नेपालको अर्थतन्त्र अहिले निकै जटिल मोडमा छ । लामो राजनैतिक अस्थिरतापछि आएको अत्यधिक बहुमत प्राप्त स्थिर सरकारप्रति जनताका असंख्य चाहना छन् । सरकारका आफ्नै चुनाव ताकाका प्रतिबद्धता पनि छन् । सरकारले आफू समृद्ध नेपाल सुखी नेपालीको अभियानमा रहेको बताइरहेको छ । तर दिगो आर्थिक विकासका आधारहरु कमजोर रहेका छन् । आन्तरिक स्रोत सीमित छ । स्थानीय तहले उठाउन लागेका करको विरोध भइरहेको छ र कतिपय कर अस्वभाविक पनि देखिएका छन् । विदेशी लगानी र सहयोग आशा गरेजति प्राप्त भएको छैन । बजेटमा निर्धारित पुँजीगत खर्च हुन सक्दैन । साधारण खर्च बढरहेको छ । बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादक क्षेत्रमा लैजान निकै ठुलो कसरत गर्नु परिरहेको छ । सबै भन्दा ठुलो चुनौती त व्यापार घाटाको छ । गएको आर्थिक वर्ष झण्डै ११ खर्ब व्यापार घाटा भएको छ । नेपालको अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन, सरकारी बजेट) अनुसार यो अंक ठुलो हो । यो अप्ठेरो अवस्था हो ।
नेपालको आयात घटाउन (प्रतिस्थापन गर्न) तथा निर्यात बढाउन विभिन्न नीति र कार्यक्रम ल्याइएका छन् । वैदेशिक व्यापार घाटाको तथ्याङ्कले ती कार्यक्रम कम प्रभावकारी भएको स्पष्ट पारिसक्यो । अब केही नयाँ काम गरेर आयात घटाउने र निर्यात बढाउने काम गर्नु आवश्यक छ । नेपालले कृषि र उद्योगमा बढी ध्यान दिनै पर्छ । सेवा क्षेत्र र रेमिटान्सको भरमा मुलुक धानिन सक्दैन । यो तरिका दिगो हुँदैन ।
जुत्ता, दुग्ध उत्पादन, चिया, पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर बनिसकेको छ भन्ने सुनेको छु । नेपाली गलैंचा त संसारभर प्रख्यात नै भयो । नेपाली गार्मेन्ट पनि त पहिला राम्रो थियो । अहिले पनि चलिरहेकै छ । नेपाली बयस्कलाई हाफपाइन्ट लगाउन सिकाएकै नेपाली गार्मेन्ट उद्योगले हो भन्ने मेरो ठम्याइ छ । बिजुलीका सामान पनि नेपालमा प्रशस्त बनेका छन् । प्लाष्टिक उद्योग पनि छन् । निर्माण सामग्रीको पनि उत्पादन भइरहेका छन् । कलात्मक सामानका लागि त नेपाल केन्द्र नै हुनसक्छ । मैले थाहा नपाएका अनेकन उद्योग धन्दा होलान् । घरेलु उद्योग पनि प्रशस्त नै छन् । तयारी कपडा र झोला बनाउने तर कतै अभिलेख नभएका उद्योग पनि मैले देखेको छु । नेपालमै कतिपय वस्तुको उत्पादन भइरहनु र उत्पादनको सम्भाव्यता रहँदा पनि आयात भने दिनानुदिन बढिरहेको छ । त्यसैले नेपालमा उत्पादित यस्ता समानको बजार बढाउनु र उत्पादनसमेत बढाउनु आजको आवश्यकता हो ।
आज कतिपय उपभोक्ताले चाहेर पनि नेपाली उत्पादनको प्रयोग गर्न पाएका छैनौं । राजधानीको भृकुटीमण्डपमा नेपाली उत्पादनको प्रदर्शनी समयसमयमा आयोजना गरिन्छ । तिनमा ग्राहकको ठुलो आकर्षण पाइन्छ । यति मात्र होइन मोफसलमा भएका प्रदर्शनीमा हुने व्यापार पनि उत्साहजनक रहेको देखिन्छ । तर प्रदर्शनी सकिएपछि ती सामान किन्न कहाँ जाने यकिन छैन । प्रदर्शनीमा किनेका सामानको मर्मत, सम्भार र वारेन्टी उपयोग गर्नमा पनि अलमल छ । नेपाली उत्पादनको बजार व्यवस्थित देखिएको छैन ।
नेपाली उत्पादनको विशिष्ट बजार नभएको कारण नेपाली सामान किन्न हिँडेका ग्राहक पनि अन्य उत्पादन बोकेर घर फर्कनु पर्ने अवस्था छ । नेपाली सामानको विशिष्ट पसल नभएका कारण व्यापारीहरुले नेपाली उत्पादन पनि अन्य आयातीत वस्तुसँगै बेच्न राखेका हुन्छन् । कतिपय पसलमा त हाम्रो सीमित उत्पादन र कमजोर व्यापारिक रणनीतिका कारण नेपाली वस्तु पुगेकै हुँदैनन् । नेपाली वस्तु भए पनि बढी कमिसन वा अन्य लाभको लोभमा व्यापारीले आयातीत सामानको गुणगान गाउन थाल्छन् । उनीहरु नेपाली सामानप्रति ग्राहकलाई आकर्षित गर्नुभन्दा ती सामान किन्दा कुनै वारेन्टी नहुने भनेर ग्राहकलाई विकर्षित गर्छन् । थाहै छ, कतिपय आयातीत सामान त निकै घटिया हुन्छन् । यस्तो अवस्थामा धरै जसो त सस्तो भनेर हामी थोरै समय पनि नटिक्ने आयातीत कवाडी किनिरहेका हुन्छौं । सस्ता विदेशी सामानले हामीलाई दीर्घकालमा महँगोमा पारिरहेका छन्, पटकपटक किन्नु परेर ।
नेपाली उत्पादन बढाउन तिनका खपत बढाउन आवश्यक छ र उचित बजारीकरण त्यसको अति आवश्यकत तत्व हो । नेपाली उत्पादनको बजार प्रवद्र्धनका लागि नेपालभर मेड इन नेपाल कक्षको स्थापना हुनु आवश्यक छ । त्यहाँ नेपाली उत्पादन मात्र राखिनुपर्छ । त्यस कक्षमा राखिने नेपाली सामानमा निश्चित तहको गुणस्तर कायम हुनुपर्छ । कतिपय नेपाली उत्पादन विदेशी बजारलाई मात्र लक्ष्य गरेर उत्पादन गरिएका छन् । तिनले पनि नेपाली ग्राहक लक्षित स्तर र मूल्य राखेर उत्पादन गर्नु आवश्यक छ । ती सामानको मर्मत, सम्भार, सट्टाका लागि निश्चित सुविधा र शर्तको व्यवस्था गरिनुपर्छ । देशका विभिन्न भागमा बिक्री कक्ष राखेका नेपाली उत्पादनको पनि सम्पर्क तथा बुकिङ कक्ष भने मेड इन नेपाल कक्षमा राख्न सकिन्छ ।
नेपालमा उत्पादन भएका गुणस्तरीय वस्तु प्राप्त भएको अवस्थामा सरकारले नेपाली उत्पादन नै किन्नुपर्ने व्यवस्था गर्नुपर्छ । स्तरलाई बेवास्ता गरी मूल्यको प्रतिस्पर्धाका कारण नेपाली उत्पादन बिक्रीमा पछि परेको गुनासो छ । सरकारी खरिदमा नेपाली उत्पादनलाई थप प्रोत्साहन हुनुपर्छ (१५ प्रतिशतसम्म महँगो भए पनि नेपाली सामान नै किन्नुपर्छ भन्ने नियम त अहिले पनि छ क्यार) । सजावट र उपहार त पूर्णरुपमा नेपाली उत्पादन नै प्रयोग गर्नुपर्छ ।
संक्रमणकालमा विदेशी हस्तक्षेपले घाइते भएको हाम्रो स्वाभिमान संविधान निर्माणपछि जुर्मराएको छ । यही नेपालीपनको भावनालाई व्यावसायिक रुपमा पनि प्रवद्र्धन गर्नु आवश्यक छ । रामदेवले आफ्ना उत्पादनलाई देशी (स्वदेशी) उत्पादनका रुपमा माया गर्न भारतीयसमक्ष अपिल गरेका छन् । उनको व्यापारमा वृद्धि भइरहेको छ । नेपालीहरुमाझ पनि राष्ट्रियताको भावना प्रवल छ । यसलाई सकेसम्म नेपाली उत्पादनको प्रयोग गर्ने चाहनाको रुपमा रुपान्तरण गर्नु आवश्यक छ । नेपालको अवस्था पनि राम्रो छ । ढाका, अल्लो, रेशमको माग राम्रो छ । युवाहरु दौरासुरुवालमा ठाँटिने क्रम बढेको देख्न सकिन्छ । बजार बढाउनका लागि गुणस्तर र मूल्य भने उचित हुनैपर्छ । यसलाई भावनात्मक दोहनका माध्यम भने बनाइनु हुन्न ।
मेड इन नेपाल कक्ष नेपालका प्रमुख व्यापारिक केन्द्रमा स्थापना हुनु आवश्यक छ । देशको एक भागको उत्पादन सबै स्थानका मेड इन नेपाल कक्षमा पाइने व्यवस्था मिलाइनुपर्छ । इलामको कक्षमा जुम्लाको गेडागुडी र मुस्ताङको कक्षमा इलामको चिया पाइने वातावरण बनाउनु आवश्यक छ । राजधानीमा नै पनि केही स्थानमा यस्तो कक्ष खोल्न सकिन्छ । कहिलेकाहीँ मात्र प्रदर्शनीका लागि प्रयोग हुने भृकुटीमण्डप यसको लागि उपयुक्त स्थान हुनसक्छ । त्यसका अतिरिक्त ठुला पसलहरुले आफ्नो क्षेत्रफलको केही हिस्सा नेपाली उत्पादनलाई छुट्याउनुपर्ने व्यवस्था गर्न सकिन्छ । भाटभटेनी, विशाल बजार, बिगमार्ट, बिग बजार, सिटी सेन्टर जस्ता व्यापारिक संस्थाले मेड इन नेपाल कक्ष स्थापना गर्न सक्छन् । यस्तो कक्ष संचालनका व्यवस्थामा त व्यापक छलफल हुनु आवश्यक पनि हुन्छ । बजारमा उच्च मूल्य, उच्च गुणस्तर र निम्न मूल्य, निम्न गुणस्तरका आयातीत सामानहरु प्रशस्त छन् । तर किन्न सकिने मूल्यमा औसत गुणस्तरको सामानको अभाव छ । मूल्य अंकित हुने प्रचलन नहुने, बिल नदिने र मोलमोलाइ गर्ने, गुणस्तरको यकिन नहुने अवस्थाले किनमेलका लागि बजार जानु टाउको दुखाइको विषय बनेको छ । ठिक्क र तोकिएको मोल, स्वीकार्य गुणस्तर र प्राप्तिको सुनिश्चितता, तोकिएको बजारस्थल । नेपाली सामान लागि यति व्यवस्था मिलाउन सकिए ती सामानको उपभोगमा वृद्धि ल्याउँछ, उत्पादन बढाउँछ र उद्यमशीलतालाई घच्घच्याउँछ । आज गोल्डस्टार जुत्ताले जुन उचाइ हासिल गरेको छ त्यो कुनै गार्मेन्ट, विद्युतीय सामग्री, खाद्य वस्तु वा सजावटको सामानले हासिल गर्नसक्छ ।
अब मेड इन नेपाल कक्ष स्थापना गर्न ढिला नगरौं । कम्तीमा राजधानीमा त तत्काल सुरु गरौं । यहाँ ठुलो आवादी छ । देशभरिका मानिस विभिन्न कामले यहाँ आइरहन्छन् । विदेशी पर्यटक पनि उत्तिकै आउँछन् । बरु पर्यटकले शहर घुमाउन लैजादा यस्तो कक्षमा पनि पु¥याउने व्यवस्था मिलाऊँ । हामीले विदेशमा घुम्न जाने प्याकेज लियौं भने यस्तो कक्षमा पटकपटक पुगिरहनु पर्छ र केही न केही किनिहालिन्छ पनि । नेपालमा पनि यस्तै गर्न सकिन्छ । यसको सञ्चालनको क्रममा देखिएका कमीकमजोरी सच्याएर प्रदेश राजधानी, जिल्ला सदरमुकाम, हरेक नगरपालिका, गाउँपालिका केन्द्रसम्म पु¥याऊँ । आज संसार खुला र उदार अर्थव्यवस्थाबाट अघाएर फेरि संरक्षणवादतर्फ जाँदैछ । अमेरिका आफ्नो बजार र उत्पादन सुरक्षित राख्न ठुला व्यापार साझेदारहरुबाट आयात हुने सामानमा कर थपिरहेको छ । हामी पनि नेपाली वस्तुको बजार सुरक्षित गरी आयात प्रतिस्थापन गर्न केही कदम उठाऔं । यसले नेपालको व्यापार घाटा कम गरी देशको अर्थव्यवस्थालाई सुदृढ बनाउन सहयोग पुग्छ ।
नेपाल सानो बजार रहेन । यो संसारका १५५ देशको बजार भएको छ । संसारले सजिलै प्रवेश पाएको नेपाली बजार किन नेपाली उत्पादनको लागि अनुकूल हुन सकेको छैन ? विचार गर्नु आवश्यक छ ।
