मन्दिरतिर घुम्दै जाँदा

यो ब्लग म लेख्न चाहन्नथें । धर्म, ईश्वर, देवता, भगवानका बारेमा मेरो ज्ञान एकदमै कम छ । फेरि यो अति संवेदनशील विषय पनि हो, यस विषयमा लेख्नु वा बोल्नु जोखिमपूर्ण छ । म जोखिम लिएर लेख्न चाहने व्यक्ति हैन, खोजिपसे जोखिम बिनै भन्न र लेख्न सकिने विषय अनेक भेटिएलान् । तर नलेखी बस्दा हात चिलाएको चिलाएकै गरेकाले यो लेखेको छु । पाठक बृन्दबाट जनाकारी पाउनासाथै म मेरा गलत जानकारी, धारणा र सोचलाई कुनै हिचकिचाहटबिना सच्याउन तयार छु ।

हाम्रो हिन्दू धर्म भनी नाम दिइएको सनातन धर्ममा धेरैवटा देवताहरू रहेका छन् । ब्रह्मा, विष्णु र महेश्वर त शीर्ष तीन देव भइहाले । गणेश, भगवती, लक्ष्मी, सरस्वती हामीले पुजिआएका अरू देवीदेवताहरू हुन् । सूर्य, जल, चन्द्रमा, शनिग्रह, बरपिपल र तुलसी जस्ता बोटबिरूवा पनि हाम्रा लागि देवताको रूपमा नै स्तुत्य छन् । गाई पशु भए पनि गौमाताको रूपमा पूज्य छ । ३३ कोटि देवताहरू छन् भनिन्छ, यसलाई कतिले ३३ किसिमको देवताको अर्थ लगाएको देखिन्छ, कतिपयले ३३ करोड देवताहरू भन्ने अर्थ लगाएका छन् । ईश्वर भनेको यी देवताहरूभन्दा उपल्लो स्तरको सत्ताको रूपमा मैले बुझेको छु । मानिसका रूपमा जन्मेका कृष्ण र राम पनि विष्णुका अवतार मानिएका छन् र भगवानका रूपमा पूजिएका छन् ।

मेरो विचारमा मन्दिरमा यिनै देवीदेवताहरूका मूर्ति प्रतीकको रूपमा रहेका हुन्छन् । कम्तीमा मैले बालककालदेखि देख्दै आएका मन्दिर त त्यस्तै थिए । हाम्रो गाउँ उदयपुर गढीमा पञ्चावती माईको मन्दिर थियो, त्यहाँ देवीको मूर्ति छ । पछि नेपालटारमा शिव मन्दिरको स्थापना गरियो । अलिपछि काठमाडौं आएपछि पनि मन्दिरमा यिनै देवीदेवताको विभिन्न अवतार र रूपको मूर्ति प्रतिष्ठित भएको पाएँ । मेरो मनमा मन्दिर भनेको देउताको घर हो र पूजा अर्चना भनेको देउताको महत्ताको स्तुति हो भन्ने नै परिरह्यो । म पुराना मन्दिरतिरै घुमुन्जेल यो अवधारणा उति गलत भएको पाएको पनि थिइन ।

केही वर्ष पहिलादेखि मैले नयाँ मन्दिरतिर पनि पुग्ने मौका पाएको छु । ती मन्दिरमा मैले अलि फरक विशेषता पाएको छु । ती मन्दिरमा मैले मानिआएका देवताहरूका मूर्ति पनि हुन्छन् तर त्यहाँ भीमकाय मूर्ति भने निश्चित सम्प्रदायका प्रवर्तकका राखिएका हुन्छन् । श्री … महाराज, स्वामी, स्वामीमहाराज वा यस्तै केही गरिमामय पद दिइएका ती सम्प्रदायका प्रवर्तकको मूर्तिमा पूजा, प्रार्थना, भोग र आरती पनि हुने गरेको पाएको छु । यस क्रममा त्यो सम्प्रदायका अन्य मुख्य व्यक्तिको पनि महिमागान हुँदो रहेछ । त्यहाँ यी सम्प्रदाय प्रमुखको तामझामका साथ देवत्वकरण हुँदो रहेछ । यी नयाँ मन्दिरमा हामीले चिनेजानेका पुराना देउतालाई थाँक्रा बनाएर कथित नयाँ देउताको लहरा पो लहलहाउँदा रहेछन् । आज हामीलाई यो मूर्ति देउताको हैन, सम्प्रदायका मुखिया मात्र हुन् भन्ने लागेको छ तर यस्तो व्यवहारले नयाँ पुस्ताको मनमा ती मुखिया पनि देउताको रूपमा प्रतिष्ठित हुनपुग्छन् । यो तानाबाना नै ती मुखियालाई देउताको रूपमा स्थापनाका लागि हो भन्ने मेरो बलियो आशङ्का छ । मलाई नयाँ मन्दिरको यो ढाचाकाचा पटक्कै मन परेको छैन ।

ती सम्प्रदायका प्रवर्तकहरूको महिमा र गरिमालाई अस्वीकार गर्ने वा खण्डित गर्ने मेरो मनसाय कत्ति पनि छैन । आजभन्दा हजारौ वर्षअघि लेखिएको धर्मग्रन्थहरूको खोजी, अनुवाद, व्याख्या र विष्लेषण गर्नु स्तुत्य काम हो । कतिले स्वास्थ्य, शिक्षा तथा समाजसेवाका विभिन्न क्षेत्रमा योगदान दिनुभएको छ । कतिपयले धर्मको प्रचारप्रसार र उन्नयनमा योगदान दिनुभएको छ । रूढीवादको अन्त्य र साँस्कृतिक परिष्कारमा कतिपयको योगदानको अविष्मरणीय छ । कतिपयले आफ्नो व्यक्तित्वलाई चमत्कारिक बनाउनु भएको छ । एउटा विशिष्ट योग्यता, क्षमता र शक्ति विना उहाँहरूले उच्च हैसियत हासिल गर्नु भएको त हैन नै । उहाँहरूले आर्जन गर्नुभएको ज्ञान, हासिल गर्नुभएको चैतन्य र समाजमा गर्नुभएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ तर देउताकै हाराहारीमा उहाँहरूको स्तुति र सम्मान गर्न मिल्दैन । उहाँहरूको सालिक बनाउन र राख्न पाइन्छ तर त्यस स्थानलाई मन्दिर भन्न मिल्दैन । मन्दिर नाम दिइएको भवनमा कृष्ण वा राम वा अन्य कुनै वैदिक वा पौराणिक देवताको भन्दा ठुलो मूर्ति स्थापना गरेर भ्रम छर्न हुँदैन । यसरी अनेक तिकडम गरेर आफू वा आफ्ना गुरुलाई भविष्यमा ईश्वरको अवतार बनाउने वातावरण बनाउनु हुँदैन । यो अनाधिकार चेष्टा हो ।

उसो त, राम र कृष्ण पनि मानवको रूपमा नै जन्मेका थिए । उनीहरू देवताको रूपमा पुजिए, विष्णुको अवतार मानिए । बुद्ध नै पनि त मान्छेबाट भगवान भए । अरू धर्ममा पनि यस्तो भएको होला । मान्छे नै निश्चित गुणधर्म हासिल गरी भगवान् बन्न सक्छन् भन्ने अवधारणा अनुसार नै होला रजनीशले पहिला आफूलाई भगवान् घोषित गरे, तर पछि आफूलाई ओशोमा सीमित गरे । देवताको एउटा कोटि मानिने आठ वसुमध्ये एक वसुको पुनर्जन्मको रूपमा जन्म पाएका देवव्रत (भीष्म) ले पनि देउताको मान्यता पाएका छैनन् । चार वेद, अठार पुराण र अनेक उपनिषद्हरूका रचयिता मानिएका वेदव्यास ‘महर्षि’ पदमा चित्त बुझाइरहेका छन्, उनको मूर्ति, पूजा, आरती, बन्दनाको विषेश व्यवस्था गरिएको थाहा पाएको छैन । ती ग्रन्थको आआफ्नो तालमा अनुवाद र व्याख्या गर्ने व्यक्तिहरूलाई वेदव्यासलाई भन्दा बढी सम्मान गर्नु आवश्यक छैन ।

आहार, निद्रा, भय र मैथुन नैसर्गिक जैविक आवश्यकता हुन् । मानिसले लुगा लगाउन थालेकाले गाँस, वास, कपास र सहवासलाई आधारभूत आवश्यकता मान्नुपर्ने देखिएको छ । वासले निद्रा र भयलाई सन्तुष्ट पार्छ । स्वतन्त्र हात र विकसित बुद्धिका कारण आफ्ना आवश्यकता पूरा गरिसकेपछि पनि मानिसको बल र बुद्धि बाँकी रहन्छ । अझ भनौ न, चेतना, कल्पना र स्मरण शक्तिको कारण मानव मन आफ्ना नैसर्गिक आवश्यकता पूरा गरेर मात्र तृप्त हुँदैन । उसलाई जीवन र जगतका बारेमा जानकारी चाहिन्छ, आफ्नो जीवनको मूल्यबोध गर्नुपर्छ । यसै मेसोमा दर्शन र अध्यात्मको जन्म र अनुशीलन हुँदै आएको छ । दर्शन र अध्यात्मका प्रारम्भिक झिल्काहरूले धर्मको रूप लिएका छन्, देवताको कल्पना र सिर्जना गरेका छन् ।

धर्म ‘आत्मा’ अर्थात ‘स्व’ को खोजी गर्ने बाटो हो र यो बाटो सँधै अधुरो छ । आफ्नो बाटोको खोजी सबै मानिसले आफैं गर्नुपर्छ । पिच गरेको बाटोमा एउटा मोटरको ठिक पछि आफ्नो मोटर हाँक्नु त ठिक मानिन्न भने अरूको अन्ध-अनुशरण गरेर आध्यात्मिक बाटोमा जान कसरी सकिएला र ? बाटोमा रहेका ट्राफिक सङ्केतहरूको पालना गर्नुपर्छ तर आफ्नो गन्तव्य त यात्रुले आफैं निश्चित गर्नुपर्छ । सुदूर अतीतका ऋषिमुनिदेखि अहिलेका श्री… महाराज, स्वामी, स्वामीमहाराज आदि अनेक नामधारी महामनाहरू पथप्रदर्शक मात्र हुन्, यिनलाई नै भगवान् नै ठानिनु र मानिनु उचित हुँदैन ।

मान्छे देउता बन्न सक्छ कि सक्दैन, मलाई यकिन छैन । माथि नै लेखें, हामीले देउताको रूपमा पूज्ने गरेका राम र कृष्ण पनि मानिसको रूपमा जन्मेका थिए । अवतार सिद्धान्तले त देउताले पृथ्वीमा कुनै धार्मिक कार्य वा यस धराको रक्षा गर्नु पर्‍यो भने मानिसको अवतार लिन्छन् भन्ने मान्यता राख्छ क्यारे । हामी पनि त्यही मान्यतामा आधारित भएर अलि चेतनशील मानिसलाई देउता भन्न खोज्दैछौं । आफूभन्दा बढी चेतना वा ज्ञान भएकालाई देउता मान्दै जाने हो भने यो संसारमा देउताको संख्यामा विष्फोटक वृद्धि हुन्छ । न्युटन, आइन्सटाइनलाई पनि देउता मान्दै जानुपर्ने देखिन्छ । हरेक मनिसका आआफ्नै विशिष्टता हुने भएकाले विभिन्न मानिसहरूलाई विभिन्न विशेषताका आधारमा देउता मान्नुपर्ने हुन्छ । यसबाट अर्को भद्रगोल सुरू हुन्छ ।

कुरोको चुरो के हो भने अब मानिसको रूपमा जन्मिएर देउता हुने जमाना गयो । एक जमानामा जङ्गल फाँडेर कुनै सहर बसाइएको थियो, खेतबारी बनाइएको थियो भनेर आज पनि जङ्गलमा सहर बसाउने वा खेतबारी बनाउने कुरो आउँदैन । अब देउताहरूको भीड बढाउनु आवश्यक पनि छैन, जति देउता उपलब्ध छन् तिनले हाम्रो धार्मिक भावनालाई तृप्त पार्न सक्छन् । अझ, आध्यात्मिक चेतका लागि त देउता नै वैकल्पिक विषय हुन् । अब संसारमा दार्शनिक जन्मिन्छन्, वैज्ञानिक जन्मन्छन्,  अध्यात्मिक चिन्तक जन्मिन्छन् तर अब देउता जन्मदैनन् । यो युगले नयाँ देउता कोरल्न हुँदैन, त्यो कार्य हास्यास्पद हुन्छ, असङ्गत हुन्छ । अब देउताको जन्मदर्ता बन्द गरौं ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *