पञ्चावती सद्भाव समाजबाट विभिन्न कार्यक्रमको आयोजना
- श्री माध्यमिक विद्यालय, छिन्द्रङखोला, बर्रेमा पुरस्कार वितरण
- श्री माध्यमिक विद्यालय, छिन्द्रङखोला, बर्रेलाई रु.१०,०००/- सहयोग
- श्री पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढीमा पुरस्कार वितरण
- श्री विशाल रोकाहा सम्मानित
- श्री नमुना माध्यमिक विद्यालयमा पुरस्कार वितरण
- वनभोज कार्यक्रम
- पञ्चावती सद्भाव समाज
पुरस्कार वितरण
पञ्चावती सद्भाव समाजले उदयपुरगढी गाउँपालिकाका विभिन्न विद्यालयमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। पञ्चावती सद्भाव समाजको संरक्षकत्वमा विभिन्न महानुभावहरूबाट स्थापित पुरस्कारहरू वितरण गरिएको हो। पुरस्कार वितरणसम्बन्धी विवरण यसप्रकार छ।
१. श्री माध्यमिक विद्यालय, छिन्द्रिङ खोला, बर्रे
२०८२ साल वैशाख २५ गते श्री माध्यमिक विद्यालय छिन्द्रिङखोला बर्रेमा काशीनाथ-पुष्पा-माला पुरस्कार वितरण गरियो । सो कार्यक्रम पञ्चावती सद्भाव समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यको अध्यक्षता र उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री जीतबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि श्री जीतबहादुर खड्का, अतिथिका रूपमा आमन्त्रित समाजका पूर्वअध्यक्षद्वय श्री ओमबहादुर राउत र श्री मधुरमण आचार्य, बुद्धिजीवी श्री वोधकुमार घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री देववहादुर तामाङ, पुरस्कार संस्थापक तथा समाजका कोषाध्यक्ष श्री तेजमणि काफले एवं समाजका कार्यसमिति सदस्य श्री सूर्य के.सी. ले मन्तव्य राख्नुभएको थियो। सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री नेत्रबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री केदार आचार्यले गर्नुभएको थियो
यस विद्यालयमा स्थापनाकालदेखि नै अध्यापन गर्नुहुने शिक्षक श्री काशीनाथ काफ्ले एवं उहाँकी धर्मपत्नीद्वय श्री पुष्पा काफ्ले र श्री माला काफ्लेको सम्मानमा उहाँहरूका सन्ततिहरूले यो पुरस्कारको स्थापना गर्नुभएको हो । यो पुरस्कार सो विद्यालयमा अध्ययनरत कक्षा ८ मा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने एक जना छात्रा र एक जना छात्रलाई प्रदान गरिन्छ ।
२०८१ सालको ८ कक्षाको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी अनिशा आले र छात्रतर्फ सर्वोत्कृष्ट अङ्क प्राप्त गरी शस्त्रीय गलानले यो पुरस्कार प्राप्त गर्नु भयो । यो पुरस्कारको राशि रु. ५,०००/- रहेको छ ।
यसैगरी, २०८१ सालको वार्षिक परीक्षामा विद्यालयमा सर्वोत्कृष्ठ अङ्क हासिल गर्ने हेलरी तामाङलाई रु.२०००/- पुरस्कार प्रदान गरिएको थियो।
पुरस्कारको प्रमाणपत्र तथा नगद राशि अध्यक्ष श्री डिल्लीरमण आचार्य, प्रमुख अतिथि एवं उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री जीतबहादुर खड्का, समाजका उपाध्यक्ष श्री मिथिला राउत र समाजका कोषाध्यक्ष श्री तेजमणि काफ्लेले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको थियो ।
२. श्री माध्यमिक विद्यालय, छिन्द्रङखोला, बर्रेलाई रु.१०,०००/- सहयोग
श्री माध्यमिक विद्यालय, छिन्द्रङखोला, बर्रेमा आयोजित पुरस्कार वितरण कार्यक्रममा मन्तव्य राख्ने क्रममा यस समाजका कार्यसमिति सदस्य श्री सूर्यबहादुर के.सी. ले विद्यालयको सरसफाइ र रङरोगन कार्यका लागि रु. १०,०००/- प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । विद्यालयको भित्तामा मेटिन लागेका नबुझिने सामग्री रहेकोले ती हटाउनु उपयुक्त देखी उहाँले यो प्रस्ताव राख्नुभएको थियो । सोही बमोजिम श्री के.सी.ले रु.१०,०००/- विद्यालयका प्रधानाध्यापक श्री नेत्र बहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो। आवश्यक सरसफाइ र रङरोगन गरी यस समाजलाई जानकारी दिने प्रतिबद्धता विद्यालयतर्फबाट व्यक्त भएको छ।
२. श्री पञ्चावती माध्यमिक विद्यालय, उदयपुरगढी
पञ्चावती माध्यमिक विद्यालयमा मिति २०८२ साल वैशाख २६ गते पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले गर्नुभएको थियो। उदयपुरगढी गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष श्री कुमार अधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। सो कार्यक्रममा समाजका पूर्वअध्यक्ष द्वय श्री ओमबहादुर राउत र श्री मधुरमण आचार्य अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। यसका साथै सो कार्यक्रममा उच्च अदालतका पूर्वन्यायाधीश श्री प्रेमराज कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पदमराज कार्की, वरिष्ठ इन्जिनियर श्री धनबहादुर थापा, पूर्वप्रहरी नायव उपरीक्षक द्वय श्री बुद्ध कुमार राई र बालकृष्ण पोखरेलले समेत आतिथ्य ग्रहण गर्नुभएको थियो। यसैगरी सो कार्यक्रममा समाजका उपाध्यक्ष द्वय श्री मिथिला राउत र श्री प्रदीपकुमार निरौला, विद्यालयका प्रधानाध्यापक श्री भक्तवहादुर राई, समाजका कोषाध्यक्ष श्री तेजमणि काफ्ले र सदस्य श्री सूर्यबहादुर के.सी. लगायत स्थानीय अभिभावक, बुद्धिजीवी, शिक्षक र विद्यार्थीहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री भक्तबहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने श्री ओमबहादुर राउत, श्री मधुरमण आचार्य, श्री मिथिला राउत, श्री प्रेमराज कार्की र श्री पद्मराज कार्कीले मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि श्री कुमार अधिकारीले प्रेरणादायी विचार र अध्यक्ष श्री डिल्लीरमण आचार्यको मन्तव्यका साथ कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन समाजका महासचिव श्री केदार आचार्यले गर्नुभएको थियो।
सो कार्यक्रममा निम्नानुसारका पुरस्कार वितरण गरिएको थियो-
| क्र. सं. | पुरस्कारको नाम | पुरस्कार स्थापनाकर्ता | पुरस्कार पाउने आधार | साल | पुरस्कृत विद्यार्थी |
| १. | दुर्गाप्रसाद-इन्दिरादेवी स्मृति पुरस्कार | समाजसेवी पिता दुर्गाप्रसाद आचार्य र माता इन्दिरादेवीको स्मृतिमा उहाँका सन्ततिहरू | कक्षा बाह्रमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी | २०८० | सविता राई |
| २. | अनुज स्मृति पुरस्कार | स्वर्गीय अनुज निरौलाको स्मृतिमा उहाँका पिता टीकादत्त निरौला | एसइईमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी | २०८० | यमुना सुवेदी |
| ३. | त्रिलोचन-देवमाया-बेनुका स्मृति पुरस्कार | समाजसेवी पिता त्रिलोचन कोइराला र माताहरूको स्मृतिमा उहाँका सन्ततिहरू | एसइईमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने छात्रा | २०८० | यमुना सुवेदी |
| ४. | माधव-सुशीला स्मृति पुरस्कार | पञ्चावती मा वि का पूर्व गणित शिक्षक माधव दाहालको स्मृतिमा उहाँका सुपुत्र मदन दाहाल | एसइईमा गणित विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी | २०८० | सोमबहादुर सुनुवार |
| ५. | ईश्वरीप्रसाद-पूर्णकुमारी स्मृति पुरस्कार | पञ्चावती मा वि का पूर्व नेपाली एवं संस्कृत शिक्षक ईश्वरीप्रसाद निरौलाको स्मृतिमा उहाँका सन्ततिहरू | एसइईमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी | २०८० | तुलसा सुनुवार |
| ६. | अमृत बहादुर- लक्ष्मीकुमारी कार्की पुरस्सकार | समाजसेवी पिता अमृत बहादुर कार्की र माता लक्ष्मीकुमारी कार्कीको सम्मानमा उहाँका सन्ततिहरू | कक्षा ८ को परीक्षामा सर्वोत्कष्ट अङ्क हासिल गर्ने एक जना छात्र र छात्रा | २०८१ | छात्रः आयुस कार्की छात्राः विद्या धमला |
यी सबै पुरस्कारको राशि रु.५,०००/- रहेको छ।
सोही कार्यक्रममा विद्यालयबाट २०८१ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो। पञ्चावती सद्भाव समाजका तर्फबाट १ देखि ९ कक्षामा प्रथम हुने विद्यार्थीलाई जनही रु.१,०००/- पुरस्कार प्रदान गरिएको थियो।
- श्री नमुना माध्यमिक विद्यालय, खाटडाँडा
पञ्चावती सद्भाव समाज र नमुना माध्यमिक विद्यालय, खाटडाँडाबाट २०८२ साल वैशाख २८ गते संयुक्त रूपमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष श्री जीतबहादुर खड्का हुनुहुन्थ्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री उमेश कार्कीको सभापतित्वमा सञ्चालित सो कार्यक्रमा अतिथिहरूलाई प्रधानाध्यापक श्री देवीबहादुर राईले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक श्री सूर्य पोखरेलले गर्नु भएको थियो। सो कार्यक्रममा समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य, वडा अध्यक्ष श्री थिरबहादुर राउत,विद्यालयका पूर्व प्रधानाध्यापक एवम् लक्ष्मी स्मृति पुरस्कारका संस्थापक श्री दीनानाथ दाहाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्री बोधकुमार घिमिरे, समाजका सदस्य एवम् प्रेमलाल-महमाया स्मृति अक्षयकोषका संस्थापक श्री भेषराज खतिवडा, समाजसेवी श्याम भुजेलले विभिन्न अक्षयकोष र पुरस्कार एवम् छात्रवृत्तिको बारेमा प्रष्ट्याउनु भएको थियो । समाजका पूर्वअध्यक्ष श्री ओमबहादुर राउत, उपाध्यक्ष द्वय श्री प्रदीप निरौला एवम् श्री मिथिला राउत, महासचिव श्री केदार आचार्य, कोषाध्यक्ष श्री तेजमणि काफ्ले, मनमाया आचार्य स्मृति कोषका संरक्षक श्री भरत प्रसाद घिमिरे र संस्थापक श्री तुलसा घिमिरे एवं भक्तबहादुर बिष्ट स्मृति अक्षयकोषका संस्थापक श्री उर्मिला देवी बिष्ट लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा यस समाजद्वारा संरक्षित लक्ष्मी स्मृति पुरस्कार २०८० सालको एसइई परीक्षामा सर्वाधिक अङ्क ल्याउने छात्रा इन्दिरा सुनुवारलाई प्रदान गरियो । सो पुरस्कारको प्रमाणपत्र पुरस्कारको संस्थापक श्री दीनानाथ दाहालले प्रदान गर्नुभएको थियो भने नगद पुरस्कार यस समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले प्रदान गर्नुभएको थियो। सोही अवसरमा महमाया-प्रेमलाल स्मृति अक्षयकोष, मनमाया आचार्य स्मृति कोष र भक्तबहादुर बिष्ट स्मृति अक्षयकोषबाट ८ जना छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो।
२. सम्मान कार्यक्रम
पञ्चावती सद्भाव समाजबाट २०८२ साल वैशाख २६ गते आयोजित पुरस्कार वितरण कार्यक्रममा श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्व विद्यार्थी श्री विशाल रोकाहालाई सम्मान गरिएको थियो। श्री रोकाहाले उच्च शिक्षा अध्ययनको सिलसिलामा नेपाल कमर्स क्याम्पसऽ मीनभवनबाट बी.वी.एस. तहको परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गर्नुभएको र हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हुनाले सामजले उहाँलाई सम्मान गरेको हो। सम्मानपत्र समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्यले हस्तान्तरण गर्नुभएको थियो भने पूर्वअध्यक्ष श्री मधुरमण आचार्यले खादा लगाइदिनु भएको थियो। सम्मान पत्र प्राप्त गरेपछि श्री रोकाहाले आफ्नो अध्ययन र राजनीतिको यात्राबारे बताउनु हुँदै अध्ययनरत विद्यार्थी भाइबहिनीलाई प्रेरणादायी मन्तव्य समेत राख्नु भएको थियो ।
