हामी सब पत्याउँछौं

अली हजाजीका छोरा बिरामी थिए । उनको गाउँका बुढापाकाहरूले उनको उपचारको लागि एउटा सल्लाह दिए- एउटा लामो लठ्ठीको एउटा छेउमा आगो सल्काउनु, अर्को छेउ बिरामी छोराको छातीमा लगाउनु र छोराको शरीरबाट सबै रोगब्याध हटाइदिनू ।

यो काम गरिसकेपछि हजाजीले न्युयोर्क टाइम्ससँग भने- तपाईंसँग पैसा नभएको अवस्थामा तपाईंको छोरो बिरामी पर्‍यो भने तपाईं जे पनि पत्याउनु हुन्छ ।

मोर्गेन हाउजलको ‘द साइकोलोजी अफ मनी’ पढ्दै गर्दा माथिका पङ्क्ति (भावानुवाद) पढेपछि म अगाडि बढ्न सकिन । छोरा निको हुन्छ भनेर हजाजीले अविश्वसनीय कुरामाथि विश्वास गरिरहेका थिए । निरीह मानिसको मनोविज्ञानलाई अति छोटो भनाइमा साह्रै मार्मिक ढङ्गले योभन्दा राम्ररी कसरी व्यक्त गर्न सकिन्छ, मलाई थाहा छैन । विद्रोहको शक्ति र विकल्पको साधन नभएपछि मानिस हिलोमा गाडेको किलो हुँदो रहेछ, जसले हल्लाउँदा पनि हल्लिने, जसले उखेले पनि उखेलिने । अहिलेको सूचना र प्रविधिको युग, विकास र वैभवको युग, प्रजातन्त्र र स्वतन्त्रताको युगमा पनि मानिस जसले जे भने पनि पत्याउने कमजोर मनस्थिति लिएर बाँचिरहेको होला र, जस्तो पनि लाग्छ । वर्तमान साक्षी छ र इतिहास प्रमाण छ, मानिसले यही नियति भोगेको छ, भोगिरहेको छ ।

हामी आफैं आफूलाई नै हेरौं न !

हामीलाई विकास चाहिएको छ र विकासको गति सुस्त छ । यसले नेपाली आकांक्षा त परै जाओस्, न्यूनतम आवश्यकता पनि पूरा गर्न सकेको छैन । हुन त कतिपय गाउँमा बत्ती, बाटो, खानेपानी, विद्यालय जस्ता पूर्वाधार पुगेको हुनाले नेपालीहरूलाई देशमा विकास भइरहेको जस्तो लागेको हुनसक्छ । यो स्वभाविकै हो, केही विकास त भएकै छ । तर, तीस वर्ष पहिला हाम्रो जस्तै अवस्था रहेका देशहरूसँग अहिले तुलना गर्दा हाम्रो अवस्था चिन्ताजनक देखिन्छ । हामीलाई विश्वको त कुरै छोडौं हाम्रा छिमेकीको विकासको गति देख्ने अवसर नमिलेको हुनाले मात्र हामीलाई हामी पनि अघि बढ्दैछौं जस्तो लागेको हो । संसार दौडिरहेको छ, हामी पञ्चमीको पाइला चालिरहेका छौं । त्यही पञ्चमीको पाइलाको चाललाई गति मानेर रमाउने हो भने कुरो अर्कै हो । त्यही पाइला पनि विदेशी ऋणको भरमा चालिएको हो, वातावरणीय विनाशको मूल्यमा चालिएको हो र चरम भ्रष्टाचारको कारण ती पाइला दिगा पनि छैनन्।

नेपालको सार्वभौमिकता र नेपाली जनताको जनजीविका अहिले संङ्कटमा छ । नेपाली जनताको जीवनस्तर निम्न छ र आशाका किरणहरू धमिला छन् । सरकारले विकास खर्चका लागि विदेशी स्रोत र ऋणमा भर पर्नु परेको छ । सरकारी संयन्त्रमा सुशासन कमजोर भएका कारण विकास खर्चको स्तर कमजोर छ । लहडका आधरमा बनेका पूर्वधार जनताको सुविधा र आर्थिक विकासका उति सहयोगी पनि छैनन् । विकासका कार्यक्रम जनताको आवश्यकताभन्दा टाढा छन् (बाटो नभएको ठाउँमा पुल बनेको छ, स्वास्थ्य चौकी छैन, भ्युटावर बन्दैछ) र तिनको स्तर राम्रो छैन (बतासले लडाउने पुल बनेका छन्, खरको छानाले बरू दुई वर्ष धान्छ, पिच छ महिना टिक्दैन) । युवाको रोजगारीको भरपर्दो आधार देशभित्र छैन, खाडी मुलुकमा छ । पढ्न विदेशिएका युवा देश फर्किएका छैनन् । व्यापार घाटा घट्ने नाम लिएको छैन ।  विदेशी मुद्राको कमीका कारण विदेशी मुद्रा सङ्कट र  तरलता सङ्कट टरेको छैन, सरेको मात्र छ  । रूस-युक्रेन युद्धले चर्काएको मूल्यविद्धमा अङ्कुशका कुनै उपाय देखिएका छैनन् । सर्वसाधारण जनतालाई हातमुख जोर्नमा समस्या छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच त टाढैको कुरो भएको छ । घरमा कसैलाई कडा रोग लाग्यो भने उपचार गराउँदा गराउँदै मध्यमवर्गीय परिवार नै सडकमा आइपुग्छ । नेपाल भूराजनीतिक कूटनीतिको भुँमरीमा छ र बलियो कूटनीतिक पाइला नचाले सार्वभौमिकतामा चुनौती आउनसक्ने देखिन्छ ।

हामीलाई यी विवशता र बाध्यताबाट मुक्ति चाहिएको छ । स्वदेशमा रोजगारी, छोराछोरीको शिक्षा र परिवारको स्वास्थ्यको प्रत्याभूति, पूर्वाधारको विकासबाट सुविधाजनक जीवनशैली र आर्थिक विकासको वातावरण, सुनिने जनमैत्री प्रशासन र समावेशी प्रजातान्त्रिक वातावरण, नियन्त्रित महँगी । यस्तै त छन् जनताका चाहना । यी चाहना कुनै हावादारी सपना हैनन्, आधारभूत आवश्यकता हुन् । तर, यी आवश्यकता पनि हाम्रा लागि सपनासरि भएको छ र यी सपना पूरा गर्न राजनीतिक नेतृत्वको भर पर्नुबाहेक हामीसँग अरू कुनै विकल्प छैन । नेपालीको अवस्था अली हजीजीको जस्तो छ । विवशता छ, तर त्यसको समाधान हामीसँग छैन । ती अप्ठ्याराबाट मुक्तिका लागि हामी जे पनि गर्न तयार छौं, जे पनि पत्याउन तयार छौं । त्यसैले नेताजीहरूले भनेका हरेक कुरा हामी आजसम्म पत्याइरहेका छौं ।

खुला बजारमुखी उदार अर्थतन्त्रले देशको हित गर्छ भन्नेले पनि हाम्रो मत पाइरहेका छन्, समाजवाद मात्र हैन साम्यवाद नै चाहिन्छ भन्नेलाई पनि हामीले पत्याइरहेका छौं । नेपाललाई सिंगापुर र स्विटजरल्यान्ड बनाउने कुरा पनि हामीलाई ठिकै लाग्छ । घरघरमा ग्यास पाइपको कुरामा चित्त नबुझाउनु पर्ने केही देखेका छैनौ । हामीलाई अझै आफ्नै घरको अगाडि रेल-स्टेसन र गाउँपुछारको खोल्सामा पानी जहाजको बन्दरगाह बन्छ जस्तो लागिरहेको हुनसक्छ । मुलुकको मुहार फेर्ने, कायापलट गर्ने, केही सुकुम्बासी नरहने, कामका लागि विदेश जानु नपर्ने, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने कुरा पत्याउन त हामी खप्पिस नै भइसकेका छौं ।

उनै हाउजल लेख्छन्- जुनकुरा हामी वास्तवमा साँचो भएको देख्न चाहन्छौ, त्यसलाई हामी सजिलै साँचो मान्छौं र जीवनमा यस्ता धेरै कुरा छन् (जो वास्तवमा साँचा होइनन् तर साँचो होस् भन्ने हाम्रो आग्रहले त्यो साँचो झैं लाग्छ) ।

हामी यसै मनोविज्ञानको सिकार भएका छौं । चुनाव सँघारमा छ । रुग्ण आर्थिक अवस्था, तल्लो सामाजिक र सांस्कृतिक हैसियतमा रहेका नेपालीलाई अनेक सुझाव दिन उपबुज्रुकहरू घरघरमा पुग्नेछन् । मैले जितें भने, हाम्रो पार्टीले जित्यो भने, हामीले बहुमत ल्यायौं भने, म संसदमा मात्र पुग्न पाएँ भने पनि आदि वाक्यांशबाट सुरू हुने अनेक बाचा र आश्वासन सुन्न पाइने छ । आफ्ना कार्यको सही मूल्याङ्कन, अकर्म र कुकर्ममा पश्चात्ताप, भविष्यको स्पष्ट र व्यवहारिक बाटो भने सुन्न पाइने छाँट ठ्याम्मै देख्न पाइएको छैन । काठमाडौंका मेयरले तीन महिनामा नै प्रभावकारी कार्यसम्पादन गरेको सन्दर्भमा यी नेताले पटकपटक प्रधानमन्त्री, पटकपटक मन्त्री, अनेक पटक संसद हुँदा के गरे भन्ने कुराको कुनै जवाफ त ती नेतासँग अवश्य नै छैन । तर हामीलाई अली हजीजी ठानेका नेताहरूले हामीलाई आलोचनात्मक चेत भएका प्रश्न गर्न सक्ने चेतनशील नागरिक मानेकै छैनन् । त्यसैले विदेशीको चलखेल, विपक्षीको जालझेल, कर्मचारीको असहयोग, दलभित्रको किचलो आदि बहाना बनाएर हामीसमक्ष उनीहरू आफ्ना अकर्मण्यता लुकाइरहन्छन्, हामी हजीजी जस्तै पत्याइरहन्छौं ।

काठमाडौं र धरानमा स्थानीय निकायको प्रमुखको रूपमा बालेन्द्र शाह र हर्क साङ्पाङको विजयले नेपाली राजनीतिमा केही आशाकाे सङ्केत गरेको छ । यी स्वतन्त्र उम्मेदवार थिए । आशा गरौं दलहरूभित्र पनि यस्ता कर्मठ राजनीतिकर्मी बाँकी छन् । यी कर्मठको विजयले जनतालाई अलि आशावादी त बनाएकै छ, जनता पनि अब हजीजीको नियतिबाट बाहिर निस्कन समर्थ भएको सङ्केत देखिएको छ । विवशताको कारण विवेक प्रयोग गर्न सकिएन भने त लोकतन्त्रको के अर्थ भो, गणतन्त्रको के अर्थ भो ? बिरालो कालो होस् वा सेतो, मुसा मरे पुग्छ भन्ने चिनियाँ उखानलाई चुनावको सन्दर्भमा अझ गहिराइका साथ आत्मसात गर्नु पर्ने वेला आएको छ । मुसा नमार्ने बिरालोको रङ हामीलाई मन पर्न सक्छ, त्यस्तो बिरालोलाई दूधभात खुवाएको इतिहास पनि होला तर अब काग र कोइली छुट्याउने वेला आइसकेको छ । हामी हजीजी जस्तै झुठो उपचार पत्याउन फेरि बाध्य बन्नु हुन्न ।

हामी अब भन्न चाहन्छौं- पहिला हामी सब पत्याउँथ्यौं, अब पत्याउन्नौं । झुठा आश्वासनको युग समाप्त भइसक्यो ।

0 Shares

1 thought on “हामी सब पत्याउँछौं

  1. निकै राम्रो लाग्यो सर
    देशको नेतृत्व गर्ने मुहार फेर्नुनै पर्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *