यज्ञमा दानः कति दान, कति ‘बलिदान’ ?

(यज्ञमा उठाएको दान लिएर महाराज बेपत्ता भए भन्ने खबर मैले सुने । सामाजिक पूर्वाधार विद्यालय कलेज अस्पताल वा भौतिक संचरना निर्माणका लागि रकम संकलन गर्न यज्ञको आयोजना गर्न चलन अहिले पनि प्रचलित छ । आठ दश वर्षअघि त झन् व्यापक थियो । सबैले रुचाएको यो कार्य मलाई भने पटक्कै मन परेको थिएन । मैले आफ्नो कुरा विराटनगरमा प्रकाशित “उद्घोष” पत्रिकामा छपाएको पनि थिएँ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको देहान्तको प्रसंग पनि आएका हुनाले यो कुरा 2067 सालको रहेछ । अहिले आफैंले यो लेख पढ्दा विराटनगरमा बन्ने भनेको त्यस्तो पूर्वाधार बनेको जस्ताो पनि लागेन । पैसा उठ्यो, कुरो सेलायो जस्तो पो लागिरहेको छ । मेरा साथीहरुको जानकारीका लागि सो लेख जस्ताको तस्तै राखेको छु ।)

विराटनगर—१ स्थित कुशलटोलमा चैत ३ गतेदेखि ११ गतेसम्म श्रीमद्देवीभागवत महायज्ञको आयोजना भयो । उक्त महायज्ञमा कथावाचक वाचनप्रवीण दीनबन्धु पोखरेल र पाथीभरा माता प्रकट भएकी भनिएकी किशोरी आकर्षणका केन्द्र थिए । बाइस लाखको लागतमा आयोजित यस महायज्ञबाट संकलित दानबाट सुविधासम्पन्न सामुदायिक भवन (सभाहल र विवाह मण्डपहरु भएको), आयुर्वेद औषधालय, पाथीभरा ज्येष्ठ नागरिक सेवा अस्पताल, गुरुकुल शिक्षालय बनाइने बताइएको छ । यी आयोजनाको लागत करीब पन्ध्र करोड हुने जनाइएको छ । दाताहरुले भूमिदान, अन्नदान र वाक्दान (कसैलाई कुनै वस्तु नफर्काउने गरी दिने वचन) गर्न सक्ने व्यवस्था थियो । दाताहरुलाई दान अनुसार सम्मान गरिने व्यवस्था पनि गरिएको थियो ।
समुदायको विकास समुदायबासीको नै जिम्मेवारी हो । सरकारले बनाइदिने भनेको पनि जनताको करबाट नै हो । विदेशबाट ऋण लिएर बनाए पनि त्यो ऋण पछि हाम्रा सन्ततिले तिर्नै पर्छ । मठ, मन्दिर, कुलो, पैनी, धारा, कुवा, बाटोघाटो आदि परापूर्वकालदेखि नै समुदाय आफैले निर्माण गर्ने गरेकै हुन् । श्रमदानबाट विकास निर्माणका काम हुने गरेका छन् । सरकार विकासको काममा अलि अघि बढेपछि जनपरिचालनको परम्परा पछि परेको मात्र हो । राजस्व चालु खर्चका लागि ठिक्क भएको अवस्थामा समुदायको विकासका लागि समुदायका व्यक्तिहरु लागिपर्नु अत्यन्त सह्रानीय हो । यही कर्तव्यबोध भएर होला देशका विभिन्न स्थानमा अस्पताल, कलेज, विद्यालय, बाटोघाटो आदि निर्माणकार्यका लागि पुराण तथा यज्ञको आयोजना भइरहेका छन् ।
यस्ता कार्यक्रमले देशको विकासमा योगदान गरेको कुरामा दुई मत छैन । त्यसैले सबै किसिमका संघसंगठनले महायज्ञको आयोजनाबाट पैसा संकलन गरेका छन् । पण्डित दीनबन्धुले नै आठ अर्ब रकम रकम संकलन गर्न योगदान गरेका रहेछन् । अब यसरी रकम संकलन गरेर जलविद्युत योजना संचालन गर्ने समेत योजना रहेको जानकारी प्राप्त भयो । यस किसिमका कार्यक्रमबाट रकम संकलन हुने मात्र होइन समाजलाई दिशा निर्देशन पनि हुन्छ । पण्डित दीनबन्धु नेपाल जागरण अभियानमा रहेछन् । हिन्दू धर्ममा भएक रुढि र अन्धविश्वासलाई हटाउने अभियान पनि थालिएको पाइयो । उनले आफू जनताको सेवामा लागेको हुनाले शुद्र भएको बताए । हिन्दूधर्मका ग्रन्थहरु जनमानसले बुझ्न नसक्ने संस्कृत भाषामा र साहित्यिक शैलीमा लेखिएको हुनाले त्यसमा व्यक्त लक्षणा र व्यञ्जना अर्थलाई अनर्थ बनाएर हिन्दू धर्मको अपब्याख्या भएको भान धेरै हिन्दूलाई परेको छ । दीनबन्धुले यसतर्फ सबैलाई सचेत पार्न कोशिस गरिरहेका रहेछन् । उनले बलिप्रथाको विरोध गरे । यस किसिमका कार्यक्रमबाट धन, धर्म र ज्ञान प्राप्त हुने देखिएको छ ।
यस्ता महायज्ञमा हुने दान र तिनको उपयोग विवादमुक्त भने देखिएका छैनन् । काठमाडौमा भएको यस्तै महायज्ञमा दान दिएको जग्गा दाताको हकदैया नलाग्ने (सरकारी) भएको कुरा प्रचारमा आएको थियो । पहिले दान दिन्छु भनेर पछि नदिने घटना पनि फाट्टफुट्ट सुनिएका छन् । यस्ता कार्यक्रममा हुने आम्दानी र खर्चको पारदर्शिता पनि शंकाको घेरामा रहने गरेको छ । यस महायज्ञको आयोजक समितिले महायज्ञ हुनुअघि रकमको पारदर्शिता र सदुपयोगितासम्बन्धमा सचेत भएको बताएको थियो । धर्मको नाममा उठेको रकम दुरुपयोग नहुने आश्वासन दिइएको छ र आयोजक समितिको बनोट हेर्दा दुरुपयोग होलाजस्तो लागेको छैन । तर पैसाको मामिलामा विश्वासभन्दा भरपर्दो आधारको रुपमा रहेको सार्वजनिक लेखापरीक्षणको प्रक्रियाबाट यो समिति लामो समयसम्म टाढा रहनु राम्रो होइन । विराटनगरमा भएको महायज्ञको आम्दानी खर्चको विवरण कार्यक्रम सम्पन्न हुनासाथै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने भनिएकोमा मैले भने आम्दानी÷खर्चको विवरण पत्रिकामा पढ्न पाएको छैन (म केवल तीन दैनिक पत्रिकामात्र नियमितजसो पढ्छु, सबै पत्रिका नपढ्ने भएकाले थहा नभएको पनि हुनसक्छ) ।
दान महायज्ञको कारण धर्म फेरि मागीखाने भाँडो हुने सम्भावना बढेको छ । यसबाट धर्मको धारण गर्ने पक्ष वा आन्तरिक पक्ष पुनः निस्तेज बन्ने देखिन्छ । विराटनगरको महायज्ञमा प्रस्तावित सामुदायिक भवनको काल्पनिक चित्रको पृष्ठभूमिमा पण्डितले कथावाचन गरे । कथाको बीचमा दाताको नाम र दान रकम पढेर उनी आयोजक समितिका लेखापाललाई सघाउँथे भने दानका लागि समयसमयमा श्रोतालाई हौस्याउँथे । श्रोतादीर्घाको वरिपरि धार्मिक श्लोक थिएनन्, दान दिन उक्साउने लेखोटहरु मात्र यत्रतत्र थिए । दानलाई प्राथमिकता दिँदा यी ज्ञान महायज्ञ दान महायज्ञ मात्र होइन मनोरंजन महायज्ञ भएका छन् । धर्मलाई पैसा कमाउने काममा लगाउँदा धर्मको मर्म भ्रमित हुने कुरा प्रष्ट छ । धर्म सम्पत्तिभन्दा ठूलो कुरा हो, सम्पत्तिका लागि यसलाई प्रयोग गर्नु बुद्धिमानी होइन । फेरि यस्ता यज्ञमा आफ्नो चोखो कमाइ दान गर्ने वास्तविक पुण्यात्माभन्दा बिटुलो कमाइ दान गरेर नाम राख्न चाहनेहरुको चुरीफुरी बढी हुने बढी देखिन्छ । यसरी दान दिइने रकमको स्रोत बताउनु नपर्ने र त्यो कमाइ कर तिरेपछिको हो भन्ने प्रमाण पनि दिनु नपर्ने भएकाले यस्ता दानमा कालो धन सुकिलो पार्ने काम हुनसक्छ । यसबाट आर्थिक परिचालनका लागि आयोजित यज्ञले गलत बाटो लिने सम्भावना धेरै छ । सन्त, महन्त र महाराजलाई किनाराको साक्षी बनाएर संकलन गरिएको रकम दुरुपयोग भएमा ती साक्षी बस्‍ने अझ दानका लागि उकास्‍ने सन्त, महन्त र महाराजको दायित्व के हुने भन्ने पनि कतै खुलेको छैन ।
विराटनगरमा सम्पन्न महायज्ञ करीब २२ लाखको लागतमा सम्पन्न हुने अनुमान गरिएको थियो, वास्तविक खर्च कति भयो मलाई थहा हुन सकेन । यस महायज्ञबाट ६७ लाख ७८ हजार नगद उठेको थियो भने करिब दुई करोड चौध लाखको जग्गा प्राप्त भएको थियो । जग्गाको हकभोगको अवस्था र मूल्यांकनको आधार भने थहा हुन सकेको छैन । यस दृष्टिले यो यज्ञमा लागतको तुलनामा दान कम प्राप्त भएको भन्न सकिन्छ । गिरिजाप्रसाद कोइरालाको दहान्त महायज्ञको बीचमा परेकाले मानिसको ध्यान त्यता मोडिएर पनि यस्तो भएको हुन सक्छ । ठूला दाता आयोजकमध्येका नै देखिए, उनलाई दान दिने महायज्ञ नै चाहिनु नपर्ने हो ।
धर्म मानिसको सबैभन्दा पुरानो संगठन हो । पहिले धर्मले नछोएको विषय केही थिएन । ओखतीमूलोको जानकारी भएको आयुर्वेद, राजनीति, समाज र मानिसका बारेमा जानकारी दिने महाभारत, रामायणआदि पनि धार्मिक ग्रन्थका रुपमा नै रहेका छन् । समाजको विकासपछि अरु संगटनको विस्तार भयो र धर्मको पकड समाजमा कम भयो । जनताको सुरक्षा, प्रशासन र विकास अब राजनीतिको क्षेत्रमा आयो । राजनीतिलाई धर्मबाट टाढा राख्न धर्मनिरपेक्ष राज्यको परिकल्पना गरियो र नेपाल पनि धर्मनिरपेक्ष राज्य भइसकेको छ । विकासको लागि जनस्तरमा काम गर्न सहकारी संस्था, गैर सरकारी संस्थाको स्थापना भइरहेका छन् । अब धर्म व्यक्तिको आन्तरिक मामिलाको रुपमा रहेको छ । व्यक्तिको आन्तरिक मामला भए पनि एउटै धर्म र मत मान्ने मानिस मिलेर विभिन्न रचनात्मक काम गर्न रोकिएको छैन र रोकिनु पनि हुँदैन । यस्ता कामहरु गर्नसक्नु सम्बन्धित धर्म र त्यो धर्म मान्ने जनसमुदायको सफलता नै हो । तर, आज विकासको कामका लागि धर्मको माध्यम खोज्नु उपयुक्त होइन भन्ने मेरो मान्यता छ । विकासका काममा धर्म अघि लगाउनु भनेको विकासका लागि जिम्मेवार समाजका अन्य अङ्गको निष्क्रियता वा असफलताको द्योतक हो । स्कुल, कलेज, अस्पताल, मन्दिर समुदायले निर्माण गनुर््पर्छ, तर धर्मको आडमा होइन, आफैले ।

महायज्ञमा सङ्कलित एक करोड रुपैयाँ बोकेर ‘महाराज’ फरार

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *