जगरेटार स्कूलः मेरो पहिलो पाठशाला

जगरेटार मेरो घरबाट करीव दस मिनटको दूरीमा रहेको साह्रै नजिकको टोल भए पनि यो टोल मलाई अत्यन्त रहस्यमय लाग्छ । मेरो बूढो मावली टोल भएकाले दसैंको टीका थाप्न वर्षमा एक दिन त अवश्य जगरेटार गइन्थ्यो तर अरु बेला पटक्कै आउजाउ नहुने । दसैंमा गएको बेला पनि त्यहाँको बाक्ला घर, थुप्रा केटाकेटी र फरक बनोटको सम्म परेको बारी मलाई अचम्मका लाग्थे । अरु तिरका भन्दा अग्ला र राम्रा घर त्यस टोलमा थिए । शायद क्यारेम बोर्ड मैले त्यहीँ देखेको थिएँ । यही अचम्मको भावनाले मनमा अत्यास ल्याएर होला त्यस टोलको पुछारमा रहेको जगरेटार  प्राथमिक विद्यालयमा एक कक्षामा भर्ना हुँदा म हरेक दिन रुन्थेँ रे । केही दिन जगरेटार स्कूल गएपछि पनि रुने बानीमा सुधार नआएपछि म उदयपुर गढीस्थित पञ्चावती माध्यमिक विद्यालयमा एक कक्षामा पढ्न गएँ । तर जगरेटारको प्राथमिक विद्यालयसँगको निकटता मेरो भाग्यमा बाँकी नै रहेछ ।

एसएलसी पास गरेपछि म पढ्न क्याम्पस गइन । मेरो थप अध्ययन बारेमा घरमा कुरा नै भएन । राजविराजको क्याम्पसमा गएर पढाउने खर्च घरले धान्न नसक्ने कुरामा म ढुक्क थिएँ । मैले बुवालाई म पढ्न जान्छु भन्नसम्म पनि सकिन । घरमा रुपियाँपैसा राख्ने ट्याङ्काको साँचो मैले पनि चलाउन थालिसकेको थिएँ र त्यसमा के कति छ भन्ने मलाई थाहा थियो । बुवा बिरामी पर्न थाल्नु भएको थियो र उहाँमा दुःखसुख गरेर छोरालाई पढाउने आँट हराइसकेको थियो । फेरि अरु साना तीन  जना भाइबहिनी पनि त थिए । एसएलसी पास गरेपछि म विहान खेतीपातीका सानातिना काम र दिउँसो गाई हेरेर दिन बिताउन थालेँ । सँगै एसएलसी पास गरेका बालकृष्ण भट्टराई कमर्स पढ्न विराटनगर गए । उनी घर आएको बेला उनलाई भेटी क्याम्पस जाने रहर मेटाउथे ।

जगरेटार स्कूलका एकजना स्थायी शिक्षक लामो समयदेखि अनुपस्थित थिए । ती शिक्षकका कारणले विद्यार्थीको पढाइमा बाधा परेकाले उनको दरबन्दीमा एकजना शिक्षक राख्न सकिन्छ भन्ने सुनेर म जगरेटार स्कूल गएँ । प्रधानाध्यापक खम्बबहादुरसँग भेटेँ र आफ्नो कुरा राखेँ । म जगरेटार स्कूलमा शिक्षक बन्न चाहन्थेँ । उहाँले तुरुन्त मेरो प्रस्ताव स्वीकार गर्नुभयो र म दैनिक ज्यालादारीमा सानामा पढ्न छोडेको स्कूलमा पढाउन थालेँ । जगरेटार स्कूलबाट मैले पढ्न पनि सिकेको थिएँ, अब पढाउन पनि सिकेँ, जागिर खान पनि सिकेँ । यो मेरो पहिलो पाठशाला भयो । तलब दैनिक पन्ध्र रुपियाँ पाउथँे, छुट्टी र स्कूल नगएको दिन तलब पाक्दैनथ्यो । मेरो सपना पूरा भयो ।

मैले त्यतिन्जेलमा देखेको जागिर शिक्षक नै त थियो । हेल्थपोष्टमा आउने डाक्टर भनिने अ.हे.व.  हुन कहाँ के पढ्नुपर्छ, थहा नै थिएन । हुलाकका कर्मचारीहरु दख्थ्यौँ तर सदरमुकाम गाइघाट गएकाले त्यो बाटो पनि अलमलिएको जस्तो लाग्थ्यो । त्यसैले शिक्षण हाम्रो सपनाको पेशा थियो । म शिक्षक बन्न चाहन्थे । जगरेटारको स्कूलमा शिक्षक भएपछि मैले धेरै मिहिनेत गरेर पढाएँ । म जान्ने विद्यार्थी थिएँ र अब सबैलाई आफैंजस्तो पार्न चाहन्थे । राम्रो विद्याथीको छविलाई अब राम्रो शिक्षकमा रुपान्तरण गर्न चाहन्थे । आफ्ना भाइवहिनी पनि त्यहीँ पढ्थे । अरु विद्यार्थी पनि गाउँका भाइबहिनी नै त थिए । म भर्खरको ठिटो थिएँ, काम ठग्न र परमेट्न सिकिसकेको थिइन ।

जगरेटारमा शिक्षक भएपछि म आपूmमा धेरै परिवर्तन भयो । विद्यार्थीबाट शिक्षक भएँ । गाउँमा अब केही सम्मान पनि पाएँ । मेरो चिनारी बढ्यो । जिन्दगीमा पहिलो कमाइको मुख देख्न पाएँ । तेलतेलेमा घर बनाउँदै थियौँ, तलबले भरथेग ग¥यो । दोकानमा सामान किन्न जाँदा पसलको ढोकाको चेपमा उभिने तर बोल्न नसक्ने अनि दोकानदारले के किन्ने भनी सोधेपछि मात्र सामान किन्न सक्ने म बोल्न सक्ने भएँ । सुरुमा स्कूलबाट  सोझै घर आउने म अलिपछि चिया दोकानमा बसेर गफ गर्न थाल्ने भएँ । म पछि त गफाडी नै भएँ । जागिर छँदै विराटनगर घु्म्न आएँ, बस चढेँ, घडी र जुत्ता किनेँ ।

जागिर खाएको केही महिनापछि लामो समय विदामा बस्ने शिक्षक हाजिर भए, अर्का शिक्षक सरुवा भएर आए । अब विद्यालयमा मेरो लागि दरबन्दी खाली रहेन । केही समय विद्यालयको निजी स्रोतबाट तलब खाने गरी पनि बसेँ तर यसरी लामो समय धान्न गाह्रो भयो । मैले त्यहाँको जागिर छोड्नु पर्ने भयो । जगरेटार स्कूलको शिक्षकको रुपमा मैले करिब नौ महिना काम गरेँ । स्कूल छोड्ने दिन विद्याथीहरु सामु प्रार्थनाको समयमा विदाइ कार्यक्रम भएको थियो । आफ्ना भावनाहरु राख्दा राख्दै मेरो घाँटी धोद्रो भएर आयो । मलाई त्यो स्कूल र त्यहाँका विद्यार्थीको माया लागिसकेको रहेछ ।

जगरेटार स्कूलपछि मैले आफू पढेको पञ्चावती माध्यमिक विद्यालयमा पढाउन पाएँ । नारायणवहादुर कार्की मेरा आदर्श गरु हुनुहुन्थ्यो, एक जना शिक्षक तालिममा गएर खाली भएको लियन दरबन्दीमा काम गर्न दिनुभयो । ती शिक्षक आएपछि म बर्रेको निम्न माध्यमिक विद्यालयमा पढाउन गएँ । यी तीनै स्कूलमा मैले सजिलै जागिर पाएँ । एकएकवटा व्यवधान आएपछि म सजिलै निस्केँ पनि । जागिर थमाउन केही प्रयत्न गरिन । बर्रेबाट निस्केपछि पोखरी र जाँतेको स्कूलमा जागिर खोज्न गएँ तर पाउन सकिन । यतिन्जेलमा बुवा साहै्र बिरामी पर्नु भएकाले उहाँलाई जचाउन काठमाडौ लिएर गएँ र उहाँ घर फिर्नु भएपछि म जागिरको खोजीमा रसुवा जिल्ला गएँ । प्रेमराज कार्कीले खोजिदिनु भएको शिक्षकको जागिर खान सिम्बन्दी गाउँमा पुगेँ । यसपछि लोक सेवा आयोग पास गरेर सह लेखापाल हुन सिन्धुपाल्चोक गएँ । नेपाल राष्ट्र बैंक सेवामा प्रवेश गरी जागिर—खोजी यात्राले विश्राम नलिउन्जेलसम्म अठार महिना सिन्धुपाल्चोकमा विताएँ ।

चारवटा स्कूलमा पढाएपनि मैले कतै धित मर्ने गरी पढाउन पाइन । ती सबै स्कूलमा काम गर्दागर्दै एउटा अनपेक्षित परिवेशको सिर्जना हुन्थ्यो र मेरो जागिर सकिन्थ्यो । अनि म अन्यत्र लाग्थे । रसुवाको कष्टपूर्ण शिक्षणबाट भने लोक सेवा आयोगको रिजल्टले त्राण दिएको थियो । पछि शिक्षा सेवा आयोग पनि पास गरेँ तर शिक्षणमा फर्कन आफ्नो पढ्ने चाहानाले पनि सम्भव भएन । एम. ए. पढ्दा क्याम्पस पढाउने रहर थियो । बैंकको जागिर छोड्न नसकेर त्यता गइन । पार्ट टाइम पढाउने रहर पछि फेरि लाग्यो तर समय धेरै अगाडि बढिसकेको रहेछ, म छुटेँ । चारवटा स्कूलमा मैले तीन वर्ष पनि पूरा पढाउन पाइँन ।

पढाउनु मेरा लागि अहिले पनि रहरको पेशा हो । चालीस पैंतालीस मिनट पढाइसकेपछि ‘तिमीहरुले बुझ्यौ ?’ भनेर सोध्दा ‘बुझ्यौ सर’ भन्ने जवाफ आउँदा जुन आनन्द आउँछ त्यो अफिसको फाइलमा जिन्दगीभर घोत्लदा पनि आउँदैन । झन् ‘बुझिन सर’ भनेर फेरि बुझाउन आग्रह गर्ने विद्यार्थीको निन्याउरो अनुहार आफूले कुरो बुझाउँदै जाँदा चम्किलो र उज्यालो हुँदै गएको देख्दा मनमा अपार आनन्द आउँछ । कार्यालयमा सेवा  लिन आउने ग्राहकलाई जति सेवा गरे पनि ऊ विद्यार्थी जस्तो अनुगृहित हुँदैन । उसको काम भएन भने त ऊ रिसाएर फर्कने भैगयो, काम भयो भने पनि आफ्नो हक साफी भएको ठानेर  हिँड्छ । स्तरीय शिक्षा विद्यार्थीको हक नै हो, तर ऊ शिक्षा पाउँदा कृतज्ञ बन्छ । भोलि के हुन्छ म भन्न सक्दिन, तर आजसम्म विद्यार्थी शिक्षकप्रति कृतज्ञ नै छ । शिक्षण जिउँदो पेशा हो । शिक्षणबाट आनन्द तत्काल आउँछ, कुर्नु पदैन । अहिले मलाई चिन्ने आधा मानिसहरु मलाई शिक्षकको रुपमा चिन्छन् । आफूले नचिनेको एउटा युवाले ’तपाई्ँले मलाई पढाउनु भएको थियो” भन्दा आउने आनन्दको कल्पना शिक्षक नभएको मानिसले गर्न सक्दैन ।

यति हुृँदाहुँदै पनि हाम्रो समाजमा शिक्षण पेशा उति सम्मानित हुन सकेको छैन । शहरमा अरु जागिर खानेको चमकदमकले शिक्षकको गरिमालाई ओझेलमा पारेको महसुस हुन्छ । मानिसहरु शिक्षण पेशा छोडेर सरकारी वा संस्थानको जागिरमा गइरहेका छन् । म आफैंले पनि त त्यसै गरें । विद्यार्थी र अभिभावकले शिक्षकलाई गर्ने सम्मान पनि अहिले घटिरहेको पाएको छु । यसको कारण शिक्षाविद् र समाजशास्त्रीले बताउलान् तर मलाई लागेको केही कारण भने यहाँ राख्छु । त्यसको पहिलो कारण हो, अव्यवहारिक शिक्षा । मैले सिकेको ज्ञानले मलाई बाँच्न सजिलो र रमाइलो पारे म अवश्य गुरुप्रति कृतज्ञ हुन्छु । अहिले नेपालको शिक्षा त्यस पक्षतर्फ सचेत छैन । जहाँ यो सचेतना छ, त्यहाँ सम्मान पनि छ । दोश्रो कुरा हो, स्तरीयता । आफूले पढेको ज्ञान स्तरीय भएको बोध जीवनका प्रतिस्पर्धाहरुबाट प्रमाणित भयो भने मानिस गुरुप्रति कृतज्ञ बन्छ । तेश्रो पक्ष मनोवैज्ञानिक छ, हरेक सफल मानिस आफ्ना गुरुहरुबाट कृतज्ञ भएको महसुस गर्छ र असफल व्यक्ति शिक्षालाई नै वाहियात ठान्छ । अहिलेको संसारमा आफूलाई  सफल ठान्ने मानिसहरु घटिरहेका छन् अनि शिक्षकप्रतिको सम्मान पनि घटिरहेको छ । 

जगरेटार स्कूल मैले पढ्न खोज्दा र पढाउँदा प्राथमिक विद्यालय थियो । अहिले उच्च माध्यमिक विद्यालय बनिसकेको छ । आगामी दिनमा यो कलेज बन्ने तरखरमा छ भन्ने सुन्दैछु । उचित शिक्षा पाउन नसकेर हण्डर खाएको बाबु पुस्ता आफ्ना छोराछोरीलाई उचित शिक्षा दिन चाहन्छन् । राज्यले पनि शिक्षाको विकासमा जोडबल गरिरहेको छ । त्यसैले शिक्षा क्षेत्रको विकास भइरहेको छ । करेसामा स्कूल कलेज भए सबैले पढ्न पाउँछन् । उतिबेला गाउँमा क्याम्पस भए म पनि त पढ्न सक्थें होला । गाउँगाउँमा क्याम्पस बन्नु खुशीको कुरा हो । तर यो खुशीको अर्को पक्ष पनि छ । आज विश्व नै एउटा गाउँ भएकोले प्रतिस्पर्धाको घेरा ठूलो र तीव्र भएको युगमा नेपालटारमा कस्तो शिक्षा दिन सकौँला भन्ने चिन्ताले यो खुशीलाई घटाउँछ । प्राथमिक शिक्षा सबैले पाउनुपर्छ, उच्च शिक्षा स्तरीय भएन भने त्यो अर्थहीन हुन्छ भन्ने कतै पढेको सम्झेर यो प्रश्न झन् बोझिल बन्छ । फेरि, आज उच्च शिक्षा पाएको ठूलो जमात बेरोजगारीले ग्रस्त छ र आफ्नो माटोमा सेवा गर्न दत्तचित्त पनि छ भन्ने सम्झेर मन केही हलुङ्गो हु्न्छ । ती शिक्षित युवाले गाउँमा स्तरीय शिक्षा दिए भोलिको नेपालटारमात्र होइन नेपाल नै अर्कै बन्छ । हिँउदबर्खै मोटर जाने नेपालटार अब उति दुर्गम कहाँ छ र ?

शिक्षा सभ्यता र विकासको आधार हो । हरेक समाजले आफूले जानेका कुरा भावी पुस्तामा सार्न चाहन्छ र यसको आधार स्कूल नै हो । स्कूलहरुले त्यो धरोहर बोक्न सकेनन् भने न समाज सभ्य हुन्छ न विकसित । आजको शिक्षा खासगरी सरकारी स्कूलले यो धरोधर बोक्न नसकेको चर्चापरिचर्चा पनि सुनिन्छ । आफूले पनि सरकारी स्कूलमा पढेको र पढाएको हुनाले सरकारी स्कूलका बारेमा नराम्रा कुरा पढ्दा र सु्न्दा दुःख लाग्छ । कतै साह्रै चित्त नबुझेका ठाउँमा ‘यत्ति खराब त छैनन् है सरकारी स्कूल’ भनेर प्रतिरक्षा पनि गर्छु । तर ‘अहिले तपाईंको जमाना छैन केदारजी’ भनेर मेरो प्रतिरक्षालाई उडाउँछन् । पत्रिकामा कतै व्यवस्थापन समितिको जथाभावी, कतै शिक्षकको चकडस्टरको ठाउँमा झन्डा बोक्ने प्रवृत्ति, कतै अयोग्य शिक्षक भर्नाको कथा त कतै के पढेर मेरो मन पनि झसङ्ग हुन्छ । अन्यत्र जे जस्तो भए पनि मैले पढेका, पढाएका स्कूलमा घुनपुत्ली नलागोस् । यही कामना गर्दै कलम बिसाउँछु ।

नयाँ वर्षको हार्दिक शुभकामना ।

(यो लेख जगरेटार उच्च मा वि ले २०६९ वैशाखमा प्रकाशित गरेको स्मारिकामा छापिएको थियो ।)

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *