मैले बालाई भेटें

केही दिन आफू कार्यरत विद्यालयमा स्थानीय बिदा हुने भएकाले रसुवाको सिमबन्दी प्राथमिक विद्यालयका हामी चार जना शिक्षक बिदा बिताउने आआफ्नो तयारीमा व्यस्त र मस्त थियौं । महानन्द दाइ र लक्ष्मी दिदी काठमाडौं जाने, लीला जिबजिबेको आफ्नो घर जाने र म भने लोक सेवा आयाेगले लिने दुर्गमको खरिदारको परीक्षाको लागि धुन्चे जाने भएका थियौं ।

गएको भदौमा दिएको परीक्षामा असफल भए पनि र माघमा दिएको परीक्षाको नतिजा जेजस्तो भए पनि दुर्गमको लागि निर्धारित खरिदार पदको परीक्षा त पास गर्छु होला जस्तो लागेको थियो, मलाई । भदौमा परीक्षा दिँदाका कतिपय अज्ञानता र कमजोरी मैले थाहा पाइसकेको थिएँ र तिनलाई सच्याउन लागिपरेको थिएँ । यही उत्साहले मेरो यात्रालाई निकै रमाइलो बनाएको थियो ।

मेरो उत्साहलाई मौसमले पनि साथ दिइरहेको थियो । हिउँदको चिसो सिरेटो कम हुँदै गएको थियो । उत्तरायणतिर लागेका चैत महिनाका घामले क्रमशः शक्ति आर्जन गरिरहेका थिए । सिम्बन्दीकाे खोंचबाट देखिने साँघुरो आकासमा टुपुल्किने घामलाई हरदम ढाकिरहने बादल त्यो दिन खै कता गएको थियो ? घामको प्रकाश ढुङ्गाको गाह्रो र काठको छाना भएका घर, गोठ र बारीमा एकछत्र परेको थियो । सिम्बन्दीको त्यो बिहान निकै घमाइलो थियो । मेरो मन पनि छ्याङ्ग थियाे।

हामी चार जनाको गन्तव्य एकै नभए पनि कालीकास्थानसम्म त बाटो एउटै पर्थ्यो । जिबजिबे पनि कालिकास्थानको छेवैमा थियो । कालिकास्थानपछि महानन्द दाइहरू काठमाडौं जानुहुन्थ्यो, म धुन्चे जान्थें र लीला कालिकास्थान पुग्नु केही अघि जिबजिबेतिर लाग्थे । हामी महानन्द दाइकी जेठी छोरी बोक्न सघाउँदै कालीकास्थानतर्फको यात्रामा थियौं ।

सिम्बन्दीबाट साङ्गिल, थाङदुर, लाङ्बु, आरुखर्क, घोर्मु, सर्स्यों, जिबजिबे हुँदै कालीकास्थान पुग्न करिब हामीलाई करिब ६ घण्टा लाग्थ्यो । सामान बोक्नु परे त त्यो भन्दा बढी । हामी आफ्नै गतिमा हिँडिरहेका थियौं ।

बाटोमा केशव दाहाल आउँदै गरेको भेटिनु भयो । उहाँकाे यता आउने काम नै थिएन । उहाँ त धुन्चेमै जागिरे हुनुहुन्थ्यो । उहाँसँगको भेट खुशीका साथ आश्चर्यजनक पनि थियो ।

“म त केदारजीलाई भेट्न आएको । बुवा बिरामी हुनुभयो रे । घर जानुस् भन्ने खबर आएको छ । म त त्यही खबर दिन आएको थिएँ, बाटैमा भेट भयो ।”

मेरो उत्साहमा चिसो पानी पोखियो । मेरा सामुन्ने अब नयाँ चुनौती आए । घर जानु, बालाई फेरि काठमाडौं ल्याउनु र उपचार गराउनु । धुन्चेमा हुने लोक सेवा आयाेगको परीक्षा त अब प्राथमिकताको सूचीमा नै रहेन । म सबैलाई छोडेर काठमाडौं हानिएँ ।

बाको उपचारको काम सजिलो थिएन । गएको माघमा पनि हामी बाउछोरा काडमाडौं आएका थियौं । कृष्ण दाइ र पूर्णराज दाइको कोठामा बसेर उहाँको उपचार गराइएको थियो । मलाई पनि काठमाडौंको भेउ नभएकाले हामीलाई विष्णु ढुङ्गाना दाइले शिक्षण अस्पताल लैजाने र ल्याउने गर्नुभएको थियो । काठमाडौंको डेरामा पटकपटक पाहुना लाग्नु राम्रो कुरा थिएन । त्योभन्दा महत्वपूर्ण कुरो पैसाको थियो । माघमा एउटा बहर गोरू बेचेर हामी काठमाडौं आएका थियौं, यसपटक के बेच्ने थाहा थिएन । बा २,४ वर्षदेखि बिरामी परिरहनु भएकाले घरको आयव्ययको सन्तुलन बिग्रन थालिसकेको थियो । स्थानीय विद्यालयमा रहेको मेरो अस्थायी/लियन शिक्षकको जागिर खुस्केको पनि निकै भइसकेको थियो । यो जागिरमा भने म भरखर जोडिएको थिएँ, तलब पाकेको थिएन, फेरि शिक्षकको तलब त चौमासिक निकासा हुन्छ । मेरो मनलाई बादलले ढाक्यो।

त्यो दिनको रात्रिबस छुटिसकेकाले एक रात त म काडमाडौं बस्नै पर्‍यो । काठमाडौंमा कृष्ण दाइ र पूर्ण दाइको डेरामा गएँ । फेरि, बालाई काठमाडौं ल्याउने र उहाँहरूको डेरामा राखी उपचार गराउने जानकारी पनि दिनु पर्‍यो । पैसा पनि त थिएन । कृष्ण दाइसँग पैसा पनि मागें । मसँग केही थिएन तर सबै चिज चाहिएको थियो । बस्ने ठाउँ, पैसा, उपचारमा सहयोग ।

“पहिले घर त जाऊ । अनि के गर्नु पर्छ गरौला नि ।”

कृष्ण दाइले आश्वस्त पार्नु भयो तर मेरो मनको बादल फाटेन । म धुम्मिएको मन लिएर रात्रिबस चढें ।

झिसमिसेमा नै लहानबाट हिँडेर बरदमार आइपुग्दा बिहानको ९ पनि बजेको थिएन होला । बरदमारमा सानी पण्डितिनीको खाजा दोकान थियो । लाहान जाँदा आउँदा हामी त्यहाँ निस्किन्थ्यौं । पहिला उदयपुर गढीमा नै रहनु हुने भएकाले उहाँले उताको खबर सोधीखोजी गर्नुहुन्थ्यो, हामी बताउँथ्यो । आफू पहिला हिँडेका साथी कति अघि पुगे भन्ने पनि थाहा हुन्थ्यो । खाजा घरबाट बोकेको समयमा बाटोमा पानी भएको ठाउँमा खान्थ्यौ नत्र त्यहीं खाइन्थ्यो । म पनि त्यहाँ निस्कें ।

उनले माघमा बा उपचार गराएर काठमाडौंबाट फर्कंदा त्यहाँ निस्कनु भएको बताइन् । त्यसपछि पनि बालाई लाहान लगिएको रहेछ, उपचारको लागि । बा काठमाडौंको उपचारपछि निको हुनु भएको रहेनछ । म चैं यता ढुक्कले मुलुकको दुर्गम कुनामा बेखबर बसिरहेको रहेछु । अहिले सायद उपचारको लागि काठमाडौं नै लैजानुपर्ने भएकोले पो मलाई बोलाइएको रहेछ । स्थिति अलि जटिल रहेछ । मेरो मनमा लागेको बादल झन् कालो भयो ।

सानी पण्डितिनीको कुराले मलाई त्यहाँ सुस्ताउन दिएन । उनले खाजा खाएर जा भन्दाभन्दै भोक लागेको छैन, रातिको खाना नै बसले अबेला खुवायो भनेर म निस्किहालें । मलाई घर पुग्न हतार भइरहेको थियो ।

बाटामा काशी सरसँग भेट भयो, लाहान जाँदै हुनुहुँदो रहेछ । मलाई देखेर उहाँले “तँ पो आइपुग्दैनस् कि जस्तो लागेको थियो, आइपुगिस् । खबर पुगेरै हिँडेको होलास् । बाउलाई भेट्न पाउने भइस्”- भन्नुभयो । मलाई यो भनाइले सल्याङसिलिङ बनायो । मैले बा अन्तिम अवस्थामा हुनुहुन्छ भन्ने सोचेकै थिइन । उहाँसँग अरू केही कुराकानी त भए तर केही सम्झन सक्दिन । मैले उहाँको मुख हेर्न पनि सकेको थिइन । मेरो घाँटी कोक्याइसकेको थियो । छातीबाट रूवाइको मुस्लो निस्कन खोजिरहेको थियो । अब मलाई एकान्त चाहिएको थियो । म एकान्तमा बसेर रून चाहन्थें, निर्बाध । म यताउता कुरा गरेर उम्कें । अनि म जङ्गलको बाटोभरि बर्सिरहें, हिंडिरहें । बर्सिंदै हिंडें, हिंड्दै बर्सें ।

नेपालटार पुग्दा वर्षा रोकिएको थियो । दुःख पो भावना भएकाले असीमित हुन्छ । आँसु त भौतिक वस्तु हो, त्यसको मौज्दात सीमित हुँदो हो । घरमा कुनै पूजा रहेछ । सायद दशदान सम्बन्धी केही कुरा थियो । घरमा थुप्रै छिमेकी र आफन्तहरू जम्मा हुनुभएको रहेछ । मलाई अलि सास आयो । म एक्लै छैन जस्तो भावना मेरो मनमा आयो । त्यो शोकसन्निकट परिवेशमा पनि म आइपुगेकोमा मानिसका आँखामा हर्ष देखियो । कोही मलाई पर्खिरहेका थिए मलाई आफ्नो अस्तित्वको बोध भयो । सकिएको आँसुले मलाई मात्र रुनबाट जोगाएन, मेरो आँसुमा आँसु बगाउने अरूलाई पनि रुनबाट जोगायो ।

बालाई बाहिर दलानमा सुताइएको रहेछ । सायद आँगनमा पुजाको कार्यक्रम भएर होला भन्ने ठानें । हात मुख धोएर म पनि पुजामा सरीक भएँ । आमा र भाइबहिनीसँग त्यही मेसोमा बाका बारेमा छोटोमा कुरा भयो । लामो कुराको त अर्थ पनि थिएन । बा अब हातमा रहेको हिउँको डल्लो भइसक्नुभएको रहेछ । बिलाउँदै जाने । अनि अदृश्य हुने । बासँगका सबै पल अब स्मृतिमा सीमित हुँदै थिए । यति नजिकको मान्छे कसरी यति टाढा हुनसक्छ, म विस्मित थिएँ ।

कुरैकुरामा काठमाडौंबाट फर्केपछि बा फेरि बिरामी पर्नु भएको, उपचारको लागि लाहानसम्म लगिएको, त्यहाँ उपचार सम्भव नभएपछि पुनः घर फर्काइएको जानकारी पाएँ । करिब एक महिनाअघि काठमाडौंबाट एक्लै नेपालटार फर्किनु भएको अनि हिंडेर लाहानबाट नेपालटार पुग्नु भएको बालाई त्यो अवस्थामा देखेर म स्तब्ध थिएँ । बासँगै उहाँलाई फेरि काठमाडौं लगेर उपचार गराउने मेरो आँट सिकिस्त थियो ।

म शनिवारको दिन नेपालटार पुगेजस्तो लाग्छ । बा बिस्तारै बोल्न सक्नुहुन्थ्यो । सामान्य कुरा गर्न पाएँ । म पुगेको तीन दिनपछिको मंगलबार अर्थात २०४२ सालको चैत १२ गते बाको देहान्त भयो । हामी कुन वेला के हुन्छ भन्ने त्रासका कारण घरमा जुठो नराख्न दिउँसै खाना खाएर बसेका थियौं । साँझको समय थियो । बालाई बाहिर नै सुताइएको थियो । म सिरानमा थिएँ र उहाँलाई सुम्सुम्याउँदै थिएँ । एकछिनपछि उहाँको शरीरमा हात लैजाँदा फरकपन महसुस गरें । मैले त्यो कुरा अरूलाई भनें । उहाँहरूले तुलसाको मठ नजिक सार्नुभयो । त्यो नै बासँगको अन्तिम भेट थियो । म उहाँको अनन्तयात्रको प्रस्थानमा साक्षी बस्न पुगें ।

बासँग छुटेको ३६ वर्ष भइसकेको छ । उहाँले किशोर र बालक छोड्नुभएका हामी चार जना छोराछोरी अब बुढा हुन लागिसकेका छौं । सबैभन्दा कान्छी बहिनी चाहिं त हजुरआमा भइसकी । तर त्यो समय निकै कठिन थियो । सिङ्गो भविष्य अज्ञात रहेको बालककालको समयमा अभिभावक गुमाउनु पीडादायी मात्र थिएन, हाम्रो भविष्य नै जोखिममा परेको थियो । आज दुई छोराको बाउ भएर त्यो दिनलाई सम्झन्छु, आफ्ना छोराछोरीको भविष्यका बारेमा अनेकन सपना साँच्ने ती आँखाहरू चिम्लिन उहाँलाई कति सकस भयो होला ?  तैपनि, आमाले हामीलाई अघि बढाउनु भयो । अहिले सबै जना एउटा सरदर नेपाली जीवन बाँचिरहेका छौं ।

वास्तवमा बा बिरामी हुनुहुन्छ भनेर मानिस नै लिन पठाउनुको अर्थ उहाँको देहान्त भइसकेको संकेत रहेछ । कसैको देहान्त भएपछि छोराछोरीलाई बोलाउनु पर्दा निकै बिरामी हुनुहुन्छ भनेर बोलाइँदो रहेछ । मलाई बोलाउन आउनुभएका केशव दाहाललाई रसुवामा भेट्दा मैले पनि अब बालाई भेट्दिन होला भन्ने ठान्नु पर्ने रहेछ । अहिले सम्झेर ल्याउँदा काठमाडौंमा पनि सबै जना बाको उपचार सम्बन्धी मेरो जिज्ञासाको कुनै सम्बोधन नगरी मलाई घर जान मात्र सुझाव दिइरहेका थिए । तर म उति व्यावाहारिक नभएको हुनाले कुरो सुने, सङ्केत बुझिन । त्यो सङ्केत नबुझेकै ठिक भयो पनि । मैले बालाई भेट्न पाएँ, भेटें ।

अहिले संसार एउटै गाउँ भएको र आफन्तहरू टाढा रहेको विडम्बनापूर्ण अवस्थामा हामी बाँचिरहेका छौं । विदेश जाने प्रचलन, नेपालमै बस्दा पनि अलगअलग बस्नु पर्ने बाध्यता र विभिन्न संयोगका कारण अन्तिम अवस्थामा सन्तान र अभिभावकको भेट हुन नपाएका घटना यत्रतत्र देख्छु । अनि मलाई काशी सरको कथनको अर्थ बोध हुन्छ । बा अन्तिम अवस्थामा हुनु अवश्य नै दुःखद हो तर जीवनको अन्तिम सत्यलाई साक्षात्कार गर्ने समयमा आफू उहाँको साथमा रहनु पाउनु गर्वको कुरो पनि रहेछ । अर्थहीन नै भए पनि त्यो सान्निध्यबाट जीवनभर सन्तोष प्राप्त हुने रहेछ । हामी केही छिनको लागि घरमा आएको पाहुना जान लाग्दा त ढोकासम्म गएर बिदा गर्छौं । महाप्रस्थानको समयमा कसैको नजिक हुन पाउनु अवश्य नै गर्वको विषय हो । म आज त्यो पल बासँग रहनु पाएकोमा गौरव महसुस गर्छु ।

हार्दिक श्रद्धाञ्जली बा !

(बाउको मुख हेर्ने दिन, २०७९ को अवसरमा)

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *