बाको उमेरमा पुगेर हेर्दा

अहिले म बाको उमेरमा हिँड्दैछु । समयक्रममा बाको उमेर रोकियो, मेरो हिँड्दैछ । रोकिएको उमेरलाई हिँडिरहेको उमेरले भेट्दो रहेछ । यो वर्ष भेट्यो । म र हाम्रो बा अब दौतरी भएका छौं । मैले बाको सोच र भावना अलिअलि बुझ्न थालेको छु । बाका सीमा र सम्भावनाहरू खोज्दैछु । बाका भनाइका अर्थ र औचित्य भरखर खुल्दैछन् । बाका कर्मको महत्त्व अब स्पष्ट हुँदैछन् । मैले त्यतिबेला बाका कतिपय कुरा नबुझेकोमा पनि कुनै पछुतो छैन । बाको कुरा बुझ्न यति समय लाग्दो रहेछ, त्यतिबेला कसरी बुझ्नु ?

अब पनि बाका सबै कुरा त कहाँ बुझ्न सकिएला र ? सम्झनाहरू पनि अब त धेरै धूमिल भइसके । स्मरण, सन्दर्भ र घटनामध्ये कुन मैले प्रत्यक्ष देखेको हो, कुन सुनेको हो र कुन केवल मेरो कल्पना मात्र हो भन्ने कुराको सीमा पनि अब त मेटिन लागिसक्यो । म झिना सन्दर्भ र घटनाका माध्यमबाट बाका इच्छा, चाहना र सोचको कल्पना गर्न खोज्दैछु ।

१. पढाइ

बाले मलाई सुरूमा नेपालटारमा रहेको जगरेटार प्रा. वि. मा भर्ना गरिदिनुभएको थियो । औलो उन्मूलन भइसकेको हुनाले हामी उदयपुरगढीबाट नेपालटारमा बसोबास गर्न थालेका थियौँ । उदयपुरगढीको घर रुङ्न फुपू मात्र बस्नुहुन्थ्यो । धान रोपपछि मात्र हामी उदयपुर जान्थ्यौं र धानकाट्ने बेला भएपछि नेपालटार आउँथ्यौं । अब हामीलाई उदयपुरगढीभन्दा नेपालटार नै पायक पर्न थालेको थियो । जगरेटार स्कुलमा भर्ना हुनुअघि नै म क, ख र १, २ जान्ने भइसकेको थिएँ । मलाई बाले घरमै पढाउनु भएको थियो । जगरेटारको स्कुल मलाई मन परेन। मलाई अलिअलि सम्झना छ, म स्कुलमा रोइरहन्थेँ ।

जगरेटारको स्कुल मन नपरे पनि मलाई पढाउने प्रयास रोकिएन । उदयपुरगढीमा रहेको पञ्चावती माध्यमिक विद्यालयमा म भर्ना भएँ । त्यहीँबाट एस. एल. सी. पास गरेँ । मसँग उदयपुरगढीमा बस्ने मानिस नभएको केही समय उहाँ उदयपुरगढी आउनु भएको मलाई सम्झना छ । घरायसी काममा वास्ता नगर्ने उहाँले त्यस समयमा मेरो लागि निकै दुःख गर्नुभएको थियो ।

मेरो स्कुलको समयको पढाइ राम्रै थियो । बालाई मेरो पढाइमा धेरै चाख र रूचि थियो । यसमा उहाँ गर्व गर्नुहुन्थ्यो ।

म एस. एल. सी. पास भएपछि बाहिर पढ्न जाने कुरा भएन । मलाई बाहिर पढ्न पठाउनका लागि परिवारले थप आयस्रोत खोज्नुपर्थ्यो । सामान्य कृषक परिवारमा त्यो सजिलो थिएन । मैले पनि प्राइभेट पढ्छु भनेर चित्त बुझाएँ । नजिकका विद्यालयमा शिक्षकको रूपमा काम गर्न थालेँ । त्यसको केही समयपछि बा बिरामी पर्नुभयो । अहिले सम्झँदा बालाई बिसन्चो निकै पहिलादेखि थियो क्यारे, त्यसैले मलाई पढाउन बाहिर पठाउने आँट गर्न सक्नुभएन जस्तो लाग्छ । त्यो समयमा आफ्ना सन्तानको पढाइमा बाको चासोलाई उहाँको शरीरमा देखिएको कमजोरीले जितेको रहेछ।

प्राइभेट परीक्षार्थीको रूपमा आई. ए. पास गरेँ । बी. ए. र एम. ए. रेगुलर नै पढ्न पाएँ । एम. ए. प्रथम श्रेणीमा उत्तीर्ण हुँदा धेरै खुशी लाग्यो । त्यो समयमा मैले बालाई सम्झेँ । म त्यो खुशी बासँग बाँड्न चाहन्थेँ । तर त्यो सम्भव थिएन । त्यो खुशी अचानक पग्लियो र आँखाबाट चुहियो ।

म हुर्केको समाज र समयमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना त थियो तर त्यो त्यति गहनरूपमा मानिसको मनमा पसेको थिएन। मेरा दौतरीहरूमध्ये कति स्कुल गएनन्, कतिले सानैमा स्कुल छोडे । जगरेटारको स्कुल जान मन नगरेपछि ‘यो नपढ्ने रैछ’ भनेर बाआमाले निच मारेको भए म अहिले के गर्दै हुन्थेँ होला ! सम्झँदा पनि झसङ्ग हुन्छु ।

मेरा छोराहरूको पालामा त बोर्डिङ स्कुलको जमाना आइसकेको थियो । उनीहरू सानो छँदा हामी विराटनगरमा थियौं । विराटनगरकै लिटिल फ्लावर र बिकेभिएममा उनीहरू पढे । त्यसपछि काठमाडौं आई +२ र विश्वविद्यालय शिक्षा लिए । उनीहरूको दीक्षान्त समारोहमा सरीक भएँ । बालाई नमिलेको अवसर मलाई मिल्यो । मेरा बाले झैं मैले पनि छोराहरूको पढाइबाट गर्व गर्न पाएँ ।

२. जीवनवृत्ति

एस. एल. सी. पछि नजिकको स्कुलमा (पहिला भर्ना भएर पढ्न नसकेको जगरेटार प्रा. वि.) शिक्षक भएर काम गर्न थालेँ । त्यो विद्यालयका स्थायी शिक्षक लामो समय अनुपस्थित रहेकाले मलाई सट्टा शिक्षकको रूपमा राखिएको थियो । मैले तलब पाउन थालेपछि बा खुशी हुनुभयो । आफ्नो सन्तानको कमाइले दिने आनन्द उहाँले पाउनु भएको थियो । त्यसको महत्त्व र गहिराइ मैले आफ्ना छोराहरूले कमाउन थालेपछि बुझेँ ।

शिक्षकको जागिर दिगो भएन । स्थायी पनि त थिएन । पञ्चायतकाल थियो । शिक्षकमाथि स्थानीय राजनीति हावी हुन्थ्यो होला । बलियाले राजनीति गर्थे होलान्, कमजोरमाथि राजनीति हुन्थ्यो होला । मैले स्कुल बदल्दै गएँ । नयाँ जागिरको खुशी र जागिर खुस्किनुको दुःखले मलाई पनि सतायो, बालाई झन् बढी सतायो । त्यतिबेला बाको मनमा उदयपुरगढीमा रहेको उदयपुर जिल्लाको सदरमुकाम गाइघाट सरेर जानुको दुःख फेरि उर्लेर आयो । उदयपुरगढीमा सदरमुकाम भएको भए कति मानिस चिनिएका हुन्थे, एउटा जागिर त सजिलै लगाउन सकिन्थ्यो भनेर थकथकाउनु हुन्थ्यो । म लोक सेवा आयोगकै परीक्षा पास गर्छु भनेर बालाई आश्वास्त पार्थें । मैले बालाई दिएको आश्वासन त पूरा गरें तर त्यति बेला उहाँले चोला बदलेको छ महिनाभन्दा बढी भइसकेको थियो ।

यो संसारमा धेरैवटा काम छन् । जीवन गुजारा गर्ने आयको दिगो व्यवस्थापन गर्नु सामान्य परिवारको लागि सबैभन्दा महत्त्वपूर्ण काम हो । संसारमा कमै मानिसले मात्र यो विषयमा चिन्ता नगरी जीवन बिताउन पाएका होलान् । आफ्ना सन्तानले पनि जीवनवृत्ति सुनिश्चित गर्ने महत्त्वपूर्ण काममा सफलता पाउन् भन्ने चासो हुँदो रहेछ, त्यो सफलतामा मख्ख पर्ने ‘बा-मन’ हुँदो रहेछ । खेतीपातीले जीवन धान्न कठिन भइरहेकाे त्यो समयमा मेरो जागिरका विषयमा बा निकै चिन्तित हुनुहुन्थ्यो ।

मैले अपवादबाहेक निजी क्षेत्रमा काम गरिनँ । केही समय सरकारी स्कुलमा पढाएँ, त्यसपछि निजमती सेवामा गएँ अनि केन्द्रीय बैकमा लामो समय काम गरेर निवृत्त भएँ । छोराहरू भने निजी क्षेत्रमा नै रमाइरहेका छन् । राज्यको सेवामा हुनुको गर्व र खल्तीमा पेन्सनपट्टा हुनुको आनन्द तिनले नपाउने भए भन्ने भाव पनि मनमा आउँछ । फेरि अब त पेन्सन पनि योगदानमा आधारित भइसक्यो रे ! जे होस्, यो ‘माई लाइफ, माई च्वाइस’ वाला समय हो । राम्रै होला भन्ने आशा र विश्वास गरौं ।

३. बिहेबारीः

एस. एल. सी. पास गरेदेखि नै बाले भन्न थाल्नु भएको थियो- अब बिहे गर् । जागिर त्यही अस्थायी थियो, आइ. ए. प्राइभेट पढ्न खोज्दै थिएँ, पहिलो वर्षको जाँच नै दिएको थिइनँ होला। अठार वर्ष पनि पुगेको थिइनँ, अहिलेको कानुनले त बालविवाहको मुद्दा नै लाग्थ्यो, त्यतिवेलाको कानुनअनुसार चाहिँ के हुन्थ्यो कुन्नि ? त्यो समयमा बिहे गर्ने त कुरै थिएन । मैले मानिन, मान्ने कुरै थिएन । तर बा मलाई एकदुई महिनामा झस्काइरहनु हुन्थ्यो, कहिलेकाहीँ त केटी हेर्न जाने कुरा पनि पो गर्नुहुन्थ्यो । म ‘हाम्रो बालाई के भएको छ अचेल’ भनेर आश्चर्यचकित हुन्थेँ । कहिलेकाहीं त रन्किन्थेँ पनि ।

आफ्ना सन्तान, अझ उमेर पुगेका सन्तानको बिहेबारी अभिभावकको चासोको कुरा रहेछ । उमरै नपुगी बिहे गर्ने, गराउने समयमा त झन् विवाह पूर्णरूपमा अभिभावकको जिम्माको कुरा थियो । अहिले उमेर पुगेपछि मात्र विवाह गर्ने, आफ्नो खुशीराजीले विवाह गर्ने, आफूले रोजेको मान्छेसँग विवाह गर्ने, आफ्नो अनुकूल समयमा विवाह गर्ने जमाना आएपछि पनि सन्तानको बिहेप्रतिको अभिभावकको चासो कम भएको छैन । समयले बिहेको परिभाषा र अभिभावकको भूमिका बदल्यो तर सन्तानको बिहेको कुरालाई लिएर टाउको दुखाउने अभिभावकको डिएनए बदल्न सकेको छैन ।

लोक सेवा आयोगको परीक्षा पास गरेर सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा सह-लेखापालमा नियुक्त भएर गएँ । त्यहाँ पनि प्रमुख जिल्ला अधिकारी बलराम कापरले ‘अब बिहे गर’ भनेर मलाई अर्ती दिनुभएको थियो । आखिर उहाँ पनि त कसैका बा नै हुनुहुन्थ्यो । त्यो जागिर छोडेर नेपाल राष्ट्र बैंकमा आइसकेपछि पनि उहाँसँग एक पटक भेट भएको थियो । त्यो बेला पनि उहाँले मलाई बिहे गर्ने सल्लाह र जागिरे मानिसका वैवाहिक जीवनमा आइपर्न सक्ने अप्ठ्यारालाई समाधान गर्ने टिप्स पनि दिनुभएको थियो । बाले भन्नु भएको समय धेरै चाँडो भए पनि बलराम कापरले अर्ती दिएको समय भने ठिक भएको अनुभूति हुन्छ । मेरो बिहे त्यसको करिब पाँच वर्षपछि मात्र जु¥यो ।

विवाह मानिसको जीवनमा निर्णायक मोड ल्याउने सबैभन्दा ठुलो घटना हो । सफल विवाह नै सफल जीवनको कडी हो । हृदयको फूल र मुटुको शूलको मूल स्रोत विवाह नै हो । मानिसलाई सबैभन्दा बढी सुख र भरोसा जीवनसाथीबाट नै प्राप्त हुन्छ, यसैगरी सबैभन्दा बढी दुःख र शत्रुता पनि त्यही सम्बन्धमा देखिएको छ । विवाह नै परिवारको आधार हो र परिवार मानव सभ्यताको सबभन्दा पुरानो संगठन हो । विवाहलाई अनावश्यक मान्ने दार्शनिकहरू छन्, कतिपय मानिस खुशीराजीले जीवनभर अविवाहित बसेका छन् । मेरो विचारमा सृष्टिको निरन्तरता प्रकृतिको सार्वभौमिक आदेश हो, त्यस प्रक्रियालाई सामाजिक र सांस्कृतिक स्वरूप विवाहले प्रदान गर्छ । अहिलेसम्मका सामाजिक, सांस्कृतिक, कानुनी, आर्थिक ढाँचा विवाह र परिवारमा आधारित छन् । यसलाई अस्वीकार गर्न सजिलो छैन । समाजशास्त्रका पण्डितहरू विवाह संस्था पतनोन्मुख छ भन्न थालेका छन् । मलाई चैं आजसम्म विवाहको महत्त्व घटेको प्रतीत भएको छैन ।

आफ्नो पढाइ र क्यारियरले साथ दिएसम्म भरसक चाँडो विवाह गरेकै राम्रो रहेछ । मैले पढाइ र जागिरको खोजीमा लाग्दा बाको छोराको बिहेमा जन्त जाने इच्छा अधुरै रह्यो । मलाई अहिले लाग्छ, छोराको सुखी पारिवारिक जीवन हेरेर मात्र उहाँ आँखा चिम्लिन चाहानुहुन्थ्यो होला । छोराको बिहेमा जन्त जाने बाको इच्छाको गरिमा मैले बल्ल बुझ्न थालेको छु । हेरौं, मेरो इच्छाको नियति चाहिँ के हुने हो ?

४. सम्पत्तिको जोहोः

हाम्रो पुर्ख्यौली सम्पत्तिको रूपमा नेपालटार फाँटमा केही खेत र उदयपुरगढीमा घरबारी थियो । नेपालटारको खेतले धानको भात खुवाउँथ्यो भने उदयपुरगढीको घरबारीमा मकै र तोरी फल्थ्यो । त्यहाँको घरले औलोबाट बचाउँथ्यो । पहिला जिल्ला सदरमुकाम उदयपुरगढीमा थियो र सदरमुकाम रहेको ठाउँमा घर हुनु राम्रै कुरा थियो । पछि सदरमुकाम पनि गाइघाट स¥यो, औलो पनि उन्मूलन हुँदै गयो । अनि हामी अक्सर नेपालटारमै बस्न लाग्यौं । माध्यमिक विद्यालय उदयपुरगढीमा भएकाले म चाहिँ पढुन्जेलसम्म संरक्षकका साथमा उदयपुरगढीमा बसेँ ।

मैले पढ्दापढ्दै बाले नेपालटारमा थप खेत किन्नु भयो । बा इष्टमित्रसँग ‘छोराछोरी ठुला हुँदै गए, पछि उनीहरूलाई खान लगाउन दुःख नहोस् भनेर यो खेत जोडेको हुँ‘ भन्नुहुन्थ्यो रे । बालाई हाम्रो भविष्य सुनिश्चित गर्ने हुटहुटी थियो । त्यही हुटहुटीले उहाँलाई कति चिन्तित बनाएको थियो होला, कति दुःख झेलाएको थियो होला, त्यो म अहिले अनुमान पनि गर्न सक्दिन ।

बाको देहान्तपछि हामीले त्यो खेत बेच्यौं । विनाकारण त बेचिएको थिएन, तर त्यो जग्गा बाले नकिन्नुभएको भए पनि त व्यवहार चलेरै जान्थ्यो होला । बाले धेरै दुःख गरेर आर्जेको त्यो जग्गा हाम्रो हातमा त सित्तै आएको थियो । यो पछि थपिएको हो, यो नभए पनि हामीलाई पुग्छ भन्ने मनोविज्ञान पनि बन्यो कि ? बाउको पालामा जोडिएको सम्पत्तिको महत्त्व छोराको पालामा आइपुग्दा अलि घट्छ कि जस्तो पनि लाग्छ । सम्पत्तिप्रतिको हरेक पुस्तामा उत्तिकै भावनात्मक सम्बन्ध रहँदैन पनि होला । यो सम्झँदा छोराछोरीका लागि हामीले गरेको मेहनतको गहिराइ उनीहरूले अनुमान गर्न सक्दैनन् भन्ने बोध हुन्छ । बाउले किनेको भैंसी र मैले बाटेको दाम्लो भन्ने उखान पनि छ । जे भए पनि सबै अभिभावकलाई आफ्ना छोराछोरीका लागि सकेसम्म बढी आर्थिक सामर्थ्य दिउँ जस्तो त लागिहाल्दो रहेछ । यस मामिलामा म बाजति खरो उत्रन सकेँ, सकिँन, छोराहरूले नै मूल्याङ्कन गर्लान् ।

अब त बाउ छोराको बिछोड भएको पनि चालिस वर्ष भइसकेको छ । धेरै कुराहरू त विस्मृतिको गर्भमा गइसकेका छन् । त्यो समयमा मनमा उठेका ज्वारभाटाहरू शान्त भइसकेका छन्, मनलाई विचलित पार्ने घटना र संवेदनाहरू समयचक्रमा पिसिएर शक्तिहीन भएका छन् । तैपनि ती घटनाहरूमा केही ऊर्जा शेष छ जसले कहिलेकाहीँ मनलाई घच्घच्याइरहन्छ, विनाशब्द आवाज दिइरहन्छ । एउटा अमूर्त संवेदना महसुस हुन्छ र मनमस्तिष्कलाई झङ्कृत गर्छ । यी सम्झना र संवेदना आफ्नो जीवनको अमूल्य सम्पत्तिको झैं लाग्छन् र तिनलाई मुटुको कुनै कुनातिर थन्क्याउँछु । यस्तो ज्योतिपुञ्ज चाहिन्छ जिन्दगीमा !!!

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *