किस्सा सोमरसको: उहाँको कहानी, मेरो जुबानी

भारतीय नाटक र सिनेकर्मी पीयुष मिश्राको “तुम्हारी औकात क्या है पीयुष मिश्रा” पढें । यो उनको औपन्यासिक आत्मकथा रहेछ । अनेक विशिष्ट प्रतिभा हुँदाहुँदै पनि विभिन्न कारण पछाडि परेका पीयुष आफ्नो कामले गति लिएको अवस्थामा रक्सीको नराम्रो लतमा पर्दारहेछन् । रक्सीको लतबाट परेको असर र त्यसबाट मुक्ति पाउन उनले गरेको प्रयास पनि यो किताबमा रहेछ ।  पीयुषले आफूलाई यो किताबमा कतै संताप र कतै हेमलेटको रूपमा प्रस्तुत गरेका छन् ।

रक्सी नेपालको राष्ट्रिय पेय भइसकेको छ । यसको रसपान गर्नेदेखि यसले ल्याउने भुक्तमान सहने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । हामीले रक्सी खाने कुरा गरे पनि कतिपयलाई त रक्सीले नै खाइदिन्छ । पिउने आदत भएका मानिसहरूको स्वास्थ्य, परिवार, सम्पत्ति र प्रतिष्ठा रक्सीको कारणले समाप्त हुँदै गरेको हामीले हाम्रो आँखाअगाडि देखेका छौं । रक्सीको नशामा डुब्न लागेका मानिसले गरेको मुक्तिको प्रयास रहेको आत्मकथाको अंश यथाशक्ति नेपालीमा उल्था गरेर यहाँ राखेको छु । यसबाट कसैलाई प्रेरणा मिले म आभारी हुनेछु । मदिराको नशाको पोखरीमा जो डुब्नु भएन, उहाँलाई नमस्कार छ; जो पौडिरहनुभएको छ, उहाँलाई सलाम छ; र, जो डुब्न लाग्नुभएको छ उहाँलाई किनारा मिलोस् भन्ने कामना छ ।

*****************************************************

उसले ओछ्यानमा सुतीसुती आँखा खोल्यो । डाक्टर भनिरहेका थिए – “धन्य, हड्डी भाँच्चिएको छैन । चोट पनि धेरै लागेको छैन । तर तीन दिन अस्पतालमा बस्नै पर्छ ।”

उसले जानीबुझी सम्बल (नयाँ फिल्ममा उसलाई अभिनयको भूमिका दिने मानिस) लाई खबर गरेन । जिया (पत्नी) लाई पनि फोन गरेन । तीन दिनको त कुरो थियो । येनकेन बिताउला ।

र, यहीं उसको पहिलो देवदूतसँग भेट भयो । नाम थियो ऐवन रिबेलो ।

“म सँगैको अल्कोहलिक वार्डमा आएको थिएँ । कसैलाई भेट्न । तपाईं यहाँ भर्ना हुनुभएको थाहा पाएँ र भेट्न आएँ । यो दुर्घटना रक्सी पिएको कारण भएको हो ?”

हेमलेटलाई उसको कुरो मन परेन । चिन्नु न जान्नु, घँचेडी माग्नु ।

“हो । अनि के त ?”

“मेरो नाम ऐवन रिबेलो हो । म रिकवर्ड एल्कोहलिक (रक्सीको कडा आदतबाट मुक्ति पाएको मानिस) हुँ । के तपाईं पिउँदापिउँदै बढी पिउनुहुन्छ ?”

“अँ, हिजो बढी भएछ । तपाईंलाई के मतलब ?”

“म रक्सीको आदतबाट पीडित हरेक व्यक्तिसँग मतलब राख्छु ।” ऊ आरामले गफ गरिरहेको थियो । “अस्पतालबाट बाहिर निस्केपछि मलाई भेट्नुस् । म मलाड वेस्टमा बस्छु ।” उसले आफ्नो भिजिटिङ कार्ड थमायो । हेमलेटले मन नलागी नलागी त्यो कार्ड लियो ।

“तपाईंलाई म काम न काज तपाईंसँग टाँसिएको जस्तो लागिराख्या होला । तर यदि तपाईं दैनिक पिउनुहुन्छ र सधैं पिउँदापिउँदै बढी पिइहाल्नुहुन्छ भने तपाईं संसारको सबभन्दा खतरनाक रोगको शिकार भइसक्नुभएको छ । अल्कोहलिज्म । डब्लु. एच. ओ. का अनुसार यो संसारको सबभन्दा धेरै ज्यान लिने रोग हो । क्यान्सर र हृदयाघातभन्दा पनि धेरै । अनि यसको उपचार डाक्टरहरूसँग छैन पनि । चिकित्सा विज्ञानले दिएको नम्बर हो ए-३०३ । यदि तपाईंले उचित ठान्नु भयो भने सम्पर्क राख्नु होला । शुभ दिन ।” र, ऊ फर्किएर हिंडिहालेको थियो ।  हेमलेटले गहिरिएर विचार गर्‍यो, उसले एक शब्द पनि बढी बोलेको थिएन ।

हेमलेटले सोच्यो, वास्तवमा उसको रक्सी खाने बानी अनियन्त्रित भइसकेको थियो । एब्नर्मल ।

ऊ रक्सी खाएपछि पहिले जस्तो रहँदैन थियो । ऊ पूरै बदलिन्थ्यो । ऊ पिउनुभन्दा पहिला नियन्त्रित नै हुन्थ्यो । अरू सामान्य मानिसको जस्तै व्यवहार गर्थ्यो । कुराकानी गर्थ्यो । तर एक पेग पिउने बित्तिकै उसको मानसिकता बदलिन्थ्यो । उसको विचार बदलिन्थ्यो । ऊ अरू मानिसले पिएको हेर्थ्यो । सबै मजा लिइरहेका हुन्थे । उनीहरूको हस्यचेत बढ्थ्यो । सबै उधुम मच्चाइरहेका हुन्थे । तर उसलाई त्यस्तो केही हुँदैनथ्यो ।

उसले एकपटक दिल्ली फोन गरेको थियो । डा. दिनेश शर्मा उसका पुराना दर्शक थिए र उसका सम्मानित साथी पनि थिए ।

उसलाई भोलिपल्ट डाक्टर साहेबको फोन आएको थियो ।

“मैले तिम्रो के बिगारेको थिएँ र तिमीले मलाई हिजो फोनमा त्यति धेरै गाली गर्‍यौ ? म तिमीभन्दा कति जेठो छु, थाहा छ तिमीलाई ? मेरी पत्नी साथमा बसेर त्यो सबै सुनिरहेकी थिइन् ।”

हेमलेटलाई केही सम्झना थिएन ।

बिहान बिहान उसलाई रूँदै गरेका केटीहरूको फोन आउन थालेको थियो ।

“हामी तपाईंको कति धेरै इज्जत गर्छौं, संताप सर । कृपया फोनमा त्यस्तो फोहोरी कुरा नगर्नु न सर ! प्लीज ….!”

हेमलेट टाउकोमा हात लगाएर बस्थ्यो । “मलाई के भइरहेको छ अचेल ?”

उसले कसैको कोठामा रक्सी खाएर बान्ता गरिदियो । कसैको बैठक कोठामा पिसाब फेरिदियो । सबै उसलाई आदर गर्थे तर अप्ठेरो सबैलाई हुन लागिसकेको थियो ।

“म यति रक्सी किन पिउँछु ?”

ऊ मलाडमा रहेको ऐवन रिबेलोको फ्याटमा थियो ।

“किनभने यो एउटा बिमारी हो, संताप भाइ । एल्कोहलिक्स । एउटा मानसिक तनाव र शारीरिक एलर्जी । हरेक सयमा बीस जना अल्कोहलिक हुन्छन् र ती बिचारालाई त्यससम्बन्धमा कुनै ज्ञान नै हुँदैन । हामी हरेक दिन आज चैं कम पिउँछु भन्ने सोचेर रक्सी पिउन थाल्छौ अनि पिइसकेपछि बढी पिएकोमा पश्चात्ताप गर्छौं ।”

“कारण ?”

“कारण त थाहा छैन । चिकित्सा विज्ञान यसको बारेमा अनभिज्ञ छ । खोजबिन चलिरहेको छ । यसबाट कुनै कमाइ नहुने भएकोले कुनै डाक्टर यस विषयमा विशेषज्ञता हासिल गर्न खोज्दैनन् । अल्कोहलिक आफ्नो सर्वस्व सकेपछि मात्र उनीहरूकोमा जान्छन् । र, अल्कोहलिकलाई कसैले बिरामी पनि ठान्दैन । सबै उसलाई असामाजिक मानिस ठान्छन् । ऊ त वास्तवमा दयाको पात्र हो किनभने ऊ त्यति धेरै रक्सी किन खान्छ भन्ने ऊ स्वयंलाई पनि थाहा  हुँदैन ।”

“यसको समाधान ?”

“छ, तर आध्यात्मिक । स्पिरिचुअल । भरोसा गर्न सके गर नत्र पिएर मर्नु त निश्चित छ नै । यसका दुइटा परिणाम छन्, कि त चाँडो मृत्यवरण वा बिस्तारै पागलपन ।

हेमलेटले पिएपछि उसले गर्ने व्यवहार सम्झ्यो ।

“म बाच्नु सबै दृष्टिले आवश्यक छ, यार ! म बाँच्न चाहन्छु । यो रोगबाट मलाई मुक्ति दिलाइदेऊ ।” उसको गहमा आँसु भरियो ।

ऐवनले उसको हातमा हात राख्यो ।

“काम धेरै सामान्य छ, संताप भाइ ! तर सजिलो छैन । आफ्नो सबैकुरा त्याग गर्नुपर्छ । आफ्नो आजको विचार, आफ्नो आजको सोच र आफ्नो आजको धारणा । तपाईंमा नितान्त नयाँ व्यक्तिको उत्पत्ति हुनेछ ।  गर्ने हो ?

“म जे पनि गर्छु यार । बस्, अब मलाई रक्सी चाहिएन ।

तपाईं भोलि मसँग आउनुस् । म तपाईंलाई लिएर कतै जान्छु ।

*****************************************************

भोलिपल्ट उनले ऐवेन ऐवन रिबेलोलाई भेट्छन् । रक्सीको लतलाई मनमा रहेका विकारहरूको लक्षणको रूपमा लिन्छन् अनि विभिन्न आध्यात्मिक र मनोवैज्ञानिक मनोविरेचन प्रक्रियामा सहभागी हुन्छन् । उनको लत नियन्त्रणमा आउँछ । अनि व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा उल्लास कायम हुन्छ र मुम्बइको फिल्म नगरीमा उनी राज गर्छन् ।

नेपालमा पनि यो संस्था रहेछ । यसले पौडी खेलेर थाकेका व्यक्तिहरूलाई किनारामा ल्याउन मद्दत गर्ने नै छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *