त्यो ताँती, यो पङ्क्ति

मुटु गाउँमा छोडेर सहर आएकाहरू, अहिले गाउँ फर्कंदैछन्
काम र माम बन्द भएपछि सहरमा, पुरानो टुङ्गोमा फर्कंदैछन्
बाटो बन्द भएर हण्डर खाएका छन्, चक्रव्युहका अभिमन्यु जस्तै
हरेक दिन अनन्त दुःखका, नयाँ श्रृंखला भोगिरहेका छन् ।

विना विश्राम र आराम अनवरत अघि बढिरहेका छन्
हजारौं कोसको यात्रा पैदल नै पूरा गरेका छन्
कसले भन्छ खाना चाहिन्छ बाँच्नका लागि
बस् भावनाको शक्तिनै पर्याप्त ठानिरहेका छन् ।

सहर सधैं झैं निष्ठुर छ र बस् आदेश फर्माइरहेको छ
सहर सधैं झैं क्रुर छ र कठोर लाठी बर्साइरहेको छ
सहर सधैं झैं लोभी छ र केवल बहाना खोजिरहेछ
सहर सधैं झैं स्वार्थी छ र ढोका बन्द गरिसकेको छ ।

यो वैभव यति गरिब होला जस्तो लागेको थिएन
यो संस्कृति यति नीच होला जस्तो लागेको थिएन
यो सभ्यताको इतिहास तिम्रो भोक देखेर लज्जित भएको छ
यो वर्तमानको बाचा तिम्रो पीर देखेर खण्डित भएको छ ।

तिम्रो नाङ्गो खुट्टाको घाउ छातीभित्र दुखिरहेछ मेरो
तिम्रो असीम दुःख आँखामा बगिरेहेको छ मेरो
यात्राको त्यो ताँतीलाई बस् पङ्कति बनाइरहेको छु म
विवश बन्दी बनेको छु, यसरी अभिशप्त छु म ।

जाऊ आफ्नो गन्तव्यमा सुरक्षित पुग्न सक साथी
आफ्ना लालाबालासँग भावना साट्न सक साथी
कठोर जिन्दगीका भोगाइबाट नसिक क्रुरताको पाठ
दुनियाँलाई मानवताको निकै खाँचो रैछ साथी ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *