विश्वकप फुटबलः भावनाको दोहन

अहिले विश्वकप फुटबल चलिरहेको छ । म पनि यो खेल हेर्छु । अधिकांश खेलहरू राति थिए, केही खेलहरू बिहान । रातिका खेलहरू निद्रा पातलो भएको अवस्थामा मात्र हेरेँ, बिहानका खेलहरू अक्सर हेर्छु । मेरो खेलकुदमा पकड छैन, म कुनै खेल खेल्दिन । तैपनि मलाई विश्वकप फुटबलको यो चारवर्षे मेला छुटाउन मन लाग्दैन । सारा दुनियाँ यही खेलको वरिपरि घुमिरहेको प्रतीत हुन्छ । खेल समाचारमा त यही मेलाको साम्राज्य छ नै, कहिलेकाहीं त मुख्य समाचारको पहिलो पानामा यसैसँग सम्बन्धित समाचारले ठाउँ पाउँछ । त्यसैले पनि होला, यो मेलाबाट बेखबर हुन मलाई पनि मन लाग्दैन । भलै मेरा कदम छोटा हुन्, यसका शक्ति कमजोर हुन् तर विश्वको कदममा कदम मिलाउन त मनले कर गरिहाल्छ नि !

यो विश्वकप फुटबलमा मैले समर्थन गर्नुपर्ने टिम छैन । नेपाल सहभागी भएको छैन । नेपालको खेलकुद क्षेत्र नै अस्तव्यस्त छ । अखिल नेपाल फुटबल संघलाई अन्तर्राष्ट्रिय फुटबल महासंघले निलम्बन गरेको छ । संसारका अरू देशसँग मेरो निकटता हुनुपर्ने के नै छ र ? न म कतै लामो समय बस्ने गरी गएको छु, न अरू कुनै सम्पर्क सम्बन्ध छ । खेलाडीहरूलाई चिन्ने त कुरै भएन । म पत्रिकाको खेलकुद स्तम्भ त खासै नहेर्ने मानिसले खेलाडीबारे के जानकारी हुनु ? त्यसैले म खाली दिमाग लिएर नै खेल हेर्न सुरू गर्छु । सोच्छु जसले जिते पनि मलाई के र ? जो हारे पनि मलाई के र ? न बातिरका काका, न आमातिरका मामा !!

खेल सुरू भएपछि मेरो निष्पक्षता बिस्तारै हट्छ र पक्षधरता सुरू हुन्छ । कहिले खेलाडीको बल पास गर्ने कौशल देखेर, कहिले बारम्बार हुने फाउल हेरेर, कहिले ती देशको इतिहास सम्झेर मेरो निष्पक्षता धमिलो हुन्छ । नेपाल एशियामा पर्ने भएकाले एशियाली देश, नेपाल गरिब देश भएकाले तेस्रो विश्वका देशतिर मेरो समर्थन एकोहोरिन्छ । पटकपटक विश्वकप जितेका देशलाई उदीयमान देशहरूले जितुन् भन्ने पनि लाग्दो रहेछ । यो पक्षधरता कहिलेकाँही यति सघन हुँदो रहेछ कि म नै रेफ्रीको निष्पक्षतामा शङ्का गर्ने ठाउँमा पुग्दो रहेछु ।

मानिसले निष्पक्षता सिक्ने नै आफ्नो स्वार्थ र सरोकार नभएको विषयबाट हो । स्वार्थले त मानिसलाई विवेकहीन बनाइहाल्छ । यो खेलमा मेरो कुनै स्वार्थ छैन । माथि नै लेखें, नेपाल यसमा सहभागी छैन ।  युद्धमा जस्तो खेलमा हुने हारजीतले दीर्घकालीन र व्यापक असर पनि पार्दैन । मित्रवत् प्रतिस्पर्धाको उदाहरण दिनु पर्दा हामी खेललाई बिम्ब बनाउँछौं । हामीले निष्पक्षताको अभ्यास गर्न पर्ने नै यस्तै घटनाबाट हो । तर म आफैंलाई हेर्छु, निष्पक्षप्रायः बनेर फुटबल हेर्न बसेको म एकछिनमै पक्षधरतामा विलीन हुन्छु । निष्पक्ष भएको भए सबै गोलमा रमाउन सक्थेँ होला, सबै पटक गोल हुनबाट बच्दा खुशी हुन्थें होला । म विनाकारण निष्पक्षता गुमाउँछु अनि फुटबलको सिङ्गो रमाइलोबाट बञ्चित हुन्छु र आधा रमाइलोमा अलमलिन्छु । हामी जिन्दगीमा रमाउन पनि यसैगरी चुकिरहेका छौं कि जस्तो लाग्छ ।

जब पक्षधरता जन्मन्छ अनि आग्रह र पूर्वाग्रह मौलाउँदै जान्छ । यसले उसलाई पास दिनु पर्ने, त्यसले त्यता बल नलैजानुपर्ने, रेफ्रीले यहाँ सिठ्ठी नबजाउनु पर्ने, गोलकिपरले पक्रेको बल नछोड्नु पर्ने, पेनाल्टीमा पनि आउट त नहान्नु पर्ने आदि ! मैले फुटबल के जानेको छु र !  तर मेरो मष्तिष्कमा रहेको यो अज्ञानताका बारेमा मेरो मन बेखबर बनिरहन्छ ! अनि कहिले कुनै खेलाडी, कहिले क्याप्टेन, कहिले कोच र कहिले त रेफ्रीलाई नै रायसुझाव दिइरहन्छ । खेलाडीले पेनाल्टी मिस गरेका टिप्पणी गर्दा आफूले गुमाएका अवसरहरूको हिसाब किताब छुटाइहरहेको हुन्छु । आफूले नपाएका र नदिएका पासहरूबाट शिक्षा लिन पछि परिरहेको हुन्छु । हामीले अरूले खेलेका खेलहरूलाई जत्तिकै आफ्नो जिन्दगीलाई पनि यति नजिकबाट आलोचनात्मक नजरले हेर्न सकेको भए जिन्दगीको रूपरेखा नै अर्को हुन्थ्यो होला । टेलिभिजनको स्क्रिनमा यो खेल हेर्न बिगारे जति निद्रा बिगारेर त्यो समय आफ्नो व्यक्तित्त्वको विकासमा लगाएको भए अमेरिका पुगेर स्टेडियमबाटै फुटबल हेरिन्थ्यो कि ? अहँ, त्यसरी सोच्न सकेको छैन अहिले पनि ।

खेल आखिर हारजीतमा नै त टुङ्गिने हो, एउटा नै हार्छ । मेरो समर्थनको रूझानबाट नै प्रष्ट भइसक्यो होला, मैले समर्थन गरेको टिम अक्सर हार्छ । न स्वास्थ्य बिग्रनु, न इज्जत जानु, न सम्पत्ति सकिनु, त्यसै नियास्रो लाग्छ, दुःख लाग्छ । सानो र छोटो भए पनि एउटा अनावश्यक मानसिक आघात मेरो मष्तिष्कले बेहोर्छ । नचाहिने हार्मोनहरू मेरो रगतमा कुद्छन् । यो अर्थहीन दुःख भोगाइको पात्र बन्छु म ! कहिलेकाँही समर्थन गरेको टिमले जित्दा पनि हुने त्यही त हो । कुनै लाभ वा नाफा नभइकन खुशी भइरहेको हुन्छु । सपनामा रमाएजस्तो । आफ्नो समर्थक टिमले खेलको सुरूमा अग्रता लिएर पछि हार्दा त झन् आगो तापेर बसिरहेको वेला चिसो पानी खन्याए जस्तो लाग्छ । विपरीत भावनाहरू छोटो समयको अन्तरालमै दिमागमा कुद्न थाल्छन् । खुशी नसिद्धिदै दुःख आइपुग्छ । खुशीको रसायन नसकिँदै दुःखका रसहरू आइपुग्दा दिमागमा पनि गृहयुद्ध पो हुन्छ कि ? जे होस्, मेरो लागि फुटबल हेर्नु मन र मष्तिष्कलाई भावनाको रणभूमि बनाउनु जस्तै भएको छ । मेरो भाग्य र भविष्यमा कुनै असर नपार्ने घटनाहरूले मलाई खुशी र दुःखी बनाइरहेका छन् । म अर्थहीन भावनाको सागरमा डुबिरहेको हुन्छु ।

खेल सकिएपछि सामाजिक सञ्जालमा झन् रोचक कुरा पाउँछु । जित्ने टिमका समर्थकहरूले आफ्नो अपार खुशी त्यहाँ व्यक्त गरिसकेका हुन्छन् । त्यति मात्र होइन, हार्ने टिमका समर्थकका लागि खिसीटिउरीका शृंखला पनि त्यहाँ भेटिन्छन् । अरूको के कुरा गर्नु ? म नै त्यस्तै छु । आफूले समर्थन गरेको टिमले गोल हान्यो र अग्रता लियो भने मलाई यति खुशी हुन्छ मानौ म नै त्यो टिमका म्यानेजर हुँ । त्यो टिमले जितेबापत पाउने पुरस्कारको रकममा मेरो पनि भाग लाग्छ । उनीहरूले जिते विश्वकपको ट्रफी खेल सकिएको भोलिपल्ट मेरै घरमा आइपुग्छ । यो जीतमा मेरो शक्ति र सीपको उपयोग भएको छ । मैले सिकाए अनुसार नै गोल हानेका छन् । एउटा अर्थहीन उत्साहको सागर त्यहाँ पनि उर्लिरहेको छ । यो अर्थहीन उत्साहले जीवनमा अर्थ खोज्नबाट हामिलाई रोकिरहेको छ ।

जीतमा खुशी हुनु मानव स्वभाव हो । यसैले त हामीलाई उन्नतितिर लैजान्छ, प्रगतितिर लैजान्छ । हारमा दुःखी हुनु पनि सामान्य हो । यसले हामीलाई अधोगतितिर जानबाट रोक्छ । तर खुशीका हाँसोहरू र दुःखका आँसुहरू आफ्नै जीत र हारका लागि पनि राख्ने हो कि ! ‘दुई थोपा आँसु’ र एउटा उज्यालो हाँसो आफ्नै लागि पनि छुट्याएर राख्ने हो कि ! त्यति मात्र होइन, अर्काको सफलतामा तन्मय भएर रमाउँदा आफ्नो सफलताको बाटो खोज्न त बिर्सिएको छैन ? यो फुटबलको मात्र कुरो होइन, यो खेलको मात्र कुरो रहेन, हाम्रो समग्र जीवन नै कहिले योपट्टि त कहिले ऊपट्टि लागेरै बितिरहेको छ । हामी आफूपट्टि लगाउने कहिले हो, कसरी हो ? जित्नेहरूको जुलुस पछ्याउँदैमा आफू विजेता भइन्न । आफ्नो जीतका लागि हामी आफ्नो लडाइँ कत्तिको इमानदारीका साथ लडिरहेका छौं । यो प्रश्न हरदिन आफैंलाई सोध्नुपर्छ र यस्ता विजेताको जुलुस पछ्याएर फर्केपछि त झन् गहिरोसँग सोध्नुपर्छ । म पनि जब आफैंलाई यो प्रश्न सोध्छु, अवाक् बन्छु ।

कहिलेकाहीँ हाम्रो इतिहास हेरेर पनि चित्त बुझाउँछु । हामी अहिले आफूले नखेलेको विश्वकपमा कोही यतातिर र कोही उतातिर लागेर जुन ढङ्गले थपडी मारिरहेका छौं, यो प्रवृत्ति हामीलाई इतिहासबाट प्राप्त भएको हो । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध हाम्रो लडाइँ थिएन तर शासकको उर्दीको पालना गर्दै हामी यो वा ऊ देशबाट लड्यौं । त्यसरी लडेबापत विभिन्न पदवी पायौं, खुशी भयौं तर हामीले केही जितेका थिएनौं । त्यो क्रम आज पनि रोकिएको छैन, झन् विस्तारित भएको छ । सस्तो मजदूर मात्र होइन, सस्ता डाक्टर, सस्ता इन्जिनियर, सस्ता वैज्ञानिक, सस्ता विद्वान भएर हामी संसारका विभिन्न कुनामा गएर अरूको युद्ध लडिरहेका छौं । हाम्रो आफ्नो युद्ध मैदान खाली छ, शत्रुको अट्हासपूर्ण धावा जारी छ । हाम्रो खेतबारी बाँझा छन्, हाम्रो कारखानाबाट धुँवा र आवाज आउँदैन, आफ्ना बिरामी रोगको निदान नभएका कारण कालगतिले मर्छन्, हाम्रो विश्वविद्यालय तर्कहीन भएर सुनसान छन् । हामी जीतहारको पूरा जिम्मेवारी लिएर जिन्दगीको जुवामा बस्न सक्दैनौं, बस यसैगरी यो दाउ वा ऊ दाउमा च्याँखे थापिरहन्छौं । यसरी च्याँखे थाप्दा जिते आफूले जितिन्छ, हारे अरूलाई दोष लगाउन पाइन्छ । यसरी सजिलो खोज्ने भएका छौं हामी । दोष कुनै व्यक्ति वा समूहलाई दिन सक्दिन । यो प्रणाली कसरी बिग्र्यो, कहाँबाट बिग्र्यो, खोजी त हुनुपर्छ । सित्तैको सुख यसैगरी अरूको पक्ष लाग्दा पाइन्छ । आफैं मैदानमा उत्रिदा त तनावलाई साथी बनाउनु पर्छ ।

अर्काको जीतको उल्लासले बढाएको डोपामाइन (खुशीको हार्मोन) अक्सर आफ्नो जिन्दगीमा फर्केर हेरेको क्षण नै तिरोहित हुन्छ र व्यापक निराशाले घेर्छ । हाम्रो जीवन गोल हानेर उफ्रिरहेको खेलाडीको जस्तो छैन । उसको हाँसोमा हामीले मिसाएको हाँसो दिगो हुने गुन्जाइस नै छैन । अनि घोर निराशाले घेर्न थाल्छ । आफ्नो जीवन र आफू बाँचेको जगतभन्दा टाढाको संसारमा एकछिन रमाउनुको पीडा खेल सकिएपछि सुरू हुन्छ । यो कुरा हाम्रो चेतन मष्तिष्कले त उति बोध गर्दैन तर हाम्रो अवचेतनमा यसको असर नपरिरहला भन्न सकिन्न । मानिसको आम असन्तुष्टिको कारण यही वा यस्तै त छैन ?

विश्वकप फुटबल चलिरहेको छ । भावनाको उहापोह चलिरहेको छ । अझ सम्झनुपर्ने कुरो, फुटबलको यो महामेला सकिएपछि पनि भावनाको ज्वारभाटा उठाउने पात्र, घटना र प्रवृत्ति आइरहन्छन् । यी कुरासँग हाम्रो सोझो साइनो सम्बन्ध नभए पनि यिनले हामीलाई अनाहकमा दुःख दिन्छन्, अर्थहीन खुशी दिन्छन् । हामीलाई यिनले अलमल्याउँछन् । आफ्नो जीवनको खोज, आफ्नो भविष्यको आविष्कार गर्ने दूरदृष्टिमा ए एक वा अर्को प्रकारले पर्दा लगाइरहन्छन् । हामी यी भावनात्मक गञ्जागोलबाट निस्पृह रहेर आफ्नो जीवन आफ्नै तालले बाँच्न सकौंला कि यिनै भावनाको लहरमा बग्दै जाऔंला ? म आफूचाहिँ रनभुल्लमा छु ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *