सत्यवतीको छुटेको रेल

लकडाउनको समयमा म महाभारत टेलिभिजन श्रृंखला हेर्दैछु । छोरा देवव्रतलाई लिएर पत्नी गङ्गा स्वर्ग फर्केपछि शान्तनु एक्लै हुन्छन् । यसैबीचमा गङ्गाले युवा र शिक्षादीक्षा प्राप्त गरेका देवव्रत शान्तनुलाई फर्काउँछिन् तर आफू पूर्ववत् शान्तनुको पत्नी भएर बस्न अस्वीकार गर्छिन् । छोरा देवव्रत प्राप्त भए पनि शान्तनुकी रानी भने हुन्नन् । शान्तनुले देवव्रतलाई युवराज समेत घोषित गर्छन् ।

यसैबीचमा एक दिन सिकार खेल्न जाँदा एक जना सुन्दरी नाविक युवतीसँग शान्तनुको भेट हुन्छ । उनी सत्यवती हुन्छिन् । परासर ऋषिसँगको संसर्गपछि शरीरबाट माछाको गन्धको ठाउँमा एक योजनसम्म सुगन्ध फैलाउने ती युवतीले अधवैंशे एक्ला राजालाई मोहित पार्छिन् । राजा शान्तनु लामो हिचकिचाहटपछि सत्यवतीलाई विवाहको प्रस्ताव राख्छन् । तर ती युवती आफ्नो विवाहको निर्णय गर्ने जिम्मा आफ्नो बुवासँग रहेको भनेर निर्णय दिनबाट पन्छिन्छिन् ।

राजा सुन्दरीको बुवा दासराजको घरमा जान्छन् । तर राजा आफ्नी छोरीको छोरा राजा हुनुपर्ने सर्त राख्छन् । हुनेवाला ससुराको कुरा सुनेर राजा शान्तनुको सातो उड्छ । जेठी पत्नी गङ्गातर्फ लक्का जवान छोरा भएका र तिनलाई युवराज पनि घोषित गरिसकिएको अवस्थामा अब विवाह हुने रानीबाट जन्मने बच्चोलाई राजा बनाउने सर्तमा विवाह गर्नु उचित थिएन । उनी त्यहाँबाट फनक्क फर्कन्छन् अनि सिकार क्याम्पमा झोक्राएर उनको दिन बित्न थाल्छ ।

आफ्नो बाबुको चिन्ताको कारण पत्ता लगाउन देवव्रतलाई सकस नै पर्‍यो । तर बाबु शान्तनुको पुरानो सारथीलाई आकासपताल देखाएर सोधेपछि बाबु गएको ठाउँको भेउ देवव्रतले पाउँछन् । बाबु त्यहाँ कन्यार्थ गएको तर खाली हात फर्केको उनले सारथीबाट थाहा पाउँछन् । उनी त्यही साँझ दासराजको निवासमा जान्छन् र विवाहको कुरो कहाँ पुगेर अड्केको हो भनी सोध्छन् । दासराजले आफ्नो सर्त दोहोर्‍याउँछन् । आफ्नो बाबुको सत्यवतीसँग विवाह गर्ने इच्छ पूरा गर्न देवव्रतले आफू राजा नहुने र आफ्नो सन्तानबाट सत्यवतीका छोराको उत्तराधिकारमा कुनै चुनौती नआओस् भनेर विवाह पनि नगर्ने प्रतिज्ञा गर्छन् । यसलाई नै भीष्म प्रतिज्ञा भनेर जानिन्छ र उनी देवव्रतको सट्टामा भीष्म भनेर आजीवन चिनिन्छन् । तेस्रो श्रृंखलासम्ममा शान्तनु राजा र सत्यवतीबीचको चिनजान र शान्तनुबाट सत्यवतीसँग विवाहका लागि भएका प्रयासको यस्तै कथा भनिएको रहेछ ।

महाभारतको चौथो श्रृंखलामा भने यसपछिको कथा छ । आफ्नो भीष्म प्रतिज्ञाबाट दासराजको चित्त बुझाएर बाबुसँग विवाह गराउन सत्यवतीलाई लिएर भीष्म सिकार क्याम्पमा फर्कन्छन् । सत्यवतीलाई लिएर सिकार क्याम्पतिर फर्कंदै गर्दा उनी हस्तिनापुरको सिमानामा आइपुग्छन् । यो वेला सत्यवतीले भीष्मलाई रथ रोक्न लगाउँछिन् र दुवै जना ओर्लिन्छन् । सत्यवतीले भीष्मलाई अब हस्तिनापुर प्रवेश गरेपछि आफू भीष्मको आमा हुने र त्यो सीमा कट्नुअघि नै आमाले छोरालाई गर्न नमिल्ने एउटा काम गर्न चाहेको बताउँछिन् । भीष्म त्यो काम के होला भनी अलमलिन्छन् । सत्यवतीले भीष्मको गोडा छुने चाहना व्यक्त गर्छिन् । उनको त्यो चाहना पूरा गर्न भीष्म राजी हुँदैनन् । फेरि शान्तनुसँग विवाह गरेर भीष्मकी सौतेनी आमा बन्न लागेको सत्यवती र भीष्म अगाडि बढ्छन् । शान्तनु र सत्यवतीको विवाह हुन्छ र कथा अगाडि बढ्छ ।

भाग्यरेखा एक आपसमा काटिदैनन् भन्ने उद्घोषका साथ भीष्मले सत्यवतीका छोरालाई राज्य छोड्ने प्रतिज्ञाका साथ सत्यवती र शान्तनुको विवाहका लागि बाटो खोलिदिन्छन् । तर हस्तिनापुरको राजा हुने दुर्योधन र युधिष्ठिरको भाग्यरेखा एकआपसमा काटिएकाले नै होला भीष्मकै जीवनकालमा महाभारतको लडाइँ हुन्छ, भीष्म १० दिन सेनापति हुन्छन्, घाइते हुन्छन् र अन्तमा मृत्युवरण गर्न पुग्छन् ।

शान्तनु र सत्यवती विवाह भएपछि पनि सत्यवतीलाई भीष्मको गद्दीको उत्तराधिकार र वैवाहिक जीवनको अधिकार खोसिएको पटक्कै चित्त बुझेको हुँदैन । यो भीष्मप्रतिको अन्यायको रूपमा उनले लिएकी छन् । उनलाई भीष्मको निकै चासो भएकी सौतेनी आमाको रुपमा टेलिसिरियलमा देखाइएको छ । आफ्ना बाबुको दुराग्रहको सिकार हस्तिनापुर भएको मूल्याङ्कन उनले पछि पनि गरेकी छिन् ।

सत्यवतीको भीष्मप्रतिको अप्रतीम चिन्ता र चासो अनि हस्तिनापुर प्रवेशको समयमा भीष्मको गोडा छुने चाहनाले संकेत गरेको कुरा के हो ? कतै सत्यवती देवव्रतसँग पो विवाह गर्न चाहन्थिन कि ? यसैतर्फ विचार गरेर केही सम्भावनाका खेलहरूको कल्पना यस लेखमा गरिएको छ ।

परासर ऋषिको संसर्गपछि कौमार्य यथावत् रहँदै वेद व्यासलाई जन्म दिएकी, मत्स्यगन्धाबाट योजनगन्धा (सुगन्धमय) बनेकी र हस्तिनापुरको इतिहासमा महत्वपूर्ण भूमिका खेल्ने आशिर्वाद पाएको युवती छोरी सत्यवतीका लागि योग्य वर खोज्नु दासराजको लागि मुख्य चुनौती थियो । उनले त्यसका लागि योग्य वरलाई सम्भावनाको सूचीमा राखेका थिए । उनलाई हस्तिनापुरको राजगद्दी र त्यहाँका राजपरिवारका सदस्यको बारेमा भलिभाँती जानकारी थियो । उनी शायद देवव्रतसँगको सत्यवतीको विवाहको योजनामा थिए । सारा भारतवर्षमा हस्तिनापुरको नाम चलेका थियो । अनि देवव्रत त्यहाँका होनहार युवराज ।

शान्तनु आफ्नो घरमा आएको समयमा दासराज अन्योलग्रस्त हुनपुग्छन् । छोरी माग्न आएको छनक त उनले शान्तनुको कुराबाट पाउँछन् तर कसको लागि भन्ने कुरो स्पष्ट नहुँदा उनी आफनो धारणा राख्‍न सकेका हुँदैनन् । शान्तनु छोराको लागि सत्यवतीलाई माग्न आएको भए त त्यो स्वागतयोग्य थियो र उनी आफ्नै लागि आएका भए ? त्यसैले दासराज स्पष्ट शब्दमा आफ्नो कुरा राख्‍न शान्तनुलाई अनुरोध गर्छन् । राजाले स्पष्ट रूपमा आफ्ना लागि नै सत्यवती मागेका सुनेपछि दासराजलाई धर्मसंकट आइलाग्छ । यस्तै कामाशक्त बूढाहरूबाट रूपसी सत्यवतीलाई बचाउनु उनको पहिलो कर्तव्य थियो । फेरि सोझै यस प्रस्तावलाई अस्वीकार गर्न सक्ने अवस्था पनि थिएन । परासर ऋषिले सत्यवतीले राजकाजको अभिभारा लिनु पर्ने कुरा मात्र बताएका थिए । यो सर्त त शान्तनुसँग विवाह गर्दा पनि पूरा हुन्थ्यो । उनी महारानी भइहाल्थिन् । परासर ऋषिको सर्तले मात्र शान्तनुलाई सत्यवतीसँग विवाह गर्नबाट रोक्न उनी आफ्नो नाति नै युवराज हुनुपर्ने सर्त समेत थप्छन् । यसलाई राजाले पूरा गर्न नसक्ने आत्मविश्वास दासराजमा देखिन्छ । शान्तनु त्यो सर्त पूरा गर्न सक्दैनन् पनि । आफ्नो सर्तले काम गरेको खुशीमा गर्वका साथ त्यो सर्त अकाट्य रहेको बताउँदै उनले सत्यवतीको छोरालाई नै उत्तराधिकारी बनाउने राजालाई सत्यवतीको भाग्यरेखाले यहाँ तानेर ल्याउँछ भनेर शान्तनुलाई सुनाइदिन्छन् ।

आफूसँग लठ्ठ परिसकेका राजा शान्तनुसँग बिहे गरेर तत्काल रानी हुने लोभ सत्यवतीलाई त्यतिवेला लागेको देखिन्छ । टेलिसिरियलमा शान्तनु र दासराज गफ गरुन्जेल सत्यवती अर्को कोठाबाट मस्किएर हेरिरहेकी र शान्तनु फर्केपछि भने रूँदै गरेकी देखाइएको छ । रानी हुने कल्पनामा डुबेकी अनि बाबुको सर्तका कारण शान्तनुकी रानी हुने अवसर तत्कालका लागि गुमाएकी सत्यवतीलाई दासराजले सम्झाउँछन् – तेरो भाग्यमा लेखेको वर आउँछ भनेर । शायद बाबुछोरीका बीच देवव्रतका बारेमा कुरा पनि हुन्छ कि ?

दासराजको सोचाइ तर्कपूर्ण नै थियो । राजा शान्तनुलाई सत्यवतीको छोरा राजा उत्तराधिकारी हुनु पर्ने प्रस्ताव राखेपछि राजा नाजावाफ हुनेछन् । उनी न त देवव्रतलाई दिएको युवराजको पदवी खोसेर सत्यवतीको भावी छोरालाई दिनसक्छन् न त यो कुरा कसैलाई भन्न सक्नेछन् भन्ने कुरामा दासराज ढुक्क थिए । यसै बीचमा देवव्रतसँग सत्यवतीसँगको भेट गराउन सकियो भने आफ्नो विवाहको प्रस्ताव लिएर उनै शान्तनुकहाँ जानेछन्, देवव्रतलाई सत्यवतीसँग विवाहको लागि शान्तनुले नाकको चालले स्वीकृति दिनेछन् र छोराको लागि सत्यवतीलाई माग्न शान्तनु आउने छन् विश्वास दासराजलाई थियो होला। परासर ऋषिको बरदानले योजनगन्धा बनेकी सत्यवतीको सौन्दर्यबाट जो कोही मोहित हुन्थे, देवव्रत अपवाद हुने कुरै थिएन । देवव्रतसँग सत्यवतीको विवाह हुन्थ्यो भने निस्सन्देह तिनको पुत्र हस्तिनापुरको राजा हुन्थे । शान्तनुपछि देवव्रत र देवव्रतपछि उसको छोरा । के अप्ठ्यारो थियो र । दासराजका सबै सर्त पूरा हुन्थे ।

तर कुरो बिग्रियो । बाबुको सारथीको मद्दतले दासराजको घरमा पुगेर बाबुको विवाह सम्बन्धी कुरो बुझेपछि देवव्रत तीन छक्क परे । बाल्यावस्था स्वर्गमा बिताएका देवव्रतले संसारको सबैभन्दा घृणित र स्वार्थी रूपसँग शायद पहिलो पटक साक्षात्कार गरे । सत्यवतीप्रति आसक्त भएको आफ्नो बाबु र विवाहको पवित्र बन्धनलाई उत्तराधिकारको तमसुकमा साट्न चाहने दासराज देख्दा युवक देवव्रतको भावुक मष्तिष्क वैराग्यले भरियो । अनि उनी आफैंले पनि कहिले नसोचेको अस्वभाविक निर्णय अचानक नै गर्न पुगे । ‘आज रमिता छ’ भन्ने उपन्यासमा इन्द्रबहादुर राईले पनि यो मनोविज्ञानको चित्रण गरेका छन् । आफ्ना मान्य मानिसको यौन आसक्तिबारेको जानकारीले युवामा यौन जीवनप्रति नै वितृष्णा उत्त्पन्न हुनसक्छ भन्ने मनोवैज्ञानिक सिद्धान्त पनि छ क्यार !

देवव्रत दासराजको निवासमा पुगेपछि सत्यवतीको मनस्थिति बदलिएको अनुमान गर्न सकिन्छ । लामो दारी पालेका बुढा राजाभन्दा उनका युवा छोरा निकै प्रभावशाली रूपमा प्रस्तुत भएका थिए । दासराजले फेरि देवव्रतलाई जिल्याउन पुराना सर्त दोहोर्‍याउँदै गए । भावुक देवव्रत ती सब मान्दै गए । देवव्रतको सहास देखेर सत्यवती थप मोहित हुँदै गइन् । तर भीष्मप्रतिज्ञाले सत्यवती र भीष्मलाई दुई किनारामा पुर्‍याइदियो । आफूमा अनुराग उत्पन्न भएको देवव्रतलाई ब्रह्मचारी बनाएर सत्यवती उसकी आमा बन्न जाने भइन् । दासराजको जाल र देवव्रतको उदारताले नसोचेको परिणाम ल्यायो । लोभीलाई हालेको जालमा उदारमना पर्‍यो र अनर्थ भयो ।

पृथ्वीमा दुःख काट्न अभिशप्त भीष्मले त यो प्रतिज्ञालाई सजिलै बहन गरे । उनी जीवनको अन्तिमसम्म अविवाहित रहे, सन्तानहीन भएर बाँचे, सान्तानहीन नै मरे । शान्तनुले पनि मख्ख परेर छोरालाई इच्छमरणको वरदान दिए । तर सत्यवतीलाई आफ्नो बाउको त्यो सर्त जीवनभरका लागि बोझ भयो । समवयी अर्को युवकको ब्रह्मचर्यको जगमा उभिएको विवाहित जीवनमा उनी कहिले पनि सन्तुष्ट देखिइनन् । भीष्मको अधिकार खोसिएको र विवाहको अवसरबाट वञ्चित गराइएकोमा उनले सधैं पछुतो मानेकी छन् । यो कुरा पछिल्ला श्रृंखलाहरूमा छ । चित्राङ्गद र विचित्रवीर्य नाम गरेका दुई छोराहरू सन्तान नहुँदै बितेपछि उनको चिन्ता अझ बढ्छ । दासराज नै आएर आफ्नो वचन फिर्ता लिने बताउँदा पनि भीष्म टसको मस हुँदैनन् । यस्तो अवस्थामा आफ्ना बाबुको दुराग्रहको कारण हस्तिनापुर संकटमा र आफू चिन्तामा परेको बताउँदै सत्यवती आफ्ना बाबुलाई यस घटनाका लागि जिम्मेवार बताउँछिन् । दासराजले पनि सत्यवतीकै भलाइका लागि त्यो सर्त राखेका थिए । तर त्यसको सकारात्मक परिणाम आउन सकेन । राम्रा कामको लागि गरिएको कामको खराब परिणाम आउनु नै हरेक दुखान्तको कारण हो ।

भारतीय स्वन्त्रता सेनानी विनायक दामोदर सावरकर (वीर सावरकर) को इतिहासका बारेको एक भनाइ गोपाल गोडसेले ‘गान्धी बध और मैं’ मा उल्लेख गरेका छन् – इतिहासको पहिलो पेज कहिले पनि देख्‍न पाइँदैन । उसको प्रारम्भ (इतिहासको) प्रायः दोस्रो पृष्ठबाट नै हुन्छ । सत्यवती र भीष्मका सम्बन्धको हामीले नदेखेको पहिलो पृष्ठ पनि थियो होला जसले सत्यवतीलाई भीष्मको गोडा छुन मन लागायो ।

मलाई त अहिले पनि लाग्छ, दासराज सत्यवतीको विवाह देवव्रतसँग विवाह गराउन चाहन्थे र सत्यवती पनि यसतर्फ ढल्किसकेकी थिइन् तर प्रारब्धले उनलाई देवव्रतको आमा बनायो । सत्यवतीको जीवनमा देवव्रतको रेल छुट्यो, सधैंका लागि !!!

(गीताप्रेसबाट प्रकाशित संक्षिप्त महाभारतमा भने गोडा छुन खोजेको प्रसंग पाइँन । कुनै स्रोतमा होला र नै महाभारत श्रृंखलामा देखाइएको होला ।)

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *