भियतनाम यात्राः हानोईमा तीन दिन

‌ओल्ड क्वाटरको साँझ

दानाङबाट साढे एघार बजेका लागि निर्धारित हानोई जाने प्लेन एक घण्टा ढिलो भएकाले हामी हानोईको होटलमा पुग्दा तीन बजिसकेको थियो । होटलमा पगेर त्यही दिन अपरान्ह हानोइको नजिकैको इलाका घुमाउन लैजाने गाइडसँग सम्पर्क गरें । उनले पाँच बजेका लागि समय दिए।

पाँच बजेसम्मको समय सदुपयोग गर्न हामी बाहिर निस्कियौं । एयरपोर्टबाट आउँदा नै हाम्रो होटल वरिपरी पनि बजार छ भन्ने थाहा भइसकेको थियो । यसो मेड इन भियतनाम लेखेको पसलमा गएर पातलो ज्याकेट र चप्पल किनें । मोलमोलाइ पनि चल्दो रहेछ । यसरी नजिकको बजारको एक चक्कर लगाएर पाँच बजेअघि नै होटलमा फर्कियौं ।

गाइड होटलको लबीमा आइसकेका रहेछन् । हाम्रो होटल भएको ओल्ड क्वाटर एरियामा उनले पैदलै घुमाउने रहेछन्। पुरानो सहर, घडेरीको सडकतिरको मुख धेरै भयो भने धेरै कर तिर्नुपर्ने कुनै जमानाको नियमको कारणले सडकतिर सानो गल्ली राखेर लामो गल्लीको भित्र बनाएका घरहरू, रेस्टुराँ,  होटल र पसलहरू, लोकल मार्केट, इतिहासको कुनै कालखण्डमा  बिचभागबाट राजा मात्र हिँड्न पाउने चारवटा गेटमध्ये युद्धमा नष्ट हुन बाँकी एउटा गेट, होआन केयम तलाउ पुगियो । बिचबिचमा खत्र्याङमत्र्याङ किनमेल गर्ने कामले निरन्तरता पाइरह्यो । थप पैसा पनि यही घुमफिरको क्रममा साटें ।

(Hoan Kiem Lake)

उनले घुमाउँदै ट्रेन स्ट्रिट पनि पु¥याए । हामी त्यहाँ करिब साँझको ७ बजे पुगेका थियौं । साढे सातमा आउने ट्रेन हेर्न छेउछाउका रेस्टुराँ र पसलमा मानिसको भिडभाड थियो । तर त्यो बेलासम्म रेल वे लिकबाट मानिसलाई हटाइएको थिएन । विभिन्न पोजमा फोटो खिच्ने काम भइरहेको थियो । हामीले पनि फोटो खिचायौं । साढे सातको ट्रेन पर्खन मन लागेन । भोक पनि लागिसकेको थियो । हामी एउटा भारतीय रेस्टुराँमा गयौं र भेजिटेवल बिरियानी खाएर फर्क्यौं । नृसिंह हरि दाहाल, तारा दाहाल र कृष्ण पोखरेलको टोली पनि बाली भ्रमण सकेर आजै त्यही होटलमा आउनेवाला थियो । उहाँहरू अबेला आइपुग्ने भएकाले भेट भएन । हाम्रो विदेश यात्रा गर्ने सुकेको रहरमा पानी हालेर हरियो पार्ने टोली यही थियो ।

(Train Street)

हालोन बे क्रुज

दोस्रो दिन बिहानको खाजा अर्को टोलीका साथ खाइयो । बिहानै हालोन बे क्रुजमा जाने कार्यक्रम थियो । त्यो दिन उहाँहरूको पनि क्रुजमा जाने दिन थियो तर बुकिङ  समय फरक परेकाले क्रुज पनि फरक परेछ । करिब चार घण्टाको बस यात्रापछि हामी क्रुज बोर्ड गर्न स्थानमा पुगेका थियौं । बिचमा गहनाको सो रूपमा पनि रोकेको थियो, लघुशङ्काबाट निवृत्त भई गहना पसलबाट लाभान्वित भयौं ।

बोर्डिङ स्थलमा बसले उतारेपछि म अलमलमा परें । अब के भन्ने टुङ्गो लागेन । मैले मलाई छोड्ने बसलाई रोक्न इशारा गरें । उसले रोक्यो र गाइड ओर्लेर मलाई क्रुजको स्टाफसँग भेटाइदियो । यसो त्यहीं सोधखोज गरेको भए पनि हुने रैछ । तर गाइड गुडेको गाडीको सिसाबाट मेरो सङ्केत बुझेर झर्यो र मेरो समस्याको समाधान गर्यो । मलाई यो ठुलो निकै सराहनीय कुरा लाग्यो । आफ्नो ग्राहकको निकै राम्रो हेरचाह हो यो ।

एक पर्खेपछि सानो डुङ्गामा चढेर हामी अलि ठुलो डुङ्गा (क्रुज) मा पुग्यौं । सानो डुङ्गामा जाँदा बाजागाजाका साथ स्वागत गरिँदो रैछ । बालीमा चैं सबैलाई चुवाको फूल कानमा सिउरिदिएको सम्झना भयो । यही क्रुजमा हाम्रो आगामी बाइस घण्टा बित्नेवाला थियो । यो समुद्री यात्रा त थिएन । हालोन बे नामक समुद्री खाडीको यात्रा थियो तर भूपरिवेष्ठित देशको नागरिकको लागि यो अचम्मको कुरा थियो ।

(Our Cruise)

क्रुजमा वेलकम ड्रिङ्क र लञ्चले पर्खिरहेको रहेछ । क्रुजमा सबैभन्दा माथि डेक भइहाल्यो, त्योभन्दा तल रेस्टुराँ थियो, त्यसमुनिका दुई तलामा भने कोठाहरू थिए । जम्मा २० वटा कोठा रहेछन् । लञ्चपछि हामीलाई कोठाको साँचो दिइयो । सबै सुविधा भएको सानो कोठा रहेछ । झ्यालबाट समुद्रको छनकदिने जलराशि, पानीको बिचमा उभिएका सासाना निर्जन टापुहरू र अरू जहाजहरूको रमित हेर्न पाइँदो रहेछ ।

(From the Cruise Deck)

त्यो दिन दिउँसो हामी टि-टप बिचमा पुग्यौं । त्यहाँ उतारेर हामीलाई बिच वरिपरी हिँड्ने वा डाँडाको टुप्पोमा हिँडेर फर्कने विकल्प दिएको थियो । म माथि नै पुगें, मुना उकालो चढ्न सकिनन् र बाटैमा पर्खेर बसिन् । म माथि हाम्रा साथीहरू फर्कँदै हुनुहुँदो रहेछ, फेरि रमाइलो भेट भयो । म पनि माथि पुगेर फर्कें । बाटोमा मुना र ती साथीहरू मलाई नै पर्खेर बसिरहनु भएको थियो । हामीले एक क्लिक फोटो खिचायौं र आआफ्नो क्रुजतर्फ लाग्यौं । हामी त्यसपछि अर्को डुङ्गामा चढ्यौ । त्यसले पहाडको बिचमा परेको प्वालबाट डुङ्गालाई छिराएर घुमाउँदै फर्काउँदो रहेछ । 

(With Freinds at T-Top Beach)

साँझमा रमझम, खानपिन र नाचगानको कार्यक्रम पनि थियो । हनिमुनको लागि आएका एक जोडीको हनिमुन उत्सव पनि क्रुका सदस्यहरूले मनाइदिए । बाहिर निस्केर सानो डुङ्गाबाट नक्कली बल्छी हान्ने सुविधा पनि थियो । तर चिसोको याम भएकाले ती कार्यक्रम त्यति तात्न सकेन । भोलि बिहान सवा छ बजे डेकमा ताइची सिकाइने, त्यसपछि ब्रेकफास्ट हुने र सुङ सोट केभतिर जाने सूचनाका साथ हामी कोठामा फर्क्यौं ।

सुङ सोट गुफा

बिहान हामी डेकमा पुग्दा ताइ ची सुरू भइसकेको रहेछ । हामी अलि ढिला नै पुगेका थियौं । एकछिन गाइडको तालमा जिउ हल्लाएर हामी खाजाका लागि तल झ¥यौं । खाजा खाएर हामी गुफातिर लाग्यौं ।

क्रुजबाट कतै जानुपरेमा सानो डुङगाको सहारा लिनुपर्थ्यो । त्यो डुङ्गाबाट गुफा भएको पहाडतिर आँखा लगाउँदा डाँडाको बिचमा सानो चेप देखियो । मलाई दुप्चेश्वर महादेव दर्शन गर्न जाँदाको सम्झना आयो । गुफा सानो, हल्ला ठुलो ! मैले यही सोचें । सानो कुरालाई पनि आकासपाताल जोडेर बढाइचढाइ गर्नु पर्यटन व्यवसायको विशेषता नै हो पनि !

सानो डुंगाबाट उत्रेर माथितिर चढ्दै गयौं । गुफाको द्वारबाट भित्र पसेपछि चाहिँ मलाई हलेसी महादेवको सम्झना भयो । गुफा ठुलै रहेछ । पहिला माछा मार्ने मानिसहरू यस गुफामा बस्थे र यहींको पानी खान्थे भनेर गुफाभित्रकै सानो पोखरी देखाएपछि चाहिँ ‘ए गाँठे’ जस्तो लाग्यो ! पछि मछुवारहरूलाई अन्यत्र पुनर्वास गराई यो गुफालाई विश्वसम्पदा सूचीमा समावेश गरिएको जानकारी पाएपछि चाहिँ म झस्कें ।

गुफाभित्र पस्दै जाँदा आश्चर्यको आयतन बढ्दै गयो । विभिन्न घुम्ती, साँघुरो बाटो र फराकिलो गुफा हुँदै हामी अघि बढ्दै गयौं । चुनढुङ्गाले बनाएका अनेकन आकृतिहरू भित्ता र छतमा देखिन्थे । बिचबिचमा कलात्मक खम्बा जस्ता आकृति पनि थिए । गाइडले सिंह, हात्ती, मानव प्रजनन अङ्ग आदिसँग मिल्दाजुल्दा आकृति चिनाइरहेका थिए । उज्यालको लागि गुफामा बिजुलीको व्यवस्था गरिएको थियो । हामी आश्चर्यका साथ सो गुफालाई नियालिरहेका थियौं । साँच्चै अद्भुत गुफा रहेछ । हामीकहाँ त्यस्तो गुफा भएको भए कतिवटा धर्म, कुनकुन अवतार, कतिवटा भूतप्रेतसँग त्यसलाई जोडिन्थ्यो होला । त्यहाँ विशुद्ध प्राकृतिक पर्यटकीय स्थलको रूपमा त्यो प्रतिष्ठित थियो ।

(Inside Sung Sot Cave)

गुफाभित्र फोटो खिचाउने व्यवस्था रहेछ । फोटो खिचाउन र फोटो अङ्कित कि-रिङ उपहारमा पाइँदो रहेछ । धुलाएको फोटो लिन चाहेमा भने पैसा तिर्नुपर्ने रहेछ । बाहिर निस्कने गेटमा हामीलाई उपहार दिए र फोटो लिने कि नलिने भनेर सोधे । फोटो किन्नु अनिवार्य होइन भनेर स्पष्टरूपमा भने । त्यहाँ कुनै तरिकाले जबर्जस्ती गरिएको थिएन । हाम्रोमा केही वर्षअघिसम्म कायम रहेको बसपार्कमा झोला खोस्ने चलन हट्यो कि यथावत् छ भन्ने भावना मनमा आयो । त्यति टाढा पुगेर त्यस्तो अचम्मको ठाउँमा किनिएको फोटो थियो त्यो । हामीले फोटो लियौं ।

ब्रन्च (न खाजा न खाना) खाएर हामी क्रुजबाट बिदाबारी भयौं । अचम्म लाग्यो, हिजो आएको यो क्रुज हामीलाई त आफ्नै घर जस्तो लागिसकेछ । आफ्ना चिरपरिचितसँग छुटेर हिँडेको जस्तो अनुभूति भयो ।

हामी किनारामा आइसकेका थियौं । मेरो सेल्फीस्टिक छुटेको थाहा भयो । अब कसरी लिन जाने ? माया मार्नुको विकल्प थिएन । ठिकै छ, भ्रमण पनि त सकिन लाग्यो भनेर चित्त बुझाएर बसिरहेको थिएँ । हाम्रा गाइडले मलाई उनको मोबाइलमा मेरो सेल्फीको फोटो देखाएर ‘तिम्रो हो’ भनेर सोधे । उनी अर्को टिम तयार गर्न किनारामा आएका थिए होलान् । मैले हो भनें । आफ्ना सामान नछुटाउनु होला भनेर उनले दिएको पटकपटकको सुझाव अवज्ञा गर्ने अटेरी यात्रु सायद म मात्र थिएँ होला । लज्जाबोध पनि भयो । एकछिनमा उनले सेल्फी स्टिक मलाई दिए । अरू यात्रुका लागि आवश्यक सामग्री क्रुजसम्म पु¥याउने डुङ्गामार्फत त्यो स्टिक ल्याइएको थियो होला ।

हामीलाई फेरि करिब चार घण्टाको यात्रा गरी हानोई पुग्नु थियो । बिचमा बाँस र रेशमबाट बनेका कपडाहरूको सोरूममा पनि हामी रोकियौं । आगोको जोखिम कम हुने, पानी बढी सोस्ने, निचोर्दा पानी नरहने, हावा छिर्ने जस्ता बाँसका कपडाका थुप्रै विशेषता रहेछन् । नेपाली पाँच हजारबाट सुरू हुने टि-सर्ट किन्ने आँट आएन । तीन बाउछोरा भएको परिवारमा एउटा टी-सर्ट किनेर पार लाग्ने कुरा पनि थिएन । नेपालका सामान्य पसलमा जाने हो भने पाँच हजारमा त शिरदेखि पाउसम्म ढाकिन्छ भन्ने सोचियो ।

फेरि ओल्ड क्वाटर

क्रुजबाट फर्केपछि साँझमा सकुन्जेल घुम्ने हाम्रो योजना थियो । हाम्रा साथीहरू पनि आइपुगिहाल्नुहुन्थ्योक्ष र घुम्नका लागि तयार नै हुनुहुन्थ्यो । अस्ति हामीलाई गाइडले घुमाएको हुनाले हामीलाई बाटो र बजार बारे केही सुझबुझ पनि थियो ।

हामी ओल्ड मार्केट घुम्दै गयौं । अस्ति ट्रेन स्ट्रिट पुगेका थियौं तर ट्रेन हेर्न पाएका थिएनौं । आज ट्रेन पनि हे¥यौं । यसो केही किनमेल पनि गर्न खोज्यौं । मोलमोलाइ गर्ने तरिका थाहा नभएर पनि अलिअलि महँगोमा प¥यौं होला । कतै पटक्कै घट्न नमान्ने, कतै हामीले भनेकै मोलमा दिइहाल्ने ! महँगो सस्तोभन्दा पनि यसो यहाँ आएको चिनो भनेर केही टी-सर्टहरू किन्यौं । काठमाडौंमा ट्राभल एजेन्टलाई मैले ‘भियतनाममा किनमेल कत्तिको सस्तो पर्छ’ भनेर मैले सोधेको थिएँ । उनले ‘तपाईंको बार्गेनिङ क्षमतामा भर पर्छ’ भनेकी थिइन् । उनलाई सम्झें तर मोलमोलाइको सीप तत्काल विकास हुने कुरा थिएन ।

आइतबारको साँझ त्यहाँ रात्रिबजार खुल्दो रहेछ । रात्रि बजार घुम्दाघुम्दै हामी साथीहरूसँग छुट्टियौं । अबेला होटल फर्केर सुत्यौं । त्यो साँझ यहीँबाट लगेको चाउचाउ खाएर गुजारा गरियो ।

भोलिपल्ट बिहानै खाजा खाएर सिंगापुर हुँदै घर फर्कन एयरपोर्टतिर लागियो । त्रिभुवन विमानस्थलमा करिब साढे नौतिर हामी ‌ओर्लिएका थियौं । यसरी हाम्रो भियतनाम यात्रा समाप्त भयो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *