कृषिः पूर्वाधार विकासको पर्खाइमा

देशमा आर्थिक संकटको संकेत देखा पर्ने बित्तिकै धेरैको ध्यान ग्रामीण अर्थतन्त्रको विकास र खासगरी कृषितिर जान्छ । कोभिड-१९ को महामारीबाट पर्यटन क्षेत्र धराशायी हुने देखिएको, रेमिटान्स आय रसातलमा पुग्ने भएको र उद्योगधन्दामा पनि उति प्रगति हुने सम्भावना नभएको कारण अहिले सबैले ग्रामीण अर्थतन्त्रको विकास र कृषिमा ध्यान दिइरहेका छन् । अब कृषिले मात्र आर्थिक विकास र रोजगारीको अवसर प्रदान गर्छ भन्ने सबैको राय छ । उसो त नेपालका सबैजसो नीति र योजनामा ग्रामीण अर्थतन्त्र र कृषिलाई प्राथमिकता नदिइएको होइन । तर त्यसलाई उचित प्राथमिकिकीकरण गरी प्रभावकारी कार्यान्वयन मात्र नभएको हो । पहिलो प्रजातन्त्रदेखि पञ्चायत (गाउँ फर्क) काल हुँदै अहिलेसम्म सबैजसोले नै कृषि र गाउँको विकासबाट नै देशको विकास हुन्छ भनिरहेका छन् ।
ग्रामीण अर्थतन्त्रमा सामान्यतया कृषि (खेतीपाती र पशुपालन) र साना तथा घरेलु उद्योग पर्छन् । नेपालमा अहिले पनि कुल गार्हस्थ उत्पादनको एक तिहाइ (करिब २७ प्रतिशत) र रोजगारीको करिब दुई तिहाइ हिस्सा कृषिले नै धानेको छ । गत साल यो क्षेत्रको वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेकोमा यस साल २.४८ प्रतिशत (कृषि र वन) रहने अनुमान गरिएको छ । अन्य क्षेत्रले आर्थिक वृद्धिदरमा तीव्र ह्रास आएका कारण यो साल आर्थिक वृद्धिदर २.२७ मात्र रहने अनुमान गरिएको छ । ५८ प्रतिशत हिस्सा ओगटेको सेवा क्षेत्रमा निकै समस्या आएकोले आर्थिक वृद्धिको आधार अब कृषि नै रहने देखिएको छ । सरकारले पनि कृषि उत्पादन वृद्धि भए कृषि उपजको आयातमा खर्च गर्नु पर्ने विदेशी मुद्रा बचत हुने हिसाब लगाइरहेको होला ।
रोजगारीको क्षेत्रमा समेत अब कृषिको भूमिका बढ्नु पर्ने देखिएको छ । अहिले हप्तामा एक दिन काम गर्ने मानिसलाई रोजगार मान्दा ११.४ प्रतिशत बेरोजगारी छ । कृषिमा क्षेत्रमा अर्ध बेरोजगारी कायम रहेको, कृषि क्षेत्रको प्रतिव्यक्ति उत्पादकत्व कम भएको (दुई तिहाइ श्रमिकबाट कुल गार्हस्थ्य उत्पादनको एक तिहाइभन्दा कम उत्पादन) कारण कृषिबाट अन्य क्षेत्रमा श्रमिक पठाउने नीति लिइएकोमा अब अन्य क्षेत्र संकटग्रस्त रहेको हुनाले कृषिमा नै रोजगारीको चाप पर्न सक्ने देखिन्छ । वर्षेनि थपिने ५ लाख श्रमशक्ति, वैदेशिक रोजगारबाट स्वदेश फर्केका र महामारीको कारण सहर छोडेका व्यक्तिको आशाको त्यान्द्रो कृषि नै छ ।
कृषि धेरै नेपालीको पेशा भएकोले यो पेशा अपनाउन वा यो पेसामा फर्कन कुनै नेपालीलाई पनि मनोवैज्ञानिक संकट पर्दैन । आज जुन पेशा अपनाए पनि अधिकांश नेपालीका बाबु बाजे किसान नै थिए । बाबुबाजेको पेशा अपनाउन के आपत्ति भो र ? ‘उत्तम खेती, मध्यम व्यापार, निर्घिणी चाकरी’ भन्ने त नेपाली उखानै छ । तर आपत्तिका विषय केही छन् ।
1. सिंचाइको सुविधा कृषि क्षेत्रको मुख्य समस्या हो । नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेकोमा करिब १५ लाख हेक्टरमा मात्र सिंचाइ सुविधा उपलब्ध छ । त्यसमा पनि करिब ३३ प्रतिशत जमिनमा मात्र बाह्रै महिना सिंचाइ सुविधा पुगेको छ । मनसुन राम्रो भएको कारण धान उत्पादनमा वृद्धि भएको वा पानी नपरेको कारण उत्पादन घटेको विश्लेषण हाम्रा लागि नौलो होइन ।यसैले खेतीपातीका लागि चाहिने पानीका लागि वर्षामा भर परेको बुझ्न केही गाह्रो छैन । सिक्टा, रानीजमरा जस्ता ठुला सिंचाइ आयोजना पूरा हुन सकेका छैनन् । पर्याप्त खोलानाला हुँदा पनि सतह सिंचाइको सजिलो विकल्प छोडेर डिप बोरिङ, लिफ्ट सिंचाइ जस्ता महँगा र दिगो नहुने सिंचाइ आयोजना सञ्चालनमा ल्याइएको छ । आकासे खेतीबाट कृषिको न आधुनिकीकरण सम्भव छ, न यो व्यवसायिक बन्न सक्छ ।
2. कृषिलाई आधुनिकीकरण गर्नु आवश्यक छ । यो भनेको कृषिलाई आधुनिक प्रविधिमैत्री बनाउनु हो । यस दृष्टिले हेर्दा नेपालमा कृषि उपकरण, रासायनिक मल, उन्नत बीउबिजन र कीटनाशक औषधिको सुलभ आपूर्ति र समुचित प्रयोग अर्को समस्याको रूपमा रहेको छ । रासायनिक मलको आपूर्ति नियमित छैन ।नेपालमा रासायनिक मलको उत्पादन हुँदैन । आयात र आपूर्ति समयमा हुन नसक्दा चाहिएको समयमा यसको बिक्री वितरण हुन नसक्ने समस्या आइरहेको छ । सचेतनाको अभावमा रासायनिक मलको उपयुक्त सम्मिश्रण र मात्रामा प्रयोग पनि हुन सकेको छैन । कतै बढी प्रयोग भएको छ । पहाडी भूभागमा यसको पहुँच पुर्‍याउन सकिएको छैन । उन्नत जातको बीउमा समस्या आई किसानले ठुलो नोक्सानी व्यहोर्नु परेको समाचार समयसमयमा सार्वनजिक हुन्छन् । कीटनाशकको प्रयोग अनियन्त्रित छ । हानिकारक र निषिद्ध कीटनाशकको प्रयोग रोक्न सकिएको छैन । यसले उपभोक्ताको जिउज्यान र वातावरणीय प्रणालीमा समेत असर पारिरहेको छ । कृषि उपकरणको रूपमा खेत जोत्‍ने ट्याक्टरको प्रयोगमा कही विस्तार भएको छ तर पहाडी भुभागको त कुरै छोडौं, तराईमा पनि हलोजुवा प्रतिस्थापन हुन सकेको छैन । कोभिड- १९ को कारण यातायातमा अवरोध आएको र यो अवस्था लामो समयसम्म कायम रहने पूर्वानुमान रहेको अवस्थामा कृषि उपकरण र सामग्रीको जोहो चुनौतीपूर्ण छ ।
3. अहिलेको युवा पुस्ताका धेरै जना कृषिसँग जोडिएका व्यक्ति नै छन् । उनीहरू पेशाले कृषक नभए पनि किसानका छोराछोरी हुन् । उनीहरूका लागि कृषि नयाँ र अचम्मको पेशा होइन । उनीहरूले सानामा देखेर वा बाबुआमालाई धेरथोर सघाएर पनि खेतीपाती र पशुपालनका केही जानकारी र अनुभव हासिल गरेका छन् । तर आधुनिकर र व्यवसायिक कृषिका लागि त्यो जानकारी पर्याप्त हुँदैन । थुप्रै प्राविधिक र व्यवसायिक ज्ञान र सीपको विकास नभई कृषि उत्पादन बढाउन, त्यसलाई बजारमा पुर्‍याउन र त्यसबाट अपेक्षित फाइदा लिन सकिन्न । उनीहरूको कर्मस्थानमा प्राविधिक सेवा नपुर्‍याई कृषि प्रविधिले पूर्णता पाउन सक्दैन । कृषि शिक्षा र तालिमलाई प्रभावकारी रूपमा निरन्तर अघि बढाउन बाँकी नै छ । कृषि प्राविधिक सेवा नभए बराबर छ । नेपली किसानले खेत, गोठ र खोरमा कृषि प्राविधिकको सेवा पाउन सकेका छैनन् ।
4. कृषि बजारको समस्या पनि उस्तै छ । नेपाली किसानको लागि नेपाली बजार सुरक्षित राख्‍न सक्नु त परको कुरो भयो, नेपालको कृषि बजारमा नेपालका किसानको पहुँच नै छैन । लकडाउनको समयमा भारतबाट नेपाली बजारमा तरकारी र फलफूल आइपुग्यो तर नेपाली किसानको उत्पादनले बजार पाएन । नेपाली तरकारी र फलफूलले नेपाली बजारमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन्, पाएका छैनन् । नेपाली कृषि उपजले भारतीय उत्पादनको आपूर्ति चक्र (सप्लाइ चेन) भत्काउन सकेका छैनन् । केही अनाजको समर्थन मूल्यको अभ्यास सुरू भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । अदुवा, चिया र अलैंची भारतीय बजारबाट हुने मागको भरमा चलेका छन्, विश्व बजारमा पुर्‍याउन सकिएको छैन । नेपालको कृषि उपजमा बिचौलियाको दबदबा छ । किसानले कृषि उपजको उपयुक्त मोल पाएका छैनन् भने उपभोक्ताले महँगो मूल्य तिर्नु परेको छ । सरकारले बिचौलियाको बिगबिगी हटाउन केही प्रयास गरे पनि बिचौलियाहरूको संगठित प्रयासअघि सरकार रक्षात्मक देखिएको छ ।
ग्रामीण र कृषि सडको पहँच विस्तार, निर्माण र स्तरोन्नतिमा उति प्रगति हुन नसकेकोले पनि बजारम पहुँच पुग्न सकेको छैन । कर्णालीको स्याउले सधैं जिस्क्याइरन्छ ।
5. कृषि उत्पादनमा आधुनिकीकरणका केही प्रयास भए पनि भण्डारणको अवस्था सन्तोषजनक छैन । कोल्ड स्टोर लगायतका वैज्ञानिक भण्डारगृह आवश्यक मात्रामा बन्न सकेका छैनन् । यी भण्डार गृहमा सामान राखी कृषकले मूल्य श्रृंखला (भ्यालु चेन) र मौसमी मूल्य अन्तरको फाइदा लिन सक्ने अवस्था छैन । यसकालागि दिइएको सरकारी अनुदान दुरुपयोग समेत भएको समाचार आएका छन् ।
6. नेपाली बैंकिङ प्रणालीबाट कृषि क्षेत्रले आश गरेको भन्दा धेरै कम ऋण गएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाबाट कुल करिब ३२ खर्ब ऋण प्रवाह भइरकेकोमा कृषि क्षेत्रमा केवल २.२ खर्बको हाराहारीमा ऋण प्रवाह भएको छ । फेरि कृषिका लागि भनेर ऋण लिई अरू प्रयोजनमा लगानी गरी दुरूपयोग हुने गरेको गाइँगुइँ पनि छ । कृषि क्षेत्रमा नै ऋण प्रवाह गर्न स्थापित कृषि विकास बैंकले पनि बदलिएको नीतिगत व्यवस्थाका कारण अरू बैंकसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकोले कृषिलाई मात्र पक्डेर बस्ने अवस्था छैन । सहकारीहरूले केही लगानी गरिरहेका होलान् । कृषि बीमा फस्टाउन सकेको छैन । कृषि पूर्वाधारको विकाससँगै यसको विकास हुने आशा गर्न सकिन्छ । सरकारले बिमा प्रिमियममा अनुदान दिएको छ तर बीमाका ग्राहक कम भएको हुनाले यो केही महँगो भएको अनुमान गरेको छु ।
कृषि क्षेत्रमा ऋण विस्तारका लागि परम्परागत बैंकिङबाट धेरै आशा गर्न सकिन्न पनि ।अरू देशले भने कृषि ऋणका लागि अलग्गै संयन्त्र बनाएको देखिन्छ । यो ऋण पनि नेपाल राष्ट्र बैंकको कडा निर्देशनपछिको उपलब्धि हो र यो निर्देशनलाई बैंकहरूले ‘बलजफ्ती’ र ‘जबर्जस्ती’ मान्ने मनस्थिति पनि छ ।
7. नेपालको भौगोलिक अवस्थिति कृषिका लागि निकै उपयोगी छ । सबैजसो हावापानीमा लागाउन मिल्ने बोटबिरूवा नेपालमा लगाउन र सोबाट उत्पादन लिन सकिन्छ । भौगोलिक रूपमा उपयुक्त यिनै जग्गाजमिन संरचनागत र कानुनी हिसाबले हेर्दा भने कृषिका लागि निकै अनुपयुक्त देखिन्छ । जग्गामा व्यक्तिको शर्तहीन पूर्ण स्वामित्वको अवधारणा राखिएको छ । अंशबण्डा, दान, बकस र किनबेचको कारण जग्गाको खण्डीकरण भइरहेको छ । सामान्यतयाः आफ्नो जग्गामा जे पनि गर्न वा केही पनि नगर्न व्यक्ति स्वतन्त्र छ । जग्गाको वर्गीकरण भएको छैन र सोही बमोजिम उपयोग गर्ने कुरालाई व्यवस्थित गर्न सकिएको छैन । जग्गा हुनेले खेती नगर्ने अनि खेती गर्नेलाई जग्गा नहुने विरोधाभास कामय छ । जग्गा लिजमा लिने वा अन्य प्रकारले जग्गाको भोगाधिकारलाई व्यवस्थित गरी जमिनको कृषिमा उपयोग गराउन सकिएको छैन ।
8. कृषिसँग किसान जोडिन्छन् । कृषिको विकासका लागि उनीहरू कृषि भूमिको आसपास अर्थात गाउँमा बस्नुपर्ने हुन्छ । गाउँमा आधुनिक पूर्वाधार नपुर्‍याई मानिसलाई गाउँमा फर्काउन र टिकाउन गाह्रो छ । गाउँमा यातायात, बिजुली, स्वच्छ खानेपानी, दूरसञ्चार, इन्टरनेट लगायतका भौतिक पूर्वाधार र शिक्षा र स्वास्थ्य लगायतका सामाजिक पूर्वाधारको विकास आवश्यक छ । वैदेशिक रोजगारीमा गएका परिवारका सदस्य छोराछोरी पढाउन गाउँ छोडी सहरमा आएर बसेका थिए । अब गाउँ फर्कंदा उनीहरुको शिक्षा अलमलिन्छ । गाउँमा निजी स्कुल चल्न नसक्ला, चले पनि कृषि क्षेत्रको आयस्तर कम हुने भएकाले कृषकले आफना छोराछोरीका लागि शिक्षा किन्न नसक्ला । यसमा त सरकारले नै ध्यान दिनुपर्छ ।अहिले नेपालको सरकारी शिक्षा प्रणाली गतिलो छैन । विद्यालयस्तरको शिक्षाको गुणस्तर निजी क्षेत्रका विद्यालयले धानेका छन् । शिक्षामा पहुँच र गुणस्तरको क्षेत्रमा धेरै काम हुन बाँकी छन् । स्वस्थ्य क्षेत्रको ताल पनि उही छ । कृषिको विकासका लागि गाउँमा आधुनिक सुविधा पुर्‍याउनै पर्छ । नत्र मानिस यही कारण सहरमा थुप्रने छन् र यसले राजनैतिक, आर्थिक र सामाजिक विचलन ल्याउन सक्नेछ ।गाउँमा सहरी पूर्वाधार पुर्‍याउन नसके कृषिको विकास फगत सपना मात्र हुनेछ ।
9. कृषि क्षेत्रको उत्पादकत्व अरू क्षेत्रको भन्दा कम छ । कुल जनसंख्यको दुई तिहाइ मानिस कृषिमा लागेका छन् र तिनले कुल गार्हस्थ उत्पादनको एक तिहाइ मात्र उत्पादन गर्छन् ।कृषिमा पूरा समय काम नहुने भएकाले अर्ध बेरोजगारी पनि थियो । यसैले कृषिमा लागिरहेका जनतालाई उद्योग वा सेवातिर लगाउने नीति यसअघि लिइएको थियो । कोभिड-१९को महामारीको समयमा स्वदेश र विदेशमा रोजगारी गुमाएका व्यक्तिका लागि रोजगारीको आधार फेरि कृषिलाई बनाएको देखिन्छ । अनि कृषिलाई आधुनिकीकरण गर्ने पनि भनिएको छ । यसरी कृषिलाई आधुनिक र प्रविधिमैत्री बनाउँदा कृषिमा कम श्रमशक्ति आवश्यक पर्छ । कम श्रमशक्ति प्रयोग हुने प्रविधि अपनाएर बढी श्रमिकलाई रोजगारी दिने क्षमता कृषिमा होला, नहोला, विचारणीय छ ।
सरकारले कृषिका लागि धेरै काम गरेको देखिन्छ । तर किसानको अवस्थामा तिनले खासै सकारात्मक प्रभाव पार्न सकेको छैन । कृषकहरू निर्वाहमुखी कृषिबाट अघि बढ्न सकेका छैनन् । कृषिक्षेत्रको विकासको लागि गठित संरचना र पूर्वाधार नै बोझिला र प्रभावकारी नभएकाले सरकारले दिएको सुविधा किसानसम्म पुग्न सकेको छैन ।सबैले कृषकलाई दुहुनो गाई बनाएका छन् । कृषकको आवाज आज सबभन्दा नसुनिने आवाज भएको छ । कोभिड-१९ कै संकटका समयमा पनि राहत र सहुलियत माग गर्दै अरू सब क्षेत्र मुखर भएका छन् ।किसान भने खेतबारी, खोर र गोठमै कर्मशील छन् ।
यी कठिनाइलाई हल गर्न नेपालको कृषि क्षेत्रमा रहेको अनन्त सम्भावनाबाट प्रेरणा लिनुपर्छ । भोलिको विश्व कोभिड-१९ पछिको विश्व हो ।यस अवधिमा मानिसको सोचाइ, अर्थतन्त्र, राजनीति र समाजमा ठुलो परिवर्तन हुने सम्भावना व्यक्त भएको छ । मिहिनेती नेपालीहरू परिश्रमका लागि तयार छन् । अझ विदेशबाट धेरथोर सीप पनि लिएर आएका छन् । अब आम जनतालाई भावी चुनौतीका लागि तयार पार्न सरकारले दिशानिर्देशकको भूमिका निर्वाह गर्नुपर्छ ।राजनीति नै सबै क्षेत्रको पहिलो व्यवस्थापक हो र सरकार नेतृत्वकर्ता । तीन तहका सरकारबाट कृषिको विकासका लागि उचित व्यवस्थापन र वातावरण मिलाउनु पर्छ । नेपाललाई स्विटजरल्यान्ड र सिंगापुर बनाउने नीति अरू नै हुन सक्लान्, गरिबबाट विकासशील देशमा रूपान्तरण हुने माध्यम भने कृषि नै हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *