‘इति सम्वत’ भनेको कुन सम्वत हो ?

विक्रम सम्वत र इस्वी सम्वत भनेको त हामी सबैलाई थाहा भएको कुरा हो । तर हामीले कानूनको किताब पल्टायौं भने त्यहाँ अर्को सम्वत भेट्छौं । त्यो सम्वत हो इति सम्वत । कानुनी लिखतको अन्तिममा मिति लेखिएको हुन्छ । यही मिति जनाउन इति सम्वत यति साल यति महिना यति गते यति रोज (बार) शुभम् लेखिएको हुन्छ । कतै नभेटिने इति सम्वत कानुनका किताबमा कसरी आयो खोजको विषय होला ।

मेरो जानकारीमा आएको र मलाई चित्त बुझेको कुरा भने म यहाँ राख्छु । लिखितमबाट सुरु हुने कानुनी लिखतको अन्तमा इति लेखिन्थ्यो होला । इति भनेको अन्त । लिखितमबाट सुरु भएको व्यहोरा यहाँ अन्त हुन्छ भन्ने जनाउन इति लेखिनु स्वभाविकै पनि हो । इतिभन्दा तल लेखिएको व्यहोराले मान्यता पाउँदैन थियो होला । इति लेखेपछि अनुच्छेद (प्याराग्राफ) बदलेर सम्वत लेखी लिखत तयार भएको मिति लेखिन्थो होला ।

उदाहरण

…. सो रकमको साउँ ब्याज लेखिएको भाकामा नतिरे घरघरानाबाट असुल गरी लिनु भनी खुशी राजीले यो तमसुक गरिदिएँ । इति ।

सम्वत २०७५ साल साउन महिना १३ गते रोज १ शुभम् ।

तर कुनै लिखतमा लेख्दै जाँदा ठाउँको अभावले इतिलाई तल्लो लाइनमा ल्याउनु पर्यो होला । र मिति लेख्न अर्को हरफमा नगई सोही हरफमा मिति लेखियो होला ।

उदाहरण

…. …. . .. .. . . .. . . . .. . . . . .. . . . . .. . . . . . .. . . . . . . .  … .  . .. . . . . . .. . . .  ..  .. . . .  .. . . . .सो रकमको साउँ ब्याज लेखिएको भाकामा नतिरे घरघरानाबाट असुल गरी लिनु भनी खुशी राजीले यो तमसुक गरिदिएँ  । इति । सम्वत २०७५ साल साउन महिना १३ गते रोज १ शुभम् ।

पुराना लिखतमा पूर्ण विरामको उति राम्रो प्रयाग गरिदैंन थियो पनि । अनि यस्तै लिखतलाई अनुसरण गर्दै ‘इति सम्वत’ लेखिन थालियो होला ।

आज मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ मा पनि  लिखतको नमुनामा ‘इति सम्वत’ नै लेखिएको छ । यसको अर्थ मैले चाहिँ बुझ्न सकेको छैन । हजूरहरुले बुझ्नु भएको छ भने जानकारी पाऊँ ।

..

0 Shares

1 thought on “‘इति सम्वत’ भनेको कुन सम्वत हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *