१
काठमाडौको नयाँ सडकमा रहेको प्रधान कार्यालयबाट नेपाल बैंक लिमिटेड, सटी अफिस विराटनगरमा पनि हल्ला आइपुग्यो — पच्चीस वर्ष नोकरी अवधि पुगेका कर्मचारीलाई जागिरबाट हटाउन स्वेच्छिक अवकाश योजना ल्याउने रे । स्वेच्छिक अवकाश योजना अर्थात भीआरएस (भोलेन्टियर रिटायरमेन्ट स्कीम) को यो हल्ला बैंकको प्रत्येक कोठा, कोठाका प्रत्येक कुर्सी र कुर्सीका प्रत्येक कानमा एकै छिनमा पुग्यो । सबै कर्मचारीे भीआरएस आउने भयो भनी एकअर्कालाई सुनाउनमा मस्त र व्यस्त भए । हातमा चेक र रकम जम्मा गर्ने भौचर बोकेका ग्राहक पनि आफ्नो काम बिर्सेर त्यसै हल्लाको खोजीनितीमा लागे ।
यो हल्लापछि केही कर्मचारी मलिन भए, केही उत्साहित भए, कतिमा जिज्ञासा मात्र रह्यो । भीआरएस बारे कर्मचारीहरुले विस्तारै आफ्नो धारणा राख्न पनि सुरु गरे ।
“म त अब जागिर छोडेर धर्मकर्मतिर लाग्छु ।”
“म व्यापार गर्छु ।”
“म त गाउँ फर्कन्छु र उतै कुनै व्यवसाय गर्छु ।”
“मेरो त समय नै भएको छैन । नत्र .. …. . .।”
“नयाँ कर्मचारीलाई राम्रो भयो । खाली पदमा चाँडै प्रमोशन पाउँछन् ।”
“कर्मचारी हटाउन त यो नियम ल्याएको हो । के प्रमोशन होला ?”
“म अर्को कम्पनीमा काम गर्छु ।”
“म …. गर्छु ।”
यी आवाजहरु कानमा ठोक्किरहँदा सुधीरका आँखामा आफ्ना अतीतका तस्वीरहरु घुम्न थाले । बिस वर्षको लक्का जवानमा ऊ यो जागिरमा आएको थियो । कलिलो उमेरमै जागिरमा लागेकोमा उसका बाबुआमा कति खुशी भएका थिए । उसलाई पनि त कम गर्व भएको थिएन । जागिर र पढाइलाई सँगै लान भने उसले धरै मेहनत पनि गर्नुपरेको थियो तर त्यसमा आनन्द नै थियो । पछि बिहा भयो, छोराछोरी जन्मे, बाबुआमा मरे । जागिर जीवनपद्धति बन्यो । अब यो जीवनपद्धतिलाई भीआरएसले मोड्न खोजिरहेको छ ।
सुधीरले पनि सोच्यो, म पनि राजीनामा दिन्छु, भीआरएसमा जान्छु ।
अफिसबाट फर्केर सधैझैं उसले घरको मेनगेट खोल्यो । रङ उडेको मेनगेटमा खिया लागिसकेको रहेछ । आफू भित्र पसी गेट बन्द गर्यो । घरको ढोकासम्म पुग्ने ढलान गरेको बाटो बीचबीचमा भत्किन थालेछ । कम्पाउण्डवालको प्लास्टर पनि खस्न लागेछन् । नरिवलको रुख अग्लो भइसकेछ । जागिर खाएपछि बैंकबाट कर्मचारी सापटी लिएर बनाएको घर पनि अब पुरानोमा दरिन लागिसकेछ । एकदिन दुई दिन भन्दाभन्दै जिन्दगी बितेको देखेर ऊ छक्क पर्यो । आज उसले यो घर र यो परिवेशलाई दोहोर्याएर हेर्यो । उसलाई पुरानो हुँदै गएको यो घर र बुढा हुँदै गएका यी रुखविरुवाको धेरै माया लाग्यो । जागिरको भागदौडमा उसले यिनको राम्रो रेखदेख गर्न भ्याएको रहेनछ ।
उसले ब्याग टेबुलमा राख्यो, कपडा फेर्यो अनि हातमुख धोएर सोफामा बस्यो ।
“हजूरलाई ठिकै त छ ?” सरलाले चिया दिएर सोधिन् ।
“ठीकै छ ।” उसले जवाफ दियो । तर उसको अनुहारमा भीआरएसले ल्याएका तरङ्गहरु टाँसिइरहेका थिए ।
“अनि केटाकेटी खै त ?” उसले पुनः सोध्यो ।
“छोरी ट्युसन गएकी छ । छोरा स्कलरसिप पाउने जाँचका बारेमा बुझ्न गएको छ ।” उनले भनिन् ।
“महगो फी तिर्न सकिन्न । पूरै फ्री भएमात्र डाक्टर पढ्न पाउछस् भन्देउ है छोरालाई ।” उसले भन्यो ।
“सके पूरै फ्रिसिप होला, नभए पनि छोराछोरीलाई पढाउनै पर्यो नि । रहर गरेको छ । छोरी पनि नर्सिङ पढ्छु भन्छे । हामीले कमाएको उनीहरुकै लागि त हो । जागीर छ, त्यसले नपुगे यही घर राखेर पनि पढाउनुपर्छ ।” सरलाले आफ्नो कुरा राखिन् ।
“जागिरको के कुरा गर्छ्यौ ? भीआरएस आएको छ । म त अब जागिर छोड्छुहोला ।” सुधीरले आवाजसँगै निस्कन खोजेको सुस्केरालाई निल्यो ।
“जागिर छोड्ने ? के भन्नु भएको ? अनि के गर्ने ? जे गरे पनि सोचेर गर्नुपर्छ है । म त के भन्नु र खै ।” सरलाले चिसो सास फेरिन् ।
२
“सुधीरजी यहाँ आउनुस् ।” कार्यालय कोठामा पस्नुअघि नै राममानले सुधीरलाई लबीमा बोलायो ।
“यो मैले तपाईको लागि फोटोकपी गरेर राखिदिएको ।” राममानले कागज दियो । सुधीरले राममानको हातबाट तीन पेजको अवकाश सम्बन्धी सर्कुलर लिएर पढ्यो । पच्चीस वर्ष नोकरी अवधि पुगेका कर्मचारीहरु लबीमा बसेर हल्ला गरिरहेका थिए । उसका आँखा कागजमा भए पनि उसको कान भने लबीमा आएका विभिन्न आवाजहरुले तानिरहेका थिए ।
“अब म त गएँ राजीनामा लेख्न । पाँच दिनको म्याद पनि किन कुर्ने ? आजै दिन्छु ।” राममानले घोषणा गर्यो र हाकिमको कोठातिर लाग्यो । सुधीर भने आफ्नो कार्यकक्षमा फर्क्यो ।
उसको कार्यकक्षमा पनि चर्चा त्यसैको थियो । बूढा कर्मचारी लबीमा भेला भएकाले नयाँ कर्मचारीले त्यहाँको गफ बजार तताइरहेका थिए ।
“पुरानालाई त वास्तवमा यसरी हटाउनु नै पर्ने हो । उनीहरुको न त शैक्षिक स्तर राम्रो छ, न त काम गर्ने सीप । नयाँ प्रविधिको भरपूर उपयोगका लागि त युवा जनशक्तिलाई ठाउँ बनाउनै पर्यो नि ।” एउटाले तर्क दियो ।
“यस्तो नभएर त यहाँ हाकिम रामायण पास, कारिन्दा डिग्री पासको अवस्था आएको छ ।” अर्कोले झ्वाक फेर्यो।
“पुरानालाई लटका लट नहटाइ त नयाँलाई बढुवा हुने ठाउँ पनि त हुँदैन ।” अर्काको विचार अर्कै थियो ।
“के हटाएको भन्नु यस्तोलाई ? भीआरएसको नाममा पैसाको धोक्रो बोकेर घर जाँदैछन् भन्नुस् न । सामान्य रुपमा अवकाश पाएका भए यति सुविधा पाउँथे र ! यो हाम्रो र अफिसको हितमा ल्याएको होइन । रिटायर हुन लागेका बूढा कर्मचारीले आफ्नो हितमा ल्याएका हुन् ।” कसैको विश्लेषण यस्तो थियो ।
“पुरानाको पनि त यो अफिसमा ठूलो योगदान छ । उनीहरुलाई पनि चित्त बुझ्ने गरी नै अवकाश योजना ल्याउनुपर्छ । जिन्दगीभरि जागीर खान त कोही पनि आएका होइनन् ।” राजेशले भन्यो र अरुलाई संकेत गर्न आँखा झिम्क्यायो । उसले सुधीर कोठमा पसेको भेउ पाइसकेको थियो । अरुले पनि सुधीर आएको भेउ पाए र गफलाई अर्को तिर मोडे ।
हिजोसम्म टेबुल जोडेर गफ गर्ने र एउटै प्लेटमा खाजा खाने कर्मचारी साथीहरु त्यो एउटा सर्कुलरको भरमा पच्चीस वर्ष उमेर पुगेका र नपुगेका गरी अहिले दुई खेमामा छुट्टिइसकेका थिए ।
३
“एउटा कुरा भनौ ?” सरलाले भनिन् ।
“भन न ।” सुधीरले भन्यो ।
“जागीर नछोड्न मिल्दैन ?”
“हामीजस्ता पुराना कर्मचारीहरुले राजीनामा दिउन् भनेर अफिसले अवकाश योजना ल्याएको छ । सुविधा पनि थप दिने भन्ने “कुरा छ । अरु साथीहरु पनि छोड्ने कुरा गरिरहेका छन् । ”
“कति चाँडै यत्रो वर्ष बिते ? अनि क—कसले छोड्ने भयो र जागिर ? ” सरलाले सोधिन् ।
“राममान, कपिल, देवराजहरुले पनि छेड्दैछन् । आखिर जागीर भनेको एक दिन छोड्ने नै त हो । पछि छोड्दा पाइने सुविधा अहिले पाइने भएपछि किन पर्खिरहनु र ? ”
“राममान भनेको कलेज रोडमा पसल हुने मानिस होइन ? ” सरलाले सोधिन् ।
“हो, त्यही हो । जागिर छोडेर अब पसलमा ध्यान दिन्छु भन्दैथियो । ”
“अरुको त खेतीपाती होला, व्यापार व्यवसाय होला । जागीर छोडेर त्यही काम गर्लान् । हाम्रो त केही छैन जागीर छोडेर के गर्ने ? काम गर्ने उमेर पनि छ ।”
“अब गर्नुपर्ला नि केही । हातमा अलि पैसा भएपछि बाटो पनि देखिएला कि ?”
“फेरि छोराछोरी पढ्दैछन् । उनीहरुको पनि कमाउने बेला भएको छैन । उनीहरुको लागि झन् खर्च गर्ने बेला आइरहेको छ । ”
“जागिर छोड्दा आउने पैसाले पढाउला अब । अनि उनीहरुले मैले जागिर छोड्ने कुरा थाहा पाए ?”
“थाहा पाए । उनीहरु त यो बुवाको कुरा हो, उहाँले नै सोच्नुहुन्छ भन्छन् । आफ्नो लाइफको बारेमा आफैं डिसिजन गर्ने भन्ने यिनीहरुको सोच छ । एउटा मानिसले गरेको निर्णयले परिवारमा र समाजमा प्रभाव पर्छ र निर्णय व्यक्तिगत भए पनि प्रभाव व्यक्तिगत रहँदैन भन्ने उनीहरुलाई थाहै छैन । आफूले चाहेको पाएपछि पुग्यो । राम्रै पढ्दैछन्, छोराछोरीका बारेमा उति चिन्ता लिनुपर्ने त केही छैन । तर उनीहरुको यो सोचाइबाट भने म कहिलेकाही. दिक्दार हुन्छु । ” सरलाले भनिन् ।
“समयभन्दा टाढा कसले सोच्नसक्छ ? हामीले सोच्न सक्यौं र ?”
“खै म त के भनौ ? मलाई त जागीर छोडेपछि आतेस हुन्छ जस्तो लाग्छ ।”
“धेर चिन्ता नगर । जागिर नपाउने, नखाने ले पनि त दुई छाक खाएका छन्, एकसरो लगाएका छन् । हामीले त जागिर खायौं, केही कमायौं, केही बढायौ । पाँच वर्षपछि त उसै पनि छोड्नुपर्ने हो ।” सुधीरले आँट दियो ।
सुधीरले सरलालाई आँट दियो तर उसलाई पनि थाहा छ जागीर छोडेपछि आतेस हुन्छ । जागीरको क्रममा पाइने तलबभत्ता, बोनस, काजमा जादा पाइने दैनिक र भ्रमणभत्ता, औषधोपचार सुविधा आदि जागीर छोडेपछि पाइन्नन् । जागीर छोड्दा पाइने एकमुष्ठ रकम त चुहुने भाडामा राखेको पानी जस्तो हो, चलाउदै जाँदा सकिइहाल्छ । फेरि छोराछोरीलाई पढाउनु छ । कम्तीमा पनि छोरीको बिहे जागीर हुदै गर्न पाए राम्रा कुटुम्ब पनि पाउन सकिएला । पच्चीस वर्षदेखि चल्दै आएको दैनिकीमा परिवर्तन ल्याउन पनि कम गाह्रो छैन । एउटा अर्थहीन जीवनले घामको झुल्कोदेखि अस्तसम्म खेदिरहन्छ । हो, जागीर खाएपछि अवकाश त पाइन्छ । आजको जमानामा फुर्सदिलो समय भनेको कम महत्वपूर्ण होइन । जागिरको धपेडीबाट मुक्ति पाउनु र आफ्नो जीवन र समय आफुखुशी प्रयोग गर्न पाउनु भनेको सानो कुरा होइन । तर आफ्नो मनले फुर्सद नचाही अरुले दिएको फुर्सदबाट के आनन्द पाइएला र ?
४
“तपाईले दिनुभयो सुधीर जी ?” देवराजले सोध्यो ।
“दिउँ त भन्दैछु । खै के गरौ गरौ । म्याद अझै पाँच दिन बांकी छ ।”
“दिने भए दिइहाल्नुस् । मनमा जति कुरा खेलायो उति टेन्सन हुन्छ ।” उसले अर्ती दियो ।
“जागिर जस्तो कुरा सोच्नै पर्यो नि ।” सुधीरले आफ्नो बचाउ ग¥यो ।
“अनि भाउजू चाहिं के भन्नुहुन्छ नि ?”
