर्छ । र, चित्त बुझाउने ठाउँ छ पनि । चित्त बुझाउने ठाउँ मात्र होइन, गौरव गर्ने ठाउँ पनि छ । सेवामा रहँदा बढुवामा पछि परेकोमा अवकाशको प्रक्रियामा भएको बढुवाबाट केही क्षतिपूर्ति भएकै छ । जागिरबाट अवकाश पाए पनि पेन्सन नियमित रुपमा पाउँछु । छोराहरुको पढाइलाई नियमितता दिन यो आय यथेष्ट नभए पनि पुग्ने नै छ । काठमाडौंको जडीबुटीमा जागिरको आखिरीतिर किनेको घरले बासस्थानको आवश्यकतालाई पूरा गरेकै छ । अवकाशको क्रममा प्राप्त रकमको सदुपयोग गर्न सकेँ भने परिवारको आधारभूत दायित्व पूरा गर्न सकिन्छ जस्तो लाग्छ । जगिरे र व्यक्तिगत जीवनमा कुनै लाञ्छनाको सामना नगरी यो उमेर र अवस्थासम्म आइपुगें । यसमा मलाई सन्तोष छ ।
जीवनलाई जगिर खाने उपकरणको रुपमा हेर्दा एउटा सोच बन्छ भने समग्ररुपमा सोच्दा अलि फरक धारणा पनि आउँदो रहेछ । जागिर छुट्दा छुटेको पैसा, विदेश घुम्ने मौका, बढुवाका अवसर, शक्तिमा रहनुको आनन्दलाई मात्र हेरेर बसियो भने अवकाशको अवसर अवसादको कारणमा परिणत हुन बेर लाग्दैन । ती अवसर अब अरुका लागि हुन् । मेरो भाग मैले पाइसके । जीवनका विभिन्न चरण हुन्छन् र ती चरणका विशेषतालाई आत्मसात गर्नुको विकल्प छैन । बालककाल, विद्यार्थी जीवन, युवाकाल, आर्थिक रुपमा सक्रिय चरण, वृद्धावस्था जीवनका स्वभाविक चरण हुन् । यसलाई आत्मसात गरियो भने अवकाशलाई अलि सजिलै आत्मसात गर्न सकिएला जस्तो लागेको छ । मैले पनि साेह्र् वर्षसम्म पढ्नमा बिताएँ, त्यसपछिका चाैंतीस वर्ष काममा लागें । अब बाँकी रहेको समय अवकाशका रुपमा बिताउन पाउने भएँ । आर्थिक रुपमा सधैं सक्रिय रहन त को सक्ला र ? यसरी जीवनलाई विभिन्न भागमा बाढ्दा अवकाशका लागि पनि केही भाग त अवश्य छुट्याइन्छ । अवकाश विनाको जीवन कल्पना गर्न सकिन्न भने अवकाशमा चिन्ता किन गर्नु ? जागिरको अवसानपछि नै जागिरे आत्मा मुक्त हुन्छ र स्वतन्त्र मानिसको रुपमा विचरण गर्न सक्छ ।
अवकाशको समय बिताउन गाह्रो पर्ने अनुभूति र चासो मैले धेरै मनिसमा पाएँ । ‘अनि समय चाहिँ कसरी कटाइरहेका छौ ?’ मलाई अक्सर सोधिने प्रश्न यही हो । मलाई भने यो समस्या लागेन । बिहान पत्रपत्रिका पढ्छु । दिउँसोको समयमा केही किताब पढ्ने गरेको छु । घरको काममा सामान्य चासो दिन्छु । तरकारी बजार जाँदा श्रीमतीले साथी पाउन थालेकीछन् । टेलिभिजन पनि हेर्छु । च्यानल र विषय स्थिर भएको छैन । कहिले पुराना फिल्मले तान्छ । कहिले समाचार र सामयिक बहसमा तानिन्छु । नानाभाँतीका मानिसले सत्रथरी कुरा गरेको हे¥यो, सुन्यो । रियालिटी सोहरुले मेरो अवकाशको जीवनलाई रमाइलो बनाइरहेका छन् । कहिले नजिकै घुम्न जान्छु । साँझमा एकआध घण्टा खुट्टा तन्काउन छुट्याएको छु, नियमितता भने छैन । छोराहरुसँग गफियो, बुढाबुढी बात मा¥यो । फेसबुकमा केही पोस्ट्यायो, लाइक गन्यो, कमेन्ट हे¥यो । जिन्दगी छोटो छ । जिन्दगीमा गर्न मन भएका काम कति छन् कति ? जागिर त आवश्यकताले खाइयो । बाँच्नका लागि कमाउनु नपर्ने मानिसले झन् कति अर्थपूर्ण जीवन बिताइरहेका होलान् । जागिर बिना समय बिताउन गाह्रो हुन्छ भन्नु त जीवनकाे महत्व र क्षणभङ्गुरतालाई अनदेखा गर्नु मात्र हो ।
जिन्दगी पेभिलियनमा फर्केको छ । जीवनको रुपमा एक खेल मैले पाएको थिएँ, खेलेँ । अब दुनियाँ खेल्नेछ, म बस् खेल हेर्छु । जिन्दगीलाई ठुलो भुँवरीबाट ल्याएर यहाँ ल्याइपु¥याएको छु । अब एउटा स्थिरता पाउला जीवनले । त्यही स्थिरताका बीचमा एउटा गति खोज्नुपर्ला । अहिले त गतिको नाममा भागियो मात्र, कुद्न सकिएन । अब कुद्न नसके पनि हिँडौला, शनैःशनैः । जीवनको सिंहावलोकन पनि गरौंला । मेरो जीवनको लेखाजोखा मैले नगरे कसले गर्ला ? आफ्ना समझदारी र चलाखीमा मात्र होइन भूलमा पनि मुस्कुराउँला । समयको चट्टानमा थिचिएपछि गनाउने फोहोर त मल बन्छ । मेरा पनि अब सबै स्मृति सुखद छन् । म इतिहासले नभेट्ने गरी वर्तमानमा आइपुगेको छु ।
अवकाश पाउनु भनेको जागिर गुमाएको अवस्था होइन, एउटा विशेष प्राप्तिको अवसर हो । एउटा लामो तपस्या र व्रत पूरा भएको अवसर हो । यो मौका कतिले पाएनन्, कति प्रतीक्षारत छन् । मैले यो मौका पाएँ । यो प्राप्तिका लागि म आफैंलाई बधाई दिइरहेको छु । अवकाश चिन्ताको विषय हुँदै होइन । यसलाई अवसादको कारण बनाउनै हुँदैन । यो आफ्नो समय हो, आफ्नो खटनबाट बाँच्न पाउने मौका । मन हुनेले फेरि व्यावसायिक जीवन सुरु गर्दा हुन्छ, फेरि कुनै पेशामा आबद्ध हुन पनि मिल्छ । खाली बस्न मन हुँदा खाली बस्न पनि मिल्छ । आफूभन्दा पछिल्ला पुस्ताका उन्नति र प्रगतिको साक्षी बन्न पाउनु खुशीको कुरा हो । यो आफूलाई कर्ताबाट साक्षीमा रुपान्तरण गर्ने अवसर पनि हो । खाली समय आफैंमा एउटा राम्रो कुरा हो । यो राम्रो कुरालाई कसरी झन् राम्रो पार्ने हो भन्ने प्रश्न अगाडि छन् । समयले त्यसको पनि समाधान गर्ला भन्ने आशामा छु ।

67 Shares

2 thoughts on “अवकाशप्राप्त जीवनको घोषणापत्र

  1. पृय मित्रबर सुर्योदय सुर्यस्त , जन्म मृत्यु ,नियुक्त अबकास, आदि नियमित रहेछन । मौसम अनुसार परिबर्तनको आभास हुन्छ नै । सबै जागिरे एक्दिन अबकास हुन्छन । यो नियम नै हो ।मैले त सहजरुपमा लिये को छु ।

  2. जीवनकाे तेश्राे चरण सुखमय रहाेस् । अब यस्तै बाैध्दिक सर्जकका रूपमा देख्न हेर्न पाऊँ । हाल काठमाडाै बासी हुनु भए पनि रगत पसिना र पानी उदयपुर कै हाे । गर्व गर्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *