कपट कला

कपट मानिसमात्रको अधिकारको कुरा हो । मूक बोट बिरुवाको बारेमा त के कुरा गर्नु ? कुनै पशु वा पंक्षीले पनि झुठ बोलेको मलाई थाहा छैन । मानिसले कपट कलामा अधिकार पाएको भाषिक क्षमताको कारणले नै होला । हुन त अरु जनावर पनि सञ्चारका लागि केही ध्वनिको प्रयोग गर्दछन् तर कहाँ मानिसले प्रयोग गर्ने भाषाको क्षमता, कहाँ ती जनावरले प्रयोग गर्ने ध्वनिको सीमितता ? निश्चित वातावरणमा निश्चित ध्वनि प्रयोग गरी निश्चित खबर आफ्ना साथीहरुलाई सूचित गर्नका लागि ती बाध्य छन्, कसैले मनमौजी कुनै आवाज निकाल्न सक्दैन । मौरीले पूmलबारी देखेको बेलामा मात्र घारमा फर्केर नाच्न सक्छ, कागले संकटमा मात्र ‘कागकाग’ गरी कराएर साथी जम्मा पार्न सक्छ । कुखुराको भालेले पनि विहानीपख मात्र ‘कुखुरी काँ’ गरी कुखुरीलाई ‘प्रेमपत्र’ पठाउँछ । यसैगरी अरु प्राणीले पनि प्रणय ध्वनि निश्चित समयमा मात्र निकाल्न सक्छन्, सँधै प्रेम प्रकट गर्न सक्दैनन् । न नक्कली प्रेम, न नक्कली खुशी, न नक्कली दुःख, न नक्कली डर जनावरले केही प्रकट गर्न सक्दैनन् । उनीहरुसँग भाषा होइन, स्वस्फूर्त ध्वनि संकेतको व्यवस्था मात्र भएकाले होला उनीहरु अरुलाई झुक्याउने सामथ्र्य राख्दैनन्, झुक्याउँदैनन् । बरु मानिसहरु जनावरको नक्कली आवाज निकालेर उनीहरुलाई झुक्याउँछन् । स्यालमाराले स्यालको नक्कली आवाज निकालेर स्याल बोलाएर मारेको दृष्टान्त हामीसँग छँदैछन् ।
मानिसको अभिव्यक्ति क्षमता असीमित छ, ऊसँग भाषा जो छ । मानिसको जिब्रो स्वचालित अवयव हो, मानिसले यसलाई जसरी पनि चलाउन सक्छ । यो कुकुरको पुच्छर होइन, जो रमाउँदा ठाडो भएर हल्लन र डराउँदा टाँग मुनि पस्न विवश हुन्छ । मनमा उठेका भावलाई मष्तिष्कमा छानेर, मसला थपेर, तर झिकेर, चिल्लो दलेर, खस्रो घोटेर चाहेको आवाजमा परिणत गर्न मानिस सक्षम छ । मानिसको बोली सत्यको संकेत गर्न बाध्य हुँदैन । साँचो र झुठो जे बोले पनि उसलाई पर्ने परिश्रम उही त हो । वैज्ञानिक भन्छन्, मानिसले मुखले ढाँटे पनि हाउभाउ र छाँटकाँटले ढाँट्न सक्दैन । यो हो पनि, होइन पनि । मानिसले अब भाषा मात्र होइन कलाकारिताको पनि विकास गरेको छ । अहिलको जमानामा कुन आँसु आँखाबाट बगेको हो र कुन ग्लिसिरिन पग्लेको हो, कसलाई थाहा ? आफ्ना आँखामा थुक दलेर अर्काको आँखामा धुलो हालेको घटना हामीले भोगेका पनि हौँला । भोग्न नपरे पनि सुनेका अवश्य छौ । हुनत मानिसले बोलेको कुरालाई दूधको दूध, पानीको पानी छुट्याउने पोलिग्राफ मेसिन पनि हुन्छ रे । तर सामान्यतया प्रहरी र जासुसी संगठनमा मात्र हुने यो मेसिनसँग भेट हुनुअघि नै मान्छेले कतिलाई थाङ्नामा सुताइसकेको हुन्छ ।
सत्यको परिभाषा र पहिचान पनि गाह्रो छ । केलाई झुठ भन्ने र केलाई साँचो भन्ने कुरा समय र परिस्थितिमा फरक परेको देखिन्छ । हामीले साँचो भनेर अरुलाई सुनाएको कतिपय कुरा पनि झुठा हुनसक्छन् । यो संसार चेप्टो छ भन्ने कुरा कुनै बेला साँचो थियो, अहिले झुठो भएको छ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने कुरा कुनै बेला झुठ थियो अहिले साँचो भएको छ । आजको परिवर्तनशील संसारमा हरेक पल झुठ सत्यमा र सत्य झुठमा परिवर्तन भइरहेको हुन्छ । त्यति मात्र होइन, झुठो बोल्नुलाई मात्र कपट भन्ने कि साँचो नबताउनुलाई पनि कपट भन्ने ? यसो हेर्दा झुठो नबोलेसम्म ढाँट्यो भन्न पनि नमिल्ने तर सबै कुरा नभन्दा साँचो कुरा पनि थाहा नहुने कस्तो संकट, कस्तो धर्मसंकट । अन्तिम सत्य त केही होला कि नहोला, भए पनि कसलाई थाहा होला ? सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला हाल्ने व्यक्ति एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा हुन् भनेर कति पढियो, कति पढाइयो तर त्यो चिसो अक्करको तिखो चुचुरामा दुबै जनाले सल्लाह गरेर एकै पटक पाइला टेकेका हुन् भनेर पत्याउन मलाई नै गाह्रो हुन्छ ।
कहिलेकाही झुठ पनि आश्चर्यजनक ढंगले घटित हुन्छ । गलत सन्देश प्रवाह त हुन्छ तर सुन्ने सुनाउने कसको दोष हो छुट्याउनै गाह्रो पर्छ । मलाई पनि एउटा खबर आयो, ‘फलाना मानिस बिरामी पर्नु भयो’ भनेर । बिरामी पर्नु भयो भन्ने खबर पनि के भन्नु भन्नेले यतिबेला त बाँकी छैेनन् होला पनि आशय त्यसमा थपिएको थियो । मैले ‘भेट्न अस्पताल जान्छु’ भनी सुनाउँदा ‘आर्यघाट जानु नै छिटो होला’ भन्ने सुझाब उताबाट पाएको थिएँ । तर म अस्पताल नै गएँ, जानु परे पनि त्यहीँबाट आर्यघाट जाउँला भनी । हामी दुबैको भाग्य, उनले पनि आर्यघाट जानु परेन, मैले पनि । अहिले पनि उनको स्वास्थ्य राम्रो छ, के थाहा, को आर्यघाट जान्छ, कसले पु¥याउँछ ? समाजमा पनि हेरौँ न, फलानाले यसो भने अरे भनेको हल्लाको आधारमा लडाइँझगडा चल्छ, गाउँबस्ती बल्छ । तर पछि थाहा हुन्छ त्यो हल्ला मात्र रहेछ भनेर । त्यति धेरै मानिसलाई त्यति छिटो प्रभावित पार्ने खबर कसले कसरी ल्यायो र फैलायो कसैलाई थाहा हुँदैन । यस्तै खबरका कारण हो, भलै भारतमा सबैभन्दा ठूला नायक अभिताभ बच्चन मानिन्छन् तर नेपालमा ऋत्विक रोशनलाई८ नबिर्सिने पनि धेरै छन् ।
जब हामी ठगिन्छौँ, हामी भन्छौ, ‘कलियुग लाग्यो, साँचो केही भएन, सबै नक्कली, सबै झुठ ।’ तर देउताको पालामा पनि कपटको कमी थिएन । विष्णुले नक्कली जालन्धर बनेर बृन्दाको सतीत्व लुटे, पाण्डवले आधी कुरा मात्र कुन्तीलाई बताएकाले द्रौपदीले पाँचवटा पतिको बुहार्तन व्यहोर्नु प¥यो, पार्वतीले गणेश जन्मको इतिवृत्त समयमा नै शिवलाई नसुनाएकीले एउटा निर्दोष हात्ती मारियो र गणेशले त्यसको टाउको बोकेर बाँच्नुप¥यो । हुँदाहुँदा सत्यका प्रतीक भनिएका युधिष्ठिरले पनि अष्टचिरञ्जीविमध्येका एक अश्वत्थामाका पुत्रशोक नपरी नमर्ने बाबु द्रोणाचार्यलाई मार्न अश्वत्थामा मृत्युको दुईअर्थे घोषणा गर्नुप¥यो । साक्षात भगवान् श्रीकृष्णले समेत सोही समयमा शंखनाद् गरी दुईअर्थे घोषणालाई अझ भ्रामक बनाउनु प¥यो । यदि झुठ र भ्रम कलियुगको लक्षण हो भने हामीले भन्नु पर्छ, कलियुग पृथ्वीको उत्पत्तिकालबाट नै प्रारम्भ भएको थियो ।
झुठ शास्त्रसम्मत छ भनेर त म कसरी भन्न सक्छु र ? तर शास्त्रलाई सत्यको पक्षमा उभिन पनि नसकेको भेट्छु म कहिलेकाहीँ । सत्य बोल्नु प्रिय बोल्नु तर सत्य भए पनि अप्रिय नबोल्नु भनेर हामीलाई सत्यको सिपाही हुन शास्त्रले दिएको छैन । सत्य नबोल्नु कपट गर्नु हो । जब सत्य मौन बस्छ भने त्यहाँ असत्य र अज्ञानता बाहेक के ध्वनित होला त ? देश अनुसारको भेष भनेर हाम्रा उखानले हामीलाई छेपारो बन्न प्रेरित गरिरहेका छन् । सत्य आफैमा आकाशको तारो भएको छ, त्यसलाई खसाल्ने त बिरलाकोटी मात्र हुन्छन् भन्ने भान पारिएको छ । हामी त अर्काको जालमा जेलिएर बाँच्दै अर्कालाई पार्ने जाल बुन्न बानी पारिएका छौँ । सत्य बोल्छु र निष्ठाको जीवन जिउँछु भन्नु त घमण्ड पो भएको छ । हुन पनि हो सत्य र निष्ठाको जीवन साह्रै कष्टकर हुँदै गएको छ । पसिनाको कमाइले साँझविहान टार्नु एउटा व्रत भएको छ । असत्य र झुठले ढलिमली गरिरहका छन् । हिरो बनाइदिन्छु भनेर केटालाई जोताउने र हिरोइन बनाइदिन्छु भनेर केटीलाई झुक्याउनेलाई आदर्श मान्ने समाज हो यो । एक दिन सत्यको अवश्य जित हुन्छ भन्ने भनाइको अर्थ ‘त्यो एक दिन’ नआउन्जेल असत्यले नै रजाइँ गरिरहन्छ भन्ने नै त होला ।
सत्यको बाटो कठिन भएर होला, हामीलाई भ्रम प्यारो लाग्छ । त्यसैले त भ्रम दिने नशा प्यारो छ हामीलाई । हामी आदिकालबाट नै नशाको भोका छौ । गाँजा तानिरहेका छौँ, दारु दन्काइरहेका छौ, चरेश चुसिरहेका छौ । संसार जति जटिल र कठिन हुँदैछ, नशाको मोहनीले मानिसलाई उति नै तानिरहेको छ । सत्य कठोर हुन्छ, त्यसैले हामी भ्रमको मोहनीमा रमाइरहेका छौ, आफैँलाई छक्याएर । हामीलाई सत्य स्वीकार छैन, आडम्बरको अम्बर ओडेर बस्न चाहन्छौं हामी । हाम्रो इतिहास र वर्तमानले कतै संकेत नगरेको भाग्यको आशामा हामी बाँचिरहेका छौं । एउटा कल्पनाको आवाज हाम्रो कानमा गुञ्जिरहेको हुन्छ र त्यससँग मिल्दोजुल्दो आवाजले हामीलाई छक्याइरहन्छ । वास्तवमा कसैले कसैलाई छक्यायो भन्नु पनि आरोप हो, हामी आफैँ छक्किन तयार भएर बसेका हुन्छौँ । हामी छक्किन तयार भएपछि मात्र ठगहरुको भाग्य खुल्छ । उखानै छ, लोभीको देशमा ठग भोको पर्दैन भन्ने ।
कतिपय झुठलाई हाम्रा चलनले छुट दिएका पनि रहेछन् । बिहेमा अलिअलि ढाँटेकोमा दोष लाग्दैन रे, अर्काको घर बसाएकोमा धर्म पो हुन्छ रे । हृदयको राजा र कल्पनाकी रानीकोे परम आदर्श बिम्ब बैसालु मनमा सजिएको हुन्छ । त्यो मनले यही धराको धुलोमा रुमलिइरहेको सामान्य मानवलाई वरण र स्वीकार गर्न गाह्रो पर्छ । अनि त्यसमा अतिशयोक्तिका जलप लगाइन्छन् र धुलोबाट एक तह माथि उठाइन्छन् । त्यसैले केटा बोल्नै नपर्ने र केटी हेर्नै नपर्ने भनी बोल्न नसक्ने केटाको बिहे देख्न नसक्ने केटीसँग गराएको उखान नेपाली जनमानसमा व्याप्त छ । केटी माग्न जाँदा पनि नझुक्याएको र आजसम्म पनि नछक्याएकाले मेरी पत्नी ‘यति सोझो मान्छेले कसरी घरव्यवहार चलाउला’ भनेर मेरो पीर गरिरहन्छिन् । पहिले प्रयोग गर्नुहोस् अनि विश्वास गर्नुहोस भन्ने वैज्ञानिक युगमा पनि यो जलप लगाउने काम घटेको छैन । त्यही जलप हटेर कतिको घरबार अदालत पुगेको छ, कतिको घरजम दोबाटोमा ।
सबैले सबैलाई सँधै ढाँट्ने, नढाँटे पनि पूरा सत्य नबताउने आजको युगमा सत्यवादीका कुरा पनि छानेर मात्र पत्याइन्छ । मानिसले आफ्नो स्वार्थ र भूमिका अनुसार भनाइ राख्छ र त्यसकै पृष्ठभूमिमा अर्काको भनाइलाई स्वीकार गरिन्छ । हो पनि, आफूले त आफूलाई फाइदा हुने कुरा गर्ने हो, सत्यको वकिल बन्न कसले ज्याला दिएको छ र ? दुईजना महिला आपसमा कुरा गरिरहेका रहेछन् । एउटीले भनिछन्, ‘मेरा श्रीमान् त जे भने पनि आधा मात्र पत्याउनु हुन्छ ।’ अर्कीले अचम्म मान्दै भनिछन्, ‘ हो र, मेरा श्रीमान् त जे भने पनि दोब्बर तेब्बर मानी पत्याउनु हुन्छ ।’ कुरा के रहेछ भने पहिलीका श्रीमान् न्यायाधीश रहेछन् र दोस्रीका आयकर अधिकारी । न्यायाधीशलाई वादी प्रतिवादी दुईतर्फकै मानिसको कुरालाई बराबर महत्व दिनुपर्ने र तटस्थ बन्नुपर्ने भएकाले एकतर्फको कुरालाई आधामात्र पत्याउँथे, संशयसाथ । आफ्नो आय थोरै देखाई कम कर निर्धारण गराउन प्रयत्न गर्ने मान्छेको घेरामा बसिरहनुपर्ने भएकाले आयकर अधिकारी भने मानिसले भनेको भन्दा धेरैलाई सत्य सम्झन्थे । यसैबाट देखिन्छ, यदि सत्य कतै रहेछ भने पनि स्वार्थ र पूर्वाग्रहको जालोमा छानिएर बाहिरै रहन्छ, मनसम्म पुग्न सक्दैन ।
सत्यमा शक्ति हुन्छ । लुकाइएको सत्यमा झन् ठूलो शक्ति हुन्छ । सबै सौदाबाजीमा सत्य पर्दाभित्र हुन्छ अनि यो संसार सौदाबाजीमा चलिरहेको छ । हामी सारीमा माया साटिरहेका छौ, हाम्रा छोराछोरीहरु ममसँग प्रेम बाँडिरहेका छन् । बूढो भएपछि आप्mनै सन्तानलाई हुर्काएको गुन तिराएर खाऔँला भन्ने आशा छ मनमा । यसरी सौदाबाजीमा चलेको संसारमो कपटको महत्व त्यसै अडकल गर्न सकिन्छ । केटाले केटीलाई सोधेछ, ‘तिमी मलाई कति माया गर्छौ ?’ केटीले भनिछन्, ‘तिम्रोभन्दा बढी ।’ केटाले अत्तालिएर भनिहालेछ, ‘मतलब, झन् ठूलो धोका ?’ आपूmले प्रेमको नाममा धोका दिइरहेको छ भने उसका लागि बढी प्रेमको अर्थ ठूलो धोका बाहेक के लाग्ला त ?
सत्यमा शक्ति भएकाले यसलाई लुकाएर आफू शक्तिशाली बन्ने प्रचलन संस्थागत भइसकेको छ । गोप्यता अब सबैले सजिलै स्वीकार गर्न थाले । अफिसमा फाइल घुमिरहको हुन्छ । एउटाले चियाउन खोज्छ । अर्कोले भन्छ, ‘यो गोप्य हो ।’ अनि पहिलोले सहर्ष आँखा अर्कोतिर पुर्याउँछ । अहिले संसारमा आफ्नो साँचो कुरा लुकाउने र गलत कुरा फैलाउने अनि अर्काको गलत र साँचो पत्ता लगाउने उद्योग व्यक्ति, परिवार, समाज, समुदाय, राष्ट्र र विश्वभर सञ्चालित छ । भनौ न, यो संसार दुईवटा छ, एउटा देखिने, अर्को नदेखिने । विदेशी मुलुकसँग सम्बन्ध राख्ने कलालाई कूटनीति भनिन्छ । सबै मुलुकका सेना सञ्चालन गर्ने मन्त्रालयको नाम आक्रमण मन्त्रालय होइन रक्षा मन्त्रालय राखिएको छ । आक्रमण गर्ने मन्त्रालय कसैको छैन भने रक्षा किन चाहिएको होला ?
बसमा हिँडिरहेको बेला अरुले मोबाइलमा बोलेको सुन्छु, आफू रहेको स्थानको ठिक नाम बताउने मानिस बिरलै पाउँछु । माइतीघरमा हुनेले बानेश्वरको गफ गर्छ, बानेश्वरमा हुनेले कोटेश्वरको । हुँदा हुँदा एक दिन त काठमाडौको दरबारमा मार्गमा रहेको मानिसले अहिले वीरगञ्जमा छु, दुईचार दिनपछि काठमाडौ जाउँला अनि तपाईँको काम गरौला भनेको पनि सुनेँ । कति मानिसले त नढाँट्दा हुने कुरामा पनि ढाँटिरहेको पाउँछु । मानिस किन ढाँट्छ ? यो जटिल प्रश्न हो । के मानिस लोभका कारण ढाँट्छ, बढी पाउन ? के डरका कारण ढाँट्छ, ज्यान बचाउन ? कि बडप्पनका कारण ढाँट्छ, यसलाई साँचो किन बताउनु भनेर ? कि यो उनीहरुको पेटको समस्या हो, नढाँटी खाएको नपच्ने । के यो मानव स्वभाव हो ? यसको उत्तर कसले देलान् ? मनोवैज्ञानिकले, समाज वैज्ञानिकले ?
कपटका शालीन रुपहरु पनि हुन्छन् । तपाई ठूलाबडालाई भेट्न जानुस् र आफ्नो समस्या राख्नुहोस्, उनीहरु एक शब्दमा हुन्छ वा हुन्न भन्दैनन् । सोचौला, विचार गरौला, हेरौला, ध्यान दिउँला आदि भनेर तपाईलाई पठाइदिन्छन् । बीचमा यसो सम्झाउन जानुहोस्, सोचिरहेको छु, विचार गरिरहेको छु, हेरिरहेको छु, ध्यान दिइरहेको छु भन्छन् । उनीहरुको त्यो भनाइको सोझो नेपाली अनुवाद हो, ‘के किचकिच गरिरहेको ? कस्तो कुरो नबुझेको ? म तिम्रा कामको लागि हुँ कि आफ्ना कामका लागि ?’ तर उनीहरु त्यसरी भन्दैनन्, शालीन देखिन्छन् ।
पहिले बिहको भोज अहिले जस्तो होटल वा पार्टी प्यालेसमा हुँदैन थियो । बारीमा चुल्हो बनाइन्थ्यो अनि त्यहीँ भतेर तयार पारिन्थ्यो । क्षेत्रीबाहुनहरुकोमा छोइछिटोको प्रचलन हुनाले महिलाले चोलो समेत फुकालेर भतेर तयार पार्नुपथ्र्यो । एउटी महिलाले चुलामा मासु चलाइरहेको बेला कुकुरले उनको डाढमा सुँघ्न पुगेछ । यसरी कुकुरले चुलामा काम गरिरहेको मनिसलाई छोएपछि चुलो बिटुलो हुन्थ्यो र सबै खानेकुरा फाल्नुपथ्र्यो । त्यस्तो बर्बादी नहोस् भनेर उनले कुकुर धपाउँदै भनिछन् ‘झण्डै छोयो यस ‘पड्के’ले । कस्तो चिसो थुतुनो रहेछ ।’ झण्डै छोयो भनेर झुठ बोल्दा चिसो थुतुनोको अनुभव भन्नुहुने थिएन । तर उनबाट त्यो हेक्का रहन सकेन । त्यसैले ढाँट्नु आफैमा एउटा कला पनि हो । दिमाग राम्रो नचल्नेले ढाँट्न सक्दैन, कुरो खुस्काइहाल्छ । ढाँट्नेले आफ्नो स्मरणशक्तिको पूर्ण उपयोग गर्दछ । कसलाई कहाँ के सम्बन्धमा के भनेको थिएँ भन्ने कुरा राम्ररी नसम्झिए ढाँट्ने कलाले जालको काम गर्न सक्दैन ।
ढाँट्न नसक्ने मानिसको मष्तिष्क भुइतले घरजस्तो हो । त्यहाँ सबैकुरा एकै ठाउँमा हुन्छ र देख्नेले सबैकुरा एकैपटक देख्छ । तर ढाँट्ने मानिसको मष्तिष्क धेरै तले र धेरै कोठे घर जस्तो हो । अलग अलग मानिसलाई बताउन उसको मष्तिष्कका विभिन्न खण्डमा विभिन्न तानाबाना बुनिइरहेका हुन्छन् । यी तानाबाना एक आपसमा विरोधाभाषी पनि हुनसक्छन् । तिनै विरोधाभाषलाई व्यवस्थित गरेर आजका नायक÷नायिका अगाडि बढ्छन् । जहाँ ठक्करलाग्छ, त्यहीँ अर्को तानाबाना बुनिन्छ र बाटो फेरि अगाडि लाग्छ । घरमा ‘अफिसमा मिटिङ छ, फर्कन ढिलो हुन्छ’ भनी लेघ्रो तानेर अनि अफिसमा ‘घरमा श्रीमती बिरामी छिन्, क्लिनिकमा लानु छ भनेर’ हिँडेको मानिस जब कान्छीको भट्टीमा पक्डाउ खान्छ अनि अर्को कथा सुरु हुन्छ । ‘अफिसबाट निस्केर क्लिनिकमा नाम दर्ता गराएर मात्र घर जाउँ भनेर क्लिनिक तिर गएँ । डाक्टर साहेब त विदेश जानुभएको रहेछ । अर्को हप्ता आउनुहुन्छ रे । त्यही बेला क्याम्पस पढ्दाको साथी हरि भेटियो । अनि… .. ।’ हामीले अहिले सुनेका, पढेका र देखेका कतिपय सफलताको कथा यही तानाबानापूर्ण यात्राको प्राञ्जल प्रस्तुति नै हो । सालनालसहित कर्णलाई गङ्गामा बगाएर नै कुन्ती पञ्चकन्यामध्ये एक बन्न सफल भएकी होलिन् ।
मन, बचन र कर्म एकाकार भए मानिस अध्यात्मिक उचाइमा पुग्छ भन्ने पूवीय मान्यता छ । तर मन, बचन र कर्मलाई जति फरक पार्न सक्नुहुन्छ, तपाईको भौतिक प्रगति उति माथि पुग्छ भन्ने अर्को मत पनि कम बलबान छैन । हुनत भौतिक प्रगतिको उचाइमा पुगेका व्यक्तिहरुले लेखेका र बोलेका कुरामा इमानदारिताको महत्वलाई सानो आँकिएको छैन तर मानिसले बेइमानीको यात्रा छोडेका छैनन् । अहिले उद्योग र व्यापार मात्र होइन समाजसेवा, राजनीति, शिक्षा र स्वास्थ्य सेवा पनि पैसा कमाउने माध्यम बनेकाले हाम्रो समाजमा सौदाबाजीका आयाममा वृद्धि भएको छ । सौदाबाजीको आयाम बढेकाले कपटका क्षेत्रहरु पनि बढिरहेका छन् ।
मानिस भन्छन्, संसार सत्यमा अडिएको हुन्छ, सत्येन धार्यते पृथ्वी, सत्येन तपते रवि । तर म भन्छु संसार झुठमा अडिएको छ, भ्रममा थामिएको छ । जब झुठका जलपहरु हटेर सत्यको परत भेटिन्छ तब मानिसका बाँच्ने अधारहरु कमजोर भएर जान्छन् । उद्घाटित अनेकन सत्यले प्रेमलाई घृणामा बदलेका छन्, आभारलाई क्षोभमा बदलेका छन् र स्नेहलाई स्वार्थमा बदलेका छन् । धेरै पुराना कुरामा नजाऊँ, तहल्का, विकिलिक्स र एडवार्ड स्नोडेन यस समयका सत्य अन्वेषण र खुलासा गर्ने संस्था र व्यक्ति हुन् । के यिनीहरुले हाम्रो मनलाई शान्ति दिए ? यिनीहरुले त हाम्रो जमिन मुनिको भुँइमा खाल्डो बनाए । आस्था र विश्वासका धरोहर ढले, मन अरु विकल र बेसहारा बन्यो । रङ्गे हात भेटिइरहेका आश्रमबासीहरुले हाम्रो आस्था र निष्ठाको धरोहरलाई हरक्षण हल्लाइरहेका छन् । हरेक रहस्योद्घाटनले हाम्रो विश्वासमा एक मुड्की हिर्काइरहेको छ । यसरी थप सत्य उद्घाटित हुँदै गए, संसार के बस्न लायक होला, जीवन के बाँच्न लायक होला ?
साध्य मात्र होइन, साधनको शुद्धतामा जोड दिने हो भने भ्रमको बाटोबाट पाएको ‘सिद्धि’ भन्दा सत्यको साधनाबाट पाएको ‘अप्राप्ति’ स्तुत्य मानिनुपर्छ । तर चराको आँखामा तीर लगाउन त्यसको आँखामा मात्र दृष्टि दिन दीक्षित द्रोणाचार्यका आधुनिक शिष्य येनकेन प्रकारेण सुख र समृद्धिको लक्ष्यमात्र हेर्न चाहन्छ, साधनबारे सोच्न खोज्दैन । त्यसैले सुख र शान्ति अनि समृद्धि र सन्तोष झन् विपरीतार्थक शब्दजस्ता भइरहेका छन् । आफ्नो आँखाबाट खसेपछि अर्काको नजरमा माथि पर्नुको अर्थहीनता बोध हुन गाह्रो हुन्जेल सत्यको बाटो सजिलो छैन । जीवनलाई एउटा निष्ठा र व्रतको रुपमा बाँच्न नखोजी सत्यको सारथी बन्ने सहास पाउन सकिन्न । हामी आफ्नो मुस्कानलाई मोहक राख्न चाहन्छौ, हामी बाणीलाई निर्दोष राख्न चाहन्छौँ अनि आफ्ना आँखालाई निश्छल राख्न चाहन्छौँ भने सत्यको बाटो आज पनि कठिन होला, अगम्य छैन ।

(मिर्मिरे ३२९ अङ्कमा प्रकाशित)

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *