केही वर्ष पहिला दक्षिण कोरिया जाँदा मैले एउटा पदावली सुनेको थिएँ, ‘कोरिया इन्कर्पोरेसन’ । अर्थात, कोरिया कम्पनी । विकासको एक चरणमा कोरिया देश नै एउटा कम्पनीको रुपमा परिणत भएको थियो । त्यो समग्र देश एउटा आर्थिक अवयवको रुपमा कार्यरत थियो । त्यो देश आर्थिक विकास, उत्पादन वृद्धि, निकासी वृद्धि, पूर्वाधारको विकास जस्ता काममा एकोहोरो भएर लागेको थियो । उसका आर्थिक बाहेक अरु एजेन्डा वा कार्यभार नभए जस्तै थियो । देश भए पनि यसको राजनैतिक चासो कम थियो । सामसुङ, हुन्डाइ, एलजी, लोट्टे, किया जस्ता कम्पनीको विकास र विस्तारमा मुलुककै चासो थियो । कोरियनहरु जापानको औपनिवेशिक थिचोमिचो, दोस्रो विश्वयुद्धको परिणतिस्वरुप भएको विभाजनको पीडा र दुई कोरिया बीचको युद्धको घाउलाई बिर्सेर नयाँ शिराबाट देशको विकास गर्न लागेका थिए । र ती प्रयासको सकारात्मक उपलब्धि पनि हासिल भएको थियो । साह्रै कम समयमा र सारा संसारलाई आश्चर्यमा पार्ने गरी कोरिया विश्वको गरिब देशबाट विकसित र धनी मुलुकमा रुपान्तरित भएको थियो । शायद यसै अवस्थालाई जनाउने पदावली थियो, ‘कोरिया इन्कर्पोरेसन’ ।
नेपालको लागि यस्तै नाम के होला ? कोरियाबाट फर्केपछि मैले आफैलाई सोधें । मेरो मनमा यस सम्बन्धमा लामो समयदेखि खुलदुली भइरहेको थियो । हामीले अहिले जे गर्दैछौं त्यसका लागि कुन नाम राम्रो होला ? कुन विशेषण उपयुक्त होला ? मन दशतिर सोचिरहेको थियो । राम्रा र नराम्रा बिम्बहरु मनमा आइरहेका थिए । नेपालले शान्ति र संविधानको उपलब्धि हासिल गरेको थियो । राजनैतिक स्थिरताको छाँट देखिएको थियो । तर आर्थिक विचलन र अनुशासनहीनता रोकिएको थिएन । अनौपचारिक अर्थतन्त्र झाँगिएको थियो, छिमल्ने प्रयास कमजोर भएका थिए । गैरकानुनी धन्दा रोकिएका थिएनन् । आर्थिक सुशासन कमजोर थियो, आर्थिक अराजकता मौलाउँदै थियो । गैरकानुनी मात्र होइन, कानुनी रुपमा नै पनि कतिपय यस्ता आत्मकेन्द्रित निर्णय भएका थिए जसले नेपालको स्रोत साधनको दुरुपयोग नै गर्दथ्यो । यस्तोमा मैले एउटा बिम्ब जुराएँ, नेपाल बुफे’ । अर्थात नेपाल महाभोज ।
हो पनि, नेपाल एक महाभोज हो । यहाँ बस् खाने काम हुन्छ, भइरहेको छ । हामी आफ्नो अर्थतन्त्रलाई निर्वाहमुखी भन्छौं । यसको अर्थ हो, खान पुग्ने । हामीलाई खान लाउन पुगे भो । बढी भएको मरेर लाने होइन क्यारे । बाँकी अरु केही चाहिएन । इज्जत चाहिएन, प्रतिष्ठा चाहिएन, मान चाहिएन । चाहिएन पनि नभनौं । खानु नै मूलमन्त्र बनेको यस मुलुकमा खानु मै मान छ, इज्जत छ, प्रतिष्ठा छ । जति खायो उति इज्जत । कति खायो, कसरी खायो, के खायो मतलब छैन । खायो, सकियो ।
सब खाइरहेका छन् । बस खाइरहेका छन् । चुनिएर गएका खाइरहेका छन् । गएर फर्केका पनि खाइरहेका छन् । मनोनित खाइरहेका छन् । जागिरे खाइरहेका छन् । सत्ता पक्षका खाइरहेका छन् । विपक्षी खाइरहेका छन् । हालवाला खाइरहेका छन्, भूतपूर्व खाइरहेछन्, अभूतपूर्वहरु खाइरहेछन् । ठुलाले ठुलो भाग खाइरहेका छन् । सानाले सानै भाग खाइरहेका छन् । भोजको टेबुलमा खाना तयार छ । आफ्नो आँटले पुग्ने खाइरहेका छन्, हिम्मतले पुग्ने भ्याइरहेका छन् ।
यो महाभोजका परिकार पनि विशिष्ट किसिमका छन् । अरबको पसिनाले परिकार तयार भइरहेको छ । कमाउन नेपाली उतै गएका छन् । मलेसियाको परिश्रमले भोज सजिएको छ । परिश्रमी पाखुरा उतै सोझिएका छन् । कोरियाको सिरेटोले चिसो भएको बियर छ पिउनको लागि । त्यहीँको बारीमा युवा जोतिएका छन् । बाँकी रहेको केही आफ्नै बारीको होला । केही छिमेकीको होला । केही किनेर ल्यायौं । केही उधारो होला । जहाँबाट जसरी जे ल्याएर भएपनि भोज तयार भइरहेको छ । सहयोगीको सहयोग यहीं मिसिएको छ । असहयोगीको असहयोगले पनि केही बिगारेको छैन । यो भोज तलबको नाममा खाइरहेका छन्, भत्ताका नाममा खाइरहेका छन्, विशेष भत्ताका नाममा खाइरहेका छन्, अतिविशेष भत्ताका नाममा खाइरहेका छन् । हिँड्दा भ्रमण भत्ताका रुपमा खाइरहेका छन्, बस्दा बैठक भत्ताका रुपमा खाइरहेका छन् । बजार महँगो भएर महँगी भत्ताका रुपमा खाइरहेका छन्, आफैं सस्तो भएकाले सहयोगका रुपमा खाइरहेका छन् । । नेपाल महाभोजमा सरीक छ । सब खाइरहेका छन् । सब रमाइरहेका छन् ।
कसैले यो भोजमा खाऊँ कि नखाऊँ गरेको देख्नु भयो भने सोच्नुस्, उनीहरुलाई बिसन्चोको डर छ । खान पनि मन छ । लोभले मन तानिरहेको छ भोजतिर । तर पचाउन सकिएला कि बिसन्चो होला भन्ने पीर छ । यही लोभ र डरको जालोमा यिनीहरुको जीवन बितिरहेको हुन्छ । हरेकका छोडेका गाँससँग लोभ र टिपेका हरेक गाँससँग डरको नाता गाँसिएको हुन्छ । यही द्विविधा, हिचकिचाहट र अन्योलमा यिनीहरुको जीवन बितिरहेको छ । यो महाभोज उनीहरुका लागि छ पनि, छैन पनि । अनिश्चय र किंकर्तव्यविमुढताका अजिंगरले जीवनलाई गाँजिरहेको छ । न निल्न सकेको छ न ओकल्न । यही दोमनले आँखाबाट निद्रा खोस्छ । ओठबाट हाँसो खोस्छ । जिब्रोबाट स्वाद अनि कानबाट संगीत खोस्छ । जीवनरसको महासागरमा यिनको जरा पुग्न सकेको छैन । र त्यो मन उत्सर्गका उर्जा बनेर आकाशमा फैलन पनि सकेको छैन । जीवनमा न यिनले माया पाएका छन् न राम भेटेका छन् । चरम तनावको झोलुङ्गामा यी हल्लिरहेका छन् । आसन्न दुर्घटनाले सधैं सशंकित पारिरहन्छ । यो महाभोज कति महाभोज हो र कति महाजाल हो उनीहरु द्विविधामा छन् ।
यो महाभोज हो कि महाजाल हो भन्ने कसैकसैको द्विविधा ठिकै पनि हो । कतैकतै र कहिलेकाहीं यो महाभोजमा दुर्घटना हुन्छ । खाने, पु¥याउने, राल चुहाउने वा रमित हेर्नेमध्ये कतिपय दुर्घटनाका कारण झमेलामा पर्छन् । यो झमेलाबाट फुर्सद पाएर सबैजसो फेरि यो महाभोजमा सामेल हुन्छन् । कोहीकोही चाहिँ यो महाभोजबाट बञ्चित नै हुन्छन् । तर पनि म दोहो¥याएर भन्छु, यो झमेला र बञ्चितीकरण दण्ड होइन, फगत दुर्घटना मात्र हो । यात्रा उही हो, बाटो उही हो, यात्राको तरिका उही हो । तर कहिलेकाहीं दुर्घटना हुन्छ । त्यसपछि पनि यात्रा अनवरत रहन्छ, पहिला जस्तै । यो यात्रा अनादि कालदेखि थियो होला, अनन्तकालसम्म चलिरहन्छ होला । बस् बीचमा कहिलेकाहीं दुर्घटना हुन्छ । मोटर दुर्घटना हुन्छ तर हामीले यात्रा रोकेका छैनौ । हवाइजहाज दुर्घटना हुन्छ तर हामी उड्न छोडेका छैनौ । यो दुर्घटना बस् कर्मको खेल हो हाम्रा लागि । भाग्यमा छ भने महाभोज, भाग्यमा छैन भने महाजाल ।
दुर्घटनाको कारण बस् दुर्भाग्य मात्र देखिन्छ । यो दुर्भाग्य मेटाउने उपाय बनेको छ धर्म । यसैले हाम्रो धर्म बचाइरहेछ, धर्मको आत्मको रुपान्तर भए पनि । मन्दिर बनाइरहेछ, धर्मशाला बनाइरहेछ, पानी पियाउ छन्, विश्रामस्थल छन् । आफ्नो महाभोज यात्रा सुरक्षित राख्न कतिपयले गरिब गुरुवा, अशक्त र रोगीलाई रोटी, खिचडी र खिर खुवाइरहेछन् । जैसी करनी, वैसी भरनी । अरुलाई खुवाऊँ, आफू खाऊँ । महाभोजको लोभले महामना जन्माइरहेछ, झुठमुठ नै सही । यही सोच र प्रर्वत्तिले धर्म अब लिलाम बढाबढमा प्राप्त हुन थालेको छ । दशांश दान गर्नुस् र पुण्य कमाउनुस भनिरहेका छन् धर्माधिकारीहरुले । आजको रेटमा दश प्रतिशत निकै सस्तो हो । अहिले दश प्रतिशतमा कसैले काम गर्दैन । धर्माधिकारीहरु सस्तैमा खटिरहेका छन् । धर्म त्यसै स्तुत्य भएको होइन रहेछ ।
यो महाभोजमा अनेक टेबुल सजिएका छन् । भूमिको टेबुल छ, वनको टेबुल छ । खर्चको टेबुल छ आम्दानीको टेबुल छ । राजस्व, भन्सार र करका विशेष स्टल छन् । मालपोत, यातायात र वैदेशिक रोजगारको स्टलमा पनि चहलपहल छ । यसमा खानेकुरा पनि अनेक छन् । कुनै कृषिबाट आएको छ, कुनै वनबाट । सडक, पुल र बाँधका परिकार पनि छन् । शिक्षा र स्वास्थ्य खाइरहेका छन् कोही । कोही भवन, उद्योग, कारखाना खाइरहेका छन् । कोही सन्तानका भाग खाइरहेका छन् । कोही पितृका भाग खाइरहेका छन् । जसले जे भेट्यो, त्यही खाइरहेका छन् । अनवरत खाइरहेका छन् । केही अखाद्य छैन, केही अभक्ष छैन । अलि अघि त एकले अर्कोलाई मारेर पनि खायो भन्ने हल्ला थियो । जब खाने लत लाग्छ, लत के भनौ जब खाने मात लाग्छ, अनि कुनै नैतिक बन्धन रहँदैन, कानुनको लौराले कुनै काम गर्दैन ।
यो महाभोजका लागि कुनै पनि परिकार केलाउनु र सुधार्नु पर्दैन । यसमा साग मात्र होइन, पात, डाँठ र रुख सबै खान मिल्छ । यहाँ परिकारको रुपमा अन्न मात्र होइन, खेत नै छ । माछा मात्र होइन खोला नै छ । खानेले खाना मात्र खाएका छैनन्, चम्चा र प्लेट पनि खाएका छन् । ओदान, चम्का र चुलो पनि खाएका छन् । तर खाएर कहिले अघाएका छैनन् । भोक झन्झन् बलशाली बनिरहेको छ । पहिले खाने लगाउने भोक थियो । त्यसपछि घरघडेरीको भोक लाग्यो । अनि अलिअलि बचाउने भोक जाग्यो । त्यस्तो बचाउने ठाउँ विदेशतिर भए अझ राम्रो जस्तो लाग्यो । फेरि मोटरको भोक लाग्यो, डलरको भोक लाग्यो । विदेश भ्रमणको भोक लाग्यो । सुराको भोक लाग्यो, सुन्दरीको भोक लाग्यो । यसरी भोकको अनन्त जालोमा फैलिरहेको छ, नेपाल त्यही जालोमा फसिरहेको छ ।
पशुको जमातमा नाङ्गोपन लाजको विषय नभए जस्तो यो खञ्चुवापन लाजको विषय भएको छैन । खानु सबैको आवश्यकता भएकाले यो सबैतिर सर्वस्वीकृत भइसकेको छ । म खान्छु, तपाईं खानुहुन्छ, अर्को खान चाहन्छ । त्यसैले यसको नराम्रो चर्चा कतै सुनिन्न । यो सर्वस्वीकृत संस्कृति हो । म तपाईंका जान्छु, खानका लागि । तपाईं उता जाँदै हुनुहुन्छ, खानका लागि । सबै योजना, सबै कार्यक्रम, सबै बजेट, सबै नीति, सबै रणनीतिको मुख्य प्रस्थान विन्दु नै खाने कुरा हो । प्लेनमा उड्नेहरु, मोटरमा हुँइकिनेहरु, पैदल लम्किनेहरु सब खान कुदिरहेका छन् । कोही अर्कै शायद उदात्त र महान् उद्देश्यका लागि पनि हिँडिरहेका होलान्, तर म त त्यही सोच्छु । सोच्छु मात्र होइन, मलाई विश्वास पनि लाग्दैन, उसको महानतामा । कसैले त्यस्तो मूर्खता कसरी गर्न सक्ला ? मेरो खन्चुवापन त्यही सोच्छ । अब त महानता पनि आत्मप्रवञ्चना जस्तो लाग्छ ।
यस्तो महाभोजमा कोही भने साग र रोटीमा अलमलिएका छन् । उनीहरुलाई अलि फरक किसिमको रोग छ । इमानदारिताको रोग, नूनको सोझोको रोग, निष्ठाको रोग । जनताको सेवक बन्ने भुत पनि कसैमा सबार छ । यो महाभोजमा पनि खानमा अलिकति जोगाएर यो देशलाई किफायतमा पार्न सकिन्छ कि भन्ने संकीर्ण सोचाइ छ उनीहरुमा । आकाशबाट खसेको यो मुलुकको भाग्यलाई खजूरमा अड्याउने दुस्साहसमा छन् कोही । ती यही एकोहोरो विश्वासमा महाभोजको गंगालाई उल्टो दिशामा बगाउन खोजिरहेका छन् । पतनको बाटो बगेर विसर्जनको दोभानमा पुग्न लागेको गंगालाई सुशासनको भञ्ज्याङमा पु¥याउने सपना छ उनीहरुको । यही सपनामा ती बाँचिरहेका छन् । दुनियाँले उनीहरुलाई मनोरोगीको कित्तामा राखेको छ । अकडो मानिएका छन् उनीहरु । आत्मप्रवञ्चक ठानिन्छन् उनीहरु । यो हठले उनीहरुलाई हर मौका र अवसरमा जिल्याइरहेको छ । यही जिल्ल परेको मनस्थितिमा पनि बाँचिरहेका छन् ती । यो अवस्थाले उनीहरुको व्यवहारिक जीवनमा अनिर्वचनीय हीनता दिएको छ । छोराछोरीसँग आँखा जुधाउन नसकेर पनि बाँचिरहेका छन्, पत्नीसँग दोहोरो बोल्न नसकेर पनि बाँचिरहेका छन्, छिमेकमा मूर्ख कहलिएर पनि बाँचिरहेका छन्, समाजमा अमिल्दो भएर पनि बाँचिरहेका छन् । यी सुतुरमुर्ग हुन्, बालुवामा टाउको लुकाएर सुरक्षित हुन चाहन्छन् । यो बेथितिको भारी बोक्न नसक्ने डर छ बराहरुलाई । अहिले देश अलिकति बाँचिरहेको छ, शायद यिनीहरुकै मूख्र्याइँले होला ।
पृथ्वीले त नखाऊँ, नखुवाऊँ भनेका थिए रे । तर भनेर गए, रोक्न भ्याएनन् । त्यसपछिका राजा महाराजा जुधेर बसे । कहिले अरुसँग, कहिले आफैंसँग । त्यसपछि राणा आए । आफू खाए, आफ्नालाई खुवाए । शाह फर्के । आफूले खाए, आफ्नालाई खुवाए । प्रजान्त्र आयो, जित्नेले खाए, हार्ने कराए । सामेली लोकतन्त्र आयो । अब महाभोजमा सबै सामेल भए । जित्ने सामेल भए, हार्ने सामेल भए । संघीयता आयो । संघीय सरकार सामेल भयो, प्रदेश सरकार सामेल भयो, स्थानीय सरकार सामेल भयो । ठेकेदार आए, एजेन्ट आए, सरकारी संयन्त्र आए, गैरसरकारी संगठन आए, उपभोक्ता समिति आए, अनुगमन समिति आए । खाने आए, खान खोज्ने आए, खान सिकाउने आए, खान सघाउने आए, खुवाइदिने आए । महाभोज चलिरहेको छ ।
राजनीति, प्रशासन, समाजव्यवस्था वा धर्ममध्ये कुनै पनि सत्ता र शक्तिमा रहेको मान्छे यस महाभोजमा सरीक भइरहेको छ । तर आम जनता त महाभोजबाट बञ्चित भएका र बनाइएका छन् । यस्तो महाभोजमा सबै सरीक हुने सम्भावना नै हुँदैन । ती वञ्चितहरु बस् भाग्यलाई सरापेर बस्न बाध्य छन् । सुशासन र सुव्यवस्थाअघिको अँध्यारो नै भाग्यवादको उर्वर भूमि हो । उनीहरुको भाग्यमा त बस् रणनीति छ, नीति छ, योजना छ, कार्यपत्र छ, चुनावी घोषणापत्र छ, बजेट छ, मौद्रिक नीति छ, भाषण छ, आश्वासन छ । यस्तैयस्तै अनेक छ । बस् खानेकुरा छैन ।
महाभोजको महामोज र सबै अवसरबाट भएको बञ्चितीकरणले महाविसंगतिको सिर्जना गरेको छ । यो महाविसंगति महावियोग पनि बनेको छ । यसले समाजलाई महापीडामा पु¥याएको छ । तर सबै विगतका अनुभव, शिक्षा र प्रतीज्ञा बिर्सेर महाभोजमा चलिरहेको छ । शिक्षा र संवेदना दुवै गुमाएर मानिस महाभोजमा संलग्न छन् । हृदयमा संवदेना छैन भने पीडा आफैं लजाउँदो रहेछ । पीडा लजाइरहेको छ । पीडन मौलाइरहेको छ । यही संवेदनाहीनताले ल्याएको मनोभावनालाई खुशी मानिएको छ । यो नक्कली खुशीले वास्तविक खुशीको बोध गर्न सधैं बाधा हालिरहेको छ । यो बाधा चिरेर सक्कली खुशीको मजा लिन हामी कहिले सकौंला ?
नेपाललाई महाभोजको यो भुवरीबाट निकालेर सिर्जना र निर्माणको महायज्ञमा लैजानु छ । तर कसरी ? बिरालाको घाँटीमा घण्टी कसले बाँध्ने ? आफैबाट निष्ठाको सुरुवात गरेर आजको भाषामा बेबकुफ को बन्ने ? सारा समाज कमाउ, खाउ र मोज गर भन्ने महामन्त्रमा तल्लीन भएको अवस्थामा आत्मसंयम कसले गर्ने । सबै सजिलो बाटो हिँडिरहेको अवस्थामा कठिन बाटो कसले लिने ? बगिरहेको गंगामा हात नचोबलेर मूर्ख हुने जोखिम कसले लिने ? यो एउटाको जरो नघोटी अर्काको औषधि नबन्ने विश्वास पालेको समाजमा सकारात्मक प्रेम र त्याग जस्ता भावनाको सती को जाने ? सबैले आफ्नो बुद्धि र विवेक बन्धक राखेर बाँचिरहेको समाजमा विवेकको बन्धक को हुने ?
विवेक र भावनाको पराजय र स्वार्थको राज भएपछि नै समाज र देश महाभोजमा परिणत हुन्छ । मानव स्वाभिमानको पतनको संकेत हो विवेक र भावनाको पतन । यी सहज गुणहरु कतै अपहरित भएका छन् र हाम्रो समाज यो रसातलमा पुगेको छ । यी गुणहरुका कारण हामी मान्छे मानिएका हौं । मानवता यिनै सकारात्मक गुणहरुको पुञ्ज हो । यी गुण हराए हामी नासिने छौं । विश्वमा अनेकन सभ्यता जन्मे र विलीन भए । हामी त्यसैगरी विलीन हुन्छौं कतै । यदि हामीलाई बिलाउन मन छैन भने हामीलाई बचाउने ती मानवीय भावनाको खोजी र पुनरुत्थान गर्नु आवश्यक छ ।
करिब एक किलोग्राम गहुँको पीठोको दैनिक ज्याला र चार सय ओनको मासिक जागिरबाट उठेर कोरिया आज विश्वको एक आर्थिक केन्द्र बनेको छ । त्यो मुलुक कुनै विशिष्ट प्राकृतिक साधन स्रोतले सम्पन्न भएर त्यति धनी भएको होइन । बस् मानवको लगन, मिहिनेत, इमानदारिता र सिर्जनशीलताले हो । राष्ट्रभक्ति त यस्तै भावनाहरुको राजनैतिक अभिव्यक्ति मात्र हो । भावना र विवेक विनाको राष्ट्रभक्ति त कल्पना पनि गर्न सकिन्न होला । नेपाल पनि गरिब साधन कम भएर भएको होइन, साधना कम भएर गरिब भएको हो । यही साधनालाई सिद्ध गर्ने इच्छाशक्ति र जाँगरको आज खाचो छ ।
यो महाभोजको महाभूलबाट नेपाली समाजलाई जोगाउनु र त्यो काम आफैंबाट सुरु गर्नु आजको माग हो । मनका अनेकौं असंगत चाहनालाई मानवता र त्यागको तिर्सनाले मेटेर नयाँ यात्राको लागि तयार हुनैपर्छ । पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न अनि ओरालो हिंडेर पहाडको चुचुरो पनि टेकिन्न । कठिन यात्राले नै रमाइलो गन्तव्यमा पु¥याउनेछ । हामी पनि सिर्जना र निर्माणको युग सुरु गरौं । हाम्रो अतीतको बोझबाट भविष्यलाई मुक्त बनाऔं । अनि नेपालको पनि नयाँ बोलाउने नाम दिऊँ ‘नेपाल क्रेसन’ । नेपाल सिर्जनाको अनन्त सम्भावनाको मुलुक हो । हामी यसलाई सार्थक पार्न समर्थ बनौं ।
