गरीखाने मान्छे

तिहार सकिएको थियो तर मलाई अलिकति भएको करेसाबारी खनेर साग रोप्ने जाँगर आएको थिएन । यो त्यही डेंगी भएको साल पनि हुनसक्छ वा अरू कुनै साल । जे भए पनि म कमजोर भएको थिएँ जस्तो लाग्छ । कोदालो बिंड सम्झन मन लागिरहेको थिएन । बरन्डामा उभिएर हेर्दा बारीको झारले मलाई खिज्याउँथ्यो, म खिस्स हाँसेर टारिदिन्थें । झार मौलाइरहेका थिए, मेरो जाँगर मुर्झाइरहेको थियो । दिन त्यसैगरी दिन बितिरहेको थियो ।

“बहिनी, कोदालो दिनु त !”

घरको भुइँतलामा बस्ने दिदीले मुना (पत्नी) सँग कोदालो माग्नु भयो । म त ओछ्यानबाट उठेको पनि थिइँन ।

“किन चाहियो कोदालो ?” कोदालो दिँदै उनले सोधेकी थिइन् ।

“गाउँबाट एक जना बहिनी आएकी छिन् । यो बारी खन्दिन्छु भन्दैछिन् ।“

पाहुनालाई कहाँ बारी खन्न दिनु त ! मेरो मनमा यो कुरो आएको थियो । मुखले चैं भनिन कि जस्तो लाग्छ ।

“खन्छु भनेकी छन्, खन्छिन् । गाउँको मिल्ने साथी हुन् । चिन्ता गर्नुपर्दैन ।“ मुनाको मुखमा पनि केही अस्पष्टता झल्किएको थियो क्यारे । त्यसलाई सम्बोधन गर्न दिदीले थप्नु भयो ।

म ओछ्यानमा बसेर सोचिरहेको थिएँ – को हुन् यी देवदूत ! हाम्रो बारी खन्न स्वर्गबाट आएकी !

मेरो जिन्दगीमा ओछ्यानबाट उठ्ने प्रेरणाको अभाव छ । जागिरबाट अवकाश पाइसकेको छु । अब साढे आठमा भात खाएर दश बजे कतै पुग्नुपर्ने बाध्यता छैन । व्यापार व्यवसाय छैन । समाज सेवा छैन । कसरत छैन । पूजापाठ, योग, ध्यान छैन ।  केही कामहरू मनमा आए दिउँसोलाई टारे भयो । यसैले शरीका विकारहरूले उत्सर्जनको माग नगरून्जेल सुतिरहन्छु म ।

आज ओछ्यानबाट उठ्ने अनौठो उत्प्रेरणा प्राप्त भयो, ती देवदूतलाई हेर्ने । म उठें, लुगा लगाएँ र बरन्डामा आएँ । एउटी दुब्ली महिला बारी खनिरहेकी थिइन् ।

“अलि ठुलो डल्ला भएन र !”  मैले सोधें । बारी खनिदिनेलाई धन्यवाद दिनु कता हो कता डल्ला ठुलो भयो रे । मान्छेको जात । मैले आफैंलाई हकारें ।

“ठिकै छ, दोहोर्‍याउँदा मिलिहाल्छ ।“ मैले सच्याएँ पनि ।

“अब मैले यति खनेपछि हजुरलाई सजिलो भो । यता साग रोप्नुस्, उता भान्टा रोप्नुस, त्यता गोलभेंडा रोप्नुस् ।“ उनले बारीको सिटप्लान पनि गरिदिइन् । उनी हँसिली रहिछन्, फरासिली रहिछन् । सेता दाँतहरूले उनी कालो वर्णकी छन् भन्ने पूरै बिर्साइदिंदो रहेछ । कति उज्याली !!

खाना खाएर म बरन्डमा घाम तापिरहेको थिएँ । तलबाट दिदीले बोलाउनु भयो- “यो बहिनी कुरा गर्न आउन खोज्दैछिन्, लिएर आऊँ ?”

“भैहाल्छ नि । लिएर आउनु न !”

बिहान बारी खनिदिने बहिनी । मेरी देवदूत ।  मेरो पनि त काम छैन । गफ गर्नका लागि आउन के को आइतवार ? बिहान बारी खनेर उपकार गरिन् । अब दिउँसो गफ गरेर समय कटाइदिन खोज्दैछिन् । विनाकामको अल्छी मानिसलाई योभन्दा बढी के चाहियो ?

उनी माथि आइन् । बिहानको जाडोमा बारी खन्ने महिला थिइनन् अहिलो उनी । नुहाइछन्, राम्रो सारीचोलो लाइछन् र सुकाउने बाहानमा कपाल पूरै छोडेकी रहिछन् । उनी आधुनिक महिला थिइन् । उनी आधुनिक र फरासिली मात्र होइन, बोलक्कड नै रहिछन् । नहुन् पनि किन ? ‘नेटवर्क मार्केटिङ’ को सक्रिय एजेन्ट रहिछन् । ‘नेटवर्क मार्केटिङ’ मा बन्देज लगाइएको वेला त्यो व्यवसाय ‘डाइरेक्ट सेल’ हुँदोरहेछ । आफूभन्दा तल ठुलो सञ्जाल बनाएकी रहिछन् । मासिक साठी हजारको आसपास उनको कमिसन नै आउन थालिसकेको रहेछ । बजार व्यवस्थापनको क्रममा उनी तराई र भित्री मधेशका अधिकांश जिल्ला पुगिसकेकी रहिछन् ।

“मैले घरमा खाना बनाएको सम्झना नै छैन । पहिला सासुले खाना बनाउनुहुन्थ्यो । पछि छोराको विवाह गरेर बुहारी ल्याएँ  अनि उनैले खाना बनाउन थालिन् । व्यापारबाट नै एकछिन फुर्सद हुँदैन । ग्रुप मिटिङ गर्दागर्दै महिनौ बित्छ ।“ महिला, त्यसमाथि तराईकी महिलाले घरको खाना नबनाएको कुरा सुनेर म तिनछक परिसकेको थिएँ।

अब म पनि त उनको सञ्जालको सम्भावित सदस्य थिएँ । ग्रप मिटिङको सम्भावित मेम्बर ।

“सदस्य बन्नुस् फाइदै फाइदा हुन्छ । हजुर बैंकको मान्छे आफैं कुरो बुझिहाल्नु हुन्छ ।“ उनले अनेक फाइदा देखाइन् । अन्तिममा कार आउने कुरा चैं गरिन् कि गरिनन्, बिर्सें ।

“सबै मानिसले सबै काम गर्न सक्दैनन् । म मार्केटिङ गर्न सक्दिन । त्यसबाट फाइदा पनि लिन सक्दिन । अब म बुढो पनि भइसकें । ती फाइदाको मलाई काम पनि छैन ।“ यही आशयको जवाफ दिएर म तर्कें ।

“तपाईंका साथीहरूको नाम भन्नुस् न ! हामी नै मार्केटिङ गरिदिन्छौं । ती मानिसलाई तपाईंले सदस्य बनाएको भनी कमिसन लिस्टमा राखिदिउँला । तपाईंलाई फाइदा नचाहिए पनि हामीलाई त फाइदा चाहिएको छ । हामीलाई मौका दिनुस् न त सदस्य बनिदिएर ।“ उनले प्रस्ताव गरिन् ।

म नेटवर्क मार्केटिङ र क्रिप्टो करेन्सीसँग सहजाउन सकेको छैन । यी व्यवसायले माग गर्ने चलाखी मसँग छैन । मैलेपछि विचार गरौंला भनी आश्वासन दिएर मेरो अस्वीकृतिलाई शिष्ट बनाएँ । उनले मेरो अस्वीकृतिलाई सहजरूपमा स्वीकार गरिन् ।

‘बिहान त्यति बारी खनिदिएँ । अहिले सदस्य बन्नुस् भन्दा नमान्ने ।‘ उनले मलाई यसरी दङ्ग्याउन पनि सक्थिन् । यसरी दङ्ग्याएकी भए म के गर्थें होला ? अहिले सम्झेर छक्क पर्छु ।

तर अहँ दङ्ग्याइनन् । मेरो अस्वीकृतिमा पनि बिहान हाँसे झैं सेता दाँत देखाएर हाँसिरहिन् ।

ती गरीखाने मान्छे रहिछन् । उत्साही, परिश्रमी र उद्यमी । आफ्नो परिवेशमा रहेको रिक्तताको छनक उनले कति चाँडै पाएकी ! त्यो बाँझो बारी उनको आँखामा बिझायो । त्यहाँ उनले आफ्नो भूमिका देखिन्, खोजिन् र पूरा पनि गरिन् । भाडा बस्नेकोमा पाहुना लाग्न आएको मानिसलाई घरबेटीको बाँझो फोर्न के मतलब ! तर उनले मतलब देखाइन्, सरोकार राखिन् । आफ्नो औचित्य मात्र हैन, आवश्यकता नै प्रमाणित गरिन् । मलाई कामैले भनिन्- म नभएकी भए तेरो बारी बाँझै रहने थियो । तर उनले त्यो अहम् न मुहारमा ल्याइन्, न जिब्रामा ।

उनी समयलाई त्यसै बितेर जान दिंदिहरिनछिन् । बिहान खाना पाक्नुअघि उनको काम थिएन । त्यसै समयमा उनले बारी खनिन् । खाना खाएपछि मसँग कुरा गर्न आइन्, व्यवसाय विस्तारको प्रस्ताव लिएर । त्यसपछि उनी कतै मार्केटिङमा लागिन् । समयको महत्त्व उनलाई थाहा थियो । उनले त्यसलाई गुमाउन चाहिनन् ।

उनको कामसँग प्रेम थियो, त्यसको परिणामप्रति कुनै आग्रह थिएन । बारी खनिन् । खनिएको बारी हेरेर मुस्कुराइन् । आफूले ल्याएको परिवर्तनबाट मख्ख परिन् । न त्यसको ज्याला मागिन् (उनको व्यवसायको कुरो सुनेपछि त ज्याला सोध्ने आँट नै आएन नि), न त्यसको साटो अरू कुनै अनुग्रह चाहिन् । माथि नै लेखें उनको सञ्जालको सदस्य बन्न पनि दङ्ग्याइनन् । उनी “कर्मण्येवाधिकारस्ते” को आधुनिक संस्करण थिइन् ।

अस्वीकृतिप्रतिको सहज स्वीकृति देखेर पनि म छक्क परें । हामीलाई कसैलाई कुनै प्रस्ताब राख्न हिचकिचाहट हुन्छ, राखिसकेपछि अस्वीकृतिको डर लाग्छ र अस्वीकृति आएमा स्वीकार्न गाह्रो पर्छ । त्यतिमात्र होइन, कसैले केही भनेमा हामी अस्वीकार गर्न पनि हिचकिचाउँछौं । तर प्रस्ताव राख्नु, प्रस्ताव स्वीकार वा अस्वीकार गर्नु एवं दुवै किसिमका प्रतिक्रियालाई सहजरूपमा स्वीकार गर्नु नै स्वस्थ र विकासित मष्तिष्कको लक्षण हो । उनमा त्यो परिपक्वता प्रचूर मात्रामा थियो ।

मलाई उनको कामप्रतिको यो समर्पण र समयको सदुपयोग गर्ने उत्साहले हरदम घोचिरहन्छ । उमेरले असी वरिपरि पुग्नु भएकी मेरी आमा अझै सक्रिय जीवन बिताइरहनु भएको छ । घर जाँदा आमाको काम देखेर म जिल पर्छु । यता म भने जागिरबाट रिटायर भएँ, काम छैन भनेर उसै बसिरहेको छु । दिन कति लामो भनेर घामलाई अनि रात कति लामो भनेर जूनतारालाई गाली गर्दै समय बिताइरहेको छु । मसँग समय छ, यो समाजमा ‘बाँझो बारी’ पनि होला । दिन बिताउन गाह्रो पर्ने पाका मानिससँग गफ गरिदिए हुन्थ्यो होला । राम्रो स्कुलमा पढाउन नसक्ने अविभावकका साना छोराछोरीलाई केही सिकाइदिए हुन्थ्यो होला । निराश युवाहरूलाई सुनाउन पाए मेरै जीवनको कथा पनि प्रेरणा हुन्थ्यो कि ? खोजी पसे यत्रो ठुलो संसारमा पैसा आउने काम पनि पाइएला । तर मैले समाजको ‘बाँझो बारी’ देख्न सकेको छैन, देखेको भए पनि खन्न सकेको छैन ।

तिनले सित्तैमा बारी खनिदिएर मलाई झक्झक्याएकी त छिन् तर कर्तव्य पथको मैदानमा मलाई उतार्न चैं कोदालाको बिंडले डडाल्नामा नै दिनुपर्थ्यो कि !

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *