कवि ज्योति जङ्गलको अर्को कविता संग्रह ‘आधा शिर उचालेर’ निकै पहिला हात पारेको थिएँ । किन कुरो लुकाउनु, विमोचन समारोहमा नै टुपुल्किएको थिएँ म। त्यही मेसोमा हात परेको थियो यो कृति । हातमा पर्दा सोचेको थिएँ, अब घर फर्केर यही पढ्ने हो । यस्तो उच्च प्राथमिकतामा परेका केही किताबको पातो अझै फर्कन पाएको छैन ।यसलाई पनि तत्काल पढ्ने मेसो मिलेन । कवि परिचित हुँदा त त्यस्तो नहुनुपर्ने हो, भयो । व्यवहार मिलाउँदा मिलाउँदै यतिका दिन भएछ ।
साग टिप्ने हतारोले फूल टिप्न छुटिरहेछ
यस्तै सस्तो हतारोमै जिन्दगी बितिरहेछ ।
- – – –
कविताका विषयवस्तु
यस संग्रहका कविताहरूबाट कविको मन अब भोक्ताबाट द्रष्टामा रूपान्तरित हुन लागेझैं प्रतीत हुन्छ । वियोग, बुढ्यौली र मृत्यु जस्ता मानवमनका कोमल अवयवहरूकलाई चिथोर्ने संवेगहरूलाई यस संग्रहका केही कविताहरूमा संसारको नियमको रूपमा आत्मसात गर्ने कोसिस भइरहेको पाइन्छ । ‘युगको अखबार’, ‘बिदाइ’, ‘जानेहरू’ र ‘मिलन’ जस्ता कविताहरूमा भावनात्मक समायोजन र स्थिरीकरणको बाटो रोजिएको छ ।
युगको अखबारमा
मान्छेको अक्षर बनाएर
समयको खबर छापिन्छ,
बस अदृश्य चल्छ यसको सम्पादन
तर अटुट चल्छ यसको यसको प्रकाशन ।
(युगको अखबार)
बाँकी के हो र यो संसार
आउनु जानु
भेट्नु र छुट्टिनु ।
(जानेहरू)
तिमी मेरा जन्मका साथी
जीवनको अन्तिम साक्षी पनि हौ,
मानिसहरू मृत्युको नाम दिंदा हुन यो मिलनलाई
त्यो मैले सुन्नुपर्ने छैन ।
(मिलन)
समयक्रममा बदलिंदै र विकासित हुँदै जाने प्रेमका अनेक आयाम र स्वरूपहरूको प्रस्तुतिले कवितालाई थप वयस्क बनाएका छन् । प्रेम युवायुवतीबिचको कोमल आत्मीयताबाट सुरू हुन्छ र विकसित हुँदै जाँदा अनेक उकालीओराली, भन्ज्याङ अनि चौतारीको यात्रा गर्छ । समय बित्दै गएपछि न वियोगमा बिलौना गरेर साध्य हुँदो रहेछ, न मिलन नै सधैं रोमान्चक हुन्छ । परिस्थितिले दिएको साँघुरो बाटोबाट यात्रा गर्न अभिशप्त मानिस मनमा गुनासो र ओठमा मुस्कान लिएर पनि बाँचिरहन्छ । ‘मेरा प्रिय’, ‘तिमी जानू’, ‘म कसैलाई सम्झिरहेको किन छु’, ‘प्रेमताप’, ‘उसैलाई’ र ‘मूक भएर प्रेममा बोल्न देऊ’ कविताले यस्तै किसिमको भावना अभिव्यक्त गरेका छन् ।
बाँचूँ सम्पूर्ण प्रेम भनेर कति खोजेको थिएँ प्रेमलाई
कस्तो तिर्खाएको थियो आँत अनन्त अनन्त प्रेमको क्षितिज छुनलाई
प्रेम, प्रेम मात्र कहाँ जन्मनु
जसरी मानिस मानिस नभएर समाज जन्मन्छ
या बन्धन जन्मन्छ या तृष्णा जन्मन्छ ।
(प्रेमताप)
जिन्दगीका विसंगति र अप्ठ्याराहरू नलेखिएको कविता त कुन होला र ? कविता भावनाको अभिव्यक्ति हो भने हाम्रो भावनालाई कब्जा गर्ने र हामीलाई मेसिन बनाउन हरदम प्रयास गर्ने राक्षसहरू तिनै विसंगति र अप्ठ्यारा त हुन् । मानव जीवनका यावत विरोधाभासलाई सबै नै कविताहरूले धेरथोर लेखेका छन् तर ‘मुला जिन्दगी’, ‘माफ गर्नू’, ‘आह्वान’ र ‘कागावतार’ ले यस विषयमा विशेष जोड दिएका छन् ।
अँठ्याएर अँगालोले करङ खुस्किने गरी धाप मार्छ
मुला जिन्दगी, अगाडि ओठ चुसेर पछाडि लात मार्छ ।
(मुला जिन्दगी)
जिन्दगी मालिक जस्तो देखिन्छ र म छु निरन्तर दास
प्रेम खुशी जस्तो देखिन्छ र भेट्छु नमेटिएको प्यास ।
(माफ गर्नू)
आमाको गरिमा, प्रेमिकाको माया र दिदीबहिनीको स्नेहबाट हाम्रो मन, संस्कृति र साहित्य धेरै धनी भएको छ । तर, समाजमा यिनै स्वरूपमा उपस्थित नारीको स्थान समान र सम्मानजनक छैन, समाजमा देखा परेका अनेक विकृतिका कारण अवस्था सुरक्षित समेत छैन । यसले समाजका हरेक समान्य मानिसको मन त घोचिरहन्छ भने चेतनशील कवि मन कसरी चुपचाप बस्न सक्छ ? ‘लिङ्ग’, ‘दसैं’, ‘मुक्ति’, ‘ओ आइमाई’, ‘नयाँ आदेश’ र ‘बादशाहको चुम्बन’ मा यही मुक्ति चेत बगिरहेको छ । कतै अनुनय, कतै धार्मिक मिथकको उल्लेख, कतै सांस्कृतिक बिम्बको प्रस्तुति र कतै तीव्र आक्रोशका शैलीमार्फत यी कथ्यहरूले वाणी पाएका छन् । यी कविताहरूले कुनै कवयित्रीलाई नारीवादी कवि भन्नुभन्दा पहिला हामीले त्यो किन लेखेनौं भनेर सोच्न बाध्य बनाउँछन् ।’ओ आइमाई’ मा भने पुरूषको इतिहासप्रति पश्चात्ताप र सहकार्यको प्रतिबद्धता पनि छ ।

‘आमा’ ले कविताको निकै ठुलो आयाम ओगटेको छ । ‘आमाको अनुहार’, ‘आमाहरू’ र ‘आमा भेटेको समय’ शीर्षकका तीनवटा कविता यस संग्रहमा छन् । ‘ईश्वरको वास’ कविताको भावभूमि पनि आमा नै हो । यी कवितामा पनि नारीका पीडा र विवशता, सिर्जनाशक्तिको मुहान र बात्सल्य प्रकट भएका छन् ।बालक/बालिका कुनै कविताको शीर्षक नभए पनि आमाको बात्सल्यको आलम्बीको रूपमा रहने ती अबोधहरू कवितामा छुट्न सक्थे र ! ‘मुस्कानको शरण’ ती बालकहरू मा समर्पित छ ।
मेरो हजुर !
मलाई छाउगोठ नजाने
नयाँ आदेश लगाइदिनू ।
(नयाँ आदेश)
नमिल्दो लाग्छ
देवीसँग शक्ति मागेर देवी कुल्चदैं हिंड्ने पाइलाको उत्सव,
(दसैं)
ओ आइमाई !
उभिन खोज्छौ हाम्रै लहरमा ?
बोल्छौ आँखा जुधाएर हाम्रै आवाजमा,
यहीं पो आइपुग्यौ छेउमै हाम्रो दुनियाँमा ।
(ओ आइमाई)
म बुढी भएँ ।
म बुढी नभई तिमी जवान कसरी हुन्थ्यौ ?
अघि अघि म जवान थिएँ
म जवान नभई तिमी कसरी जन्मिन्थ्यौ ?
(आमाहरू)
‘घर’, ‘ साँझमा नआउनू मेरो घर’ ले नारीका घरेलु र सामाजिक बाध्यता उजागर गरेको छु । ‘मुकाम’ ले घरको महत्त्व सम्झाउँछ ।
घर त्यो अन्तिम आवास
जहाँ पुगेर अन्त पुग्नु बाँकी रहँदैन ।
(घर)
पेटको आगो निभाउन आगो बाल्नु
छुरीले चपबोर्डमा स्वाद काट्नु
कसिङ्गरको पहाड नाघ्नु
थुप्रै स्टन्ट गर्छु म उफ्री उफ्री
हतारमा, दौडधूपमा
ठोक्किन सक्छ जो कोही निर्मम !
(साँझमा नआउनू मेरो घर)
आफू रहेको देश र आफू बाँचेको परिवेश सधैं साहित्यको कथ्य विषय रहँदै आएको छ । ‘अश्लील कविता’, ‘उदास गीतका हरफहरू’, ‘प्रेमीदेश’, ‘मौनसुख’, ‘पहाडतिर’ र ‘रोल्पा, ओ रोल्पा’ यस्तै कविता हुन् ।
प्रेमी जस्तै कोही मेरो आफ्नो छ
हिंड्छ सास भएर
मुस्कुराउँछ मेरा ओठ खोलेर
त्यो मेरो देश हो ।
(प्रेमी देश)
प्रकृति मानव सिर्जनको आधार, मानव सुखको माध्यम र पीडाको स्रोत रहिआएको छ । हिन्दू मिथकलाई आधार मानेर गम्ने हो भने सृष्टि, स्थित र संहार प्रकृतिको लीला नै हो । ‘समुद्र’, ‘झरीपछि’, ‘पृथ्वी ! ए पृथ्वी’, ‘जून आरोहण’, ‘विराटनगर’, ‘काठमाडौं’ यस्तै कविता हुन् । सुन्दरता र जोखिमयुक्त प्रकृतिका रूपमा ‘समुद्र’, त्रासद प्रकृतिका रूपमा ‘झरीपछि’ र ‘पृथ्वी ! ए पृथ्वी’, मायालु परिवेशको रूपमा ‘विराटनगर’, सुन्दर प्रकृतिका रूपमा ‘जून आरोहण’ शीर्षकका कविता आएका छन् । ‘काठमाडौं’ ले पुरातन संस्कृति र आधुनिकताको चेपमा सास धानिरहेको बिचरा सहरको कथा भन्छ ।
ऊ नै थियो,
अनुहारमा सुकेको आँसुको गोहोरो धोइदिने,
ऊ नै थियो,
गालामा लत्पतिएको पीडाको लेघ्रो पुछिदिने ।
(विराटनगर)
- –
कवितासंग्रहमा ४३ वटा कविता छन् । छोटा र समान आकारका, सजिलै पढ्न सकिने । ज्योति जङ्गल सजिला कविता लेख्ने कवि नभए पनि उहाँका कविता पछिल्लो समय अलि बुझिने हुँदै आएको छ । प्रयोगशील रचनाधर्मलाई अङ्गीकार गर्न भने उहाँले छोड्नु भएको छैन । हुन पनि हो, मानक भाषाले सधैं कविताको भेल थाम्न सक्छन् भन्ने पनि छैन । यस्तै भावनाको उद्दाम बाढी त कविता हो । यिनै भेलहरू सहेर भाषाले पनि आफ्नो सामर्थ्य बढाउँछ ।
भाषिक सीमा अलमलिएको कविता सुन्दर हुन्छ तर त्यसमा भावनात्मक इमानदारी नहुन पनि सक्छ । ज्योति जङ्गलका कवितामा भाषिक परिष्कारको सुन्दरतामा रमाउने इच्छा कम छ, भावनात्क इमानदारीको सुवास मन पराउँने चाहना बढी छ । भावनात्मक इमानदारीका बिचमा आएका भाषिक सुन्दरतालाई भने यी कविताहरूमा भेट्न पाइरहिन्छ ।
कविता र फुटबलका नियमहरू उस्तै लाग्छ मलाई । कवितामा आउने केही हरफहरूले खेल सुरू गर्छन्, केहीले भावना पास गर्छन् र केहीले पाठकको मनमा गोल हान्छन् । यो शैली अवलम्बन नगरिएको कविता उति राम्रो लाग्दैन मलाई । यही शैलीले नै पाठकलाई यथार्थको आधार शिविरबाट भावना र कल्पनाको सगरमाथामा पुर्याउँछ, त्यसका वरिपरि घुमाउँछ र त्यहाँबाट सकुशल अवतरण गराउँछ । यी कविताहरूमा यो शैलीगत मिठास भेट्न सकिन्छ ।
म सम्झन्छु,
बोक्सी भएर गाउँ निकालामा परेका
कम्तीमा दश थान कात्यायनीहरू,
चर्चाको रातो गलैंचा हिँडेका
कम्तीमा दश थान हिरोइनहरू,
र सम्झन्छु,
आमाले बनाएको दसैंको अचार,
अनि बलात्कारमा परेका कम्तीमा दश दर्जन
बालिकाको अचार जिन्दगी ।
(दसैं)
अन्त्यमा,
’आधा शिर उचालेर’ नामक कविता संग्रह हात पर्दा शिर भनेको घाँटीभन्दा माथिको भागको अर्थ लगाएको थिएँ । किताबको बाहिरी गातामा पनि खोपडीकै तस्वीर थियो । ‘आधा शिर उचालेर’ को अर्थ नारी मुक्तिको आधा बाटो पूरा भएको सङ्केत हो कि भन्ने पनि परेको थियो । यो स्वाभिमान र लज्जाको सम्मिश्रण हो कि भन्ने पनि सोचेको थिएँ । यही शीर्षकमा एउटा कविता यहाँ समावेश भएको हुन पनि सक्थ्यो र त्यही कविताको नाममा कविता संग्रहको नाम राखिएको पनि हुन सक्थ्यो । पढ्दै जाँदा त्यो शीर्षकको कविता कतै पनि भेटिन । बरू यस्तो भेटें-
बेखबर छे आफ्नो रूप
आधा शिर उचालेर
बाहिर आउन खोज्छन् छातीहरू,
(घाँस काटिरहेको ऊ)
‘आधा शिर उचालेर’ मा शिर त शरीरको अरू नै अङ्गको बिम्ब रहेछ कि क्या हो ! म त कल्पनाको त्यो तहमा गएर सोच्न पनि नसक्ने रहेछु । हुन पनि हो, कविले सोचे झैं सोच्न सक्ने भए त म पनि कवि भैहाल्थें नि !