नेपालको राजनीति अहिले चुनावको सँघारमा छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने गरी मिति तोकिएको छ । चुनावी राजनीति सत्ता गठबन्धन र नेकपा (एमाले) नेतृत्त्वको विपक्षी गठबन्धन गरी दुई केन्द्रमा ध्रुवीकृत भएको देखिन्छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चा गरी पाँच दल समावेश छन् भने विपक्षी गठबन्धनमा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, राप्रपा नेपाल, नेपाली कांग्रेस (बिपी) समावेश भएका छन् ।
सत्ता र विपक्षी गठबन्धनमा रहेका दलहरूको विगतलाई हेर्ने हो भने यी नितान्त फरक पृष्ठभूमि र सिद्धान्तका आधारमा विकसित भएका दलहरू हुन् । नेपाली कांग्रेस प्रजातन्त्रप्रति प्रतिबद्ध दल हो । संवैधानिक राजतन्त्रको हिमायती यस दलले २०६२/६३ को दोस्रो जनआन्दोलनपछि गणतन्त्र स्वीकार गरेको हो । यसको दस्तावेजमा प्रजातान्त्रिक समाजवाद पनि लेखिएको छ तर व्यवहारमा खुला र बजार अर्थतन्त्रको अभ्यास गरिरहेको छ । नेकपा (माओवादी) ले जनयुद्ध सुरू गर्दा यही दल सरकारमा थियो र माओवादी नेताहरूको टाउकाको मोल पनि यही दलको सरकारले तोकेको थियो ।
नेकपा (एमाले) को गठन २०३५ सालतिर भएको भए पनि यसले आफूलाई मुलुकको कम्युनिष्ट धारको मूल प्रवाह भएको दावा गर्छ । यसको पृष्ठभूमिमा २०२८ सालतिरको नक्सलवादी आन्दोलन छ । त्यसपछि नौलो जनवादको राजनीतिक सिद्धान्त लिएको यस दलले मदन भण्डारीको आगमनपछि जनताको बहुदलीय जनवाद अङ्गीकार गरेको छ । नेकपा (माओवादी) संविधानसभाको चुनावमा शक्तिशाली हुँदा नेपाली कांग्रेससँग सहकार्य गरेको इतिहास भए पनि नेपाली कांग्रेसको सदा प्रतिस्पर्धी दलको रूपमा एमालेले आफूलाई चिनाउन चाहन्छ ।
नेकपा (माओवादी केन्द्र) संसदीय प्रणालीको विरूद्धमा हतियार उठाएर दश वर्ष जनयुद्ध लडेको पार्टी हो । आफ्नो प्रभाव क्षेत्रमा तास, जुवा, रक्सी निषेध गर्ने, साहुको तमसुक च्यात्ने, कांग्रेस र एमालेका कार्यकर्ताहरूमाथि भौतिक कारवाही र हत्या समेत गर्ने क्रियाकलापहरू यस पार्टीले गरेको थियो । संसदीय राजनीतिको विकल्पमा जनवादी सत्ता स्थापना गर्ने घोषित लक्ष्यका साथ यो पार्टी अघि बढेको थियो । अझै पनि पार्टीका दस्तावेजमा यी कुरा लेखिंदै होलान् पनि । जनयुद्धको अवसानपछि धेरै टुक्रामा विभाजन खेपेको यो पार्टीको मूलधार माओवादी केन्द्र नै मान्न सकिन्छ ।
जनमोर्चा २०४६ सालको जनआन्दोलनलाई अपूर्ण मानी अस्वीकार गर्ने बाम घटकहरूको चुनावी मोर्चा थियो । अहिले यो पार्टीको रूपमा आफ्नो अस्तित्व जोगाउन प्रयत्नशील रहेको छ ।
जसपा र लोसपा मूलत तराई-मधेशमा आधारित पार्टी हुन् । बाबुराम भट्टराई र अशोक राई समेत समावेश भएर जसपा गठन भएपछि यस पार्टीले राष्ट्रिय पहिचान पनि कायम गर्न खोजेका थिए । सद्भावना पार्टी र मधेश जनअधिकार फोरम विभाजन र एकताको विभिन्न चरणहरू पार गरेर यी पार्टीमा रूपान्तरण भएको मान्न सकिन्छ । संविधान जारी हुँदा त्यसमा हस्ताक्षर नगर्ने र संविधान जारी भएपछि विरोधमा सिमाना केन्द्रित आन्दोलन गरी नाकाबन्दीको बाहाना प्रदान गर्ने शक्तिहरू यी दुई पार्टीमा केन्द्रित भएका छन् भन्न सकिन्छ ।
राप्रपा र राप्रपा नेपाल पञ्चायत पृष्ठभूमिका नेताहरूबाट स्थापित दुई राष्ट्रिय प्रजातन्त्र पार्टीका एकता र विभाजनका विभिन्न शृंखलापछि वर्तमानमा कायम रूप हुन् । राजतन्त्रमा आस्था राख्ने दलको रूपमा यी चिनिन्छन् (अहिले राप्रपा नेपालका कमल थापा भने राजतन्त्र विरोधी बनेका छन्) । २०४८ देखि सत्ताबाहिर परेको यो पार्टी २०५१ सालको चुनावमा सत्ताको साँचो हातमा परेपछि २०५२ सालबाट विभिन्न अवसरमा सत्तामा पुग्न सफल भएको छ ।
नेकपा (एस) को स्थापना एमालेभित्र उत्पन्न अन्तर्विरोधको परिणाम हो । यस पार्टीको स्थापनका पछाडि कुनै विशिष्ट राजनैतिक सिद्धान्त र चिन्तन छैन, दीर्घकालीन राजनीतिक कार्यक्रम पनि छैन । यसका अधिकांश कार्यकर्ता एमालेमा फर्कनु र अधिकांश नेता माओवादी केन्द्रमा पस्नु नै यो पार्टीको उपयुक्त निकास मानेको छु ।
यी दलहरूको स्थापनाको पृष्ठभूमि र घोषित सिद्धान्तलाई सर्सर्ती हेर्ने हो भने यी दलहरू एक आपसमा निकै फरक प्रतीत हुन्छन् । यी दलहरू एक आपसमा मिल्लान् र सत्ता तथा चुनावी गठबन्धन गर्लान् भन्ने सहजै अनुमान गर्न सकिन्न । तर नेपालको समसामयिक राजनीतिक इतिहास हेर्ने हो भने यी दलहरूका बिचमा संघर्ष, विग्रह र सहकार्यका अनेक चमत्कारिक घटना हामी सबैले देखिरहेका छौं । बिहे गरेर छोराछोरी जन्मेपछि कसैले नवजात शिशुको अनुहार आमासँग मिलेको लख काट्छन् रे, कोही बाबुसँग मिलेको लख काट्छन् रे । अनि हेर्दै जाँदा छोराछोरीको अनुहार बाबुआमा दुवैसँग मिलेको देखिँदा बाबुआमाकै अनुहार पनि आपसमा उस्तै भएको देखिंदै जान्छ रे । यी दलहरूको उत्पत्तिको फरक पृष्टभूमि र औचित्य भए पनि प्रतिस्पर्धा र सहकार्यको विभिन्न चरणहरू पार गर्दै जाँदा अहिले समान देखिँदै गएका छन्, पहाडका विभिन्न खोंचबाट उत्पन्न भएका खोलाहरू कालान्तरमा एउटै खोलामा रूपान्तरित भए जस्तो ।
समयको यो घडीमा आएर नेपाली जनताले अर्को दलभन्दा निकै फरक मान्ने गरेको उनीहरू संलग्न दल अर्को दलभन्दा तात्विक रूपमा धेरै फरक भने रहेका देखिंदैन । नेपालको सन्दर्भमा माथि नाम लेखिएका सबैजसो दलहरू देशभित्र वा बाहिरका आर्थिक-सामाजिक शक्तिका राजनीतिक रूपान्तरण मात्र हुन् । सबैजसो दलले एउटै वर्ग वा शक्तिको राजनीतिक मोर्चाको रूपमा काम गरिरहेका छन् । यी हेर्दा फरक देखिन्छन् तर सारमा फरक छैनन् । वाइडबडी घोटाला, बालुवाटार जग्गा प्रकरण, नागरिकता विधेयक, एमसीसी जस्ता विषयमा विपक्षी र सत्ता गठबन्धनका बिचमा समान धारणा देखियो । राज्यको दोहन र भ्रष्टाचारको मिसनमा सबै मिलेर नै लागिरहेका देखिन्छन् । एउटा दलका ठुला उम्मेदवारको विरूद्धमा अर्को दलले सशक्त उम्मेदवार उठाएका पनि छैनन् । काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारले मेयरमा जित्दा स्वतन्त्र उम्मेदवारको दलीय राजनीतिमा काम छैन भन्ने दलहरू मिलेर उम्मेदवारी फिर्ता लिई स्वतन्त्र उम्मेदवार राजीव गुरूङ (दीपक मनाङे) लाई प्रदेश सभामा निर्विरोध निर्वाचित गराएका छन् । नेकपा (एस) का अध्यक्ष माधव नेपाल र एमालेका विष्णु पौडेल बालुवाटार जग्गा प्रकरणमा मुछिएका हुनाले विष्णु पौडेल शक्तिशाली भएमा माधव नेपाल सुरक्षित हुने लख काटी विष्णु पौडेललाई चुनाव जित्न सजिलो हुने वातावरण नेकपा (एस) ले मिलाएको देखिएको छ। नेकपा (एमाले) का अध्यक्षलाई राप्रपाले सुरक्षाकवच पहिराएको छ भने सत्ता गठबन्धनले पनि सशक्त उम्मेदवार दिएको छैन । एमालेको सुरक्षा छातामा राप्रपा र राप्रपा नेपालका अध्यक्ष रहेका छन् । शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा दिएको उम्मेदवारी र नेकां (बिपी) लाई दिएको समर्थन फिर्ता लिएर नेकपा एमालेले देउवालाई प्रतिनिधिसभामा रातो कार्पेट बिछ्याउन प्रयास गरिरहेको छ । आफैंले बुढी गण्डकी जलविद्युत परियोजना, क्यान्टोनमेन्ट व्यवस्थापन र लडाकु समायोजनमा अर्बौ भ्रष्टाचार गरेको आरोप लगाएका प्रचण्डलाई डा. बाबुरामले चुनाव जिताउन गोरखा पुर्याएका छन् । यति भएपछि हामीले यी प्रतिस्पर्धामा रहेका दलहरू वास्तवमा प्रतिस्पर्धी हैनन्, सहयोगी हुन् भनेर त बुझ्नै पर्छ । अब रह्यो सतहमा देखिएका देखाइएका अन्तरविरोध ! यस्ता झिनामसिना कुरा सतहमा ल्याएर हाम्रा आँखामा छारो पनि नहाले यिनले के राजनीति गर्छन् त ? एउटा स्थापित दलको विकल्प अर्को दल हुन सकेको छैन, हुन चाहेको छैन, भविष्यमा हुने छाँटकाँट पनि देखिएको छैन ।
यी दलहरू निर्वाचन आयोगमा फरक नामबाट दर्ता भएका छन्, यिनका आफ्नै पदाधिकारी छन्, कार्यकर्ता छन्, अलग पार्टी कार्यालय छ, छुट्टै चुनाव चिन्ह छ । त्यसैले यी कानुनीरूपमा फरक दल हुन् भनेर मान्नै पर्ने हुन्छ । तर राजनीतिक रूपमा यी दलहरू फरक हुन् भनेर मान्न मलाई गाह्रो लागिरहेको छ । एमालेबाट छुटेका घनश्यामलाई सत्ता गठबन्धनले सघाउने रे अनि कांग्रेसका बागी उम्मेदवारलाई एमालेले सघाउने रे ! कांग्रेसबाट टिकट नपाउने डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्लेलाई एमालेबाट निसर्त सहयोगको प्रस्ताव गएको थियो रे ! आफ्नो दलबाट टिकट नपाउने देखिएपछि दल बदलेर टिकट लिने नेताहरूको सूची पनि लामै छ । राप्रपा नेपालका कमल थापा एमालेको चुनाव चिन्ह सूर्य लिएर अनि नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडिरहेका छन् । नेपाल परिवार दलका अध्यक्ष एमालेको समानुपातिक सूचीमा समावेश छन् । सत्ता गठबन्धनलाई सिद्धान्तविहीन र अप्राकृतिक गठबन्धन मानिरहेको एमाले आफैं यस्तै गठबन्धन र मोर्चाबन्दीमा लागिरहेको छ । सत्ता गठबन्धनमा रहेको जसपा अन्तिम समयमा विपक्षी गठबन्धनमा सामेल भयो । यो कस्तो दलीय संस्कृति हो ? सबै दल उही र उस्तै नभए यस्तो अराजकतापूर्ण भाइचारा कसरी सम्भव हुन्छ ? यस्ता व्यवहारबाट कुनै दलले आफू अरू दलभन्दा भिन्न भएको कसरी प्रमाणित गर्न सक्छ ? म त अलमलमा छु ।
दलहरू सिद्धान्त, नीति र कार्यक्रमका आधारमा स्थापना हुन्छन् र त्यही सिद्धान्त, नीति र कार्यक्रमहरू मन पराएर र प्रतिबद्ध भएर नै कोही कुनै दलमा आबद्ध हुन्छ भन्ने भनाइलाई मान्ने हो भने रातारात दल र गठबन्धन बदल्ने प्रवृत्तिको राजनीतिक व्याख्या कसरी गर्न सकिएला र ? त्यसैले यी दलहरूको आधार सैद्धान्तिक र राजनीतिक छैन । यी दलहरू एउटै उत्पादनका फरक फरक बिक्री कक्ष मात्र हुन्, फरक कुरा भने हैनन् । विभिन्न नाम, बाहाना र शक्तिको आडमा यिनीहरू सत्तामा पुग्न र टिक्न चाहिरहन्छन्, जसरी पहिला पाण्डेहरूले चाहे, जसरी थापाहरूले चाहे, जसरी राणाहरूले चाहे । कुरो यही हो र यत्ति हो । दल र दलका नेताहरूको यस्ता गतिविधिको कारण नेपालको लोकतन्त्र मल्लकालीन पाटनका छ प्रधानको शासनमा परिणत हुँदैछ, चुनावमा प्रभावशाली हस्तक्षेप हुन नसके यो अवश्यम्भावी छ ।
यतिका घटना परिघटनापछि पनि कोही दलसँग प्रत्यक्ष लिनुदिनु नभएको एउटा चेतनशील नागरिक आफ्नो दलका गतिविधिसँग पूर्ण सन्तुष्ट छ भने त्यसलाई सकारात्मक चिन्तन र सुदृढ मानसिक स्वास्थ्यको रूपमा व्याख्या गरी ढुक्क हुन सकिएला । तर परिदृष्यहरू बताउँदैछन्, जनताको कुनै दलप्रति मात्र हैन दलहरूप्रति नै वितृष्णा बढिरहेको छ । यो हामीले ल्याएको दलीय व्यवस्थाप्रति नै चुनौती हो । खराब ड्राइभरको कारण बस नै भिरबाट खस्ला र जनतारूपी यात्रुको बिचल्ली होला भन्ने त्रासको कुरा हो । विल्कुलै फरक कुराहरूको बिचबाट आफूलाई मन लागेको कुरो छान्न सजिलो हुन्छ तर उस्तै कुराका बिचबाट आफूलाई मन मनलागेको कुरो कसरी छान्ने र ? छनोटको यस्तै अप्ठेरो वातावरण आगामी चुनावले सिर्जना गरिरहेको छ । पटकपटक अवसर पाएर पनि केही नगरेका, गर्न नसकेका र नगर्नुपर्ने काम गरेका पात्रहरूका बिचबाट आशाको त्यान्द्रो खोज्नु पर्नेछ । निस्पट्ट अँध्यारोमा पनि ध्यान दिएर हेरिरह्यो भने केही देखिन्छ, यो चुनावमा हामीले त्यसैगरी हेरेर सही उम्मेदवारको छनोट गर्नु पर्नेछ ।
पुँजीवादले आफ्नो लगानी र श्रमको उचित प्रतिफलको क्षेत्र खोज्न सक्ने विवेकशील लगानीकर्ताको परिकल्पना गर्छ । बजार अर्थतन्त्रले आफ्नो पैसाबाट उच्चतम सन्तुष्टि प्राप्त गर्न प्रयत्न गर्ने विवेकशील उपभोक्ताको माग गर्छ । प्रजातन्त्रले आफ्नो उचित प्रतिनिधित्व गर्न सक्षम उम्मेदवारको चयन गर्न सक्ने चेतनशील मतदाताको अपेक्षा गर्छ । लोभी जनता भएको देशमा ठग शासक हुन्छन् रे । हामीले पनि हावादारी सपना, पैसा, खानपिनको आधारमा भोट दिएर आफू प्रजातन्त्रको लागि अयोग्य नागरिक भएको पटकपटक प्रमाणित गरिसकेका छौं । दोष नेता वा दलको मात्र होइन, तिनलाई सत्ता र शक्तिमा पुर्याउने हाम्रो पनि हो, अझ हाम्रो नै हो । दल त सबै उही खाले हुन् भन्ने थाहा भइहाल्यो । हामीले यो चुनावमा असफल नेतालाई रोक्ने र अलि आश लाग्दालाई अघि नबढाउने हो भने हाम्रो आगामी पाँच वर्ष मात्र हैन दशकौं अन्योलमा बित्नेछ । यो पटक सद्विवेक प्रयोग गर्न चुक्यौं भने फेरि पुर्पुरामा हात हुने मात्र हो । चुनाव आउन करिब एक महिन बाँकी छ । यो एक महिना ठण्डा दिमागले सोच्ने समय हो ।
बुद्धि नआउनुभन्दा ढिला भए पनि बुद्धि आउनु नै राम्रो हो ।
जब जागे तब सबेरा ।