आजभन्दा उनन्चालिस वर्षअघि बाको देहावसान हुँदा म अठार वर्षको थिएँ । त्यति वेलासम्म घरको सारा जिम्मेवारी बाले नै सम्हालिरहनुभएको थियो । खेतीपाती र गाईवस्तुको कामचाहिँ उहाँले केही वर्षअघिबाट छोड्नुभएको थियो । किनमेल गर्न लाहान जान पनि छोड्नुभएको थियो । तर घरको रिनधन उहाँकै थाप्लोमा थियो, परिवारको अन्तिम जिम्मेवारी उहाँकै काँधमा थियो । लाहानको कपडा व्यापारीसँग भएको उधारो खातामा पनि उहाँकै नाम थियो होला । उहाँ जति कमजोर हुनुभएको भए पनि हाम्रो लागि उहाँ दरिलो भर हुनुहुन्थ्यो । बालाई गुमाउनु पर्दा स्वाभाविकरूपमा नै हामी सबै पिरमा थियौं, चिन्तित बन्यौं, रोयौं, करायौं ।
बालाई गुमाएको केही समयपछि हामीले चित्त पनि बुझायौं । “बा पहिलादेखि नै कमजोर हुनुहुन्थ्यो, बुढो हुनुभयो, बिरामी पर्नुभयो, जानुभयो” भन्ने सोच्यौं । आज सम्झन्छु, त्यहाँ चित्त बुझाउने ठाउँ नै रहेनछ, बा बुढो हुनुभएको रहेनछ । आज म करिबकरिब बा स्वर्गवासी हुनुभएको उमेरमा छु र अझै समय छ भनेर सोचिरहेको छु । मेरो के कुरा, म भन्दा बीसपच्चिस वर्ष जेठा मानिसहरू हामी बुढा भएका छैनौ भनेर रेडियो टेलिभिजनमा बोलिरहेका छन् । बाको त के उमेर भएको रहेछ र ! उचित सह्यारबिनाको बाल्यकाल, संघर्षपूर्ण युवावय, कृषिकर्मका कहिले नसकिने परिश्रमले गाँजेको गृहस्थी ! यिनै अप्ठेरा र असजिलाहरूले बालाई असमयमा नै बुढो बनाइदिएको रहेछ । उसो त, सानो बच्चालाई त आफूभन्दा जेठो जति सबै बुढो लाग्छ । बस्, हामीलाई त्यही भएको रहेछ ।
बा रोग लागेरभन्दा पनि उपचार नपाएर जानुभएको रहेछ । त्यो आजको जमाना त थिएन तर औषधिमूलोको सुविधा नेपालमा पनि प्रशस्तै आइसकेको थियो । काठमाडौंका वीर अस्पताल र पाटन अस्पताल त धेरै पुराना संस्था हुन्, शिक्षण अस्पतालको पनि त्यो वेला स्थापना भइसकेको थियो । निजी अस्पताल र क्लिनिक पनि थिए होलान् । हामीलाई पायक पर्ने जनकपुर वा विराटनगरमा पनि राम्रै स्वास्थ्य सुविधा थियो होला । तर बुवा समय छँदै स्थानीय स्वास्थ्य चौकीभन्दा पर जानसक्नु भएन । हाम्रो आर्थिक क्षमता, सम्पर्क (नातागोता, इष्टमित्र) र हिम्मत त्यहाँबाट टाढा जानसक्ने थिएन ।
बालाई सुन्निने रोग लागेको थियो । अहिले सुन्छु, सुन्निनु कुनै विषेश रोग होइन, मुटु, मिर्गौला वा कलेजोको खराबीले शरीर सुन्निन्छ । के कारण बा सुन्निनुभएको थियो, मलाई आजको मितिसम्म थाहा छैन । अब कहिले पनि थाहा हुँदैन । हामी उपचारका लागि उदयपुरगढीको स्वास्थ्य चौकी जान्थ्यौं, रामप्रसाद डाक्टर साहेब (स्वर्गीय रामप्रसाद ढुङ्गेल उदयपुरगढीको स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक हुनुहुन्थ्यो) ले लेखिदिनुभएको पुर्जा बोकेर लाहान पुग्थ्यौं, औषधि किनेर ल्याउँथ्यौं र बालाई खुवाउँथ्यौं । लाहान जाने र आउने चक्करमा नेपालटारबाट लाहान (करिब ८ घण्टाको बाटो) एकै दिनमा पुगेर फर्कन पनि सकेको छु । हाम्रो अवस्थालाई दृष्टिगत गरी आफ्नो क्षमताले भ्याएसम्म रामप्रसाद डाक्टर साहेबले बाको उपचार गर्नुभयो । हामीलाई सान्त्वना पनि दिनुभयो । हामी उहाँप्रति कृतज्ञ छौं । उहाँले “मबाट उपचार हुन सक्दैन, तपाईंहरूले बाहिर लैजानुपर्छ” भन्नुभएको भए हामीलाई कति तनाव हुन्थ्यो होला ! उहाँले सधैं अहिले राम्रो औषधि लेखिदिएको छु, अब निको हुन्छ भनेर आँट बढाइदिनु भयो । अहिले हेर्दा त्यो बिरामीलाई धोका जस्तो लाग्नसक्छ । धोका भए पनि त्यो हामीलाई चाहिएको धोका थियो । अहिले सम्झन्छु, त्यस क्रममा उहाँले बाको रोगको उपचार कम, हाम्रो विवशताको उपचार धेरै गर्नुभएको थियो ।
उहाँलाई नुन नखान भनिएको थियो, नुन छोड्न कठिन थियो । हामीले अनुनय विनय गरेर मनाएका थियौं । एकपटक त मैले म पनि नुन छोडेर नैतिक दबाब दिएको थिएँ । अरूलाई नुन नखाऊ भन्नेले नुन नखानु भनेको के हो भनेर बुझ्नु पनि त पर्यो नि ! तर उहाँले नुन खान छोड्नु भो । घरमा दहीदूधको व्यवस्था जसोतसो मिलाइयो । लैनो गाई किन्ने पैसा थिएन । एउटा गाई थाकेपछि त्यो गाईमा अरू गाईबाच्छा थपेर हामी लैनो गाईसँग साट्थ्यौं । यो तरिकाले गाईको बगाल त घट्यो तर दुहुना टुटेन ।
२०४२ सालको माघमा भने हामी काठमाडौं आयौं । मावली दाइ (कृष्णप्रसाद दाहाल) काठमाडौंमा जागिरे हुनुभएपछि र म पनि एकपटक काठमाडौं पुगेर फर्केपछि मलाई बालाई लिएर काठमाडौं जाने आँट आयो । काठमाडौंको शिक्षण अस्पतालका डाक्टरले केही औषधि लेखेर पठाएका थिए । हामी अस्पतालबाट ढुक्क भएर फर्केका थियौं । त्यही ढुक्क भएको दह्रो मुटु लिएर बा एक्लै नेपालटार फर्कनुभएको थियो । म मास्टरको जागिरको खोजीमा रसुवा लागेको थिएँ । हामी ढुक्क हुनु र बालाई एक्लै फर्काउनु अबोधपना रहेछ । डाक्टरले औषधि होइन, सान्त्वना दिएका रहेछन् । हामी धेरै ढिलो भइसकेका रहेछौं । त्यसको तीन महिना नपुग्दै बाको देहावसान भयो । बाको उपचारमा सहयोग पुर्याउनुहुने कृष्ण दाइ, पूर्ण दाइ (पूर्णराज कार्की) र विष्णु दाइ (विष्णुप्रसाद ढुङ्गाना) प्रति सधैं कृतज्ञ छु ।
बाको काठमाडौंको यात्राको अरू महत्त्व पनि छ । उहाँ जीवनमा फेरि अर्कोपटक काठमाडौं आउनु भयो । पशुपतिनाथको दर्शन गर्नुभयो ।उहाँलाई बिर्सिसकेका केही बन्धुबान्धवलाई भेट्नुभयो र उनीहरूलाई एकछिन नोस्टाल्जिक बनाइटोपल्नु भयो। कुनै समयमा आएको काठमाडौंसँग त्यो काठमाडौंको तुलना गर्नुभयो (तर केही भेउ पाउन सक्नुभएन) । काठमाडौं धेरै अगाडि बढिसकेको थियो । मैले पनि बासँग डिल्लीबजारको फोटो स्टुडियोमा फोटो खिचाएँ । बा र मेरो त्यो फोटो निकै पछिसम्म मसँग थियो । (तर अहिले भेट्दिन । स्टुडियोले दिएको त्यो फोटोको नेगेटिभको नम्बर टिपेर राखेको थिएँ, अझै पनि छ । त्यो नम्बर लिएर ४ वर्षअगाडि फोटो स्टुडियो गएको थिएँ । स्टुडियो नै बन्द भइसकेछ ।) ती सबैभन्दा ठुलो कुरो, झुटै सही, हामी सबैमा एउटा आशाको सञ्चार भयो ।
काठमाडौं आएको वेला एकपटक वैद्यलाई पनि देखाउँ न त भन्ने सल्लाह भयो । बागबजारको श्रीकृष्ण औषधालयमा उहाँलाई लिएर गयौं । “चुरोट छोड्नुस् बा अब” बैद्यले भने । बा चुरोट त खानुहुन्न थियो । बिँडी खानुहुन्थ्यो, त्यो पनि किनेर हैन, आफैं बनाएर ! साल वा भोर्लाको पातमा सुर्ती बेरेर बिँडी बनाइन्थ्यो । चुरोट त निकै टाढाको कुरा थियो । तर सायद बैद्यलाई बिँडी थाहा थिएन, उनले चुरोट नखानू भने । चुरोट नखानू भन्ने अर्तीलाई शिरोपर गरेर बाले बिँडी खान पनि छोड्नु भो । बाको यो अठोटले हामीलाई नै अचम्म पार्यो ।
आज सम्झन्छु, जीजीविषा कति बलशाली हुन्छ । बाले कति वर्षदेखि बिँडी खान थाल्नु भएको थियो होला ! बिँडीको धुवाँसँगै कति सन्ताप उडाउन खोज्नु भयो होला ! बिँडीको सर्कोसँगै कति जाँगर तान्न खोज्नु भयो होला ! बिँडीसँग मित्रता साट्नुभो होला । बिँडी सल्काइ मागेर साथ पाउनु भयो होला, बिँडी सल्काइदिएर साथ दिनुभयो होला ! लाहान जाँदा बनाइने मौखिक खरिदसूचीमा सुर्ती कति वर्षदेखि प्राथमिकतामा थियो होला ! तर उहाँले बिँडी चटक्क छोड्नु भयो । उहाँले बिँडी छोड्नुस् भन्ने हाम्रो पनि चाहाना थियो । तर आज सम्झन्छु किन गर्नुभयो त्यो त्याग !
बा दुईतीन वर्ष बिरामी पर्नुभयो । ओछ्यान नै त अन्तिम समयका केही दिन मात्र पर्नुभयो जस्तो लाग्छ । ओछ्यान परेपछि पनि आमाले लाहान लैजानु भएछ, यो पल्टचाहिँ उहाँलाई बोकेर पुर्याइएको रहेछ । म त मास्टरको जागिर खान रसुवा पुगेको थिएँ । बा सिकिस्त हुनुभएको खबरपछि नेपालटार आउँदा भने उहाँलाई ओछ्यानमा भेटेँ ।उहाँ अङ्गुरको जुस भनिएको बोतलको केही बिर्को झोलको भरमा हुनुहुन्थ्यो ।होशमा र अलिअलि बोल्न पनि सक्ने अवस्थामा मैले उहाँलाई भेटेको थिएँ । लाहानबाट उहाँलाई घरै फर्काउन सुझाव दिइएको रहेछ । काठमाडौंबाट फर्केको तीन महिनामा उहाँको अवस्था धेरै खराब भइसकेको रहेछ ।
आफन्तलाई मृत्युशैय्यामा देख्दा मन उसै कातर भएर आउँछ । मानिस आफूलाई सबभन्दा निरूपाय यही अवस्थामा पाउँछ । हाम्रा सबै शक्ति र सामर्थ्यको सीमा मृत्यु हो । हाम्रो शक्ति र प्रेम त्यहाँ महत्त्वहीन हुन्छन् । हामी पनि यस्तै शक्तिहीन माया मुटुमा लिएर उहाँको साथमा बस्यौं । नियतिको चक्र त्यहीँ रोकिनेवाला थिएन । बा काल कवलित हुनुभयो । हामीले बालाई गुमायौं ।
हामीलाई अहिले पनि थाहा छैन, बालाई कुन रोग लागेको थियो ?