श्री रोकाहाले श्री पञ्चावती माध्यमिक विद्यालयमा अध्ययन गर्नुहुँदा नै यस समाजबाट प्रदान गरिने विभिन्न पुरस्कारहरू समेत प्राप्त गर्नु भएको थियो।
३. वनभोज कार्यक्रम
पञ्चावती सद्भाव समाजले २०८२ वैशख २७ गते उदयपुरगढीमा वनभोज कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा संबिधान सभा सदस्य तथा श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक श्री नारायण बहादुर कार्की, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष श्री मानबहादुर केप्छाकी, उपाध्यक्ष श्री जीतबहादुर खड्का, वडा नं. ५ का वडाअध्यक्ष श्री कुमार अधिकारी, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत श्री भक्तबहादुर राई तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष श्री पद्मराज कार्कीको उपस्थिति थियो। सो विध्यालयका पूर्व शिक्षकहरू सर्वश्री ईश्वरप्रसाद निरौला, भरतप्रसाद घिमिरे, नारायणप्रसाद काफ्ले र उमेश भण्डारी समेत वनभोज कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। सर्वश्री ओमबहादुर राउत, मधुरमण आचार्य, मिथिला राउत, धनबहादुर थापा मगर, बुद्ध कुमार राई, दीनानाथ दाहाल, प्रेमराज कार्की, वीरधोज निरौला, बोधकुमार घिमिरे, बालकृष्ण पोखरेल लगायत ठुलो संख्यमा पूर्वविद्यार्थी तथा सर्वश्री डम्बर बहादुर कार्की, दीपक रोकाहा लगायतका स्थानीय अभिभावक र बुद्धिजीवीहरू समेत वनभोज कार्यक्रममा सहभागी हुनुभएको थियो।
पञ्चावती सद्भाव समाजका अध्यक्ष श्री डिल्लीरमण आचार्य, उपाध्यक्ष द्वय श्री मिथिला राउत र श्री प्रदीप कुमार निरौला, महासचिव श्री केदार आचार्य, कोषाध्यक्ष श्री तेजमणि काफ्ले, सदस्य द्वय श्री सूर्यबहादुर के.सी.र श्री भेषराज खतिवडा वनभोज कार्यक्रममा सहभागी हुनुभएको थियो। उहाँहरू सबै श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ।
सप्तकोशी टेलिभिजनसँग सम्बद्ध श्री पञ्चावती माध्यमिक विद्यालयका पूर्वविद्यार्थी श्री बाबुराम खड्का यो कार्यक्रममा सक्रियरूपमा सहभागी भई वनभोज कार्यक्रम लगायत उदयपुरगढीका विभिन्न पक्षमाथि प्रकाश पार्ने सामग्री तयार पारी सो टेलिभिजनमार्फत प्रशारण समेत गर्नुभएको थियो।
४. पत्र्चावती सद्भाव समाज
पञ्चावती सद्भाव समाजको स्थापना २०६४ सालमा भएको हो । यो मुनाफारहित, जनहितकारी सामजिक संस्था हो। पञ्चावती माध्यमिक विद्यालयको स्तर शैक्षिक एवं बहुपक्षीय ढङ्गले विकास गर्नु यसको स्थापनाकालीन उद्देश्य रहेकोमा यसले सदस्य एवं शुभचिन्तकहरूको भावनालाई कदर गर्दै यसको कार्यक्षेत्र उदयपुरगढी गाउँपालिकाका विभिन्न विद्यालयमा विस्तार गरेको छ । उदयपुरगढीको विकास, प्रगति र उन्नयनका यो संस्था प्रयत्नशील रहेको छ।
हाल यस संस्थाले विभिन्न महानुभावहरूले स्थापना गर्नुभएका पुरस्कार श्री पञ्चावती माध्यमिक विद्यालय उदयपुरगढी, श्री नमुना माध्यमिक विद्यालय, खाटडाँडा र श्री माध्यमिक विद्यालयमा वितरणको कार्यक्रम सञ्चालन गरिरहको छ।
उदयपुरगढीबाट काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा बसोबास गर्नुभएका मानिसको बिचमा भेटघाट, सरसहयोग र सद्भावना बढाउने मञ्चको रूपमा समेत यो रहेको छ।
पञ्चावती सद्भाव समाजका कार्यक्रमहरू सहयोगी महानुभावहरूको सल्लाह, सुझाव र सहयोगमा भर पर्ने भएकाले सबै सरोकारवाला शुभेच्छुकहरूबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरिएको छ।
