सिमबन्दीको स्कूलमा बर्खे बिदा भएपछि म घर आउनु पर्ने थियो तर पाकेको तलब नलिई के घर आउनु ? फागुनदेखि काम गरेको तलब असारमा पनि आएको थिएन । अरु कर्मचारीको तलब भए पो महिनैपिच्छ आउँथ्यो, शिक्षकले तलब खान त्यति सजिलो कहाँ थियो र ? त्यो समयमा शिक्षकको तलबको लागि पनि अलग्गै पापड बेल्नु पर्ने । समयमा निकासा नै नहुने । स्कूल लागुन्जेल पढायो, स्कूल छुट्टी भएपछि निकासाका लागि सदरमुकाम गएर जिल्ला शिक्षा कार्यालयमा धर्ना । त्यसैले म पनि प्रधानाध्यापक महानन्द दाइ र सहकर्मी लक्ष्मी दिदीसँग धुन्चे गएँ । तलब निकासा होला र लिएर घर फर्किउँला भनेर । केही दिन निकै असजिलो गरी धुन्चेमा बसेपछि तलब निकासा भयो । हामी काठमाडौं आयौं । म घर अर्थात नेपालटार आएँ ।
नेपालटार आएपछि त्यही बर्खा म फेरि काठमाडौं जानुपर्यो । हिउँदमा दिएको लोक सेवाको परीक्षामा खरिदार र सह-लेखापाल दुवैतिर नाम निस्केछ । अन्तर्वार्ताका लागि काठमाडौं गएँ । त्यस वेला कृष्ण दाइ रातो पुलमा बस्न थाल्नु भएको थियो, त्यहीं बसें । अन्तर्वार्ताको तयारी केही गरिएन । पत्रिका चाहिँ पढियो कि ? सिमबन्दीमा शिक्षकको अस्थायी जागिर त कायमै थियो तर स्कूल खुलिसकेको थिएन । त्यसैले अन्तर्वार्ता दिएर नेपालटार नै फर्कें ।
भदौको पहिलो हप्तातिर म काठमाडौंको लागि हिंडे । बुवा खस्नु भएको हुनाले त्यो सालको चाडवाड मान्ने त कुरै थिएन । आमासँग लोक सेवा पास भएँ भने लामो विदा हुँदैन त्यसैले दसैंमा घर आउँदिन, काठमाडौंमै कृष्ण दाइको डेरा बस्छु । लोक सेवा पास भइन र शिक्षकको जागिरमा गएँ भने लामो विदा हुन्छ, दसैंमा आउँछु भनेर हिंडेको थिएँ । फोनको सुविधा थिएन, चिठी पुग्ने समयको भर थिएन ।यसरी दीर्घकालीन योजना सुनाएर हिंडेपछि फर्केर नआउन्जेल ढुक्क माने ढुक्क, तुलबुल लिए तुलबुलको अवस्था थियो ।
काठमाडौंमा मलाई खुशीको खबर पर्खेर बसिरहेको रहेछ । मैले लोक सेवा आयोगको सहलेखापालतर्फको परीक्षा पास गरेछु । गृह मन्त्रालयमा पोस्टिङ भएको रहेछ । रिजल्ट अलि अघि भएको रहेछ । कृष्ण दाइले चिठी नेपालटार पुगुन्जेलमा त म नै काठमाडौं पुग्छु होला भनेर चिठी नलेख्नु भएको रहेछ । जिन्दगीभर खुशी दिने यो खबर बासी भए पनि यसको स्वादमा कुनै कमी थिएन । रमाउँदै लोक सेवा आयोग गएँ, खुशी हुँदै गृह मन्त्रालय पुगें र सिफारिस लिएँ । सिन्धुपाल्चोकको जिल्ला (प्रशासन) कार्यालयमा पोस्टिङ भएको रहेछ । नियुक्ति उहीं पाउने रहेछु । सिमबन्दीको शिक्षकको जागिरबाट विदा भएर म अब राजाको सिंदूर लगाउने भनिएको निजामती सेवामा प्रवेश गर्न गइरहेको थिएँ ।
“दाइ मलाई पैसा दिनु न ।” उही त हो मैले कृष्ण दाइलाई भनें ।
“किन चाहियो तिमीलाई अब पैसा ?” उहाँले सोध्नु भो ।
“बस्ने खाने व्यवस्था त गर्नुपर्यो नि ! सिमबन्दीमा भएको सामान लिन जाने कुरा भएन ।” मैले भने ।
“सिडिओ अफिसको लेखापाल भएर पनि यस्तो कुरो गर्ने ? जाने, होटलमा खाने, लजमा सुत्ने, तलब आएपछि तिर्ने । कुरो सक्किगो नि ! ” उहाँले भन्नु भो ।
मलाई उहाँको सल्लाह उपयुक्त लागेन । अलिकति पैसै दिएको भए हुने । मेरो मनले यही भनिरह्यो । उहाँ त जागिरे हुनुहुन्थ्यो । जागिरेलाई पैसाको दुःख हुँदैन भन्ने पनि लागेको थियो मलाई । पछि मात्र थाहा भो । जागिरे भनेको के हो । पैसा भनेको के हो । कस्ताकस्ता खाले जागिरे हुन्छन् । तिनीहरु र पैसाबीचको कस्तोकस्तो सम्बन्ध हुँदो रहेछ भन्ने कुरो त !
बरखीका एकसरो लुगा, आइ.ए. मा परीक्षा नदिएर पास गर्न बाँकी रहेको ब्राइटर इङ्लिसको गाइड, बरखीमा छाता ओढ्न नहुने भएकोले बर्खाको लागि किनेको पलास्टिक र एकदम कम बाटो खर्च बोकेर म चौतारा तिर लागें । होटलमा खाने र लजमा सुत्ने कुरो भएको छ । पैंतालीसमा नै धेरै कुरा फुकाए पनि होटलमा भात खाने हिम्मत उतिसारो गरेको थिइन । कतिपटक त भात अर्डर गरेर पनि होटलबाट बाहिरिएको छु । सेतो लुगा लगाएको मानिस होटलमा बसेको भनेर सबैले आफैंलाई हेरेजस्तो लाग्ने । आजभन्दा तेत्तीस वर्षअघिको कुरा । समाज आधुनिक भइसकेको थिएन । होटलमा त म उति बास बसेको नै थिइन । सिमबन्दीमा मास्टर हुँदा कहिलेकाही त्रिशुलीमा बास परेको वेला बसिन्थो । तर यो पटक त एकदमै अव्यवस्थित तरिकाले यात्रा गर्नुपर्यो । तर काम्लामा मुछेको सातु त मुछेपछि खानुपर्छ भन्ने उखान छ । लोक सेवा पास गरेको मान्छे, जागिर खान जान डराउने त कुरै थिएन । म भदौ चौध गते (यकिन भने छैन) चौताराका लागि प्रस्थान गरें ।
भदौको सिमसिमे पानीमा पलास्टिक ओढेर बसपार्क पुग्दा चौतारा जाने बस आफूलाई चाहिँदो यात्रु चढाएर बोनसरुपी थप यात्रुको प्रतीक्षामा रहेछ । म पनि उभिएँ । बसमा थुप्रै मान्छे थिए । ती सबैको भरे खाने गाँसको टुंगो थियो, मेरो थिएन । ती सबैको भरे सुत्ने बासको व्यवस्था थियो मेरो थिएन ।त्यो यात्रुको माझमा मलाई यस्तो मानिसको खोजी गर्नु थियो जसले मेरो समस्याको समाधान गर्न सकोस् ।
आफ्ना आँखाहरुबाट मैले शायद केही तरङ्गहरु फ्यालें क्यार ! मानिसले मेरो आँखामा हेरेर आँखैले केही प्रतिक्रिया दिए जस्तो लाग्यो ।ती थुप्रै प्रतिक्रियाहरुमध्ये आफूले सकारात्मक मानेको प्रतिक्रिया फ्याल्ने आँखालाई मुखैले सोधें- तपाईंको घर चौतारा हो ?
“घर त गुल्मी हो । म चौतारामा अफिसमा काम गर्छु ।” उनले भने ।
जागिरे त रैछन् । अर्को जागिरेलाई कसो सहयोग नगर्लान् । मेरो मनमा हौसला बढेर आयो ।
“कुन अफिसमा ? ”
“जिल्ला कार्यालयमा हो ।” कस्तो राम्रो ! म जुन कार्यालयमा नियुक्ति लिन जाँदैछु उनी त्यहींका कर्मचारी !
“हेर्नुस् न ! म पनि जिल्ला कार्यालयमा नै जानुपर्ने छ, नियुक्ति लिन । लोक सेवा आयोगले सिफारिस गरेको छ सह-लेखापालमा ।” मैले शायद यस्तै केही भने हुँला ।
“म पनि त नियुक्ति लिन जान लागेको नि पञ्जिकाधिकारीतर्फको खरिदारमा । सँगैको विज्ञापनमा पास गरेका रहेछौं ।” उनले आफ्नो कुरा पनि खोले । बस घ्यार्रघुर्र गरुन्जेलमै मैले आफू जस्तै अर्को मान्छे फेला पारिसकेको थिएँ ।
“म त गाउँबाट रसुवा हिंडेको थिए । व्यक्तिगत सामान सबै उतै छन् । म त त्यत्तिकै पो हिंडेको छु ।” मैले आफ्नो कमजोरी लुकाउन सकिन, चाहिन ।
“चिन्ता नगर्नु न ! म पाटन बस्छु । भाइ बेडिङ लिएर मीनभवनमा बसेको छ । बेडिङ त्यहींबाट लोड गर्ने हो । बसौंला न मिलेर ।” कति असल मान्छे । म खुशीले गद्गद भएँ । कसरी पहिल्याएछु यिनलाई !
खुशीलाई बेलुनसँग तुलना गरेर कुन वेला त्यो बेलुन फुट्छ र खुशी दुःखमा बदलिन्छ भन्ने मान्यता छ । तर मलाई त्यति वेला लाग्यो, दुःख पनि बेलुन हो, कति वेला फुट्छ र दुःख सकिन्छ । मेरो चौताराको बसोबास सम्बन्धी समस्या बेलुन फुटे झैं समाप्त भयो ।
हामी गफ गर्दै नै चौतारा पुग्यौं होला । दोलालघाटमा खाना खायौं होला, साँगाचोक त ठुलै पो रैछ त, भन्यौ होला, आज नियुक्ति लिन भ्याए आजको तलब पनि खान पाइन्थ्यो भनेर लोभियौं होला । मैले उनलाई उदयपुर लिएर गएँ होला, उनले पनि मलाई गुल्मीतिर घुमाउन खोजे होलान् । वनदेउमाथि, साँगाचोक र चौतारा छेउछाउका उकालो कच्चीबाटोमा थात्रो बसले एक नम्बर गियरमा पनि नतानेर खलासीले हतारमा ओट लगाएर बस रोक्दा हामी डरायौं होला । तर अहिले केही सम्झना छैन । मीनभवनमा उनको बेडिङ लोड गरेपछि मेरो मन फुरुङ्ग परेको थियो । यस्तो वेला हानेको गफको के सम्झना हुन्थ्यो र !
चौतारामा बसबाट ओर्लिएर सोधखोज गर्दै जिल्ला कार्यालय पुग्यौं । अग्लो ठाउँमा रहेछ कार्यालय, मालपोत कार्यालयसँग आँगन जोडिएको रहेछ । प्रमुख जिल्ला अधिकारी बलराम कापर लामो तालिमको क्रममा काठमाडौं हुनुहुँदो रहेछ ।प्रशासकीय अधिकृत माथुरप्रसाद यादव कायममुकायम प्रमुख जिल्ला अधिकारी हुनुहुँदो रहेछ । सिफारिस पत्र उहाँलाई दियौं । केही कर्मचारीलाई बोलाएर चिनजान पनि गराउनु भयो । तत्काल नियुक्तिपत्र तयार गर्न निर्देशन पनि दिनुभयो । केही बेरमा त नियुक्तिपत्र नै हाम्रो हातमा थियो ।
बेलुकाको बासका बारेमा उहाँले नै सोधीखोजी गर्नुभयो । हामीले त मुखामुख मात्र गर्यौं । बेडिङ भए पनि कोठा थिएन । उहाँले नै कार्यालयको गेस्ट हाउसमा बस्ने अनुमति दिनुभयो । हामी दसैंसम्म ढुक्कले गेस्ट हाउसमा नै बस्यौं ।
अँ, ती मान्छे थिए, भक्तिराम अर्याल । दसैंपछि प्रमुख जिल्ला अधिकारी हाजिर हुनुभयो । गेस्ट हाउसमा पाहुना आउन थाले । हामीले पहलमान श्रेष्ठको घरमा डेरा लियौं ।गुल्मीका भक्तिराम अर्याल र उदयपुरको म रुम पार्टनर भयौं । कुनचोकेको पसलबाट कोठामा आवश्यक सामान किन्यौं । दसैपछि त मैले पनि बेडिङको जोहो गरें । हामी आफै पानी थाप्थ्यौं, दाल, चामल, तरकारी किन्थ्यौ, पकाउँथ्यौं, खान्थ्यौ, भाँडा माझ्थ्यौं । त्यसको केही पछि उनी पनि घरेलु विभाग, त्रिपुरेश्वर आए । उनी गएपछि म एक्लैले डेरा चलाएँ । हाम्रो यो नाता म नेपाल राष्ट्र बैकको जागिरमा आएपछि पनि कायम रह्यो । म कतिपटक भेट्न पनि गएको थिएँ । तर म विराटनगर हिंडेपछ भने सम्पर्क भएको छैन । केही महिनाअघि उनलाई फेसबुकमा देखेर फ्रेन्ड रिक्वेस्ट पठाएँ, म्यासेन्जरमा सन्देश पठाएँ तर कुनै प्रतिक्रिया पाएको छैन ।
चौतारामा 2043 सालको भदौदेखि 2044 सालको चैतसम्म बसें । अहिले पनि अखबारमा छापिएका सिन्धुपाल्चोकका गाउँठाउँका खबरमा आँखा जान्छन् । चौताराका मान्छे भेट्दा नचिने पनि माइती भेटेजस्तो लाग्छ । तैपनि त्यसपछि त जान सकेको छैन । जान मन चाहिँ बिछट्टै लागेको छ ।
निक्कै राम्रो प्रस्तुती। उच्छ र परिमार्जित सन्मरण।