महाभारतको युद्धमा भारतवर्षको सबै वैभव विनाश भयो । ज्ञान र विज्ञानका शाखा प्रशाखाहरू पनि धूमिल भएर गए । एक से एक राजामहाराजा, वीर महापुरूष, गुरु र आचार्यहरू त्यो युद्धमा मारिए । युद्धको केही समयपछि यदुवंशीको पनि पतन भयो । श्रीकृष्ण पनि मारिए । द्वापर युगको अन्त्य भयो र कलिको प्रारम्भ भयो ।
यति भयावह युद्धको कारण के थियो ? धृतराष्ट्रलाई राजा नबनाएर उनका भाइ पाण्डुलाई राजा बनाउने समयमा भएको चतुर्याइँ ? आखिर पाण्डुको निधनपछि त उनै धृतराष्ट्र राजा हुन योग्य भए त ! पाण्डुको असामयिक मृत्युले निम्त्याएको दरबारी षडयन्त्र ? धृतराष्ट्र राजा भएपछि त स्वाभाविक रूपमा दुर्योधनलाई युवराज घोषित गरिनुपर्ने हो नि ! किन र कसरी युधिष्ठिर युवराज घोषित भए ? शकुनीको कपट र उनको मायावी पाशा ? द्रौपदीको अद्भूत सौन्दर्य र उनको कठोर वचन ? आफ्ना फुपूका छोराहरू हस्तिनापुरका राजा हुन् भन्ने श्रीकृष्णका स्वार्थ ? अनेक कुरा हाम्रो मनमा आउँछन् । हुन पनि कुनै पनि घटनाका पछाडि अनेक कारण हुन्छन् – तात्कालीक कारण, दीर्घकालीक कारण, आर्थिक कारण, सामाजिक कारण, मनोवैज्ञानिक कारण आदि । एउटा हातले ताली बज्दैन पनि ।
कतै महाभारत युद्धको कारण हस्तिनापुर दरबारमा दिइएको शिक्षा त थिएन ? यसको अन्तरकुन्तरमा गुरु द्रोणाचार्य र उनको शिक्षादीक्षाको भूमिका त थिएन ? म यस ब्लगमा त्यसका सम्भाव्यताबारे केही चर्चा गर्नेछु ।
को थिए गुरु द्रोणाचार्य ?
द्रोण महर्षि भरद्वाजका छोरा थिए । उनकी आमा घृताची नामकी अप्सरा थिइन् । द्रोणको जन्म आकस्मिकरूपमा भएको थियो । अप्सरा पुत्र भएकाले उनल आमाको स्नेह पाउन सकेनन् (अप्सराहरू स्वर्गबाट आएर तपस्वीको ब्रम्हचर्य भङ्ग गरी पुनः स्वर्ग नै जान्थे) । द्रोणले बाबु महर्षि भरद्वाज र बाबुका चेता अग्निवेश्यबाट वेद, वेदाङ्ग र अस्त्रशस्त्रको शिक्षा लिएका थिए । उनले राजा द्रुपदका साथ शिक्षा हासिल गरेका थिए । पछि गएर उनले परशुरामबाट पनि चलाउने तरिका, रहस्य र अन्त्यविधिका साथ विभिन्न शस्त्रअस्त्र प्राप्त गरे ।
उनले कृपाचार्यकी बहिनी कृपीसँग विवाह गरे । त्यतिन्जेल उनी बाबुको आश्रममा नै रहेका थिए । उनीहरूबाट अस्वत्थामा नामको छोरा जन्मियो । छोरालाई दूध खुवाउन उनीसँग गाई थिएन । कतैबाट कुनै जोगाड नलागेपछि उनी आफ्ना मित्र द्रुपदसँग गए । द्रुपद राजा भइसकेका थिए । बालककालमा सँगै पढ्दा द्रुपदले द्रोणाचार्यलाई ‘म राजा भएपछि मेरो राज्य, सम्पत्ति र सुख सबै तिम्रो शरण’ हुन्छ भनेका रहेछन् । द्रोणाचार्यले मित्रताको नाता लगाए तर द्रुपदले त्यो वाचा र मित्रतालाई इन्कार गरे । द्रुपदको यो व्यवहारबाट रन्थनिएर द्रोणचार्य जेठान कृपाचार्यको आश्रममा गई लुकेर बसे । उनको मुटु बदलाको भावनाले उम्लिरहेको थियो ।
कृपाचार्य र कृपीलाई राजा शन्तुनुले भेटेर दरबारमा ल्याएका थिए । उनीहरू शरद्वान ऋषिका सन्तान थिए । पछि ती ऋषि दरबारमा आए र आफ्ना छोरालाई उचित शिक्षादीक्षा दिए । कृपाचार्यले नै सुरूमा कौरव र पाण्डवका छोराहरूलाई शिक्षादीक्षा दिएका थिए ।
कसरी बने द्रोणाचार्य कौरव र पाण्डवका गुरु ?
द्रोणाचार्य हस्तिनापुरमा जेठान कृपाचार्यको आश्रममा बसिरहेका थिए । यस्तैमा हस्तिनापुरका सबै राजकुमारहरू खेल्दै गर्दा उनीहरूको भकुन्डो अचानक गहिरो कुवामा खस्यो । उनीहरूले त्यो निकाल्न सकेनन् । उनीहरूले नजिकै रहेका द्रोणाचार्यलाई उनीहरूले भकुन्डो निकाल्न आग्रह गरे । द्रोणाचार्यले भकुन्डो निकाल्न नसकेकोमा ती राजकुमारहरूलाई लाञ्छित गरे र खानाको व्यवस्था भएमा भकुन्डो निकाल्ने शर्त राखे । राजकुमारहरूले त्यो शर्त माने । उनले आफ्नो धनुषविद्याबाट त्यो भकुन्डो निकाले र भीष्मलाई त्यो कुरा भन्न अह्राए ।
भीष्मले द्रोणचार्यलाई बोलाए र राजकुमारहरूको शिक्षादीक्षाको अभिभारा दिए । त्यतिन्जेलसम्ममा पाण्डुको निधन भइसकेको थियो, माद्री सती गइसकेकी थिइन् र आफ्ना छोराहरू लिएर कुन्ती जङ्गलको आश्रमबाट हस्तिनापुर फर्किसकेकी थिइन् ।
उदात्त भावना भएका गुरु थिएनन् द्रोणाचार्य
द्रोणाचार्य हस्तिनापुरलगायत विभिन्न देशका राजकुमारहरूलाई शिक्षा दिन्थे । यसमा यदुवंशी पनि सामेल थिए । सूतपुत्र कर्ण पनि द्रोणाचार्यबाट नै शिक्षा लिन्थे । उनका छोरा अस्वत्थामा पनि त्यहीँ पढ्थे । उनी सबै शिष्यसँग समान व्यवहार गर्दैनथे । उनी आफ्ना छोरा अस्वत्थामालाई एक्लै पारेर खुसुक्क थप शिक्षा दिन्थे ।
द्रोणाचार्यको अभिभारा राजकुमारलाई उचित शिक्षादीक्षा दिनुथियो । यसमा अस्त्रशस्त्रको ज्ञान महत्त्वपूर्ण थियो । आफ्नो राज्यको सुरक्षामा निपुण बनाउनु उनको शिक्षाको उद्देश्य हुनुपर्थ्यो तर द्रोणाचार्यको मनमा थियो केवल द्रुपदसँगको बदलाको भावना । उनको सारा सोच र समझलाई यही भावनाले प्रदूषित गरिरहेको थियो । एक दिन उनले आफ्ना चेलाहरूलाई सोधे,”शिक्षा पूरा भएपछि तिमीहरूले मेरो इच्छ पूरा गरिदिन्छौ ?” उनको अज्ञात इच्छा पूरा गर्ने वचन कसरी दिनु ? सबै चुप भए । अर्जुनले भने त्यो खाली चेकमा सही गरे, गुरुको इच्छा पूरा गर्ने वचन दिए ।
यसरी इच्छा पूरा गर्ने वचन दिएपछि द्रोणाचार्यले अर्जुनलाई पनि अस्वत्थामासँग विशेष शिक्षा दिन थाले । अर्जुनको एकोहोरो साधाना देखेर उनलाई द्रोणाचार्यले ‘म तीमीसमान अरू धनुर्धर नहुन् भनेर प्रयत्न गर्नेछु’ भने पनि ।
द्रोणाचार्यले अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर बनाउने सबै प्रयास गरे । नुहाउँदा गोहीले द्रोणाचार्यको तिघ्रामा आक्रमण गर्यो । अर्जुनले गोहीबाट द्रोणाचार्यलाई बचाए । यसबापत द्रोणाचार्यले अर्जनुलाई ब्रह्मशीर नाम दिव्यअस्त्र पनि दिए । भनिरहनु परेन, उनका सबै कृत्यको पछाडि द्रुपदसँगको बदलाको भाव मात्र थियो ।
अर्जुनलाई द्रोणाचार्यले सर्वश्रेष्ठ धनुर्धर बनाउन सकेको प्रयास गरे तर त्यसको मूल्य चुकाउनु पर्यो, एकलव्यले । द्रोणाचार्यले आफूले नसिकाएको ज्ञानको बदलामा एकलव्यको दायाँ हातको बुढी औंला मागे । वचन दिइसकेका एकलव्यले तत्काल दायाँ हातको बुढी औंला काटेर दिए । उनको धुनषविद्या साधना गर्ने प्रमुख अङ्ग बलिदान भयो । महाभारतको कुनै प्रसङ्गमा उनी पत्रवाहकको भूमिकामा देखापर्छन् जस्तो लाग्छ ।
एकपटक द्रोणाचार्यले धनुषवाणबाट निशाना लगाउने प्रतियोगिता चलाए । त्यस प्रतियोगितामा चराको टाउको मात्र देखेको छु भन्ने अर्जुनले मात्र वाण हान्ने अनुमति पाए र निशानामा नै वाण लगाए । अर्जुनको यो सफलतापछि द्रोणाचार्य खुशी भए, अर्जुनले वाण चलाउन जानेको हुनाले होइन, द्रुपदसँग बदला लिने सामर्थ्य तयार भएको कारणले ।
द्रुपदसँग बदला लिने सामर्थ्य सुनिश्चित भएपछि द्रोणचार्यले आफ्नो अधिकारको दुरुपयोग गरिहाले । हस्तिनापुर र पाञ्चालबिच कुनै वैरभाव नहुँदै उनले पहिला कौरव र पछि पाण्डवलाई पाञ्चालतर्फ आक्रमणका लागि पठाए । अर्जुनसहितको पाण्डव सेनाले द्रुपदलाई परास्त गर्यो र आधा राज्य द्रोणचार्यले लिएरै छोडे । उनी केही भूभागको राजा पनि बने ।
स्वार्थवश नीति मिचे, विवादमा मलजल गरे
अब अलिकति म अड्कलबाजी गर्छु । पाञ्चाल नरेश द्रुपदलाई परास्त गरेपछि द्रोणाचार्यको अहम् र बोलबाला बढ्ने नै भयो । उनी अब अर्को राज्यको राजा नै भइसकेका थिए । हस्तिनापुरको राजकाजमा अब उनको अर्जुनप्रतिको अनुराग प्रतिबिम्बित हुनथाल्यो । यसको पहिलो प्रमाण थियो, युधिष्ठिरलाई युवराज बनाइनु । पाण्डु मरेको र हस्तिनापुरमा धृतराष्ट्र राजा भएको लामो समय बितिसकेको थियो । त्यस परिस्थितिमा स्वाभाविकरूपमा दुर्योधन नै युवराज घोषित हुनुपर्थ्यो । धृतराष्ट्र राजा तर उनको हैन, उनको भाइको चाहिँ छोरा युवराज ! यसले नै संघर्षको वातावरण सिर्जना गर्यो । तर द्रुपदलाई हराउने पाण्डव र यसबाट बदला लिने द्रोणाचार्यको अगाडि को बोल्ने ? सब चुप भए । द्रोणचार्यले आफ्नो प्रियपक्षलाई राजकाजको उत्तराधिकारी बनाए र हस्तिनापुर राजघरानामा आफ्नो स्थिति सुदृढ गराए । यसको साथै दरबारमा मनोमालिन्यको अर्को बिरुवा पनि रोपे ।
जब पाण्डवहरू वराणावतको लाक्षागृहबाट उम्केर पाञ्चाल पुगी द्रौपदीसँग विवाह गरेर हस्तिनापुर फर्कै अनि द्रोणाचार्य छाँगाबाट खसे झैं भए । आफ्नो चिरशत्रु द्रुपद अब पाण्डवका ससुरा भइसकेका थिए । द्रोणाचार्यको वध गर्ने लक्ष्यका साथ जन्मेको धृष्टद्युम्न पाण्डवका जेठान भइसकेका थिए । अनि उनी कौरवतिर लागे र कौरव सेनाकै सेनापति भएर युद्धमा होमिए, त्यसै क्रममा मारिए ।
महाभारतको युद्धलाई धर्मयुद्ध भनिन्छ । यस युद्धका लागि केही नियम बनाइएका थिए (युद्धका नियमको कुरो पश्चिममा त निकै पछि मात्र भित्रिएको अवधारणा हो) । तर यी नियमको पालना भएन । द्रोणाचार्य नै गलत तरिकाले मारिए । उनैबाट बदला र प्रतिशोधको शिक्षा प्रशिक्षित चेलाहरू दुवैतर्फ थिए, नीतिको पालना कसरी हुन सकोस् !
उसको त दरबार षडयन्त्र, बदला र हिंसाको लागि उर्बर भूमि हो । पुराण मात्र होइन, इतिहास पनि यसका प्रमाण हुन् । द्रोणाचार्य हस्तिनापुर पुग्नुअघि नै कौरवहरूले भीमलाई पानीमा डुबाउनेलगायतका कृत्य गरिसकेका थिए । तर द्रोणाचार्य जस्ता गुरुको काम सद्विचार र सुनीतिको प्रवर्तन, प्रवर्द्धन र पक्षपोषण गर्नु हो । द्रोणाचार्यबाट यसो गरिएको भए कौरव र पाण्डवका बिच आउने सबै विवादको निष्पक्ष समाधान हुन्थ्यो । पाण्डवहरू राज्य माग्ने थिएनन्, लाक्षागृह तयार हुने थिएन, शकुनीको हस्तिनापुरमा बोलबाला हुने थिएन, जुवा खेलिन्नथ्यो, द्रौपदीको चिरहरण रोकिन्थ्यो । तर द्रोणाचार्यको पाठशाला नै प्रतिशोधको थियो । उनले समझदारी, शान्ति र सुलह त सिकाएकै थिएनन् । गुरुदक्षिणामा द्रुपदको राज्य जिताइमाग्ने गुरुका शिष्य युद्ध उन्मादी नभए के होलान् ?
एकछिन वर्तमानमा फर्कौं
बदला, हिंसा र युद्ध आजको संसारको ठुलो समस्या हो । यो भावनाबाट मानिसको मन पीडित छ, परिवार, समुदाय, राष्ट्र र विश्व नै प्रताडित छ । यसैको सेरोफेरोमा अनेक मानसिक समस्या पनि सिर्जना भएका छन् । समाज सभ्य र आधुनिक बन्दै गएको छ, विचार र दर्शनको अनेको आयाम खुलेका छन्, शान्ति र सहिष्णुताको नारा सबैले लगाइरहेका छन् तर परिणाम उल्टो छ । कल्पना समेत गर्न नसकिने नृशंस घटना देख्नु/सुन्नु परिरहेको छ । व्यक्ति अन्तर्द्वन्द्वमा अल्झेको छ, परिवार, समाज, देश र विश्व द्वन्द्वमा फसेका छन् । हरेक व्यक्तिको भावना र संवेग एकत्रित भएर विश्वस्तरमा व्यापक भइरहने हो, अधिकतर व्यक्तिमा राम्रा भावना भए राम्रै भावना व्यापक हुने हो, नराम्रा भावना भए नराम्रै । अहिले नराम्रैको बोलबाला देखिन्छ । वर्तमान विश्वमा फैलिएको सोचबाट कमै मानिस सन्तुष्ट होलान् ।
अहिलेको समाजमा धैर्य, सहिष्णुता, सहानुभूति, शान्ति र सहअस्तित्त्वको भावना कम हुनुमा केवल विद्यालय र शिक्षकलाई दोष दिन सकिन्न । परिवार, समाज, सञ्चारमाध्यम जस्ता अनेक कुराबाट विद्यालयमा पुग्नुअघि वा अध्ययनकै क्रममा बाल र किशोर मष्तिष्क विभिन्न तरिकाले प्रभावित भएको हुन्छ । अझ वंशाणुगत विशेषता र घरको वातावारणको बाल मनोविज्ञानमा ठुलो प्रभाव पर्दो रहेछ । तर ती भावनाहरूलाई उचित बाटो दिन शिक्षकको भूमिका धेरै ठुलो हुने रहेछ । शिक्षकले ज्ञान र सीप मात्र होइन, संवेग र भावनाहरूको व्यवस्थापनको कला पनि सिकाउँछन् । शिक्षकबाट परोक्षरूपमा नै पनि विद्यार्थीले यी कुरा सिकिरहेको हुन्छ । विद्यार्थीको लागि शिक्षक नै रोलमोडल हो ।
यसलाई दृष्टिगत गरी बालबालिकाको संवेगात्मक विकासलाई उचित बाटो दिन र रहेभएका कमीकमजोरी सच्याउन विकसित देशहरूले विद्यालय शिक्षालाई विशेष किसिमले परिमार्जित गरिरहेका रहेछन् । मानिसको मष्तिष्कको बनावट, विकास र विश्लेषणमा आधारित पाठ्यक्रम तथा शिक्षणविधिका माध्यमबाट उनीहरूमा आफ्नो भावनालाई चिन्ने, अरूको भावानाप्रति संवेदनशील हुने, लागु पदार्थको प्रयोग र यौनजन्य हिंसाबाट बच्ने, धैर्य गर्ने र विवादको उचित समाधान खोज्ने ज्ञान र सीपको विकास गरिँदो रहेछ ।
यस सन्दर्भमा हामी कहाँ छौं ? हाम्रा बालबालिका र किशोर कता छन् ? हाम्रा विद्यालय र शिक्षक के गर्दैहोलान् ?
(घटनाहरू गीता प्रेस, गोरखपुरको संक्षिप्त महाभारतमा आधारित छन् । विचार र विश्लेषण आफ्नै ।)

मानव समाज र मस्तिष्कभित्र देखापर्ने विभिन्न समस्या, द्वन्द, घात प्रतिघात र आरोह अवरोहको सजीव चित्रण। जुन चित्रणको लागि लेखकले महाभारत महाकाव्यका पात्र, घटनाक्रम र सन्दर्भहरूलाई सजीव रुपमा उल्लेख गर्नु भएको छ। मानवीय समाजका अन्तरकुन्तर तथा विविध खाले द्वन्दलाई सरल र स्पष्ट गर्नुभएकोमा लेखकलाई साधुवाद टक्र्याउन चाहन्छु।