कथा: अवकाश

तीन बज्यो ।
आज अफिसपछि विवाहको पार्टीमा जानुछ । दुई बजे बोलाएका थिए ।
एक मनले सोच्छु, हाकिमलाई सोधेर अलि चाँडै जाऊ कि ? अर्को मनले सोच्छु, पार्टीमा चाँडो जाने कामका लागि पनि के हाकिमको स्वीकृति लिने झन्झट गरिरहनु ? आखिर अफिस छुट्टी भएपछि गए पनि पुगिहालिन्छ । आखिर अब यो अफिस आउनु र पाँच बजेसम्म रुङ्न नै पो कति छ र ! अब एक हप्तापछि त रिटायर नै हुँदैछु । फेरि, चाँडै पार्टीमा जानु भनेको चाँडै जम्न सुरु गर्नु र बढी पिउनु त हो । दुई बजे बोलाए पनि सबै जना साँझ नै त आउँछन् । म चुपचाप काममै व्यस्त हुन्छु ।
यो व्यक्तिगत र सामाजिक काम अनि अफिसको कामबीचको तानातान अब यही एक हप्ता त हो । त्यसपछि त एक हिसाबले आनन्दै हुन्छ । न दशको बन्धन, न पाँचको प्रतीक्षा । समय आफ्नो, जिन्दगी आफ्नो । समयको तानातान भएको वेला अवकाश हुन पाए त ढुक्क हुन्थ्यो जस्तो हुन्छ । हो पनि, यही अफिसको कारण न आफन्तको मलाम जान पाइएको छ, न स्नेहीको विवाहमा जन्त । समाजमा बसेर पनि समाजबाटै बहिष्कृत जस्तो भइन्छ कतिपय अवस्थामा त । कथमंकदाचित कतै पुगियो भने पनि फर्कन हतार । रिटायर भएपछिलाई नै भनेर पनि कति कुरा त मनमा साँचेर राखेको छु ।
अर्को मनले सोच्छ, कुरा यति सजिलो भने छैन पनि । जागिरपछिको खालि समय एउटा ठुलो चुनौती हो । फेरि आम्दानी पनि त स्वात्तै घट्छ । तलब जति पेन्सन हुँदैन । जागिरमा हुँदा पनि बाहिरी आमदानीले नै त सब खर्च चलेको थियो । अब त्यसको त कुरै भएन । खर्च घटाउन सकिन्न । आम्दानी बढाउन सकिन्न । अवकाशको नाममा एउटा ठुलो चुनौतीले मुख बाएर बसिरहेको छ र मन विस्मित छ । यही विस्मयलाई थामथुम पार्न मनमा अनेकौ विचार मनमा आउँछन्, कतिलाई आफैंले बोलाएर ल्याउँछु । अवकाश एउटा नियमित प्रक्रिया हो तर दुर्घटना बनेर मेरो मनमा डेरा जमाइरहेको छ । हुन त मृत्यु पनि त नियमित प्रक्रिया हो, खै सामान्य रुपमा लिन सकिएको छैन त !
मैले निम्तोमा समयमै पुग्ने र समयमै फर्कने नियम अवकाश भएपछि पालना गर्ने भन्ने प्रतिज्ञा मनमा साँचेर पाँच बजे अफिसबाट हिंडे । पार्टीमा एकछिन अलमल गरेर अनि घर जानुपर्ला । धेर बेर त के बस्न पाइएला र ! रात परेपछि न बस पाइन्छ, न ट्याक्सी ।
*****
“नमस्कार !”
“नमस्कार !”
“ए, हजुर त रिटायर पो हुँदै हुनुहुन्छ ?” उनले सोधिन् ।
उनले अर्थात अनुराधाले । अनुराधा एउटा प्रतिष्ठित कम्पनीमा काम गर्छिन् । उनका पति रमेशमानको पुख्र्यौली व्यापार छ । श्रीमान् व्यापार धान्छन्, श्रीमती जागिर । दुवै भद्र छन्, समाजमा सबैसँग ठिक्क घुलमिल, ठिक्कको सम्बन्ध । न त कसैसँग आन्द्रो गाँसिएको छ, न त झगडा र लफडा ।
“हो त ! हाम्रोमा सेवा अवधिको आधारमा अवकाशको व्यवस्था छ । एक्काइस वर्षमा जागिर खान सुरु गरेँ, एकाउन्नमा रिटायर हुँदैछु ।”
मैले निकै सामान्य हुन भरसक्दो कोसिस गर्दै उत्तर दिएँ । यो प्रश्नले अझै मेरो मथिङ्गललाई हल्लाउन छोडेको छैन । यस्ता प्रश्नबाट जोगिन मेरो आसन्न अवकासको समाचार मैले नै छिमेकमा प्रचार गरेको थिएँ । बारम्बारको चर्चाले अवकाशलाई आत्मसात गर्न सजिलो पर्ने मेरो विश्वास थियो । अवकाशको मन्त्र धेरै जपे त्यसको सम्भावित मानसिक आघातबाट आफूलाई बचाउन सकिने मेरो मनोविज्ञानले बताएको थियो । भविष्यमा दिउँसो टोलमा बरालिएको देखेर आज अफिस जानु भएन, केदारजी भनेर कसैले प्रश्न सोध्दा म त रिटायर भैसकें नि भनेर जवाफ दिनुभन्दा त्यसको जानकारी पहिला नै दिनु उपयुक्त उपाय हो भन्ने मेरो विश्वास थियो । अनि यसरी फैलिएको मेरो अवकासको हल्ला अब पुरुष वर्गबाट महिला वर्गमा पुगेको थियो र केही समयमा छोराछोरी वर्गमा सर्ने मेरो विश्वास थियो । अवकाशको खबर म अवकास हुनुअघि नै सबैमा पुगोस् र अवकास भएपछि यसबारेको चियो चर्चो मेरो अवकासको घाउमा नुनचुक नहोस् भन्ने मेरो अभिमानको कामना थियो शायद ।
“अब हजुर कन्सल्ट्न्सी खोलिस्योस् । हजुर जस्तो शिक्षित र अनुभवी मानिसको बजारमा कस्तो माग छ । काम खोज्ने हो भने हजुरले त जहाँ पनि काम पाउन सक्नुहुन्छ ।”
“हेरौ के गर्न सकिन्छ । काम गर्ने उमेर त छ । सुरुमा त अलिकति थकाइ पनि मार्नुपर्ला ।”
यो अलिकति थकाइ मार्ने फर्मुलाको आविष्कारको लागि मैले आफूलाई तत्काल धन्यवाद दिएँ । मेरो अरु क्षमता के छ, के छैन, समयले बताउला तर आफूलाई छेक्ने केही छेकबारको व्यवस्था म गरिहाल्छु । रिटायर भएपछि काम पाइएन भने काम नपाउन्जेलको अवधिलाई थकाइ मार्ने अवधि भनेर टालटुल पारेर अरुलाई अल्मल्याउन सकिन्छ । भोलिपल्ट काम पाएमा एक रातमा थकाइ मार्ने, काम नभेटे थकाइ मारिरहने । आखिर थकाइले म मरेँ भनेर हल्ला गर्दैन क्यारे ।
“त्यो त हो हजुर ।” उनले शिष्टाचारवश भनिन् । माथि नै लेखेँ, राय बझाउने त उनीहरु जोइपोइकै बानी थिएन ।
“ए अनुराधा, हामी यता छौं !” कसैले उनलाई बोलायो ।
उनले मेरो मुखमा पुलुक्क हेरिन् । यो हेराइले विदा मागिरहेको थियो ।
“हस् त, दीपकजीहरु उता हुुनुहुँदो रहेछ, म पनि त्यता लाग्छु ।”
हामीले हात जोड्यौ र आफ्नाआफ्ना समूहतिर लाग्यौ ।
दीपकजी पहिले नै दुईचार पेग लगाएर बसेका रहेछन् । हेल्लो हाइ गरेर स्न्याक्स र गिलास लिएर म पनि छेउमा बसेँ ।
अरु छिमेकी र साथीहरु पनि थपिए । मैले नचिनेका पनि आए । मेरो अवकाशकै विषय पनि एकछिनमा आइपुग्यो ।
“मस्ती छ, सरकारी जागिरेलाई ! त्यसमाथि सरकारी बैंक !” रक्सीको गिलासले भर्खरै खाली छोडेको मुखबाट कसैले यही निकाल्यो ।
“जागिर छोडेको भोलिपल्टै कामको खाँचो हुँदैन के उहाँहरुलाई ! झन् बढी तलब आउने जागिरले पर्खेर बसेका हुन्छ ।”
“किन नपर्खोस् त ? उहाँहरु रिटायर भएपछि जाने ठाउँ जागिर छँदै ठिकठाक पार्नुहुन्छ ।”
“अब किन काम गरिरहनु ? अवकाश हुँदा पाउने सुविधा नै कति हुन्छ कति ?”
“जे भए पनि जागिर छँदा जस्तो त अवकाशपछि हुँदैन होला है ।”
यस्तै हल्ला, गफ, कुरा र व्यंग्यका साथ हामीले भोज खाइरह्यौ । मैले केही प्रतिवाद पनि गरिन । ठिक बेठिक अलग्गै कुरा हो, नराम्रो कसैले भनेको थिएन । नियत नाप्ने मिसिन त कसको साथमा होला र ?
मेरो हातमा रक्सीको गिलास थियो । मनमा अनुराधाको सल्लाह ! अरुले बोलेका आवाज कानमा ठोक्किएर कानबाटै फर्किरहेका थिए । अवकाश प्राप्त जीवन व्यवस्थापनको समस्या फेरि सतहमा आएको थियो । यो समस्यालाई मैले विभिन्न बाहाना खोजेर दबाएर राखेको थिएँ । कहिले सोच्थें, पेन्सनले खान पुगिहाल्छ भैगो । कैले सोच्थेँ, समय कटाउन के गाह्रो, पत्रिका पढ्यो, किनेर पनि पढ्न नभ्याएका कति किताब छन् त्यही पढ्यो, बस्यो । समय, स्वास्थ्य र पैसाले साथ दिए यसो घुमफिर ग¥यो । कहिले सोच्थें, कुनै उपयुक्त काम पाइएला नि ! तर मनको भित्री तहमा अवकाश र त्यसले ल्याउने अनिश्चितता, असुरक्षा र असुविधाले डेरा जमाइरहेका थियो । बलात् विभिन्न सोचाइ मनमा ल्याएर म ती भावनालाई पन्छाउन खोज्थेँ । तर मौका पाउनासाथ ती भावना बादल बनेर आउँथे र मेरो मानसपटललाई ढाक्थे । आज बस् त्यही भइरहेको थियो ।
कन्सल्टेन्ट सेवाको सल्लाह दिइन् अनुराधाले । कस्तो राम्रो धारणा छ सर्वसाधारणको हाम्रो संस्थाप्रति, त्यो संस्थाका हामी कर्मचारीप्रति । मन ढुक्क भयो । अलि बोझ जस्तो पनि भयो । उनले कस्तो राम्रो सल्लाह दिएकी छन्, म भने अवकाशपछि त्यही गल्लीको चिया पसलमा राजनीति, ठुटे नेता, टोल समितिका टाँग अड्याउने गतिविधि, टोलबासीका निजी मामिलामा गफ चुटिरहेको हुन्छु होला, गफ सुनिरहेको हुन्छु होला । अरुको आशा र उपलब्धिमा कत्रो अन्तर ! मलाई उनको मप्रतिको विश्वास र आदर नै बोझ लाग्यो ।
फेरि, उनले अब तपाईं के गर्नु हुन्छ होला र ? त्यही पेन्सन खाएर त बस्नु हुन्छ होला नि ! कि गाउँ फर्किनु हुन्छ ? भनेर सोधेकी भए पनि त मलाई सन्तोष हुने थिएन । मेरो मन यी विरोधाभासमा अलमलियो । मेरो अन्तस्करण अवकाशका लागि अझै तयार हुन सकेको छैन । मैले यही अलमलमा त्यो पेग सकें र अर्को पेग थपें । पेगहरुसँगै साथीहरु पनि थपिए । कुराका विषय थपिए । अलमलिएको मन फेरि अरु विषयमा अलमलियो । थपिदैं गएका पेगले भनिरहेका थिए, अलमल नै आनन्द हो, सत्यबोध दुःख हो, ज्ञान मात्र मृगतृष्णा हो ।
********
“वल्र्डकप आउन लाग्यो, अब ठुलो स्मार्ट टी.भी. ल्याउनु पर्छ । हाम्रो जस्तो भुक्के टी.भी. हिजोआज त कसैको पनि छैन होला !” छोराले प्रस्ताव राख्यो । अहिलेको स्मार्ट टी.भी. को जमानामा हाम्रोमा भने सी. आर. टी. प्रविधिको पछाडि ठुलो भाग हुने पुरानो मोडेलको टी.भी. थियो । त्यो पनि पन्ध्र वर्ष नाघिसकेको ।
हो पनि, जागिर सकिएको तीन महिनामा रस्सियामा फुटबल वल्र्डकप सुरु हुँदै थियो । यस खेलमा नेपालको सहभागिता त थिएन, तर नेपालीहरुको भने ठुलो सहभागिता थियो । विभिन्न देशका खेलाडीले लगाउने ढाँचाको जर्सीले बजार भरिएको थियो । होटल रेस्टुराँमा फुटबल खेल हेर्न ठुला पर्दा र महँगा मेन्युको व्यवस्था थियो । हारजितको बाजी पनि लगाएका होलान् । कुनै पेय पदार्थको खरिदमा चिठ्ठा परेर कतिपय भाग्यमानी खेल हेर्न रस्सा पुगेको समाचार अखबारमा पढेको थिएँ । घरमा खेल हेर्नेका लागि टी.भी. कम्पनीहरुले मनग्गे छुटमा राम्रा, ठुला र लोभलाग्दा टी.भी. बेचिरहेका थिए । नेपाली फुटबल खेलाडी मात्र रस्सियामा थिएनन्, पूरा नेपाली मन रस्सियामा थियो ।
यस्तोमा एउटा गतिलो टी.भी.घरमा आवश्यक पनि थियो । आवश्यक होइन अति आवश्यक पनि थियो ।
मैले पनि अवकाश पछि आउने पैसाको मनमनै र पटकपटक बाँडफाँट गरेको थिएँ । कहिले त्यो पैसा घडेरीमा हाल्छु भन्थे, कहिले थपथाप पारेर घर किन्न खोज्थें, कहिले नागरिक बचतपत्रमा हाल्न खोज्थें, कहिले मुद्दती खातामा । सेयर बजारको चस्का पनि लागेको थियो । अलिकति खर्चबर्च पनि गरौ भन्ने मन पनि थियो । घरका फर्निचर र कार्पेट पनि थोत्रा लाग्न थालेका थिए । यसो कतै घुम्न जाउला भन्ने पनि सोचेको थिएँ । साथीभाइ र इष्टमित्रका देश विदेश घुमेका फोटो फेसबुकमा हेरेर मन अलि इष्र्यालु भएको पनि थियो । भन्न पर्दैन होला, एउटा टी.भी. लाई पनि रकम छुट्याएको थिएँ । मैले यी मेरा सपनामध्ये आधा श्रीमतीलाई र एक चौथाइ त छोराछोरीलाई पनि सुनाएको थिएँ ।
अवकाशपछि सुविधाको पैसा हात परेपछि श्रीमतीले भनेकी थिइन्, “एउटा घडेरी किन्ने भन्नु भएको होइन ? खै त चालचुल गर्नु भएको छैन । सानुकाजीलाई भन्नु न ! खोजी दिन्छ नि उसैले । हाम्री सीता बहिनीलाई कस्तो राम्रो घडरी किनाइदिएको छ सानुकाजीले, लोकन्थलीमा ।”
“खै कता पाइएला र ! नजिक सबैतिर महँगो भइसक्यो । टाढा किनेर फेरि कहिले घर बनाउनु ? फेरि, सबै पैसा जग्गामा खन्याएर के गर्नु ? पैसाको कत्ति काम छ । अब तलब आउँदैन, घरखर्च चलाउने पनि यसैले हो ।” मैले त्यसै टारेँ ।
छोरीले पनि मोबाइल किनिमागेकी थिइन् । अहिले त चल्दैछ हैन छोरी भनेर सोधेथें । उनले अँध्यारो अनुहार भएको टाउको हल्लाइन् । अलि समय पर्ख अनि बाबुछोरी गएर मोबाइल किनौला । ल्यापटप त ठिकै छ हैन ? उनले फेरि त्यही टाउको हल्लाइन् ।
“किनिदनु क्या त छोरीलाई एउटा मोबाइल । दाजुचाहिँले पनि अस्ति नयाँ किन्यो । पहिले दाजुबहिनीलाई सँगै किनिदिनु भएको थियो ।” आमाचाहिँले पनि थपिन् ।
“अहिले पख न । दसैंमा नयाँ मोडल पनि आउँछ, छुट पनि पाइन्छ । मोबाइल किन्न हतार गर्न हुँदैन क्या, पछि चुकचुक हुन्छ । जति नयाँ मोडेल किन्यो, उति नयाँ फिचर पाइन्छ ।” मैले थामथुम पारेँ ।
म जग्गा किन्न सक्दिन । छोरीलाई मोबाइल किन्न पनि मैले टारिसकें । मलाई लाग्दैछ, म टी.भी. पनि किन्दिन । अवकाश पाएपछि म त्यत्तिकै लाटिएको छु । पहिला यसो गर्छु र उसो गर्छु भनेको थिएँ । अवकाश पाएपछि त म एकदमै डरपोक भएको छु । यही डरका कारण लगानी र खर्चका सबै सम्भावना र आवश्यकतालाई टार्न थालेको छु । मेरो यो कमजोरी फैलिएर भएर लोभमा रुपान्तरित भएको छ । मलाई थाहा छ, यो लोभले मेरा सबै सम्भावनाका ढोकामा ताला लगाइदिनेछ । लोभ बालुवालाई मुठ्ठीमा लिए जस्तै हो । जति बेस्मारी पकड्छु, उति त्यो चिप्लिएर झर्छ । म झन् बेस्सरी पक्डिरहेको छु । यो सत्यबोध हँुदाहुँदै पनि म साह्रै असुरक्षित महसुस गरिरहेको छु । म यस्तो हुन्छु भन्ने मैले सोचेकै थिइन । मलाई के भएको छ हँ ?
******
“म अब गाउँ जान्छु ।” मैले घुर्क्याएँ ।
“काम नभएर तपाईंलाई छटपट भएको छ । बरु अर्को जागिर खोज्नु न ! पाइँदैन केही ? कति ले त पाइरहेकै छन् । तपाईंले काम गर्न थाल्नु भो भने सब ठिक हुन्छ ।” उनले सामान्यरुपमा सल्लाह दिइन् ।
मलाई थाहा छ, मलाई तनाब दिने विषयवस्तु यही खाली समय र अर्थहीन जीवन हो । नयाँ जागिर, नयाँ काम मेरा लागि औषधि हुन सक्छन् । नयाँ जागिरले मलाई केही सान्त्वना दिन्छ, केही क्षतिपूर्ति गर्छ । अलिकति व्यस्तता दिन्छ, अलिकति पैसा दिन्छ, अलिकति चुनौती दिन्छ र अलिकति जीवन दिन्छ । जागिरमै जिन्दगीको सार्थकता देखेको मेरो चेतनालाई जीवनको अर्थ दिन्छ । तर जागिर खोज्नु कसरी ? अब म लोक सेवा आयोगको जाँचमा बस्न सक्दिन । मेरो चिनजान र सम्पर्कको ठुलो सञ्जाल छैन । मुख्य कुरो जागिरमा छँदा आफ्नो हैसियतको उपयोग गरी अवकाशपछिको जागिरको लागि कसैसँग कुनै समझदारी गर्ने बुद्धि पु¥याइँन । जुँगाको रेखी ओठमा बसेको बेला जागिरको खोजीमा निस्केको थिएँ । उ बेला जागिरको चिन्ता कति सुहाएको थियो ! अब फुलेको कन्सिरी बोकेर कता जानु ?
शहरले पैसा र पैसाको लागि गरिने सबै गतिविधिलाई स्वागत र सराहना गर्छ । आर्थिक रुपमा निष्क्रिय जीवन शहर सुहाउँदो होइन । बल बर्गत रहुन्जेल द्रव्ययुद्धका लागि ललकारी रहन्छ शहरले । त्यसलाई अस्वीकार गर्नेलाई शहरले जिस्क्याउँछ । यही जिस्क्याइले हीनता ल्याउँछ । अनि हीनताले पलायन । म पनि पलायन गर्न चाहन्छु गाउँमा । जहाँ द्रव्ययुद्ध अलि सुरुआती चरणमा छ भन्ने मेरो विश्वास छ ।
“कति खानु जागिर ? अब पुग्यो ।” म बर्बराएँ ।
मेरो अन्तस्करणलाई थाहा छ मलाई पुगेको छैन । म उद्यमी बन्न सक्दिन भन्ने मलाई थाहा छ । मैले गर्ने भनेकै अर्काको काम हो । र त्यस्तो कामको नशा मेरो रगतमा बसिसकेको छ । मलाई अझै तिर्खा छ । तर अब पुग्यो भन्ने भनाइ मेरो आत्मप्रवञ्चना हो । यो अमिलो अंगुर र फ्याउराको पुरानो कथाको अर्को संस्करण हो । हो पनि, पानी पाउने आँट, छाँट र उपाय छैन भने तिर्खाको गीत किन गाइरहनु ?
यही नगाएको गीत अब सुसेली होइन सुस्केरा बन्ला भन्ने डर छ ।
“गाउँमा गएर पनि के गर्नु र ? यति वर्ष शहर बसेको मान्छे, सकिन्छ गाउँ बस्न ? गाउँ त झन् न गाउँ न शहरको हालतमा छन् । झन् गाह्रो हुन्छ जस्तो लाग्छ मलाई त ! सबैको आफ्नो सुर हुन्छ त्यहाँ पनि । गाउँमा त झन् हाँसको बथानमा काग कि कागको बथानमा हाँस होइन्छ जस्तो लाग्छ मलाई ।” श्रीमतीको सल्लाह ठिकै हो ।
उनको सल्लाह ठिकै हो । त्यसैले त मैले सल्लाह गरेको । उनी मलाई गाउँमा बरालिन दिन्नन् भन्ने मलाई थाहा छ । मलाई पनि म गाउँमा बस्न सक्दिन भन्ने थाहा छ । मैले सल्लाह गर्नुको कारण यही हो । मलाई जान मन छैन र उनको अवरोधले मेरो मनलाई आड दिन्छ । मलाई गाउँ जान मन भए त बसको टिकट लिएर आइहाल्थें नि, सोध्दै नसोधी । मैले चाहेको कुन कुरा पो उनलाई सोधेको छु र ? मलाई पनि त्यही लाग्छ, त्यसैले त गएको छैन । बस् सल्लाह गरेर समय बिताइरहेको छु् ।
*******
राति फुटबल हेरेँ । ढिला सुतें । बिहान चाँडो उठ्नु नपरेपछि राति जति बेला सुते पनि भो ! छोरो साथीहरुकहाँ गएर फुटबल हेर्छु, त्यहाँ प्रोजेक्टरबाट हेर्छन् भनेर साँझ खाना खाएर हिँडेको थियो । स्मार्ट टी.भी. किन्ने कुरा फासफुस भएको उसलाई पटक्कै चित्त बुझेको छैन र त्यसको विरोधस्वरुप ऊ छिमेकीको घरमा फुटबल हेर्न गइरहेको छ । म न किन्न सक्छु, न उसलाई रोक्न सक्छु । त्यसै लाचार भएको छु । साथीकहाँ गएर हेर्दा झन् रमाइलो हुन्छ नि ! मैले यो लाचारीलाई पनि राम्रो सैद्धान्तिक जामा लगाइदिएको छु । छोरीलाई त्यति चासो नै छैन । श्रीमती पनि हेर्छु भन्दै थिइन्, निदाइछन् । एक्लै हेरिरहेँ ।
जर्मनी र दक्षिण कोरियाको खेल थियो । धेरैलाई जर्मनीले जित्छ भन्ने लागेको थियो । सन् २०१४ को बल्र्डकपको उपाधि उसैले हात पारेको थियो । खेल जर्मन खेलाडीकै राम्रो थियो । अग्लो ज्यानले पनि उनीहरुलाई नै सहयोग गरेको थियो । उनीहरुले खेलमा प्रभुत्व कायम गरेका थिए । यति हँुदाहुँदै पनि दोस्रो हाफको अन्त्यमा दक्षिण कोरियाले दुई गोल हान्यो र जर्मनीमाथि विजय हासिल ग¥यो ।
बिहान ब्युझँदा पनि खेलपछिको खेलमैदान मेरो मानसपटलमा थियो । दक्षिण कोरियाली खेलाडीहरु खेल मैदानमा खुशीले झुमिरहेका थिए । जर्मन खेलाडी र समर्थक शोकाकुल थिए । तर दुवै देश समूह चरणबाट बाहिरिए । जर्मनीको शोक र दक्षिण कोरियाको खुशी दुवै अर्थहीन थिए । तिनै अर्थहीन भावनाको सागरमा दुवै देश डुबिरहेका थिए, आफ्ना सहयोगी र समर्थकलाई डुबाइरहेका थिए । दुःख र खुशीमा विभाजित ती भावनाको एकै परिणति थियो, आगामी खेलबाट बाहिर पर्नु । जिन्दगीमा पनि सफलता र असफलताको एकै नियति छ, मृत्यु । आँसु होस् खुशी, सुसेली होस् वा सुस्केरा ! सब आवाज अनन्तमा गएर मिल्छ । जित अर्थहीन, हार अर्थहीन, आँसु र हाँसो सब अर्थहीन ।
आज मर्निङ वाक जाउँ कि नजाउँ ? मन तातो पानी गिलासमा खन्याउँदै मैले आफैंलाई सोधेँ । मन द्विविधामा थियो । घाम झुल्किसकेको थियो । अबेला सुतेर जिउ पनि हलुको थिएन ।
अवकासप्राप्त जीवनको सबभन्दा ठुलो रोग हो अल्छी । समयमै अफिस पुग्नुपर्ने बाध्यताको कारण कायम रहेको चाँडै उठ्ने, नित्यकर्म सक्ने, खाना खाने र अफिस जाने दैनिकी अवकासपछि खल्बलिने डर हुन्छ । अफिस जानु नपर्ने भएपछि किन चाँडो उठ्नु, किन समयमै खानु भन्ने सोचाइले दैनिकी अनियमित बन्छ र त्यसको असर स्वास्थ्यमा पनि पर्छ । मैले अवकास जीवनको यो प्रवृत्तिबारे अवकाश पाउनुअघि नै सचेत थिएँ र अल्छी नगर्नेमा प्रतिबद्ध पनि थिएँ । जानकारी र व्यवहार त कहाँ एक हुन सक्दोरहेछ र ? आज म आफैं मर्निङ वाक गर्ने कि नगर्ने भनेर अलमल गरिरहेको थिएँ ।
म मर्निङ वाक गएँ । घाम भए पनि के भो र ? मर्निङ वाक नै पसिना निकाल्न त हो नि ! तर सडकमा कल्याङमल्याङ बढिसकेको थियो । मोटरले उडाएको घूलो र धुवाँले तुवाँलो जस्तो बसिसकेको थियो । घाममा हिंड्न त गाह्रै पनि रहेछ । अलि गल्तीबोध जस्तो पनि हुने ढिला उठेकोमा । बिहान उठेर नित्यकर्म सकी आफ्नो कामधन्दामा लागेका मानिसले जिस्क्याइरहेको जस्तो लाग्यो । तर यो कथित महानगरमा कसको ध्यान कसमा जाला र ?
फर्केर आउँदा हाम्रो टोल जाने मूल सडकका चिया पसलमा केही परिचित भेट भए । केही हाम्रा टोलका बासिन्दा थिए केही अपरिचित । मूल सडकका बासिन्दा होलान् । म त मान्छे नै त्यति चिन्दिन । न फुर्सद, न आउजाउ ।
“गुड मर्निङ ।” कसैले भन्यो ।
“गुड मर्निङ । सबैलाई नमस्कार पनि है ।” मैले फर्काएँ ।
“आज किन ढिलो त ? तपाईं त बिहानै पो हिँड्नुहुन्थ्यो ।” उसले थप्यो ।
“आज बिहान ढिला उठें । त्यही त हो । फुटबलको माहौल छ ।” मेरो स्पष्टीकरण यही थियो ।
“जे होस् रिटायर भएर पनि तपाईंको दिनचर्या चाहिँ ठिक छ है । बिहान सधैं हिँड्नुृहुन्छ ।” उसले फुक्र्यायो ।
“रिटायर पो भएँ त । बूढै भएको त हैन नि !” मैले प्रतिक्रिया दिएँ ।
“हा… हा… । त्यसो त कहाँ भनेको छु र ?” उनी हाँसे ।
म अघि बढेँ ।
केही हल्ला अझै सुनिदै थियो ।
“बैंकमा थियो, रिटायर भयो ।” एउटाले भन्यो ।
“रिटायर भएको हैन होला, उमेर रिटायर हुने खालको छैन । भ्रष्टाचारमा परेको होला ।” अर्कोले थप्यो ।
त्यसपछिका कल्याङमल्याङ मैले सुनिन । सुन्न मन पनि लागेन ।
मान्छेका तीन रुप हुन्छन् । एक, जो ऊ आफूलाई सोच्छ । दुई, जुन उसलाई अरुले सोच्छन् । तीन, वास्तवमा ऊ जस्तो छ । मेरो आज आफ्नो अर्को रुपसँग पनि जम्काभेट भयो ।
******

(मिर्मिरेको 2075 पुसमा प्रकाशित अङ्कमा यो कथा सम्पादनसहित प्रकाशित भएको छ ।)

100 Shares

1 thought on “कथा: अवकाश

  1. मन छाेयाे, आगामी दिनमा समेत यस्तै सामग्री पढ्न पाईरहियाेस् भन्ने सुवेच्छा सहित !

Leave a Reply

Your email address will not be published. Required fields are marked *