2074 सालको चैतमा नेपाल राष्ट्र बैंकको जागिरबाट अवकाश पाएपछि नयाँ जीवनशैलीको खोजीमा लागें । बिहान 5-6 तिर उठ्ने, 8:30-9:00 भित्र खाना खाइसक्ने, अफिसबाट बेलुका 6-7 तिर फर्कने र 9-10 मा सुत्ने दैनिकीमा परिवर्तन आवश्यक थियो । अब दिउँसोको समय पूरै खाली थियो । समय कटाउनका लागि काम थिएन, गफ गर्ने संगत पनि छुटेको थियो ।नयाँ कामको खोजीमा लाग्ने सुर थिएन ।
यही अवस्थामा मैले केही लेख्न र ब्लगमा राख्न सुरु गरेको थिएँ । पहिला गुगलको एप्लिकेसनमा ब्लग राख्थे । त्यसपछि वर्ड एक्सप्रेसमा ब्लग राख्ने व्यवस्था छोराको सहयोगमा मिलाएँ । यसो गरेको करिब एक वर्ष भयो होला ।
यी एक वर्षमा मैले 45 वटा ब्लग राखेछु, कुनै नयाँ, कुनै पुराना गरेर । आफूले जानेका विषयवस्तु, साहित्यिक रचना, आत्मसंस्मरण, टीकाटिप्पणी यसका विषयवस्तु हुन् ! यसैले यो ब्लग खिचडी बनेको छ । यसमा मैले पस्किन सक्ने सबै छ । चौतारीमा गरिने गफको पनि त कुन खास विषय हुन्छ र ? जे मनमा आयो त्यही, जे मुड चल्यो त्यही ! यसरी मैले ब्लगलाई डिजिटल चौतारीको रुपमा लिएँ र गफ गर्ने थलो बनाएँ । यसले ब्लगको स्वादमा फरकपन ल्याउला अलि रुचिकर नै होला भन्ने विश्वास लिएको छु । यसमा म भन्न सक्छु, यहाँहरु पढ्न र प्रतिक्रिया दिन सक्नुहुन्छ । समय र स्थानको कारण टाढा रहेका हामी भर्च्युअल संसारमा भेला हुन सक्छौं र संवाद गर्न सक्छौं ।
उसो त, मेरो ब्लगका नियमित पाठक छैनन् भन्दा पनि हुन्छ । मैले फेसबुकमा सेयर गरेको लिङ्कबाट नै सबैजसोले पढेको पाएको छु । मेरा फेसबुकका साथीहरुमध्ये केही नै मेरा ब्लगका पाठक हुनुहुन्छ । फेसबुकको लिङ्कमा आउने लाइक र कमेन्टको संख्या नै एक सय नपुगेको अवस्थामा मेरो ब्लगका पाठकसंख्या निकै कम रहेको स्पष्ट नै छ । लाइक गर्नेहरू पनि सबैले पढ्नुभएको छैन होला जस्तो लाग्छ । फेरि लाइक र कमेन्ट नगर्नेले पनि पढेको पाएको छु । संख्या जेजस्तो भए तापनि मेरो आदरणीय व्यक्तित्वहरुदेखि मेरा साथी र भाइबहिनीलाई पनि मैले पाठकको रुपमा मैले पाउन सकेको छु। मैले ब्लग सुरु गर्दा दुईचार जना पाठक भए पुग्ने न्यूनतम मापदण्ड बनाएको थिए । यो मापदण्ड भने शानदाररूपमा पूरा भइरहेको छ ।
समय कम छ, त्यसैले यसको व्यवस्थापन चुनौतीपूर्ण छ ।समय दिनुपर्ने अनेकन काम र दायित्वका बीच मेरो ब्लग मेरा मान्यजन, शुभचिन्तक र साथीहरुको समय लिन टुपुल्किएको छ । तपाईंसँग महत्वपूर्ण काम छ, समय बिताउने अर्को अर्थपूर्ण साधन र उपाय छ भने मेरो ब्लगलाई तपाईंले अवश्य नै अनदेखा गर्नुपर्छ । तर तपाईंसँग समय छ तर त्यसकलाई उपयोग गर्ने सिर्जनात्मक साधन छैन भने यो ब्लग पनि एउटा उपाय हुनसक्छ । तपाईंको हातमा रहेको स्मार्ट मोबाइलबाट नै कसैलाई पर्खंदा वा कुनै खाली समयमा मेरो ब्लग पढ्न सक्नुहुन्छ । समय बिताउने राम्रो उपाय यस्तै निस्वार्थ वार्ता त हो नि !
यसैले पनि पाठक कम भएकोमा मेरो कुनै गुनासो पनि छैन । अहिले कसैलाई समय पुगेको छैन । बाउआमासँग छोराछोरीलाई दिने समय छैन, छोराछोरीसँग बाबुआमालाई दिने समय छैन । पल्लो घरको छिमेकीसँग बोल्ने समय नमिलेको महिनौ भइसकेको हुन्छ । समय दिन नसकेको बाहानामा ब्रेक अप र डाइभोर्स भइरहेका छन् । यस्तो अवस्थामा मेरो ब्लक कसले पढ्ने, किन पढ्ने र के फाइदाका लागि पढ्ने ? त्यसैले भेटघाटमा पनि म उतिसारो आफ्नो ब्लगको प्रचारमा समय खर्च गर्दिन । कसलाई के कुराले गिदी खाइरहेको होला, कहाँ मेरो ब्लग पढेर बस्नु ? मैले नै पनि त कतिपय पढ्छु भनेको कुरा पढ्न भ्याएको छैन । कसैले प्रसंग उठाएमा भने ब्लगका विषयमा कुरा हुन्छ । फेरि पनि, केही मान्यजन तथा साथीहरुले मेरो ब्लग रुचाउनु भएको छ र मेरो ब्लगले पाठक पाइरहेको छ । कमेन्टमा आएका थोरै भए पनि सारगर्भित प्रशंसाले मेरो मनलाई अनन्त उत्साह दिइरहन्छ ।
कतिपय महानुभावहरुले त पत्रपत्रिकामा लेख रचना छपाउन र पुस्तकाकार कृतितर्फ लाग्न पनि सुझाव दिनु भएको छ । ब्लगको कुवाबाट फुत्केर मिडियाको सागरमा पुग्नु राम्रो हो । तर मेरो कलम शायद त्यसका लागि योग्य भइसकेको छैन कि जस्तो लाग्छ । ब्लगमा लेख्दा पत्रिकामा जस्तो सम्पादकीय दृष्टिकोणसँग मत मिलाउनु पर्ने झन्झट पनि छैन, भनसुनको आवश्यकता पनि छैन । फेरि मसँग धेरै मानिसले सुन्नुपर्ने गरी भन्नुपर्ने कुरो पनि त छैन । पत्रपत्रिकामा लेख छापिएका लेखक महानुभावहरुले समेत आफ्नो लेख फेसबुकमा सेयर गर्नु भएको देखेर अब सामाजिक सञ्जालको लोकप्रियता र प्रभावकारिता बढ्दै गएको आँकलन पनि गरेको छु। त्यसैले पनि मैले ब्लगमा चित्त सानो पारेको छैन । मलाई आफ्ना साथीहरुसँग यसैगरी वार्ता गर्न पाए पुगिहाल्यो नि ! पुस्तकाकार कृतिको बारेमा सोचेको छैन भन्नु झुठो हुनेछ, तर त्यहाँभन्दा पर केही गर्न सकेको छैन ।
एक जना मित्रले फेसबुकमा लिङ्क भएको मेरो ब्लग ब्लग फेसबुकमै सेयर गर्न अनुमति माग्नु भयो । उहाँको आग्रहलाई मैले तत्काल सहर्ष स्वीकार गरेँ । यसअघि कतिपय साथीले त्यसरी ब्लगको लिङ्क सेयर गरे पनि अनुमति माग्नु भएको थिएन, मेरो विचारमा आवश्यक पनि थिएन पनि । ब्लग मेरो भए पनि यो सार्वजनिक चीज हो । सबैले पढ्न, सेयर गर्न र अन्य तरिकाले सदुपयोग गर्न सक्नुहुनेछ । यसको लागि कुनै बन्देज छैन । दुरुपयोग हुन नहुने विषयलाई मात्र शर्तको रुपमा राख्दा हुन्छ ।
निकै जोश र जाँगरको साथ ब्लग सुरु गरेँ । केही पाठक पाएँ, केही प्रशंसा र शुभेच्छा कमाएँ । अहिले फर्केर हेर्दा त्यो जाँगर अलि घटेर गएको हो कि जस्तो पनि लाग्छ । मान्छेको मन न हो, कहिलेकाहीँ त यो ताइँ न तुँइको सोख छोडौं जस्तो पनि लाग्छ । अहिलेसम्म कति जन्मे, कतिले लेखे, कतिले सुनाए । दिनहुँ निस्कने सयौं अनलाइन र अफलाइन पत्रिकामा हजारौं सामग्री प्रकाशित भइरहन्छन्, अनेकौं रेडियो र टेलिभिजनले अनेकौं कुरो भनिरहन्छन् । कसले पढ्छ होला, कसले सुन्छ होला जस्तो पनि लाग्छ । अचेल त लेख्ने र भन्नेको होइन, बरु सुन्नेको र पढ्नेको पो दुःख छ ! त्यसैले मौनताको मार्गमा लागौं जस्तो पनि लाग्छ, संसारबाट बेखबर, अलग, एकान्त र सुनसान जीवनशैलीको बाटोतिर । तर फेरि कानमा एउटा गीत गुञ्जिरहन्छ र मलाई जानीनजानी केही लेख्न उत्साह दिइरहन्छ….
एक दिन बिक जाएगा माटी के मोल
जग में रह जायेंगे प्यारे तेरे बोल
दुजे के होठों को देकर अपने गीत
कोई निशानी छोड, फिर दुनियाँ से डोल।
एक दिन…