“खाइराखेको जागिर, छोड्दा अप्ठोरो हुन्छ जस्तो त जसलाई पनि लाग्छ नि ।”
“मेरो त श्रीमतीले जागिर छोड्न पहिलादेखि कर गरिरहेकी थिई । खाइरहेको जागिर छोड्दिन भनेर टारे । अब त भीआरएस पनि आयो । टार्ने उपाय पनि रहेन ।”
“हेरौ के हुन्छ ।” सुधीरले गोलमटोल जवाफ दिएर टा¥यो ।
देवराजकी पत्नी स्कूलमा पढाउछिन् । पढाउछिन् के भन्नु स्कूल नै उनको हो । कर्जाफाँटमा बसेको बेला देवराजले स्कूलको फाउन्डरलाई कर्जा पनि मिलायो, आफ्नो लगानी पनि मिसायो र पत्नीलाई जागिर पनि लगायो । मौकामा चौका हान्न सक्ने खुबीले उसलाई कहाँबाट कहाँ पुर्यायो । नेताको भनसुन र हाकिमको चाकरीबाट कर्जा फाँटमा बस्न पायो अनि त देवराज साँच्चै देवराज भयो ।
देवराजलाई मात्र के भन्नु ? एल.सी.को रामचन्द्र पनि त अग्रवाल इम्पेक्सको स्लिपिङ पार्टनर हो । हरिप्रसाद कर्मचारी राजनीति हुँदै पार्टीको राजनीतिमा छिरिसकेका छन् । टोलको उपभोक्ता समितिमा उनको हालीमुहाली छ । जागिर छोडेपछि पनि उनलाई पार्टीको बाटोबाट न कामको खाँचो हुन्छ, न खर्चको । पियन भनेर के गर्नु रामलोचन शर्माको राम्रो कमाइ रहेछ जजमानीबाट । लौ त भनौ भने उनलाई त यो जागिर अल्झो पो भएको छ । हो, विमला म्याडमलाई भने यो भीआरएस राम्रो भयो, बाथका कारण कार्यालय आउनै गाह्रो हुन थालिसकेको थियो ।
सुधीरले जागिर छोड्न लागेका आफ्ना साथीहरुलाई यसैगरी एकएक गरी नियाल्यो । तिनको जागिर त समुद्रमाथि देखिने आइसबर्ग जस्तो मात्र रहेछ । उनीहरुको आर्थिक स्रोत र सामाजिक सम्बन्धका आधारहरु त अरू माध्यमले नै कसिलो बनेका रहेछन् । उनीहरु अवकाशका लागि भौतिक र मानसिक रुपले तयारी गरिरहेका रहेछन्, तयार भएका रहेछन् । उ त जीवनभर जागिरको सिरक ओडेर मस्त सुतिरहेको रहेछ, आज त्यो सिरक कसैले तान्न खोज्दा असुरक्षाको जाडोले थर्थर कामिरहेको छ ।
उ कहिले अफिस ढिलो पुगेन, विदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएन, काम बढी र कर्मचारी कम भएको अवस्थामा विदा बसेन । हाकिमको आदेश वा नियमको निर्देश मात्र होइन ग्राहकको सेवा र कार्यालयको हित उसको जागिरे जीवनमा सधैं मार्गदर्शक बने । कर्तव्यपरायणताको यही आगोमा उसका व्यक्तिगत र सामाजिक जीवन भष्म भएको थियो । न बिहेको निम्तो मान्न पायो, न एकोहोरो शंख पछ्याउन सक्यो । बाबुआमाको उपचारका लागि त उसले टाइम म्यानेजमेन्ट गर्नुपरेको थियो । उसलाई यी बाध्यता जागिरे जीवनका स्वभाविक परिणति लाग्थे । कतिपय अवस्थामा त उ यसबाट गर्व महसुस पनि गर्थ्यो । तर आज उसलाई यो सुन फलाम लाग्न थालेको छ । सजिलो जागिर पाउन जति बुद्धिमानी आवश्यक पर्छ, सजिलै जागिर छोड्न त्यो भन्दा बढी बुद्धिमानी चाहिने रहेछ । उसको बुद्धि अधकल्चो रहेछ । जागिरको उडान त भर्यो तर सुखद अवकाशको पिच रनवे त उसले बनाउन सकेको रहेनछ ।
५
एक मन त उसलाई राजीनामा नदिउँ कि जस्तो पनि लाग्यो । श्रीमती जागिर छोड्ने कुरापछि निराश बनेकी थिइन् । जागिर छोडेर यसो गर्छु भन्ने उसको योजना पनि थिएन । विदेशमा जस्तो अवकाशको जीवन पेन्सन र अवकाशको रकम अनि सरकारको सहयोगले आरामसाथ कटाउन सकिने होइन । पारिवारिक दायित्व बाँकी नै छन् । सथीहरुको जस्तो न कमाउने ठाउँ छ न अलमलिने उपाय । अवकाश योजना स्वेच्छिक न, हो बलजफ्ती वा अनिवार्य त होइन । राजीनामा दिने समय सकिएपछि यो तनाव पनि त्यत्तिकै सकिन्छ ।
यस्तो सोचेको दिन उसलाई अफिस जान अलि जाँगर पनि लाग्यो । उ फेरि आउँदो पाँच वर्ष यसैगरी अफिस जान पनि सक्छ । उही जागिर उही जिन्दगी । त्यसबीचमा त छोराको पढाइ पनि सकिएला र जागिरमा जाला । छोरीको पनि पढाइ, जागिर र बिबाहको परिबन्द मिल्ला । त्यसपछिको अवकाशमा अर्कै मजा हुन्छ ।
अफिसमा त उही पच्चीसवर्ष पुग्ने कर्मचारीहरु कै चर्चा थियो ।
“क्लियरिङमा सुधीर जस्तो मान्छे अब आाउँदैन ।”
“रेमिटान्सको काममा उ जति परिपक्व अर्को पाउन गाह्रो छ ।”
“रिकन्सिलेसनको त उ बादशाह थियो ।”
“कम्प्युटर नहुँदा रिकन्सिलेसन कम गाह्रो थियो ? अहिले पो सफ्टवेयरले सजिलो बनाएको छ ।”
उसको प्रशंसामा चलेका यी ओठहरु विदाइमा हल्लिएका हात जस्ता लागिरहेका थिए । उसले एक्काइस वर्ष काम गरेको उसको अफिस अब उसैलाई बिरानो लाग्न थालेको थियो । छब्बीस वर्से कार्यकालमा पाँचवर्ष तेह्रथुममा बितायो, बाँकी यहीं नै त काम गरेको थियो । उ अब विदा हुन लागेको पाहुना भइसकेको थियो । प्रशंसाका यी शब्दहरुले उसलाई घोच्यो तर त्यति घोचेन जति मेनेजर रामलालको कुराले उसलाई घोच्यो ।
उ रामलालकहाँ कार्यालयको कुनै चिठीमा सही गराउन गएको थियो ।
“ल्याउनु भयो सुधीरजी ?” उसले सोध्यो ।
“ल्याएँ ।” सुधीरले भन्यो ।
“ल ठीकै छ । जागिर भनेको यस्तै हो । पहिले लफडा नपरेको भए मेरो पनि बेला भइसकेको थियो । लफडाले गर्दा आफ्नो त लम्बियो । जागिरमा भन्दा पैसा बाहिरै बढी छ । म त जनसम्पर्कको लागि जागिर खाइरहेको छु । जागिरमा रह्यो भने जनसम्पर्क बढ्छ, त्यत्ति हो ।” रामलालले पुराण सुनायो ।
“मैले त प्रधान कार्यालय पठाउने चिठी ल्याएको रामलाल सर । राजीनामा दिन त सोच्नुपर्ला ।” सुधीर असमञ्जसमा प¥यो ।
“ए अँ त्यो, ल ल्याउनुस् ।” रामलाल पनि लकपकायो, कागज लियो र सही गरेर फर्कायो ।
साला रामलाल ! ऊ त सुधीरको राजीनामा पो पर्खेर बसिरहेको रहेछ । सुधीरको कन्सिरी तात्यो । रामलाल उभन्दा एक वर्ष अघि नियुक्त भएको थियो । रानी काउन्टरमा हुँदा काउन्टरको पैसा ब्याजमा लगाएर खाँदो रहेछ । निरीक्षणको क्रममा पक्डाउ परेर यसको जागिर नै गएको थियो । यसले मुद्दा खेप्यो । उसले गल्ती गरेकै थियो त्यसैले जागिर फर्कने आश कमै थियो । तर यसको काका नेता रहेछ । भनसुन पनि गरायो, पैसा पनि खुवायो र तीनवर्ष पछि जागिरमा आयो । अब उसको नोकरी अवधि सुधीरको भन्दा दुईवर्ष कम गणना भयो, तीन वर्ष जागिरमा नरहेकाले । अहिले आएर उसकै ठूला कुरा । यस्ता ठग र फटाहाले त कार्यालय बिगारेका छन्, देश बिगारेका छन् । स्टक ब्रोकरसँग मिलेर सेयर दलाली गरेर अनि बीमाको एजेन्ट बनेर पैसा कमाउँछ । अफिस त उसको जनसम्पर्क गर्ने माध्यम मात्र रे । अब पनि जागिर खानु भनेको यस्तै हाकिमको अह््रोटे बनिरहनु त हो । मनमा चिन्ता भएको बेला साना कुराले पनि चित्त काटिन्छ क्यारे । यो कुराले सुधीरको मन भाचियो । “यस्तो अफिसमा अब किन बस्नु, कति बस्नु ।” ऊ फुसफुृसाउँदै बाहिर निस्कियो ।
६
ऊ जुत्ता लगाउन बरन्डाको कुर्सीमा बस्यो । जुत्तामा ब्रस लगायो । त्यसपछि झोल पालिस लगाउनेछ र अफिस जानेछ । हुनत आज त जुत्तामा ब्रस नगरे पनि हुने हो, पालिस नलगाए पनि हुने हो । आज अफिस जागिर खान होइन, राजीनामा दिन जानुछ । उसले पुनः कोटको खल्तीमा छाम्यो, राजीनामा पत्र सुरक्षित थियो । अब न सरुवाको पीर, न बढुवाको आश । कार्यालयका सबैले अब उसको राजीनामा पर्खिरहेका छन् । साथीहरु राजीनामा दिएर अवकाश लिइसकेका छन् । उनीहरु आज बुद्धिमान् र बहादुर देखिएका छन् । उ भने निर्णय गर्न नसक्ने र कातर देखिएको छ । उफ्, उसले कार्यालयका कति समस्या बुद्धिमत्तापूर्वक सुल्झाएको थियो र चुनौतीलाई बहादुरीपूर्वक सामना गरेको थियो । जागिरको मूल्याङ्कन त अवकाशको समयमा पो हुने रहेछ । सोझा र इमानदारहरु फूर्तिसाथ जागिर खाँदा रहेछन, चलाखहरु शानदार अवकाश जीवन विताउँदा रहेछन् ।
दायाँ खुट्टामा जुत्ता लगाइसकेको थियो तर देब्रे खुट्टा जुत्तामा पसाउन उसलाई पटक्कै जाँगर थिएन । आज जुत्ता लगाएर अफिस गएपछि उसलाई त्यसपछि कतै जानु थिएन । उसलाई विगतमा फूर्तिसाथ अफिस जाँदा यस्तो दिन पनि आउँछ भन्ने लागेकै थिएन । जिन्दगी धेरै मोड भएको बाटो हो तर यो तीव्र मोडमा सन्तुलन कायम गर्न उसलाइृ कठिन भइरहेको छ । मोड पछिको बाटो पनि त अनिश्चित छ । तैपनि जानु छ, सबै जागिरेले अन्तिम दिन अफिस जान्छन् ।
“म गएँ ।” सुधीरको स्वर धोद्रो थियो ।
उसले पछाडि फर्केर हे¥यो । सरलाको सारीको सप्को उनको आँखामा थियो ।
