महाभारतका कथा छिटपुट रुपमा हामीले बालककालदेखि नै सुन्दै आएका हौं । यस कथाका अंश तथा उपकथाहरुमध्ये युधिष्ठिरलाई हस्तिनापुरको राजा नबनाएर धृतराष्ट्रले अन्याय गरेको, छलपूर्वक जुवा खेलाई इन्दप्रस्थ कब्जा गरेको, बनबासबाट फर्केपछि इन्द्रप्रस्थ फिर्ता नगरेको, राज्यको साटो सातगाउँ माग्दा पनि नदिएको र उनीहरुलाई परास्त गर्न विभिन्न षडयन्त्र गरेको कथा निकै स्मरणीय छ । महाभारतको युद्धको कारक तत्व नै यही नै भएको सोचाइ पाइन्छ पनि ।
आफ्ना भाञ्जालाई उत्तराधिकार दिलाउने शकुनी र भान्दाइ (फूपूका छोरा) लाई उत्तराधिकार दिलाउने कृष्णका बीचको प्रतिस्पर्धामा कहिले को अघि र कहिले को अघि हुँदै जाँदा महाभारतको युद्ध भएको हो । महाभारतका घटनाक्रमलाई विश्लेषण गर्दा युधिष्ठिर हस्तिनापुरको राजा हुनु त्यति युक्तिसंगत देखिंदैन ।
यस निष्कर्षमा पुग्नु अघि यस सम्बन्धी विवरण हामी तल केही घटनाक्रमका बारेमा जानकारी लिऔं ।
राजा शान्तनुले गंगासँग विवाह गरे र उनबाट देवव्रत छोरा भए । आफ्नो शर्त भङ्ग भएको कारण गंगा छोराका साथ स्वर्गमा फिर्ता गइन् र छोरालाई शिक्षादीक्षा पूरा गराई पछि शान्तनुकहाँ पठाइन् । गंगा फिर्ता भएपछि शान्तनुले सत्यवतीसँग विवाह गरे र उनबाट चित्राङ्गद र विचित्रवीर्य नामका छोरा जन्मिए । देवव्रत राजा नहुने र बिहे नगर्ने भीष्मप्रतीज्ञा गरेर भीष्मका रुपमा परिचित भइसकेका थिए त्यसैले शान्तनुको मृत्युपछि चित्राङ्गद राजा भए र एउटा समान्य युद्धमा मारिए । त्यसपछि उनका भाइ विचित्रवीर्य राजा भए । उनको काशीका राजाका छोरीहरु अम्बिका र अम्बालिकासँग विवाह भयो । ती रानीबाट सन्तान हुनुअघि नै विचित्रवीर्यको मृत्यु भयो ।
भीष्म विवाह नगर्ने भएकाले आफ्न वंश उत्तराधिकारहीन हुन पुगेको यस अवस्थामा शान्तनुसँग विवाह हुनुअघि पराशर ऋषिसँगको संसर्गबाट जन्मिएका आफ्ना छोरा व्यासलाई सत्यवतीले बोलाइन् र भाइबुहारी अम्बिका र अम्बालिकाबाट सन्तान जन्माउनका लागि आदेश दिइन् । यसरी अम्बिकाबाट धृतराष्ट्र, अम्बालिकाबाट पाण्डु र एकजना दासीबाट विदूरको जन्म भयो ।
विचित्रवीर्यको मृत्यु र यी तीन छोराको (धृतराष्ट्र, पाण्डु र विदूर) जन्मको बीचमा हस्तीनापुरको गद्दीमा को बस्यो भन्ने बारेमा मेरो सन्दर्भ समाग्री मौन छ । यी तीन राजकुमारको जन्म भएपछि भने पाण्डुलाई राजा बनाइयो । धृतराष्ट्र जेठा भए पनि दृष्टिहीन भएका कारण राजा हुन अयोग्य मानिए भने विदूर दासीबाट जन्मिएको हुनाले । पाण्डु पनि कमजोर थिए तर उनी नै उपलब्धमध्ये उपयुक्त विकल्प थिए ।
धृतराष्ट्रको विवाह गान्धार नरेशकी छोरी गान्धारीसँग भयो । दृष्टिहीन धृतराष्ट्र र धृतराष्ट्रसँग विवाह हुने पक्का भएपछि आँखामा पट्टी बाँधेकी गान्धारीको हित संरक्षण गर्न शकुनी (गान्धारीका दाजु वा भाइ) पनि हस्तिनापुर आए । पाण्डुको विवाह भने शुरसेनको छोरी र वसुदेवकी बहिनी पृथाका साथ भयो । उनी राजा कुन्तिभोजकी धर्मपुत्री भएकीले कुन्तीका नामले चिनिन्थिन् । यसबाहेक उनले माद्रीसँग पनि विवाह गरे । विदूरले दासीपुत्रीसँग नै विवाह गरे ।
कुन्तीभन्दा गान्धारी पहिले गर्भवती भए पनि अस्वभाविक गर्भावस्थाका कारण कुन्तीका छोरा युधिष्ठिरभन्दा उनका छोरा पछि जन्मन पुगे । यसबाट उनी चिन्तित थिइन् । आफ्ना पति दृष्टिविहीन भएर राजा बन्नबाट बञ्चित भएकामा उनलाई चिन्ता थियो र खानदानमा जेठो छोरो जन्माएर त्यसलाई राजा बनाउन उनी चाहन्थिन् । कुन्तीबाट युधिष्ठिर, भीमसेन र अर्जुन जन्मे भने माद्रीबाट नकुल र सहदेव जन्मे । गान्धारीबाट दुर्योधन, दुशासन लगायत १०० भाइ छोरा र एउटी छोरी जन्मेकी थिइन् ।
संसर्ग गरे मर्ने ऋषिको श्राप भए पनि यौन आवेगलाई रोक्न नसक्दा माद्रीसँगको संसर्गको क्रममा पाण्डुको निधन भयो । पाण्डुको निधन भएपछि धृतराष्ट्र राजगद्दीमा बसे । त्यसको केही समयपछि युधिष्ठिरलाई उनले युवराज घोषित गरे ।
यसपछि पाण्डव (पाण्डुका छोराहरु) र कौरव (धृतराष्ट्रका छोराहरु) का बीचमा मनोमालिन्य सतहमा देखा प¥यो । भीमसेनलाई विष खुवाउने, वरणावतको लाक्षागृहमा पठाउने र जलाएर मार्ने षडयन्त्र भए । खाण्डवप्रस्थ दिनु (जसलाई पाण्डवले इन्द्रप्रस्थ बनाए), सभामा कौरवको बेइज्जती, कपटपूर्ण जुवा र बाह्रवर्ष वनवास त्यसपछिका घटनाक्रम रहे । अन्तमा महाभारत घटित भयो ।
हस्तीनापुरको गद्दी निकै शक्तिशाली हुने परम्परा भए पनि चित्राङ्गदको मृत्युपछि यो कमजोर भयो । काशी नरेशले छोरीका स्वयम्बरमा हस्तीनापुरका राजकुमार विचित्रवीर्यलाई बोलाएनन् । भीष्मले रिसले उनका छोरीहरु अम्बा, अम्बिका र अम्बालिकाको युद्धपश्चात हरण गरे । तत्पश्चात् भीष्मले अम्बिका र अम्बालिकाको भाइ विचित्रवीर्यका साथ विवाह गराइदिएका थिए । विचित्रवीर्य विषय वासनामा मात्र लिप्त थिए र अधिक भोगको कारण क्षयरोगले उनको असमयमै विना सन्तान निधन भयो । राजगद्दीका संरक्षक भीष्म त थिए तर गतिला राजा भएनन् । विचित्रवीर्यको मृत्यु र पाण्डु राजा बन्नुका बीचमा को राजा थिए, स्पष्ट छैन ।
सत्ता षडयन्त्र र विदेशी हस्तक्षेप (द्वारका र गान्धार) का कारण हस्तिनापुरमा सत्ताको हानाथाप भएको थियो । धृतराष्ट्र र भाञ्जाहरुको हितका लागि शकुनी हस्तिनापुर दरबारमा मौजुद थिए । दाजु धृतराष्ट्र छँदै भाइ पाण्डुलाई राज्य दिएको उनलाई पटक्कै मन परेको थिएन । दृष्टिहीन भनेर राजा हुन अयोग्य ठहराइएको धृतराष्ट्र पाण्डुको निधनपछि राजा बनका थिए । अब त्यो राजगद्दी उनका छोरा दुर्योधनका लागि सुनिश्चित गर्नु थियो । धृतराष्ट्र राजा भए पनि युधिष्ठिर युवराज घोषित भएपछि चुनौती थपिएको थियो ।
पाण्डु राजा भएको समयमा युधिष्ठिरलाई युवराजको रुपमा प्रस्तुत गरिएको थियो र उनी लोकप्रिय पनि थिए । दरबारको संयन्त्रमा पनि युधिष्ठिरको ठुलो पकड थियो । पाण्डुका नाममा वंशको नाम चलाउने अभिप्रायले उनका छोरालाई पाण्डव भनिन्थ्यो, धृतराष्ट्रका छोरालाई मात्र कौरव । कौरव वंशका जनक कुरु आखिर उनीहरु दुवैका पुर्खा थिए । मामाका छोरा द्वारकाधीश कृष्ण उनका समर्थक र आधार थिए ।
पाण्डुको निधनपछि राजा बन्न नसकेपछि युधिष्ठिरको राजा बन्ने वैधानिक बाटो समाप्त भइसकेको थियो । तर दरबारी तानाबान र विदेशी हस्तक्षेपले आफू राजा भए पनि आफ्ना छोरालाई युवराज घोषित नगरी भाइका छोरा युधिष्ठिरलाई युवराज घोषित गर्न धृतराष्ट्र विवश भएका थिए । धृतराष्ट्र राजा बनेपछि स्वभावतः दुर्योधन युवराज बन्नु र धृतराष्ट्रको निधनपछि राजा बन्नु पथ्र्यो । योग्यता र लोकप्रियताको आधारमा उनले त्यसो गर्नु परेको थियो भनिन्छ । तर राजतन्त्रमा राजा बन्ने आधार केवल वंश परम्परा मात्र थियो । योग्यता मुख्य हुन्थ्यो त विदूर धेरै अघि राजा हुन्थे । आफ्नो मनको विरुद्धमा धृतराष्ट्रले युवराज बनाउनु परेकाले आफूले घोषित गरेका युवराज र उनका भाइको हत्यासम्मको योजना बनाई आफ्ना छोरालाई राजा बनाउन उनी उद्दत रहे ।
यसपछिका घटनाक्रम नीति र परम्परा अनुकूल छैनन् । राजाको छोरा राजा हुने तत्काल सर्वस्वीकार्य राजतन्त्रात्मक प्रणालीमा धृतराष्ट्रले भाइका छोरा युधिष्ठिरलाई युवराज घोषित गरे । यस घोषणामा पुरानो (बाबु राजा हुँदाका) छवि मात्र होइन राज्ययन्त्रमा बाबु राजा हुँदादेखिको पहुँच र कृष्णको दबाब समेत रहेको अड्कल काट्न सकिन्छ । फूपूका छोरा युघिष्ठिरको हातमा राज्यको बागडोर हुनु कृष्णको चासोको विषय थियो । बाबु राजा भएको अवस्थामा काकाको छोरो युवराज हुनु दुर्योधनलाई चित्त नबुझ्नु त झन् स्वभाविक छ । आफ्ना भाञ्जाको हित प्रवद्र्धनका लागि आएका शकुनी यस अवस्थामा हात बाँधेर बस्न सक्दैनथे । महाभारत बाह्य हस्तक्षेपका कारण मुलुकले भोगको त्रासदीको नमूना नै हो ।
तत्कालको शक्ति सन्तुलन, लाक्षागृह सम्बन्धी अपराधको बदला छोराहरुसँग नलिउन् भन्नाका लागि पाण्डवलाई दिएको खाण्डवप्रस्थलाई उपयुक्त समयमा एकीकरण गर्नु हस्तिनापुरको अभिभारा नै थियो । दाजुभाइमा बाँडेर राज्यको अस्तित्व रहन्न पनि ।
त्यसैले युधिष्ठिरलाई हस्तिनापुरको वास्तविक हकदार ठानेर गरेका विश्लेषण सही छैनन् । युवराज घोषित भए पनि युधिष्ठिरलाई आफू हस्तिनापुरको गद्दीमा बस्न नसक्ने अवस्थाको ज्ञान थियो । त्यसैले उनले खाण्डवप्रस्थ स्वीकार गरे, सात गाउँ मागे । उनले युद्धमा चासो राखेका छैनन् र राज्यफिर्ताको दावी पनि गरेका छैनन् । द्रौपदीको भावनात्मक भयादोहन (इमोसनल ब्लाकमेलिङ) र कृष्णको गीताले युद्धमा उनीहरुलाई पु¥याएको हो, राज्यमाथिको हकदावीले होइन । महाभारतका युद्धमा हस्तिनापुरका वास्तविक हकदार दुर्योधनका तर्फबाट लड्ने राजाहरु नै धेरै थिए । भीष्म नै दुर्योधनका पक्षमा थिए । युद्धमा हारजीतका त विभिन्न कारण हुन्छन् । युद्धमा भने पाण्डवले जिते । ‘मौतका मातम मे विजय की खुशी’ मनाउँदै पाण्डवहरु हस्तिनापुरको राज्यमा बसे ।
