सत्ता-स्वर्गको कथा

मंसिर ४ मा भएको चुनावभन्दा अघि र पछिका घटनाहरूका कारण मानिसको दिमाग अहिले पनि रन्थनिइरहेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्यक्त भावना र विचारहरूबाट यही लख काट्न सकिन्छ । चुनाव मुख्यरूपमा नेपाली कांग्रेस नेतृत्त्वको सत्तारूढ गठबन्धन र नेकपा (एमाले) को बिचमा भएको थियो । एमालेले राप्रपासँग केही स्थानमा तालमेल गरेको थियो र चुनावको केही समयमात्र अघि सत्ता गठबन्धनमा रहेको जसपा पनि नाटकीयरूपमा एमालेसँग चुनावी तालमेल गर्न आइपुगेको थियो । चुनावमा भरखर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, उन्मुक्ति पार्टी लगायतका पार्टीहरू पनि प्रतिस्पर्धामा थिए तर यी पार्टीहरूलाई कसैले पनि खास महत्त्व दिएको थिएन । सत्तारूढ गठबन्धन र एमाले आफैंले बहुमत ल्याउने बताइरहेका थिए ।

चुनावको परिणाम कसैले सोचेको वा भनेको जस्तो आएन । समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी भोट त ल्यायो तर ठुलो पार्टी चैं नेपाली कांग्रस बन्यो । सत्तारूढ गठबन्धनले बहुमत ल्याउन सकेन तर बहुमतको नजिक भने पुग्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले कसैले अनुमान नगरेको नतिजा हासिल गर्‍यो । जनमत र उन्मुक्ति पार्टीले तराईमा सफलता हासिल गरे । राप्रपाले पनि स्थितिमा सुधार गर्‍यो । एमालेसँगको तालमेलको कारण जसपा केही सजिलो अवस्थामा रह्यो तर सत्ता गठबन्धनमा रहेको लोसपाको स्थिति खस्कियो । स्वतन्त्र पार्टीले ल्याएको चुनावी परिणाम सबैले सहजै पचाउन सकेका छैनन् ।

चुनावपछि केही दल र स्वतनन्त्र सांसदलाई गठबन्धनमा सामेल गरेर सत्तारूढ गठबन्धन नै सरकारमा निरन्तर रहने आकलन भइरहेको थियो । तर पुस १० गते गठबन्धन फुट्यो र एमालेसहितको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री पदको दाबा गर्न सफल भए । यसले राजनीतिक वृत्तमा ठुलो तरङ्ग ल्यायो । आपसमा गाली गरेर कहिले नथाक्ने पुष्पकमल र केपी ओली अब मित्र भइसकेका थिए । पुष्पकमलको बलमा पार्टी फुटाएका माधव नेपाल बाटामा छोडिएका थिए । चुनावको बेला पुष्पकमल चितवनबाट उठ्ने सुइँको पाएर काठमाडौं छोडी चितवन पुगेका र पुष्पकमललाई गोरखा भगाउन सफल रवि लामिछाने उनकै मन्त्रीमण्डलमा उपप्रधानमन्त्री भए । राजनतन्त्र पुनःस्थापनाको माग राख्‍ने राप्रपाले गणतन्त्र हामीले ल्याएका हौं भन्ने पुष्पकमललाई समर्थन गर्दै थियो । संघीयता विरोधी स्वतन्त्र पार्टी र राप्रपा संघीयता पक्षधर माओवादी केन्द्रका प्रधानमन्त्रीलाई समर्थन गरिरहेका थिए । हिन्दू धर्मका हिमायती र धर्म निरपेक्षतावादी भेट हुने ठाउँ अब मन्त्रिमण्डल बनेको थियो । माओवादी केन्द्रलाई चुनाव जिताउन लागि परेका नेपाली कांग्रेस लगायतका दलहरू जिल्ल परेका थिए, उसलाई चुनावमा परास्त गर्न लागिपरेकाहरू नै अब उसको सबभन्दा नजिकका मित्र भएका थिए । एक आपसमा कहिले पनि नमिल्नले भनेर गणितको कक्षामा सरले वर्णन गर्नुभएको समानान्तर रेखाहरू सायद हाम्रो मन्त्रिमण्डलमा एक आपसमा मिल्ने थिए कि ? यति भएपछि मानिसको दिमाग रन्थनिनु त स्वभाविकै थियो ।

यतिसम्मका घटनाक्रम त बरू मानिसले खप्दै आएका थिए, गठबन्धन अझ नेपाली काँग्रेसलाई धोका दिएर एमालेको समर्थनमा सरकार बनाउने प्रधानमन्त्रीलाई नेपाली कांग्रेसले पनि पो विश्वासको मत दियो । आफूलाई मझदारमा छोडेर जाने प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले पनि समर्थन गर्‍यो । ‘नो, नट एगेन’ वालाहरू त सरकारमा नै थिए, समर्थन नगर्ने कुरै थिएन । नेपाल मजदूर किसान पार्टी र जनमोर्चा नेपालका एक/एक सांसदमात्र विपक्षमा रहे । बाँकी सारा संसद पुष्पकमलको समर्थनमा थियो । अजब काशी, गजब नेपाल भन्ने उखान त सुन्दै आइएको हो । तर गजबको पनि हद होला नि ! यो त महागजब भयो । यो खेप्नै नसकिने अचम्म नेपाली राजनीतिमा घटित भइरहेको थियो ।

यस्तै सोचिरहेको समयमा मैले महाभारतको एउटा प्रसङ्ग सम्झें ।

युधिष्ठिर आफ्ना भाइ र पत्नीसहित स्वर्गको यात्रा गर्छन् । एउटा कुकुर पनि उनको साथमा हुन्छ । विभिन्न कारणले बाटामा भाइहरू र द्रौपदीको पनि निधन हुन्छ । तर उनी अघि बढिरहन्छन् र स्वर्ग पुग्छन् ।

स्वर्गमा उनले दुर्योधन स्वर्गीय शोभासम्पन्न भई तेजस्वी देवताहरूसँग दिव्य सिंहासनमा विराजमान भएको देख्न पुग्छन् । त्यसैले युधिष्ठिर आश्चर्यचकित र क्रोधित हुनपुग्छन् र अर्को तर्फ फर्किन्छन्। उनले ठुलो स्वरमा भन्छन्- “देवताहरू हो ! लोभी र अदूरदर्शी दुर्योधन बसेको ठाउँमा म बस्न चाहन्न । यसले हामी माथि अनेक अत्याचार गर्‍यो र अति दु:ख दियो। यसैको कुकर्महरूको फलस्वरुप हामीले आफ्ना बन्धु-बान्धव र मित्रहरूलाई मार्नु पर्‍यो। यसैको आदेशको कारण हाम्री सतीसाध्वी पत्नी द्रौपदीले त्यत्रो सभामा अपमानित हुनुपर्‍यो । म यसलाई हेर्नसमेत चानन्न । मेरा अन्य भाइहरू कहाँ छन् ? उनीहरू जहाँ छन्, म त्यहीँ नै जान चाहन्छु।”

युधिष्ठिरको यो कुरा सुनेर नारद भन्छन्- “राजश्रेष्ठ यस्तो नभन; स्वर्गमा पहिलेको वैर-विरोध शान्त हुन्छ। दुर्योधनले युद्धमा आफ्नो शरीरको आहुती दिएर यहाँ वीरगति पाएको हो। वत्स ! उनले जे अपराध गरेका थिए, त्यसलाई तिमीले मनबाट हटाइदिनुपर्छ। द्रौपदीलाई ऊबाट जुन क्लेश भएको थियो, त्यसलाई अब भुल्न पर्छ। अब तिमीले दुर्योधनसँग प्रेमपूर्वक बस्नुपर्छ। यहाँ सदेह आइपुगेको कारण नै तिम्रो मनमा सङ्कुचित विचार उठिरहेको हो। अब यस्ता कुविचार त्यागिदेऊ। तिमी भाइहरूसँग बस्ने जिद्दी पनि छोड । तिमीले मनुष्यको लागि असम्भवप्रायः काम गरेका छौ । तिमीलाई सिद्धि प्राप्त भएको छ । तिम्रा भाइहरू स्वर्गमा त रहन्छन् तर उनीहरूलाई तिमीलाई जस्तै उच्चस्थान मिल्नेछैन ।”

युधिष्ठिर त्यत्तिकैमा चित्त बुझाउँदैनन् । आफ्ना भाइहरूलाई भेट्न चाहन्छन् र बाटोमा नर्क देखाइन्छ । त्यसपछि भाइहरू पनि उत्तम आसनमा पुगेको बताएर उनको चित्त बुझाइन्छ । मन्दाकिनीको पवित्र जलमा नुहाएपछि मानव स्वभाव र त्यसको कारण उत्पन्न हुने शोक-सन्ताप, ग्लानि र शत्रुता समाप्त हुने जानकारी युधिष्ठिरलाई दिइन्छ र उनलाई नुहाउन अह्राइन्छ । युधिष्ठिर त्यसै गर्छन् र स्वर्गको सुख भोग्छन् ।

सत्ता-स्वर्गको कथा पनि महाभारतको भन्दा भिन्न हुँदैन । चुनावको क्रममा जे-जसो भने-गरे पनि र आफ्ना राजनीतिक सिद्धान्त, नीति र कार्यक्रमका बारेमा जेजति बखान छाँटे पनि चुनाव जितेर शपथ ग्रहणको मन्दाकिनीमा नुहाएपछि पुराना सबै भावनाहरू अवचेतनमा बस्छन् र सत्तासुख भोगका लागि सबै पार्टी मित्रवत् हुन् भन्ने महान् सोच मनमा पलाउँछ । नेताहरूमा हाँसीखुशी बस्ने मिलिजुली खाने साह्रै सामाजिक सोचको विकास हुन्छ । आआफ्ना चुनावी वाचालाई न्यूनतम साझा कार्यक्रमको यज्ञमा हवन गरेपछि निस्केको खरानीलाई विभुति भनेर निधारमा लगाउँदा सबैलाई सुहाएकै देखिन्छ ।

युधिष्ठिरसँग भाइहरू सँगै रहन नसके झैं सत्ता-स्वर्गमा राजनीतिक यात्राका सबै सहयात्री सँगै हुनसक्दैनन् । कोही शरीरमा छर्रा लिएर घर बस्छन्, कोही आँखामा आँसु बोकेर मुगलान पस्छन् । कसैको घरबार डामाडोल हुन्छ, कसैको जीवनवृत्ति चौपट हुन्छ । केवल युधिष्ठिरलाई मात्र स्वर्गमा उच्च आसन मिलेजस्तो सत्तास्वर्गमा पहुँच पनि कमैको मात्र हुन्छ ।

महाभारतमा वर्णित स्वर्गमा मर्त्यलोकका भावना विलिन हुन्छन्, सत्ताको स्वर्गमा भने ती भावना विलीन हुँदैनन् अवचेतनमा बस्छन् । रिस, आवेश, वैमनस्य, शत्रुतापूर्ण ती भावनाहरू अवचेतनमा पनि त्यसै बस्दैनन्, गुणन हुँदै बस्छन्, विभिन्न घाताङ्कको आधारमा ज्यामितीय दरमा बढिरहन्छन् । सत्तास्वर्गबाट पतन भएपछि ती भावनाहरू पुनः मुखरित हुन्छन्, हाम्रो कान वा आँखासम्म बीभत्स रसका साथ आइपुग्छन् र अर्को आश्चर्यको माध्यम बन्छन् । महाभारत भन्छ-

हर्षस्थान सहस्त्राणि भयस्थान शतानि च !

दिवसे दिवसे मूढमाविशन्ति न पण्डितम् !!

मूर्ख मनुवाको लागि यो संसारमा दिनदिनै सुख र भयका अनेकौं कारणहरू फेला पर्छन् । ज्ञानी जनहरूका लागि भने ती घटनाहरू ‘तातो न छारो’ सावित हुन्छन् । ज्ञानी मानिसहरूमात्र किन, हामीमध्ये कतिपयलाई सुखद र कतिपयलाई दुखद आश्चर्य दिने यी घटनाहरू आम नेपालीहरूका लागि त ‘तातो न छारो’ त हुन् नि ! हैन र ?

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *