“पिच त सक्दिन हजुर ! दाम नै साह्रै कम राखेको छु । ग्राभेल चैं मै हालिदिन्छु । बिहानै झललल घाम लाग्छ । पानीको योजना आउँदैछ । बिजुलीको पोल पनि गाडिदिन्छु । जग्गा बिक्दै जान्छ, विकास हुँदै जान्छ । रिङरोड पुगेपछि जता जान पनि बस पाइहालिन्छ । रिङरोडबाट दुई किलोमिटर भित्रको यस्तो राम्रो जग्गा आनाको बाइस लाखमा अरू कहाँ पाइन्छ ? हैन त, हजुर ?” मोहनदाइले यसै भनेर सिर्जना टोलका प्लटिङका धेरैजसो घडेरी बेचिसकेका थिए ।
जग्गा किनेर मानिसले बिस्तारै घर बनाउन थाले । जग्गा नबिकुन्जेल मोहन दाइले अलिअलि ग्राभेल झार्दै थिए । दुई तिहाइ जति घडेरी बिकेपछि मोहन दाइले वास्ता गर्न छोडे । टोलवासीको गुनासो र चुनौती चाम्रा मोहनदाइले सजिलै झेले ।
“मैले जति गर्नु गरें, अब नगरपालिकामा जानुपर्छ । बरु म पनि सँगै जान्छु ।” मोहन दाइ तर्किए ।
टोलबासीको ध्यान अब मोहन दाइकोबाट हटेर वडा अध्यक्षतिर सोझियो ।
“यो नगरपालिका भए पनि धेरै सधानस्रोत भएको नगरपालिका हैन । गाउँ जस्तो छ, कर उठाउने ठाउँ छैन । अब तपाईंहरू नगरपालिकामा बजेट ल्याउन प्रयास गर्नुहुन्छ भने म पनि सहयोग गरुँला, कसलाई भेट्नुपर्छ भेटौला । म पनि सँगै जान्छु बरु । तपाईंहरूकै भोटले म चुनिएको छु । तपाईंहरूको कुरामा म नाइँनास्ति गर्दिन । लु भन्नुस् म के गरौं ।” वडाध्यक्षले साह्रै राम्रो कुरा गरे ।
बजेट त कुन ठुलो कुरो भयो र ! प्रदेश र संघको चुनावमा भोट माग्न आउँदा ‘तपाईंहरूले भनेको जस्तो विकास गरिदिन्छौं’ भनेर चुनाव जितेका नेताहरू कोही मन्त्री, कोही संसद् भएका थिए । तिनलाई भेटेर बजेट त चुट्कीका भरमा ल्याइहालिन्छ नि भनेर उनीहरू फेरि प्रदेश राजधानी र सिंहदरबार धाउन थाले । प्रदेशको राजधानी जाँदा मोहन दाइको बोलेरो सहयोगी भयो । चुड्कीका भरमा बजेट ल्याउन तातेका मानिसले बजेट त ल्याए तर निकै पापड बेलेर ।
नगरपालिकामा आएको बजेट कता खर्च गर्ने भन्ने विषयमा विवाद आउला जस्तो लागेको थिएन, तर आयो । सिर्जना टोलका मान्छे कुदेर ल्याएको बजेट शान्ति टोलमा पो लगाउने कुरा भयो । सिर्जना टोलका मानिस तात्नु स्वाभाविकै थियो । तत्कालै टोलमा उपलब्ध रहेका दुईचार जना मिलेर मेयर कहाँ पुगे ।
“हेर्नुस्, तपाईंहरूले दौडधुप गरेर बजेट ल्याउनु भएको मलाई पनि थाहा छ तर बजेट आउँदा यो टोल ऊ टोल भनेर आएको छैन, नगरपालिकालाई आएको छ । तपाईंहरूकोमा त मोहन दाइले पनि अलिअलि ग्राबेल हाल्नु भएकै छ । शान्ति टोलको अवस्था तपाईंहरूले पनि देख्नुभएकै छ । आगामी वर्षको नगरपालिकाकै बजेटबाट शुरूदेखि नै सिर्जना टोलमा पिच नै गरौला । अहिले शान्ति टोलमा नै काम गरौं । सबै जना नगरवासी नै हौं । मिलेर बसौं ।” मेयरले यसो भनिरहँदा वडाध्यक्ष पनि घोसेमुन्टो लाएर बसिरहेका थिए ।
“शान्ति टोल त नाम मात्रको टोल हो । जम्मा पाँच घर छन् । मान्छे नहिंड्ने बाटोमा किन अहिले ग्राभेल गर्नु र ?” टोलबासीले प्रतिवाद गरे ।
“अब नगरपालिकामा बजेट आएपछि हामीले दूरदर्शी भएर, प्राथमिकता छुट्याएर, समानुपातिक ढङ्गले, समग्र नगरपालिकाको समान विकास होस् भन्ने सोचेर नै काम अगाडि बढाउनुपर्ने हुन्छ । आज बस्ती नभएर के भो ? भोलि हुन्छ । हामीले विकास त आजको लागि मात्र होइन भोलिका लागि सोचेर पो गर्नुपर्छ त । अब शान्ति टोल कि सिर्जना टोल भन्ने कुरामा थप विवाद भयो भने झन् अर्को टोलमा जाला । विवाद नगरौं । कि कसो वडाध्यक्षज्यू ?” मेयरले वडाध्यक्षलाई अचानो राखे ।
“म त के भनूँ र ? सिर्जना टोल पनि शान्ति टोल पनि मेरै वडामा हो ।” वडाध्यक्ष चिप्लिए ।
वडाध्यक्षबाट नै सहयोग नभएपछि र आफ्नो समूह पनि ठूलो नभएपछि के गर्नु र ? “ठिक छ मेयर साब । हामी फेरि टोलमा छलफल गरेर आउँछौं ।” टोलबासी हिंडे ।
नगरपालिकाको निर्देशनअनुसार शान्ति टोलमा टिप्परले ग्राबेल झार्न थालिसकेको थियो । मोहनदाइ टिप्परलाई निर्देशन दिइरहेका थिए ।
मोहन दाइको नयाँ प्लटिङ शान्ति टोलमा खुलेको रहेछ ।
(साहित्यपोस्ट (इपेपर) मा २०८१ असोज १ मा प्रकाशित ।)
