त्यो चौतारा, यो चौतारा

२०४३ सालको भदौरे झरीमा रुझ्दै र भिज्दै म चौतारा पुगेको थिएँ । लोकसेवा आयोगको परीक्षा पास गरी जिल्ला प्रशासन कार्यालय चौतारामा सह–लेखापालको नियुक्ति लिन गएको हुनाले त्यो मौसमी प्रतिकूलताले मेरो मनलाई प्रफुल्ल हुनबाट रोक्न सकेको थिएन । अझ बाटैमा सँगै खरिदार पदमा नियुक्ति लिन जान लागेका भक्तिराम अर्याललाई साथीको रूपमा पाएपछि त म झन् मख्ख परेको थिएँ (http://kedaracharya.com.np/archives/251) ।
२०४४ सालको चैतसम्म त्यहीँ बसेर नेपाल राष्ट्र बैंकको प्रधान सहायक पदमा जागिर खान आएपछि फेरि फर्केर चौतारा गइएन । गइएन भन्दा पनि डेराका व्यक्तिगत सामान लिन र डेराभाडा मिलाउन एकदिन बोधकुमार घिमिरे र म चौतारा गएका थियौं । त्यो बाजि जाँदा बिहान गयौं, बेलुका फर्क्यौं । राति बास बसिएन ।
राष्ट्र बैंकमा ३० वर्ष जागिर खाएर अवकाश पाएपछि पनि चौताराको सम्झना कम भएन । १९ वर्षको उमेरमा जागिरे भएर टेकेको धरतीको न्यानो मुटुसम्मै पुगेको थियो । जिल्ला प्रशासन कार्यालयको टाँडे घर र त्यसको भुइँ तलामा रहेको आफ्नो कार्यकक्षको झझल्को लागिरहन्थ्यो । चौताराको त्यो डेढ वर्षे बसाइको सम्झना मलाई हरदम आइरहन्थ्यो । अखबारमा चौताराको खबर देख्दा आँखा तानिन्थे । कुरैकुरामा कसैले आफ्नो घर चौतारा मात्र होइन, सिन्धुपाल्चोक बताउँदा पनि मन रोमाञ्चित हुन्थ्यो र थप गफिन्थें ।

काठमाडौंबाट चौतारासम्म जानको लागि अरनिको राजमार्गको वनदेउ (दोलालघाटभन्दा अलि पर)सम्म पिच थियो । त्यसपछि चौतारासम्म नै ग्राभेल बाटो, कतै धुलौटो । बिहान ७ बजे र दिउँसो दुई बजे बस लाग्थे, दुवै तर्फबाट । भाडा शायद १७ रूपियाँ थियो । बसेको डाँडाको एकसरो बजार थियो चौतारा । दक्षिणपट्टि त वन नै थियो, उत्तरपट्टि गैरी गाउँ । गैरी गाउँमा फाट्टफुट्ट मात्र घर थियो ।

बजारमा शिरमा रहेको टुडिखेलको केही तलतिर रहेको अग्लो ठाउँमा जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय आमनेसामने रहेका थिए । बीचमा फराकिलो आँगन थियो र आँगनको बीचमा मौलो । त्यसको एक छेउमा क्यान्टिन र जिल्ला प्रशासन कार्यालयको गेस्ट हाउस थियो । डेराको व्यवस्था नहुन्जेल भक्तिराम र मैले त्यहीं आखडा जमाएका थियौं ।

बेलुका कार्यालय छुटेपछि हामी टुँडिखेलमा जम्मा हुन्थ्यौ, खासगरी लेखाका लेखापाल तहसम्मका केही कर्मचारी । त्यसपछि अस्पताल हुँदै सल्लेरी वनको आनन्द लिँदै स्याउले जाने बाटोमा रहेको भिरको कुइनेटोभन्दा माथि पनि पुग्थ्यौं । बजारमै अक्सर बाहिरबाट आएका सबै कर्मचारीको डेरा हुन्थ्यो । 100-150 रुपियाँमा कोठा पाइन्थ्यो । 200-225 मा होटलमा महिनाबारी खाना । पानीको भने दुःख थियो । बिदाको दिनमा नजिकैका धारामा कपडा धुन पनि जानुपर्थ्यो ।
गौरतीको जात्रा भने चौताराको निकै ठुलो पर्व थियो । दसैंतिहारपछिको कुनै समयमा यो जात्रा हुन्थ्यो । त्यताका धेरै मानिस जम्मा हुन्थे । म पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी बलराम कापरका साथ त्यहाँ पुगेको थिएँ ।
म भने तुलसीको घरमा बस्थें । उनका दाजु थिए पहलमान, बजारका नामुद व्यापारी । नेपालमा आयोजित सार्क शिखर सम्मेलन उनकै घरको टेलिभिजनबाट प्रमुख जिल्ला अधिकारी लगायत धेरै कर्मचारीले हेरेको जस्तो लाग्छ । परिवारका अरु सदस्य भने सम्झन्न । उनी त्यहाँका ठुला व्यापारी नै थिए । ढुंगेल, कुन्चोके साहु आदिलाई सम्झन्छु । त्यति बेला चौतारामा एउटा चिउरा मिल रहेको र दसैंमा त्यहाँ अत्यन्त भिड हुने कुरा पनि सम्झन्छु ।

जुँगाको रेखी बसेको उमेरमा म चौतारा पुगेको थिएँ । लोकसेवा आयोगको परीक्षा पास गरेर राजाको सिंदूर लगाएको मानिने निजामती सेवामा प्रवेश गरेको सफलताले मेरो हौसला बुलन्द बनाएको थियो । त्यो उमङ्गको उमेर र समयमा सबै ठाउँ राम्रा लाग्छन् । मलाई पनि चौतारा खूब मन परेको थियो । बयालिस सालको अन्त्यमा बुवा गुमाउनु पर्दाको पीडामा यो सफलता मलहम बनेर जीवनमा आएको थियो । बुवाको देहान्तपछि लिक छोडेको महसुस भएको जीवनको रेल पुनः लिकमा फर्केको महसुस भएको थियो । त्यसैले चौतारा मेरो लागि एउटा पुण्यभूमि रह्यो । त्यसैले रिटायर भएपछि चौतारा जाने सोचाइ बनाएको थिएँ । त्यो पुण्यभूमि फेरि एक पटक पुग्न मन हतारिएको थियो । तर मन जति हतारिए पनि पुगिहाल्न भने सकेको थिइँन ।
मेरा दाइ (लक्ष्मीप्रसाद प्याकुरेल) र ज्वाइँ (कुमार पोखरेल) चौतारामा नै कार्यरत रहनु भएकोले मेरो चौतारा जाने सोचाइले झन् मलजल पायो । अनि हामी मंसिरको १९ गते चौतारा पुग्यौं, त्यो दिन त्यहीँ बस्यौं र भोलिपल्ट बिहान चौताराबाट प्रस्थान गरी मेलम्ची बजार हुँदै काठमाडौं फर्क्यौं । दाइको कार्यक्रम नमिलेकाले आतिथ्य भने ज्वाइँको मात्र पाउन सक्यौं । मेलम्ची जाने क्रममा बसमा नै नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी साथी केदार डोटेलसँग अप्रत्यासित रुपमा रमाइलो भेट भयो ।
लाम्चो डाँडाको टुप्पोमा बसेको चौतारा बजार थप लामो भएछ र बजार पुग्ने सडकको मोडसम्म नै आइपुगेछ । त्यो मोड नपुग्दै बसपार्क बनेछ । पहिला त बसपार्क पुरानो चौतारा जाने चोक नेर रहेको नेपाल बैंक नजिक थियो । बसपार्क के भन्नु जम्मा दिनको दुई टाइम बस लाग्थ्यो । त्यही मोडको अलिमाथि नेपाली सेनाको ब्यारेक बसेछ । पहिला त बाह्रबिसेमा मात्र ब्यारेक थियो, त्यो पनि भर्खर बसेको । बजारको माथिल्लो टुप्पोमा टुँडिखेल थियो र त्यसमाथि अस्पताल, जिल्ला पञ्चायत र सेभ द चिल्ड्रेनको कार्यालय मात्र थियो जस्तो लाग्छ । अहिले अरु भवनहरु पनि बनेछन् । त्यति वेला नभएको टेलिफोन कार्यालयले चौताराको सिरानमा घडेरी पाएछ ।
बहत्तर सालको भुइँचालोले सिन्धुपाल्चोकलाई पनि धेरै पिरोल्यो । यस क्रममा सरकारी, सार्वजनिक र निजी घरहरु पनि भत्के । त्यसैले होला, सिन्धुपाल्चोकमा सार्वजनिक सेवा पुनर्स्थाना परियोजना लागु भएछ । अहिले त अदालतभन्दा तलतिरको एउटा मात्र भवन भुकम्पको चिनो शरीरमा लिएर उभिरहेको थियो । बाँकी थुप्रै सरकारी भवनहरू नयाँ बनेछन् । बजारमा पनि सबैजसो घर पनि नयाँ नै रहेछन् । म डेरा बसेको घर पनि भत्क्यो होला । त्यसैले त्यहाँ पनि नयाँ घर बनेछ । चौतारा बजार त अहिले तन्नेरी भएको रहेछ ।
आफूले काम गरेको जिल्ला प्रशासन कार्यालयतिर पनि पुगे । जिल्ला प्रशासन कार्यालयको कार्यालय भवन र आवासले अहिले आफ्नो ठाउँ साटेछन् । बजारको शिरमा रहेको अग्लो ठाउँमा अहिले प्रमुख जिल्ला अधिकारीको आवास बनेछ । प्रशासकीय अधिकृतहरुको आवास रहेको ठाउँतिर कार्यालय सरेछ । पहिले प्रमुख जिल्ला अधिकारीको आवास भएको स्थानमा भने के छ भनेर सोध्न बिर्सेछु । मालपोत कार्यालय पनि तल्लो बाटोतिर सरेछ । ऊ बेला भाडामा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय भर्खरै टुँडिखेल नेर भव्य रुपमा ठडिएको रहेछ । कृष्ण मन्दिरलाई पनि भुइँचालोले भत्काएछ तर बन्न भने सकेको रहेनछ । गणेश मन्दिर भने नयाँ बनेछ । श्री कृष्ण माध्यमिक विद्यालयको भवन भव्य बन्दै रहेछ । चौतारामा क्याम्पस पनि स्थापना भएछ ।
बजारको शिरको शोभा टुँडिखेल अतिक्रमणमा परेको जस्तो लाग्यो । सानो बसपार्क जस्तो पनि देखिन्थ्यो एक छेउ । हामी बिना हिचकिचाहट बस्नै हरियो चौर भएको मैदान अहिले धुलौटे थियो । एकादुई घर भएको गैरी गाउँ अहिले बजार जस्तै भइसकेछ । चौतारासम्म जाने बाटो पिच भए पनि चौताराबाट स्याउलेतिर जाने बाटो धुलौटे नै रहेछ । अस्पतालभन्दा माथि घर बन्दा र स्याउले जाने बाटो फराकिलो बनाउँदा सल्लाका सुन्दर रुखहरु काटिएछन् ।
पहिला चौतारा जाने दुईवटा मात्र बस रहेकोमा अहले त नवलपुरतिर पनि बस जान थालेछ । चौतारा जान त बाक्लै बस र माइक्रोबस पाइँदा रहेछन् । पाँचखालको जिरो किलोमिटरबाट मेलम्चीतिर पनि बस जाँदो रहेछ । स्याउलेतर्फ जाने कुनै सार्वजनिक सवारी साधन नपाएकोले गौरतीमाताको दर्शन गर्न भने सकिएन ।
चौताराका पुराना चिनारुका बारेमा पनि सोधखोज गरेँ । तत्कालीन प्रमुख जिल्ला अधिकारी बलराम कापरको निधन भएको त मैले अखबारमा पढेको थिएँ र एउटा संस्मरणात्मक लेख पनि लेखेको थिएँ (http://kedaracharya.com.np/archives/84) । तत्कालीन प्रशासकीय अधिकृत माथुरप्रसाद यादव उदयपुर (मेरो घर भएको जिल्ला)को प्रमुख जिल्ला अधिकारी समेत हुनुभएको थियो तर अहिले कहाँ बस्नुहुन्छ थाहा भएन । स्थानीय कर्मचारीमा सुब्बा चन्द्रप्रसाद श्रेष्ठको निधनको खबर पनि काठमाडौंमै पाएको थिएँ । मलाई तत्कालीन मुखिया रमेश घिमिरेसँग भने भेट होला जस्तो लागेको थियो । उहाँ शिवरात्रिको धुनीले पोलेको व्यथाले बित्नुभएछ । मेरा घरबेटी पलहमान र तुलसीको पनि देहान्त भइसकेछ । त्यो वेला उमेरदार रहेका अर्का एक जना कार्यालय सहयोगी पनि थिए, तर उनको नाम बिर्सेको हुनाले खोजखबर गर्न सकिन । बरु केही समय सँगै काम गरेका हरि बुढाथोकी भने फेसबुकमा साथी हुनुहुन्छ । मेरा सुरुका रूम पार्टनर भक्तिराम अर्याल, त्यसपछिका वासु काफ्ले र लेखापाल आत्माराम खनाल बारे पनि कुनै जानकारी हुन सकेको छैन ।
भुइँचालोपछि पुनर्स्थापनाको लहरले चहलपहल बढेको चौतारामा संघीयतापछि अलि चल्ती कम भएको अनुभव खाना खुवाउने साहुजीले सुनाए । सिन्धुपाल्चोकमा व्यापारिक महत्व भएका बजारहरु तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौर रहेका र मेलम्ची समेत चम्किरहेको अवस्थामा प्रशासनिक केन्द्रको रुपमा मात्र रहेको चौतारा अब पछि पर्ने उनको विश्लेषण थियो । चौताराबाट स्याउले हुँदै अघि बढ्ने बाटो पनि बन्न सकेको थिएन । उनको कुरा सुन्दा हो कि जस्तो पनि लाग्यो ।
पुराना घर भत्केछन् । मेरा चिनारु मरेछन् । चौतारा बदलिएछ तर व्यवस्थित हुन सकेको रहेनछ । त्यसैले होला बदलिएर पनि नचिन्ने हुन भने सकेको रहेनछ । उसले नचिने पनि मैले चिने । स्नेह भएको स्थानको नक्शा त उसै पनि मनमै हुन्छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *